दीपेश शाही
काठमाडौं– २०७३ माघ १४
शुक्रवार राजधानी काठमाडौंलगायत देशैभरि मौसम त्यति स्वस्थ थिएन । घरी पानी परिरहेको थियो त घरी बादल मडारिरहेको थियो । चिसो पनि उस्तै । तर, राजधानीमा कम्युनिस्ट नेताहरू भने चिसो मौसमलाई चिर्दै नेपाली समाजको वर्गचरित्रबारे गरमागरम बहस गरिरहेका थिए । त्यो भने अलिक स्वस्थ देखिन्थ्यो । अलिअलि आरोप प्रत्यारोपजस्तो । अलिअलि सम्मानभावजस्तो । कतै मायाजस्तो पनि । तर, मौसम धुमिल, बहस स्वस्थ । निकै रमाइलो भइरहेको थियो ।
एमाले नेता घनश्याम भुसाल भन्दै थिए, ‘आज अलिक समय थिएन तर किरण कमरेड पनि आउने भनेपछि र विषय पनि मन परेपछि नआइरहन सकिनँ ।’
माक्र्सवादी सौन्दर्यशास्त्री मोहन वैद्य ‘चैतन्य’ले थपे, ‘बहस भयो, राम्रो भयो तर अझै पुगेको छैन । आहुतिजी हिँडे पनि घनश्यामजी यतै हुनुहुन्छ । बोलेरमात्रै हुँदैन, सुन्नु पनि पर्छ । बहस फेरिफेरि पनि हुनुपर्छ । यो जरुरी छ ।’
सहभागी धेरैको ध्यान प्रमुख अतिथि चैतन्यमाथि नै थियो । कतिबेला के बोल्छन् भनेर पर्खिरहेका जब उनले ‘वर्ग त आफ्नै साथीको के हो भन्ने ?’ भनेर कटाक्ष गरे, त्यसपछि हल नै हाँसोले गुञ्जायमान बन्यो ।
‘पञ्चायती शासक पनि त्यहीँ, कम्युनिस्ट हौँ भन्ने एमाले पनि त्यहीँ, अब अहिले त हाम्रा सगोत्री माओवादी हौँ भन्ने पनि त्यही सत्तामा । भनेपछि बदलिएको सामन्तवादी शासन व्यवस्था हो कि हामी कम्युनिस्ट ?’ उनले प्रश्न गरे ।
उनले यो प्रश्न तीनमध्येका दुईजना पूर्ववक्ता तथा नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाल र माओवादी केन्द्रका नेता आहुतिलाई गरेका थिए ।
इच्छुक सांस्कृतिक प्रतिष्ठानले राजधानीमा आयोजना गरेको उक्त कार्यक्रम थियो ‘नेपाली समाजको वर्तमान वर्गचरित्र’ विषयक बहस । वक्ता थिए, प्रमुख अतिथि नेकपा क्रान्तिकारी माओवादीका मोहन वैद्य ‘चैतन्य’, एमाले नेता घनश्याम भुसाल, माओवादी केन्द्रका नेता आहुति र सीताराम तामाङ ।
‘सामन्तवादको स्वरूप कस्तो हो ?’ भन्नेमा घनश्याम भुसाल र आहुतिको तर्क करिब नजिक÷नजिक पुगे पनि अरूले आ–आफ्नै सुविधामा व्याख्या गरे । कार्यक्रमका सबै वक्ताले ‘नेपाली क्रान्तिको मुख्य बाधक दलाल पुँजीवाद हो’ भन्नेमा भने सहमति जनाए ।
एमाले नेता भुसालले त आफूले ‘दलाल पुँजीवाद नै क्रान्तिको मुख्य बाधक हो’ भनेर दस्तावेजमा उल्लेख गरेको तर ‘भन्नेसम्म ठिकै छ, लेखिचाहिँ नहालौँ’ भनेर पार्टीभित्रका आफ्नै पक्षका नेताले समेत नमानेको खुलासा गरे ।
उनी आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि पनि व्यंग्य हान्दै थिए, ‘त्यसैको परिणाम हो, कता समुद्रमा पानीजहाज कि के गुडाउने भनेको पनि ।’ हलमा बहस चलिरहेको थियो, सँगै रमाइलो पनि । बहसमा वक्ताहरूले बोलेको कुराको सम्पादित अंशलाई तल प्रस्तुत गरिएको छ ।
मोहन वैद्य ‘चैतन्य’, क्रान्तिकारी माओवादीका अध्यक्ष
पुँजीवादी क्रान्ति सम्पन्न भयो भन्ने र भएको छैन भन्ने दुईवटा धार भयौँ हामीहरू । तर, यसलाई प्रमाणित गर्ने केले हो भन्दा एउटा तथ्य र अर्को जीवन पनि हो है । तथ्यमात्रै भएर हुँदैन विश्लेषण गर्ने दृष्णिकोणमा पनि यो भर पर्छ ।
