१. विषय उठान
साङ्गठानिक हिसाबले नेपालमा कम्युनिस्ट भ्रुण रोपिएको पौने–शताब्दी भइसकेको छ । नेपाली कम्युनिस्ट क्रान्तिकारी आन्दोलनको यो पहिलो अध्याय समग्रमा गौरवशाली इतिहासका रुपमा स्थापित छ । र, यो पौने शताब्दी लामो कालखण्डमा कमरेड पुष्पलाल नै नेपाली कम्युनिस्ट आन्दोलनको अद्वितीय बिम्बका रुपमा प्रतिष्ठित हुनुहुन्छ । पुष्पलालले पार्टी निर्माणका सुरुवाती पहलहरुमा नेतृत्वदायी र निर्णायक भूमिका खेल्नुभयो । पहिलोपटक नेपाली समाजलाई ऐतिहासिक भौतिकवादी ढङ्गले व्याख्या गर्नुभयो । नयाँ जनवादी क्रान्तिको कार्यदिशा तय गर्नुभयो । र, आफ्नो सम्पूर्ण जीवन नेपाली श्रमजीवी जनताको मुक्तिका खातिर बिताउनुभयो । उहाँले नेपाली समाजको अर्थ–राजनीतिक चरित्र (अर्धसामन्ती र अर्धऔपनिवेशिक) पहिल्याई संश्लेषण गरेको ‘नयाँ जनवादी क्रान्तिको कार्यदिशा’ नै अघिल्लो चरणका लगभग सबै पार्टी र समूहले आत्मसात् गरेको सैद्धान्तिक प्रस्थापना हो । त्यसअर्थमा, नयाँ जनवादी क्रान्तिका लागि सञ्चालित पौने शताब्दी लामो कम्युनिस्ट आन्दोलन–अवधिमा वैचारिक–सैद्धान्तिक हिसाबले पुष्पलाल नै केन्द्रीय व्यक्तित्व रहनुभएको छ । आज पुष्पलाललाई सम्झनु भनेको केवल उहाँको व्यक्तित्व र ऐतिहासिक योगदानको मूल्याङ्कन गर्नु वा उहाँप्रति सम्मान व्यक्त गर्नु मात्रै होइन, बरु तीव्र गतिमा बदलिएको नेपाली समाजको अर्थ–राजीतिक चरित्रअनुसार आजको नेपाली राजनीतिको मूल अन्तरविरोध खुट्याउनु र कम्युनिस्ट आन्दोलनको समग्र समीक्षा गर्दै नयाँ अध्यायको थालनीका लागि पहल लिन अग्रसर हुनु हो । पार्टी स्थापनाकालका पहिलो महामन्त्री तथा नेपाली कम्युनिस्टहरुका गुरु पुष्पलालको जीवनबाट लिनुपर्ने सबैभन्दा ठूलो शिक्षा हो– आजको नेपालको विशिष्ट भू–राजनीतिक र अर्थ–राजनीतिक विशेषता, ऐतिहासिक वास्तविकता र विकसित नयाँ वस्तुस्थिति अनुसार कम्युनिस्ट आन्दोलनको नयाँ अध्याय अघि बढाउनु ! प्रस्तुत छलफलपत्रको उद्देश्य त्यसैमा केन्द्रित छ।
२. बिर्सन नमिल्ने पृष्ठभूमि र सङ्गठन निर्माणका पहलहरु
पुष्पलाललाई विषय बनाएर अध्ययन गर्दा अधिकांश अध्येताले २२ अप्रिल, सन् १९४९ मा उहाँसहित चार जनाले गठन गरेको नेपाल कम्युनिस्ट पार्टीलाई प्रस्थानविन्दु मान्ने गरेको पाइन्छ । एक अर्थमा यो स्वाभाविक छ किनभने ‘कम्युनिस्ट पार्टी’ नामकरणसहित खुलेको यो नै पहिलो समूह थियो, जसको नेतृत्वदायी पहल कमरेड पुष्पलालले गर्नुभयो । परन्तु, पार्टी सङ्गठनका लागि आवश्यक न्यूनतम र आधारभूत साङ्गठानिक अवयव र वैचारिक–सैद्धान्तिक तयारी हेर्ने हो भने पहिलो कम्युनिस्ट नामाङ्कित चारजनाको यो समूह पार्टीको आकार लिइसकेको पूर्ण–सङ्गठन थिएन । त्यसैकारण कतिपय स्थापनाकालीन नेताहरुले पार्टी गठनका मिति नै अलग–अलग मान्ने गरेका छन् । तर, हालसम्मका तथ्यहरुले लेनिन दिवस अर्थात् २२ अप्रिल १९४९ को पहलविन्दुलाई नै नेकपा स्थापनाका रुपमा पुष्टि गर्छन्।