नेपाली समाज कहाँ छ भन्नेबारे हामीले हाम्रो पार्टीमा कुरा राखेका छौँ । राष्ट्रिय सम्मेलनमा जाँदै यसबारे राम्रैसँग छलफल गर्ने भन्ने सोचेका पनि छौँ । पूरै सामन्तवाद छ भनेर कसैले भनेको छैन र भन्ने कुरा पनि होइन । अर्धसामन्तवाद र नवऔपनिवेशिक पुँजीवाद छ भनेको हो ।
हामी सबैको सहमति भएको राम्रो कुरा के हो भने पुँजीवाद त पुँजीवाद नै तर त्यो दलाल चरित्रको छ । त्यो दलाल पुँजीवाद हो । साथीहरूलाई एउटा प्रश्न, समाजवादी क्रान्ति भन्नुहुन्छ, कसकाविरुद्ध लड्नुहुन्छ ? सत्तामा को छ ? नोकर शाह र दलाल पुँजीवादी वर्ग अहिले सत्तामा छ कि छैन त ?
भारतीय शासक वर्गले जेजे भन्छ त्यही मान्ने अनि कसकाविरुद्ध लड्ने हो ? ‘दलाल पुँजीवाद पनि पुँजीवादै हो, राष्ट्रिय पुँजीवाद पनि पुँजीवाद नै हो’ भनेपछि अब पुँजीवादविरुद्ध लड्ने कुरा आएन । अब त्यो पनि समाजवादै हो भयो । वैदेशकि प्रतिक्रियावादविरुद्ध लड्नुपर्छ कि पर्दैन ?
कि त साथीहरूले भन्नुपर्यो ‘सत्तामा हामी आफैं दलाल पुँजीवादी र नोकर शाहहरू छौँ’ भनेर भन्नुपर्यो । यदि त्यसो हो भने आफ्नैविरुद्ध किन लड्ने ?
हाम्रा सत्ताहरू कस्ता भए भने, पञ्चायतका सत्तासीनहरू नै अहिले सत्तामा छन् । त्यसैमा एमालेका साथीहरू पहिले गएर मिसिनुभयो । अहिले संघर्ष गरेर आएका हाम्रै सगोत्रीहरू पनि गएर मिसिएका छन् ।
बहस मज्जाले गर्न पाए हुन्थ्यो । फेरि पनि यस्ता कार्यक्रम राखौँ । समस्या के छ भने, हामी सबैलाई आआफैँ क्रान्तिकारी लाग्ने । आफूमात्रै ठीक लाग्ने । यसको फैसला कसले गर्ने ? यसको फैसला इतिहास, जनता र हामी आफैँले विनापूर्वाग्रह गर्ने हो ।
घनश्याम भुसाल, एमाले उप–महासचिव
२०५६-५७ वरिपरि तेस्रो धार भन्ने एउटा समूह थियो । त्यसमा मैले मरो कागज पेस गर्दा नेपाली समाजको चरित्र अब सामन्तवादी रहेन, यो दलाल पुँजीवादमा परिवर्तन भइसक्यो भनेर राखेको थिएँ । म अहिले पनि त्यो कुरामा अडिग छु ।
२०५६-५७ वरिपरि तेस्रो धार भन्ने एउटा समूह थियो । त्यसमा मैले मरो कागज पेस गर्दा नेपाली समाजको चरित्र अब सामन्तवादी रहेन, यो दलाल पुँजीवादमा परिवर्तन भइसक्यो भनेर राखेको थिएँ । म अहिले पनि त्यो कुरामा अडिग छु ।
माक्र्सवादले बुझ्नभन्दा बदल्न सिकाउँछ भन्ने हुँदै होइन । माक्र्सले १८४५ मा दर्शन र इतिहासको अध्ययनपछि ‘थेसिस अन फायरवाख’ भन्ने ११ वटा सूत्र टिपोट गरे । जसलाई पछि एंगेल्सले व्यवस्थित गरे । बदल्ने भन्ने कुरो यो एघारौँ नम्बरको सूत्र हो । अरू सबै बुझ्न पर्छ भन्ने नै छ है । जसमा ‘शिक्षक स्वयम् शिक्षित हुनुपर्छ नत्र त्यसले के परिवर्तन गर्छ’ भन्ने उदाहरण दिएको छ ।
पुष्पलालले २००६ मा लेखेको कम्युनिस्ट घोषणापत्रको भूमिकामा लेखेका छन्– पुँजीवादको विकास भइरहेको छ भनेर लेखेका छन् । त्यसपछि २०१६ मा मोहनविक्रम सिंहले पनि लेखे र ०४२ तिर झलनाथ खनालले पनि त्यही लेखेका छन् । पुँजीवाद या सामन्तवाद हामीले गाली गरेर छुट पाउने चीज होइन यसविरुद्ध लड्नु पनि छ । मेरो भनाइ त के हो भने, राम्रोसँग विकास हुन नपाएको सामन्तवादले जन्माएको पुँजीवाद पनि राम्रोसँग जन्मिन पाएन । त्यसैले यो पूर्ण पुँजीवाद नभएर दलाल पुँजीवाद भयो भन्ने मेरो भनाइ हो ।
आर्थिक प्रयत्नबाटै समाज विकास ल्याउने भनेर लाग्दै छन् । अहिले बजारमा समृद्धिको गफ लगाएर हिँड्ने नेता, पत्रकार, बुद्धिजीवी हेर्ने हो भने बसिखप्नु छैन । मानौँ तिनीहरूले त्यसो भनेपछि मुलुक सारा समृद्ध भइहाल्छ, पुँजीवाद आइहाल्छ, विकास भइहाल्छजस्तो । यो समस्या मेरै एमालेमा कुरा गर्ने हो भने यहाँ पनि विकराल छ है ।
२०६५ को आठौं महाधिवेशनमा मैले एउटा दस्तावेज पेस गरेको थिएँ । त्यसको निष्कर्ष के थियो भने नेपाल अब अर्धसामन्ती अर्धउपनिवेशिक होइन, यो पुँजीवादी हो । यहाँ अब कुनै पनि जनवादी क्रान्ति हुँदैन । किन भने यो सम्पन्न भइसक्यो । नेपालको गन्तव्य कहाँ हो भन्दा त्यो समाजवाद हो । जुन धेरै टाढा छ । त्यहाँ जाने कसरी हो भन्दा आर्थिक विकासले हो ।
आर्थिक विकास के छ भन्दा त्यो दलाल पुँजीवादी छ । दलाल पुँजीवादबाट समाजवादमा जान सकिँदैन । एउटा विकसित, समृद्ध राष्ट्रिय पुँजीको विकास गर्नु र समाजवादको तयारी गर्नु आजको कार्यभार हो । नवौं महाधिवेशनमा पनि त्यो ‘डकुमेन्ट’ जस्ताको तस्तै प्रस्तुत भयो । तर, त्यसमा एउटा कुरा छुट्यो । त्यो थियो– यही दलाल पुँजीवाद ।
यसका कारण एकातिर मेरै गुटका माथिका भनिएका नेताहरूले पनि दलाल भनेपछि मान्छे रिसाउँछन् भनेजस्तो गर्नुभयो, अर्कातिर गुटबन्दी गर्नुपर्ने भएकाले फुर्सद पनि भएन । त्यसैले यो पुँजीको मूल चरित्र दलाल पुँजीवादी नै हो । एमालेको आधिकारिक वक्तव्यमा अलि बढी आर्थिक प्रयत्नबाटै समाजवाद आउँछ भन्ने देखिएको छ । त्यो गलत हो । यसले ठूलो सैद्धान्तिक समस्या ल्याउन सक्छ भनेर हामीले कसरी ठीक ठाउँमा ल्याउने भनेर प्रयत्न जारी राखेकै छौं ।
सामन्तवाद भनेको जहाँ जमिनदारले शासन गर्छन्, त्यो व्यवस्था सामन्ती व्यवस्था हो । मैले बुझेको कुरो यही हो । जमिनदार पुँजीवादी पनि हुन्छ, सामन्तवादी पनि हुन्छ । जमिन भएकै कारण ऊ सामन्त हुने होइन, यदि ऊसँग जमिन छ र वंशज या कुलका आधारमा शासन पनि गर्छ भने त्यो सामन्तवाद हो । जमिनदार भएका कारण शासन गर्ने सामन्त । संसारभरिको कुरा यही हो । अर्धसामन्ती भन्ने कुरा कहाँ बीचमा माओले त्यत्तिकै घुसाइदिएका भन्नुभो आहुतिजीले त्यो होइन । कम्युनिस्टको घोषणापत्रमै त्यो कुरा छ । म देखाउन सक्छु ।
यदि जमिनदारले शासन गर्ने व्यवस्था कहीँ थियो भने त्यो सामन्तवाद हो । हाम्रोमा ०४६ सम्म त्यो अवस्था थियो । ०४६ को संविधान क्रान्तिकारी यसर्थमा थियो कि, त्यसका तीनवटा जति धाराबाहेक सबै धारा जनवादी धारा थिए । एउटा राजाको सम्पत्तिमा कर लाग्दैन, सिलिङ लाग्दैन यस्तै केही अरू गरी तीनवटा ।