बरु त्यस पहलविन्दुभन्दा अगाडिको वैचारिक पृष्ठभूमि र साङ्गठानिक प्रयत्नहरुको एक दशक लामो जगलाई भने हामीले बिर्सन मिल्दैन । किनभने कम्युनिस्ट पार्टी अपर्झट घोषणा भइजाने वा कुनै खास विन्दुमा स्वतःस्फूर्त जन्मिने पार्टी होइन । समाज विकासलाई जस्तै कम्युनिस्ट पार्टीको जन्म र विकासलाई पनि हामीले ऐतिहासिक भौतिकवादी दृष्टिबाट अध्ययन गर्नुपर्छ । एउटा पूर्ण कम्युनिस्ट पार्टी निर्माणका पछाडि विचार, सङ्गठन र आन्दोलनका क्षेत्रमा निश्चित पृष्ठभूमि, प्रक्रिया र सचेत प्रयत्नहरुको शृङ्खला गुज्रेको हुन्छ, हुनुपर्छ । यस परिप्रेक्ष्यमा हामीले नेपालमा कम्युनिस्ट पार्टीको जन्म हुनुअघिका केही क्रान्तिकारी साङ्गठानिक प्रयासहरुको अध्ययन गर्नैपर्छ । त्यसमध्ये सन् १९३१ को प्रचण्ड गोर्खा, सन् १९३६ को नेपाल प्रजापरिषद्, सन् १९३६ मै गठित ‘क्रान्तिकारी समिति’ र ‘नागरिक अधिकार समिति’, सन् १९४१ को अखिल नेपाल वर्ग–महासभा तथा ‘रक्तपात कमिटी’ जस्ता परिवर्तनाकांक्षी सङ्गठनात्मक पहलहरु मुख्य थिए । रक्तपात कमिटीको बोल्सेभिकहरुसँग सम्पर्क भएको पनि बताइन्छ । त्यस्तै सन् १९४१ (१९९७ साल)को सहिद पर्व, मजदुर सङ्गठनको गठन, मजदुरहरुको हड्तालले पनि क्रान्तिकारी राजनीतिक वातावरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सन् १९४६ को नेपाली राष्ट्रिय काङ्ग्रेस र सन् १९४७ को नेपाल प्रजातन्त्र काङ्ग्रेसको गठन यो पृष्ठभूमिमा प्रजातान्त्रिक वा गैरकम्युनिस्ट धाराका निर्णायक विन्दुहरु हुन्।
वैचारिक–सांस्कृतिक क्षेत्रमा भएका गतिविधिहरुको पृष्ठभूमिले पनि कम्युनिस्ट पार्टी निर्माणका आधारहरुको काम गरेको छ । काठमाडौं उपत्यकामा अङ्ग्रेजी र खासगरी हिन्दी भाषामा उपलब्ध हुने सोभियत साहित्यका प्रकाशनहरुको उपलब्धता, पुष्पलालले गरेको कम्युनिस्ट पार्टीको घोषणापत्रको नेपाली अनुवाद, दार्जिलिङका नेपालीभाषी कम्युनिस्टहरु गणेशलाल र रतनलालसँगको सङ्गत–संवाद, भारतीय कम्युनिस्ट पार्टीका नेताहरुसँगको सम्पर्क र उनीहरुको पहल, काठमाडौंभित्र औपचारिक–अनौपचारिक रुपमा बनेका परिवर्तनाकांक्षी समूहभित्रका विमर्श, अध्ययन मण्डली, राणा शासनविरोधी क्रान्तिकारी वातावरण आदिले कम्युनिस्ट पार्टीको गठनका लागि परिवेश बनाउने काम गरेका थिए।
यिनै पृष्ठभूमिबीच सन् १९४१ मे २ मा खुलेको नेपाल प्रजातन्त्र सङ्घ नेपालभित्र साङ्गठानिक हिसाबले कम्युनिस्ट विचारद्वारा प्रभावित पहिलो समूहका रुपमा देखापर्छ (श्रेष्ठ २०६६ : अप्रकाशित लेख) । यसलाई प्रारम्भिक कम्युनिस्ट भ्रुण–क्लबका रुपमा लिन सकिन्छ । यो सङ्घ भारतीय कम्युनिस्ट नेताहरुसँगको सम्पर्कका आधारमा सूर्यबहादुर भारद्वाज, प्रेमबहादुर कंसाकार, पुष्पलाल, शम्भुराम श्रेष्ठ लगायतले खोलेका थिए । पछि यसमा नरबहादुर कर्माचार्य, भैरवगोपाल वैद्य, कामाक्षादेवी राणा, राजाराम कर्माचार्य आदि पनि थपिए । यहाँनिर स्मरणीय पक्ष के हो भने प्रजातन्त्र सङ्घमा आबद्ध सदस्यहरुले आफूलाई कम्युनिस्ट बताउँथे, आपसमा लालसलाम अभिवादन गर्थे र एकअर्कार्लाइ कमरेड भनेर सम्बोधन गर्थे (कर्माचार्य, २०६६ र पुष्पलाल २०५३ : ८)। उनीहरुले साम्यवादी विचार वहन गर्ने समूहगान गाउँथे । जसको बोल थियो– ‘पहाड पर्वत खोला नाला जग्गा जमिन सबको, मालिक हामी दास बनौं किन हिस्सा सबमा सबको !’ यो गीतको पूर्णपाठ (i) कम्युनिस्ट–अन्तर्वस्तु र क्रान्तिकारी–भावको छ । यही गीत पछि सन् १९४९ मा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएपछि सो पार्टीको पहिलो घोषणापत्र जारी हुँदा मूलनाराका रुपमा गातामा राखिएको छ।
पुष्पलालले यसै सङ्घको चर्चा गर्दै १९९७ साल (सन् १९४०–४१) देखि नेपालमा कम्युनिस्टहरु सङ्गठित भएर काम गर्न थालेको उल्लेख गर्नुभएको छ । सन् १९४१ मा गठित ‘नेपाल प्रजातन्त्र सङ्घ’ खुल्नुअघि नेपालको पहिलो कम्युनिस्ट को हो भन्ने विवाद रहेको तर त्यही वर्ष खुलेको सङ्गठनमार्फत् कम्युनिस्ट विचारधारा नेपालको राजनीतिक रङ्गमञ्चमा उत्पन्न भएको पुष्पलालले लेख्नुभएको छ । उहाँको भनाइ छ, ‘नेपालको पहिलो कम्युनिस्ट को हो ? र कसरी कम्युनिस्ट विचारधाराप्रति आकर्षित भयो भन्ने कुरा उत्तिको महत्त्वपूर्ण छैन, यो गौण विषय हो । सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि नेपालको राजनीतिक रङ्गमञ्चमा कम्युनिस्ट विचारधारा उत्पन्न भयो र त्यसले पिंढी दरपिंढीलाई असर गर्न थाल्यो । ०९७ सालको पर्वभन्दा पहिले यो विवादमा मात्र सीमित थियो भने त्यसपछि सङ्गठित रुप लिन थाल्यो । ०९७ सालको काण्डपछि प्रेमबहादुर, सूर्यबहादुर, शम्भुराम तथा पुष्पलालको चारजनाको एक राजनीतिक दल बन्यो । हामीहरु आपसमा सम्बोधन गर्दा ‘कमरेड’ र अभिवादन गर्दा ‘लालसलाम’ भन्न थाल्यौं । यस दलको नेता नछानिए तापनि प्रेमबहादुर नै नेताका रुपमा थिए (पुष्पलाल २०५३ : ८)।’ यो सङ्घको परेड गीतलाई पुष्पलालले ‘नेपाली सर्वहारा सुकुम्बासीको भावनालाई अभिव्यक्त गर्ने प्रथम नेपाली साहित्य’ भन्नुभएको छ।
पुष्पलालको यो उद्धरणबाट हामी के निष्कर्षमा पुग्न सक्छौं भने नेपालमा कम्युनिस्ट पार्टीको जन्म सन् १९४९ (२००६ साल) मा भए पनि त्यसको बिज १९९७ सालमै रोपिएको थियो । त्यो त्यही नेपाल प्रजातन्त्र सङ्घ थियो । प्रजापरिषद्मा सामेल भएका तर कम्युनिस्ट विचार राख्ने युवाहरुले कम्युनिस्ट नाम नभएको तर आफूलाई कम्युनिस्ट बताउनेहरुको यस्तो सङ्घ बनाएका थिए । केही विद्वानहरुका अनुसार यो प्रजापरिषद्भित्रैको समिति थियो र पछि यसले नाम बदलेको थियो (श्रेष्ठ, उही) । पुष्पलालले यसलाई ‘राजनीतिक दल’ नै भन्नुभएको छ । उहाँले एउटा पूर्ण आवयविक संरचना तथा वैचारिक आधारसहितको पार्टीको अर्थमा यसलाई दल भनेको नभए पनि यसै समयदेखि ‘पहिलो कम्युनिस्ट को हो ?’ भन्ने विवाद गौण बनेर गएको लेख्नुभएको छ र आफूहरुलाई कम्युनिस्ट कार्यपद्धति र माक्र्सवादी सैद्धान्तिक ज्ञानमा काँचा भए पनि ‘भावनावादी तथा कम्युनिस्ट मनधारी’ कार्यकर्ताका रुपमा चिनाउनुभएको छ (पुष्पलाल २०५३ : ११)।