अहिले सामन्त छ भने, यहाँ छ भनेर ठ्याक्कै देखाइदिनुस् । मैले मेरो अध्यक्षलाई त्यो भन्ने गरेको छु, कहाँ छ सामन्तवाद ? छ भने के हेरेर बसेको, किन संघर्ष नगरेको ? यदि छैन भने किन लेखेको ? तर, यसको जवाफ पाएको छैन । हामी एमालेमा यो समस्या छ । यो साँचो हो । सायद यही अलमलमा भएर कुन समुद्रमा के पानीजहाज चलाउँछु भन्ने कुरा आएको हो ।
जुन समाज नाफा र ज्यालाले चलाउँछ, त्यो समाज पुँजीवादी समाज हो । मानिस सडकमा कि पुँजीका लागि दगुर्छ कि ज्यालाका लागि दगुर्छ । त्यसका लागि मानिस स्वतन्त्र छ र अनेकथरी गर्दै छ । त्यसैले नाफा र पुँजीले जब समाज चलाउँछ दलाल पुँजीवादी समाज हो ।
यदि होइन भने भन्नुपर्यो कहाँ छ सामन्तवाद ठ्याक्कै देखाउनुपर्यो । अस्ति एउटा साथीलाई सोधेको भित्रै छ भन्नुभयो । कहाँ त्यो भित्रै भनेको ? नेताले मात्रै देख्ने पोलिटव्युरो र पदाधिकारीले मात्रै देख्न पाइँदैन । यो विश्वासमा चल्ने भनेको धार्मिक संगठन हो । पुरेतले ईश्वर भनेको आस्था राख्ने चीज हो, प्रश्न राख्ने चीज होइन भन्छ । वैज्ञानिकले के भन्छ भने– ल हेर यति प्रकाश वर्ष अगाडि यो देखिन्छ । यति नाप्दा यो देखिन्छ, उसले खुलस्तै भन्छ । पुँजीवाद घरमा उज्यालो बनाउँछ बत्ती बाल्छ भन्नेमात्रै कसैले सोचेको छ भने त्यो गलत हो ।
विश्वभक्त दुलाल आहुति (माओवादी केन्द्रका नेता)
यो विषयमा म तीनवटा उपशीर्षकमा छलफल चलाउन चाहन्छु । नेपाली समाजमा वर्गहरूको निर्माण प्रक्रिया कसरी भयो ?, ती वर्गहरूमा वरिवर्तन कसरी आयो ? र अहिले नेपाली समाजको मूल चरित्र कस्तो छ ?
१. नेपाली समाजमा वर्गहरूको निर्माण प्रक्रिया कसरी भयो ?
अर्थराजनीतिक भन्दा पनि ऐतिहासिक भौतिकवादी कोणबाट हेर्दा दुई सय वर्षअगाडि कोसी नदीदेखि पश्चिम र बागमतीदेखि पूर्व पनि भन्न सकिन्छ या चुरेसम्मको समाज परम्परागत भारतीय समाजको सामन्तवादी चरित्रजस्तो देखिन्छ । त्योभन्दा पारि अर्थात् कोसीपारिको कोचहरूको समाज कविलाइ समाजजस्तो देखिन्छ । पश्चिमको भित्री मधेस दाङलगायतका क्षेत्रमा राजतन्त्रस्तरमा विकास त भएको छ तर समाज कविलाइखालको थारूहरूको बस्ती भएको पाइन्छ । पहाडी क्षेत्रमा त्यतिबेला सानो÷सानोखालको सामन्तवाद देखिन्छ । हिमाली क्षेत्रमा त्यो झनै खुम्चिएको पाइन्छ ।
त्यही समाजमा जब पृथ्वीनारायण शाहको राज्य विस्तार र तामाङ किपट, किरातहरूको किपट र त्यसपछि विशेषगरी लिम्बूहरूको किपट इत्यादिको अन्त्य गर्ने पक्रियासँगसँगै कविलाइ समाजको अवशेषका रूपमा रहेका उत्पादन सम्बन्धहरू भत्किएका छन् ।
त्यसपछि आउँछ जंगबहादुरको मुलुकी ऐन । नेपाली समाजमा विशेषगरी पश्चिमबाट भेरी नदीसम्म र पछि विस्तार हुँदै गोरखा र बेलकोटसम्म फैलिएको खस आर्यहरूको सभ्यता र संस्कृतिमा आधारित सोच्ने परम्परा पृथ्वीनारायणको राज्य विस्तार र जंगबहादुरको मुलुकी ऐनसम्म आइपुग्दा व्यवस्थित गरिसकिएको हुन्छ । जंगबहादुरको मुलुकी ऐन आइसकेपछि कोही पनि त्यसबाट दायाँबायाँ हुन नपाउनेगरी आयो । त्यहाँ किटान गरियो कि, सहरभित्र घाम अस्ताएपछि बस्न नपाउने को÷को, घाम उदाएपछि आउन पाउनेहरू को÷को ? बिर्ता राख्न पाउनेहरू कुन÷कुन, राख्न नपाउने कुन-कुन ?
मुसलमानलाई समेत ‘हाम्रा मुसलमान’ र ‘मुसलमान’ भन्ने शब्द प्रयोग गरियो । ‘हाम्रा मुसलमान’ भनेको मल्लकालमा काठमाडौं भित्र्याइएका मुसलमान र ‘मुसलमान’ मात्रै भनेको तराईका मुसलमान । मुसलमानलाई लिखित रूपमा अछुत घोषित गरियो । मुसलमानलाई पनि दुई भागमा विभाजन गरियो । जनजातिहरूलाई पनि दुई खेमामा विभाजन गरियो । एउटा मासिन्याह मतवाली, जसलाई कमारो बनाउन मिल्ने चेपाङ, तामाङ, थारू आदि ।
अर्को नमासिन्याह मतवाली, जसलाई कमारो बनाउन नमिल्ने सुनुवार, लिम्बू, राई, मगर र गुरुङ । जसले जागिर गर्न पाउने, सेनामा पनि जागिर गर्न पाउने । नेवारभित्र पनि दुई तह राखियो, एउटा तागाधारीहरू श्रेष्ठभन्दा माथिका पाँच खलकहरू । त्यहाँभन्दा तलका ज्यापूहरू, जसलाई तागाधारी बनाइएन । जनै लगाउने अधिकार दिइएन, व्यापार गर्ने अधिकार दिइएन । दलितहरू जसलाई त्यसबेलाको ऐनमा ‘पानी नचल्ने जात’ भनेर उल्लेख गरिएको छ । उनीहरूभित्र पनि दुईवटा खेमा बनाइयो । एउटा पानी नचल्ने छोइछिटो हाल्नुपर्ने, छोयो भने आगो या सुनले चोख्याउनुपर्ने । अर्को पानी नचल्ने तर पनि छोइछिटो हाल्नु नपर्ने ।
संवत् १९१० को मुलुकी ऐन अहिले सबैभन्दा बढी लुकाइएको किताब हो । विश्वविद्यालयहरूमा पनि कतै पढाइ हुँदैन त्यसबारेमा । किनकि त्यो मुलुकी ऐनमा अहिले प्रधानन्यायाधीश को बन्ने भनेर त्यतिबेलै लेखिसकेको छ । प्रधानसेनापति को बन्ने भनेर त्यही मुलुकी ऐनले भनेको छ । न्यायाधीशहरू सबैभन्दा बढी को बन्ने, कुन समदुायबाट बन्ने भनेर त्यहाँ लेखिएको छ । तामाङहरूले कति दुःख पाउने भनेर पनि त्यहीँ लेखेको छ ।
तामाङभन्दा जीवनस्तरमा लिम्बू किन माथि छ ? किनकि लिम्बू मासिन्याहभित्र राखिएन, तामाङ राखियो । मासिन्याहभित्र राख्नेबित्तिकै ऊ स्वतः सरकारी जागिरमा आउन पाएन । पछि असाध्यै भरियाहरूको खाँचो भएको हुनाले पिपामा अवसर दिएको हो । मल्लकालमा जो तागाधारी नेवार थिए, उनीहरूको बिर्ता खोसिएन । पृथ्वीनारायण र जंगबहादुरले खोसेनन् । किनकि काठमाडौंमा नेवारसँग सम्झौता गर्नु थियो । ती तागाधारीहरूसँग खोसेनन् र ज्यापूहरू सबै मोही बन्न पुगे । त्यसपछि अरू बिर्ता पृथ्वीनारायण शाह, जंगबहादुर राणा र उनीहरूका पुरेत, सेनापति, त्यसको लेखपढ हेर्नेहरूले पाए । त्यसकारण नेपाली समाजको वर्गनिर्माणको प्रक्रिया जात र जातिका आधारमा रहेर बनाउन सुरु गरियो । जात पनि वर्ग होइन, जाति पनि वर्ग होइन । तर, नेपालमा जंगबहादुरको मुलुकी ऐनबाट जात र जातिमा आधारित वर्ग बनाइयो ।