सन् १९४१ को सहिद–पर्वअघि सहिदद्वय दशरथ चन्द र गङ्गालाल श्रेष्ठ, त्यस्तै धर्मरत्न यमि कम्युनिस्ट सिद्धान्तबाट प्रभावित वा कम्युनिस्ट विचारका प्रशंसक हुनुहुन्थ्यो भन्ने विभिन्न विवरणहरुबाट थाहा लाग्छ । सन् १९४३ तिर ‘विश्व भ्रातृत्व सङ्घ’ भन्ने कम्युनिस्ट विचारको प्रभावबाट एउटा सङ्गठन खुल्छ । यसमा गङ्गालाल श्रेष्ठ (हलुवाई), नारायणविलास जोशी, देवेन्द्रलाल श्रेष्ठ, चन्द्रशेखर रघुवंशीलगायत सदस्य हुन्छन् । यसमध्येका गङ्गालाल हलुवाईले नेपाल कम्युनिस्ट पार्टी खुलेकै वर्ष ‘नेपाल लाल कम्युनिस्ट पार्टी’ स्थापना गर्नुभएको थियो । उहाँले नेपाल प्रजातन्त्र सङ्घ खुलेकै समयमा ‘नेपाल साम्यवादी सङ्घ’ नाममा अलग्गै गतिविधि गरेको र पर्चा समेत छापेर बाँडेको माणिकलाल श्रेष्ठले लेख्नुभएको छ । ‘विश्व भ्रातृत्व सङ्घ’ नामक सङ्गठनलाई माक्र्सवादी अध्येता श्रेष्ठले कम्युनिस्ट पार्टी स्थापनाको आधार तयार पार्न योगदान दिने समूह भन्नुभएको छ । श्रेष्ठको भनाइ छ, ‘पुरै कम्युनिस्ट पार्टी वा कम्युनिस्ट सङ्गठन भनी किटान गर्न नसकिए पनि यसले कम्युनिस्ट विचार र सिद्धान्तको पक्षमा प्रचार गरेको देखिन्छ । कम से कम यस सङ्घको प्रचार आन्दोलनले कम्युनिस्ट पार्टीको स्थापना गर्नका लागि आधार तयार गर्ने काममा महत्त्वपूर्ण योगदान गरेको थियो भन्न मिल्दछ (श्रेष्ठ, उही) ।’
माणिकलाल श्रेष्ठकै अनुसार सन् १९४६ तिर त्रिपुरनरसिंह प्रधानको नेतृत्वमा खुलेको ‘नेपाल प्रजा पञ्चायत’ नामको सङ्गठनले पनि कम्युनिस्ट भावनासहितको गतिविधि गरेको थियो । यो समूहले हिन्दी भाषामा लेनिनको नाममा कसम खाई कम्युनिस्ट शैलीको क्रान्तिकारी गीत गाउने गथ्र्यो (श्रेष्ठ, ......) । जुन गीत यसप्रकार थियो–
भूखों से परे बच्चे खाना ही नहीं मिलता,
...हम लाल निशान अपनी दुनियाँ मे उठाएङ्गे !
लेनिन की कसम, लेनिन की कसम !’
यी समूहहरु लामो समय टिकेनन् र यिनीहरु आफै कम्युनिस्ट पार्टीमा रुपान्तरित हुन सकेनन् । तर यी सबै समूह कम्युनिस्ट–प्रभावी, ‘कम्युनिस्ट मनधारी’ वा भावनाले कम्युनिस्ट भएर कम्युनिस्ट शैलीकै गतिविधि गर्ने समूह अवश्य थिए । परन्तु, नेपालमा कम्युनिस्ट नाम लिएरै पार्टी जन्मन कम्तीमा एक दशक समय लाग्यो । आजसम्म हामीले कम ध्यान दिएको वा हाम्रो ध्यान नपुगेको पक्ष के हो भने नेपालमा कम्युनिस्ट विचारको प्रसार र कम्युनिस्ट प्रवृत्तिका समूह निर्माणको प्रयास सन् १९४१ तिरै भएको थियो, एक्कैचोटि सन् १९४९ मा भएको होइन । कम्युनिस्ट पार्टी निर्माण एकै झड्कामा वा एकै विन्दुमा हुँदैन पनि । एक दशकसम्म काठमाडौंमा अनेक वैचारिक तथा साङ्गठानिक पहलहरु चलेका थिए । दशरथ चन्द र गङ्गालाल श्रेष्ठद्वारा कम्युनिस्ट विचार प्रसारमा के–कस्तो भूमिका निर्वाह भएको थियो, त्यो अझै अध्ययन गर्नुपर्ने पाटो छ । तर, नेपालको प्रजातान्त्रिक आन्दोलनका सम्मानित सहिदहरु कम्युनिस्ट विचारबाट प्रभावित हुनुहुन्थ्यो भन्ने हामीकहाँ कमै चर्चा हुने विषय हो।
पौने शताब्दीअघिको समयमा एउटा कम्युनिस्ट पार्टी जन्मनका लागि ८–१० वर्षसम्म अनेक सामूहिक प्रयत्नहरु भएका थिए । तिनै प्रयत्नहरुमध्ये सन् १९४१ मा गठित ‘नेपाल प्रजातन्त्र सङ्घ’लाई नेपाल कम्युनिस्ट पार्टीको पृष्ठभूमि चरणको भ्रुण–क्लब रुपमा मूल्याङ्कन गर्नु सही हुन्छ । पूर्ण अवयवसहितको र सैद्धान्तिक आधारसहितको कम्युनिस्ट पार्टी बन्नुअघि संसारैभरि यस्तै अध्ययन समूहहरु, राजनीतिक अभियानहरु, संवाद–क्लबहरु, प्रकाशन संस्थाहरु, विचारप्रधान पत्रिकाहरुमार्फत् काम थालिएका पाइन्छन् । विश्वसर्वहारा वर्गका गुरु तथा अक्टुबर क्रान्तिका नेता लेनिन स्वयम् पनि पार्टी बन्नुअघि १८९० को दशकमा रुसमा ‘क्रुझ्की’ भनिने माक्र्सवादी अध्ययन सर्कलहरुमा सामेल भएर काम गर्नुभएको थियो । नेपाल प्रजातन्त्र सङ्घ, विश्व भ्रातृत्व सङ्घ, नेपाल प्रजा पञ्चायतजस्ता राजनीतिक सङ्गठनहरुको भूमिका नेपालमा कम्युनिस्ट पार्टीको बिजारोपणका निम्ति महत्त्वपूर्ण पाइलाहरु थिए । यी सङ्घ र समूहहरुको कार्यदिशा, कार्यक्रम, नीति, सङ्गठन समिति, दस्तावेज वा विधान थिएनन् (वा अहिलेसम्म फेला परेका छैनन्) । तर, तिनका गतिविधिबारे प्राप्त सूचना, तिनले गाउने गीतहरुको अन्तर्वस्तु, तिनका उद्देश्यबारे प्राप्त सूचनाहरुबाट नेपालमा कम्युनिस्ट पार्टी निर्माणको पूर्वाधार तिनै थिए भन्न हिच्किचाउनु पर्दैन । र, त्यही विन्दु अर्थात् सन् १९४१ मा सहिद–पर्व भएको साल, जसरी नेपालको समग्र जनवादी (लोकतान्त्रिक) आन्दोलनको उत्प्रेरक परिघटना हो, नेपालको कम्युनिस्ट आन्दोलनको पहिलो अध्यायको ऐतिहासिक पहलविन्दु पनि हो।
३. नेपालमा कम्युनिस्ट पार्टीको उदय र पुष्पलालको पहल
सन् १९४१ वरपरका पृष्ठभूमिहरुबाट सन् १९४९ को पार्टी–उदयसम्म आइपुग्न नेपाली कम्युनिस्टहरुलाई झण्डै एक दशक अर्थात् कम्तीमा ८ वर्ष लाग्यो।
माथि पनि चर्चा गरियो– कम्युनिस्ट विचारको प्रचार–प्रसार, माक्र्सवादी साहित्यको उपलब्धता, कम्युनिस्ट मनधारी युवाहरुका सङ्गठित प्रयास नेपालमा सन् १९३० र १९४० को दशकदेखि हुन थालेका थिए । ती क्रान्तिकारी गतिविधिहरु, वैचारिक–सांस्कृतिक अन्तक्र्रियाहरु, साङ्गठानिक प्रयत्नका अनुभवहरु र श्रमजीवी वर्गका सङ्घर्षहरुको समग्रताका बीचमा त्यस समयको नेतृत्व निर्माण हुँदै गयो । आफ्नो समयको विचार, ज्ञान, जनसङ्घर्ष र साङ्गठानिक संयोजनका अनुभवहरुको बीचबाट हरेक युगको नेतृत्व जन्मन्छ । पुष्पलाल त्यस समयका यस्तै नेता हुनुहुन्छ । बिसौं शताब्दीको चौथो र पाँचौ दशकमा नेपालभित्र भइरहेका क्रान्तिकारी प्रयत्नहरु र जनसमुदायका सङ्घर्षहरुले उहाँको अनुभवलाई उन्नत बनाउँदै लगेको थियो । त्यसमा उहाँ स्वयम्ले त्यो अनुभवलाई पुनः व्यवहारमा परीक्षण गर्दै जनसमुदायलाई जागृत गर्ने र सङ्गठित गर्ने कामको सक्रियतापूर्वक अगुवाइ गर्नुभयो।
पुष्पलालले कम्युनिस्ट पार्टी निर्माणको अगुवाइ गर्दा मुख्यतः चारवटा क्षेत्रमा पहलकदमी लिनुभएको छः विचार–निर्माणको क्षेत्र, सङ्गठन निर्माणको क्षेत्र, आन्दोलन परिचालनको क्षेत्र र संयुक्त मोर्चा निर्माणको क्षेत्र।