संसारको कुनै पनि सामन्तवादी समाजमा जोसँग बढी जमिन हुन्छ, त्यो सजिलै राज्यसत्तामा पुग्छ । ऊ राज्य सत्तासँग सबैभन्दा नजिक हुन्छ । सामन्तवादको नियम नै त्यही हो । तर, नेपालमा एउटा विशिष्टखालको यस्तो घटना घट्यो कि जसले क्षेत्रीय उत्पीडनलाई प्रतिविम्बित गर्छ । चार सय रोपनीको बिर्ता पाएको सूर्यबहादुरको खलक पहाडको भएकै कारण प्रधानमन्त्री भयो । तर, मधेसमा दुई सय बिघा जग्गा भएको एउटा मधेसी सामन्त छ भने ऊ सत्तामा पनि आउन पाएन । मन्त्री या प्रधानमन्त्री त परकै कुरा भयो । एमए पढेको मानिसले जागिर नपाएजस्तो । नेपालमा क्षेत्रीय उत्पीडनको प्रभाव पनि निकै गहिरोगरी परेको छ । अहिले पनि जंगबहादुरले बनाइदिएको त्यही आधारभूत ढुंग्रोमै अल्झिरहेको छ, मुक्त हुन सकेको छैन ।
अहिले न्यायाधीशमध्ये ९० प्रतिशत त्यतिबेला जातजातिका आधारमा जसलाई बनाउने बनेर बाटो बनाएको थियो, त्यही छ । ठूला प्रशासकहरूमध्ये ८० प्रतिशतभन्दा बढी कि त तागाधारी नेवार छ, कि त क्षेत्री र ब्राह्मण छ । नेपाली वर्ग भनेको आर्थिक परिघटनामात्रै होइन, त्यसले संस्कृति पनि निर्माण गर्छ । नेपाली संस्कृति पनि त्यसैमा आधारित रहेर बनेको छ ।
२. ती वर्गहरूमा परिवर्तन कसरी आयो ?
कसरी नयाँ÷नयाँ वर्गहरू जन्मिए ? त्यसका थुप्रै घटनाहरू छन् । पहिलो, जंगबहादुरको सुरुङ भत्काउने एउटा काम गोर्खा भर्तीले गर्यो । गोर्खा भर्ती बिल्कुल नकारात्मक कुरा हो । तर, गोर्खा भर्ती हुँदैनथ्यो भने, पोखरा सहर हुँदैनथ्यो । धरान, भैरहवा र बुटवलमा सहर बस्ने सम्भावना धेरै कम हुन्थ्यो । चारवटा जाति लिम्बू, गुरुङ, मगर र राईलाई जंगबहादुरले धनी हुने अधिकार त दिएको थिएन तर गोर्खा भर्तीले त्यो सम्भव तुल्याइदियो । गोर्खा भर्ती नकारात्मक घटना थियो तर त्यसको परिणाम यस्तो आयो ।
दोस्रो, गोर्खा भर्तीले दलितभित्र एउटा मध्यम वर्ग सुनार जाति पनि जन्माइदियो । ती गोर्खा भर्तीमा गएका लाहुरेहरूले कमाएर ल्याएको पैसाले हिन्दुस्तानमा देखेको गहनाको परिपाटीलाई सिको गर्न खोजे । त्यसका लागि उनीहरूले तिनै पुराना परम्परागत सुनारहरूसँग गएर सुन बनाउन थाले । जसका कारण सुनारहरूले नगद पाउन थाले । आर्य खसहरूको बाली लगाएर धानिएको सुनारहरूको व्यवसायले लाहुरेको नगद पाइसकेपछि भने बुटवलमा पाँच तलाको घर निर्माण हुन सुरु भयो । वर्ग परिवर्तन भयो ।