विचार–निर्माण र सैद्धान्तिक प्रष्टता कुनै पनि कम्युनिस्ट पार्टीको पहिलो आधार हो । विचार–निर्माणको मर्म र महत्त्व आत्मसात् गर्नुभएका पुष्पलालले नेपाल प्रजातन्त्र सङ्घमा आबद्ध हुने बेलामा पनि र पछि नेपाली काङ्ग्रेसमा आबद्ध भएका बखतमा पनि माक्र्सवादी साहित्यको अध्ययन, कलकत्ताबाट पुस्तकहरुको काठमाडौंमा पैठारी, सङ्गठित अन्तक्र्रिया आदिमा निरन्तर तत्परता देखाउनुभएको पाइन्छ । कम्युनिस्ट पार्टी स्थापना गर्नुभन्दा अघिल्लै वर्ष (??) माक्र्स–एङ्गेल्सकृत ‘कम्युनिस्ट घोषणापत्र’को नेपाली भाषामा अनुवाद गरेर उहाँले नेपाली भाषामा मात्रै पहुँच हुने बहुसंख्यक नेपालीबीच माक्र्सवादी सिद्धान्तको प्रचारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । नेपाली अनुवादको आवश्यकता र औचित्यबारे उहाँले लामो ‘भूमिका’ लेख्नुभयो । नेपाली भाषामा यो पहिलो अनुवाद थियो । त्यतिमात्रै होइन, यस ‘भूमिका’मा ऐतिहासिक भौतिकवादी दृष्टिबाट नेपाली समाजको विश्लेषण गर्ने पुष्पलालको चेष्टा नेपाली बौद्धिक इतिहासमा त्यसप्रकारको प्रथम पाइलो हो । यही अनुवादले नेपालमा कम्युनिस्ट पार्टी निर्माणका लागि आवश्यक वैचारिक पृष्ठभूमि तयार गरिदियो । उहाँले सोभियत रुसमा व्यक्ति र समाज, माक्र्सवाद के हो ?, चीनी क्रान्ति र चीनी कम्युनिस्ट पार्टी, गाउँका गरिबहरुलाई अपील जस्ता पुस्तकहरु पनि नेपाली भाषामा अनुवाद गर्नुभयो । कम्युनिस्ट पार्टी गठनको घोषणा गर्दा जारी पहिलो पर्चा उहाँले नै लेख्नुभयो । नेकपाको पहिलो दस्तावेज मानिने सेप्टेम्बर १५, १९४९ मा जारी गरिएको घोषणापत्रको मस्यौदा पनि उहाँले नै तयार गर्नुभयो।
कम्युनिस्ट पार्टीको गठनका लागि सामूहिक पहल लिने, त्यसलाई विस्तार गर्ने, सङ्गठन परिचालन गर्ने काममा नेतृत्वदायी भूमिका पुष्पलालकै थियो । उहाँले भारतीय कम्युनिस्ट नेताहरुसँग भेटघाट र संवाद, नेपालभित्रका क्रान्तिकारी युवाहरुसँग भेटघाट–संवाद, दार्जिलिङका नेपालीभाषी कम्युनिस्ट नेताहरुसँगको राय–सल्लाह, काठमाडौं उपत्यकाबाहिरका क्रान्तिकारीहरुसँगको भेटघाट–कुराकानी निरन्तर बढाएको देखिन्छ । पार्टी गठन गरिसकेपछि त्यसलाई परिचालन गर्न, विस्तार गर्न र छुटेका समकालीन साथीहरुलाई पुनःसङ्गठित गर्न उहाँले निकै मिहिनेत गर्नुभयो । पार्टी गठनको लगत्तै आइपुगेका चुनौतीहरु सामना गर्न उहाँले प्रजातान्त्रिक हकअधिकार प्राप्तिका लागि मजदुर, किसान, विद्यार्थी, युवा र सामन्तवाद तथा साम्राज्यवादविरोधी शक्तिहरुलाई मोर्चाबद्ध गर्न पनि निकै कोसिसहरु गर्नुभएको छ । पार्टीको पहिलो महामन्त्रीका हिसाबले मात्रै होइन, व्यक्तिगत सक्रियता र प्रतिबद्धताका हिसाबले समेत पुष्पलाल पार्टी गठनको प्रारम्भिक चरणमा समग्र कम्युनिस्ट आन्दोलनको केन्द्रीय व्यक्तित्वका रुपमा रहनुभएको छ । तसर्थ, पार्टी गठनको प्रारम्भिक चरण पुष्पलालकै केन्द्रीय पहलको चरण हो।
यद्यपि, हामीले ती नामहरु बिर्सन मिल्दैन, जो पुष्पलालभन्दा अघि वा पुष्पलालकै समयमा विचार, सङ्गठन र आन्दोलनका क्षेत्रमा निरन्तर कम्युनिस्ट पहलकदमीमा संलग्न थिए । गङ्गालाल हलुवाई, प्रेमबहादुर कंसाकार, नारायणविलास जोशी, सूर्यबहादुर भारद्वाज, शम्भुराम श्रेष्ठ, मनमोहन अधिकारीको भूमिका यस मानेमा कम महत्त्वको अवश्य छैन । तथापि, निर्विवाद तथ्य के हो भने नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको पहिलो अध्यायका पृष्ठभूमि चरण र प्रारम्भिक चरण (सन् १९४१ देखि १९६२ सम्म) दुवै अवधिको सुरुवाती पहलमा सामूहिक नेतृत्वको केन्द्रीय अभिव्यक्ति पुष्पलाल नै हुनुहुन्छ । उहाँ यान्त्रिक ढङ्गले भूमिका पाएको, पूर्वनिर्धारित विधिद्वारा स्थापित भएको, नोकरशाही ढङ्गले बढुवा गरिएको, लोकरिझ्याइँका लागि अघि सारिएको वा काकताली परेर जिम्मा पाएको नेता होइन । कम्युनिस्ट पार्टी स्थापनामा उहाँको स्थान विचार तथा सङ्गठन निर्माणको सङ्घर्षद्वारा र पहलकदमीका बहुआयामिक शृङ्खलाहरुद्वारा स्थापित भएको हो।