तेस्रो, ०१८ मा जब महेन्द्र सिंगापुर गए, त्यतिबेला मनाङका मान्छेहरू त्यहाँ जडीबुटी र ढुंगा बेचिरहेको देखे । त्यो बेलासम्म मनाङ जिल्ला नेपालभित्र थिएन । मनाङीहरूसँग महेन्द्रले त्यहीँ कुरा गरे । मस्र्याङ्दीको किनारैकिनार माथि आएपछि हाम्रो पाँच गाउँ आउँछ भनेपछि महेन्द्र नेपाल फर्केपछि त्यहाँ भेट्न गए । त्यहाँ उनले नेपाल सरकारलाई मान भनेर आग्रह गरे । उनीहरूले ‘हामी लुकीलुकी कलकत्ताबाट जडीबुटी बेच्नुपर्छ, हामीलाई कसैले टेर्दैन हामीले किन टेर्ने’ भनेपछि, अब ‘तिमीहरूलाई विदेशमा व्यापार गर्नका लागि विशेष सुरक्षा दिन्छु, नेपाल सरकारलाई मान’ महेन्द्रले भने । त्यसरी विदेशमा व्यापार गर्न पाएपछि मनाङमाथिका पाँच गाउँका मानिस सबैको काठमाडौँमा एक÷एक घर बने । मनाङ जिल्लालाई नेपालमातहत ल्याउनका लागि महेन्द्रले गरेको यस सम्झौताले उनीहरू कम्तीमा मध्यमवर्ग र कोही दलाल पुँजीपति वर्गसम्म पुगे ।
अर्को जंगबहादुरको संरचना थकालीहरूले भत्काइदिए । त्यतिबेला मुस्ताङ नेपालमा सबैभन्दा बढी राजस्व भित्र्याउने नाकामध्ये पथ्र्यो । सिंहदरबारले पत्तै पाएन, मुस्ताङी थकालीहरूको एउटा खलकले म्याग्दीमा फलेको राम्रो चामल तिब्बत लैजाने र त्यहाँबाट आएको सुन बाग्लुङ र म्याग्देलीहरूलाई दिने । नुनसँग चामल साट्दै ल्हासाको सुन व्यापारीहरूसँग संगत गर्दै धानै नरोप्ने जाति अहिले नेपालको सबैभन्दा मीठो भात बनाउने जाति बन्यो । र थकालीहरूको एउटा खलक यसरीकन जंगबहादुरको मुलुकी ऐनले चालै नपाउनेगरी मध्यमवर्गमा आयो ।
राजा महेन्द्रले पञ्चायतकाल आइसकेपछि राजपरिवारको नियन्त्रणमा रहनेगरी भारतबाट छानीछानी पुँजीपति घरानियाहरू बोलाएर ल्याए । भारतबाट यसकारण कि मधेसका नेपाली घरानियाहरूलाई उनले मन पराउँथेनन् । माइतीघर फिल्म बनाउनलाई पट्नाको झा परिवारलाई ल्याए । टन्डन परिवारलाई ल्याएर नेपालगन्जमा दुई सय बिघा जग्गा दिएर उद्योग गर्न दिए । पट्नाका रइस मुस्लिमलाई ल्याएर एभरेस्ट होटल बनाउन लगाए । तर, त्यहीँ तराईको, त्यस्तै भाषा बोल्ने, त्यस्तै संस्कृति भएको नेपाली मधेसी सामन्तलाई ल्याएनन् । अम्बर गुरुङ र गोपाल योञ्जनलाई पनि उनले पहाडिया राष्ट्रवाद देखाउन धेरै खर्च गरी ल्याएका थिए । यहाँबाट विदेशी पुँजीको निकै ठूलो चलखेल भयो र मारवाडीहरूको हालिमुहाली चल्न थाल्यो । यसरी जंगबहादुरले बनाएको बाटोलाई भत्काउन सुरु भयो ।
३. र, अहिले नेपाली समाजको मूल चरित्र कस्तो छ ?