पार्टी निर्माण पहलको प्रारम्भिक चरणका केही राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रभाव र विवाद पनि उल्लेख्य चाहिँ छन् । जस्तैः भारतीय कम्युनिस्ट पार्टी र तिनका नेताहरुको उत्प्रेरणा वा सुझाव पार्टी गठनको प्रारम्भिक चरणमा प्रत्यक्ष र सकारात्मक छ । नेपालमा कम्युनिस्ट पार्टी स्थापना हुँदाका बखत यहाँ माक्र्स, एङ्गेल्स र उहाँहरुका योगदान वा कृतिहरुको प्रभाव कम देखिन्छ भने त्यसको दाँजोमा लेनिनको व्यक्तित्व–विस्तार र सोभियत सङ्घमा स्थापित समाजवादको प्रभावले अलि बढी काम गरेको देखिन्छ । कम्युनिस्ट पार्टी स्थापना गर्ने मिति तय गर्दा २२ अप्रिल अर्थात् लेनिनको जन्मदिवस नै रोजिएको छ । लेनिन दिवस २२ अप्रिल (१० वैशाख) मा पार्टी गठन गरेर त्यसको दुई दिनपछि अर्थात् २४ अप्रिल (१२ वैशाख) मा पार्टीका नामबाट पहिलो पर्चा जारी भएको छ । नीतिगत र वैचारिक क्षेत्रमा त्यस पर्चाले संक्षेपमै एउटा दिशानिर्देश गरेको छ।
पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य र नारायणविलास जोशीले कलकत्तामा नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेकै वर्ष गङ्गालाल हलुवाईको नेतृत्वमा काठमाडौंमा नेपाल लाल कम्युनिस्ट पार्टी स्थापना भएको छ (श्रेष्ठ, उही) । यी तिनै हलुवाई हुन्, जसले नेपाल प्रजातन्त्र सङ्घका निर्माण गर्दाको बखत पनि पुष्पलालसँग कुरा नमिलेर ‘नेपाल साम्यवादी सङ्घ’ नामबाट पर्चा छरेका थिए । यसरी एकै वर्ष नेपालमा नेकपा र नेलाकपा गरी दुई पार्टी गठन भए।
त्यसपछि अनेक बैठक, भेला, गठन–पुनर्गठनहरु चल्न थाले । यस्तै गठन–पुनर्गठन, विघटन, टुटफुटका चरणहरु पार गरेर नै एउटा जीवन्त पार्टी निर्माण हुन्छ । तसर्थ, ती पछिल्ला भेला, पुनर्गठन र सम्मेलनहरुले कम्युनिस्ट पार्टीको जीवनलाई उत्तरोत्तर सबल बनाउन सकारात्मक ढङ्गले पनि उत्तिकै भूमिका खेलेका छन्, नकारात्मक शिक्षाहरु पनि अवश्य दिएका छन् । यसमा समकालीन व्यक्तित्वहरुबीचका टकराव, एकले अर्काको भूमिका वा नेतृत्वलाई स्वीकार्न नसक्ने प्रवृत्ति आदिले पनि स्थापना मितिबारे विवादहरु ल्याइएका पाइन्छन् । पुष्पलाल स्वयम्ले लेखेका रचनाहरुमा पार्टी दिवसका रुपमा १९४९ को १५ सेप्टेम्बर र गठन गरेको मितिका रुपमा १९४९ को २२ अप्रिल उल्लेख छ । पछि पुनर्गठित भएका, विभाजनबाट बनेका वा नयाँ पहलसहित गठन गरिएका कम्युनिस्ट पार्टी र समूहहरु मुख्यतः यिनै दुई मितिमा पक्ष–विपक्षमा छन् । पुष्पलालका लेखन र अन्य इतिहासकारका लेखनमा रहेका आपसमा बाझिने र अमिल्दा थुप्रै तथ्यहरु थप केलाइनुपर्ने इतिहासका विषयका रुपमा रहेका छन् । (त्यो अलग्गै अध्ययन र बहसको विषय हो, यहाँ त्यस विषयमा थप चर्चा गरिँदैन ।)