नेपालको सामन्तावाद भनेको टुक्रे सामन्तवाद हो । नेपालमा चीन या रुसको जस्तो सामन्तवाद छैन, हामीले त्यसरी विश्लेषण गर्नु उपयुक्त हुँदैन । जमिनको सामन्ती सम्बन्धमा सबैभन्दा ठूलो प्रहार ०१६ को बिर्ता उन्मूलनबाट बीपी कोइरालाले गरे । ‘क’ वर्गको बिर्ता उन्मूलन गरे । त्यसपछि नेपालको कम्युनिस्ट आन्दोलनले किसानलाई जमिन त कहिले पनि बाँड्न सकेन । कतैकतै लगेर सुकुम्बासी राख्नेबाहेक तर सामन्तीहरूलाई निरन्तर आतंकित भने बनाइरह्यो । एकातिर कम्युनिस्ट कहिले जुगेडी, कहिले चिसापानी त कहिले भीमदत्तजस्ता आन्दोलनले त्राहिमाम बनाउने अर्कोतिर राजा महेन्द्रले पनि ं०२१ मा भूमिसुधार भन्ने नौटंकी ल्याएर तर्साउने । यस्तो अवस्थामा नेपालका सामन्तहरू कहिले पनि शान्तले बस्न पाएनन् । त्यस्तो अवस्थामा राजाले पहाडीलाई मधेसमा लगेर राखेका पहाडियाहरू हाबी भए । अहिले पनि तिनीहरू नै मधेसका अहिले ठूला सामन्त भएका छन् । उनीहरू नै सत्तामा पुगेका छन् । उनीहरूसँग अहिले १० बिघाजति जग्गा छैन ।
नेपालमा अहिले १० बिघा जग्गा हुने मानिसले खेतिपातीबाट वर्षमा पाँच लाख रुपैयाँ जम्मा पार्न सक्छन् । माविको एउटा टिचरले ट्युसन पढाउने हो यताउपति गर्ने हो भने उसले पनि पाँच लाख जम्मा गर्छ । त्यो १० बिघा जग्गा हुनेविरुद्ध लड्नु भनेको माविको एउटा टिचरसँग लड्नुजस्तै हो । त्यसैले नेपालमा अब सामन्तवाद बाँकी छैन सामन्तवादका अवशेषहरू मात्रै बाँकी छन् ।
उत्पादन सम्बन्धका आधारमा हेर्दा जमिनमा अहिले सामन्तवादी सम्बन्ध निर्णायक छैन । हलियाप्रथा पनि मुस्किलले पाँच लाखभन्दा धेरैको संख्या अहिले नेपालमा छैन । त्यस्तै उद्योगधन्दाको कुरा गर्दा स्वाभाविक रूपमा राष्ट्रिय पुँजी दमनमा छ । दलाल पुँजी हाबी भएको छ । यो सत्य कुरा हो । राष्ट्रिय पुँजी पनि पुँजीवाद नै हो, दलाल पुँजी पनि पुँजीवाद नै हो । नेपालको अहिलेको निर्णायक पुँजी भनेको दलाल पुँजीवाद नै हो । दलाल पुँजीवाद भन्नेबित्तिकै साम्राज्यवाद भन्ने नै बुझ्नुपर्छ ।
राजनीतिमा सामन्तवाद भनेको वंश, कुल, लिंग या जन्मका आधारमा कसैले सरकारी पोस्ट पाउँछ भने त्यो राजनीतिक सामन्तवाद हो ।
राजनीतिक पुँजीवाद भनेको खराब होस् या असल होस् चुनेर भोट दिएरमात्रै पोस्ट प्राप्त हुने व्यवस्था हो । तर, त्यो कानुनअनुसार नै भएको हुनुपर्छ ।
संस्कृतिको क्षेत्रमा अलि बढी नै सामन्तवादको पकड बाँकी छ । त्यो साँचो हो तर हाम्रो जीवनको आधारभूत शैली नै सामन्तवादी भन्ने कुरो सत्य होइन । अर्धसामन्ती भनेर पनि माओले बीचमा त्यत्तिकै घुसाएकामात्रै हुन् । त्यो पनि खास होइन । नेपालमा बाली, निगाहामा अहिले कुनै चीज प्राप्त हुँदैन ।
यदि कतै हुन्छ भने त्या अपवाद हो । सामन्तवादमा व्यक्तिको सांस्कृतिक जीवन छनोटको स्वतन्त्रता हुँदैन, पुँजीवादमा हुन्छ । क्रान्तिकारी भूमिसुधार भएन भने पुँजीवाद आउँदैन भन्ने कुरा गलत छ । कृषि क्रान्तिले मात्रै पुँंजीवादमा पुगिन्छ भन्ने कुरा गलत छ । त्यसैले फेरि नयाँ जनवादी क्रान्ति गर्ने भन्ने कुरा सम्भव छैन । किनभने जनवाद भनेकै पुँजीवाद हो । पुँजीवादी समाजमा क्रान्ति गरेर अर्को पुँजीवाद ल्याउने भन्ने हुँदैन । अब जाने भनेको समाजवादतिर हो ।
http://www.ratopati.com बाट साभार
No comments:
Post a Comment