४. पौने शताब्दी लामो पहिलो अध्याय अर्थात् पुष्पलाल काल
नेपाल प्रजातन्त्र सङ्घको नाममा कम्युनिस्ट विचारद्वारा प्रभावित युवाहरुले क्रान्तिकारी गतिविधि थालनी गरेको वर्ष सन् १९४१ लाई अघिल्लो विन्दु र पुँजीवादी लोकतन्त्रलाई संस्थागत गर्ने वर्तमान संविधान जारी भएको वर्ष सन् २०१५ लाई पछिल्लो विन्दु मान्दा नेपाली कम्युनिस्ट आन्दोलनले पहिलो फन्को मारिसकेको छ । यो पौने शताब्दी लामो अवधि नेपाली कम्युनिस्ट आन्दोलनको पहिलो अध्याय हो । यो अध्यायले विभिन्न उपचरणहरु र अनेक मसिना प्रवृत्तिगत उकाली–ओरालीहरु पार गरेको छ।
कम्युनिस्ट आन्दोलनको पहिलो अध्यायले क) पृष्ठभूमि चरण (सन् १९४९ पूर्व) ख) पार्टी निर्माणको प्रारम्भिक चरण (१९४९–१९६०), ग) विघटन–पुनगर्ठनको लामो चरण (१९६०–१९९६), घ) वर्गसङ्घर्ष उत्कर्षको चरण (१९९६–२००६) र ङ) पुँजीवादी गणतन्त्र स्थापनाको चरण (२००६–२०१५) हुँदै एउटा चक्र पूरा गरेको छ । यी घुम्तीहरुमध्ये तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा सञ्चालित दश वर्ष लामो जनयुद्ध नेपालको समग्र कम्युनिस्ट आन्दोलनमा वर्गसङ्घर्षको घनत्व र रुपान्तरणकारी गुणवत्ताका दृष्टिले गौरवशाली, महान् र अविस्मरणीय रहेको छ।
साढे सात दशक लामो यो समग्र कालखण्डभरि नेपालका लगभग सबै कम्युनिस्टहरुले ‘नयाँ जनवादी क्रान्ति’को कार्यदिशा अँगालेका थिए । उनीहरुले लिएको कार्यदिशालाई केन्द्रमा राखेर हेर्दा यो अवधिलाई हामी ‘नयाँ जनवादी क्रान्ति’को कोसिस–काल भन्न सक्छौं । कोसिस–काल भन्नुको तात्पर्य के हो भने यो अवधिमा नयाँ जनवादी क्रान्तिकै लागि विविध समूहले विविध बाटोमार्फत् कोसिसहरु गरेका थिए– विचार–बहसमार्फत्, जनआन्दोलनहरुमार्फत्, जनसङ्घर्षमार्फत्, जनयुद्धमार्फत् ! तर तत् पार्टी वा समूहको कार्यदिशाअनुसार नेपालमा प्रचलित कम्युनिस्ट मोडलमा वा चिनियाँ शैलीमा ‘नयाँ जनवादी क्रान्ति’ सम्पन्न भएन, हुन सकेन।
हुन त संसारैभरि क्रान्तिहरु पूर्वनिर्धारित दिशामा डोरिन्नन्, बरु तिनले आफ्नो बाटो मौलिक ढङ्गले आफै खन्छन् । नेपालमा पनि कम्युनिस्ट क्रान्तिकारीहरुले सर्वहारावर्गको नेतृत्वमा किसान–मजदुर र राष्ट्रिय पुँजीपतिहरुसहितको एकतामा नयाँ जनवादी क्रान्ति गर्ने सपना देखेका थिए, त्यो त्यसरी नै हुन सकेन । बरु पुँजीवादी शक्तिहरुसँगको सहकार्य र सम्झौतामा त्यस्तो क्रान्ति भयो, जसले पुँजीवादी जनवादी कार्यभारहरुलाई राजनीतिक स्तरमा पूर्णता दियो । सामन्तवर्गको प्रतिनिधिका रुपमा रहेको राजतन्त्र, जसको पकडमा सेना थियो र जोसँग संविधानतः राजकीय सत्ता प्रयोग गर्ने अधिकारहरुसमेत थिए, को समूल अन्त्य ग¥यो । पुष्पलालले पञ्चायतसहितको राजतन्त्रलाई ‘सामन्ती अधिनायकवाद’ भन्नुहुन्थ्यो । त्यो सामन्ती अधिनायकवादको अन्त्यका लागि उहाँले संयुक्त जनआन्दोलन उठाउन मिहिनेत पनि गर्नुभएको थियो । उहाँको जीवन रहुन्जेल (१९७८) त्यस दिशामा कम्युनिस्ट आन्दोलनले सफलता हासिल गर्न सकेन । १९५०, १९९०, २००६ का चरण–चरणका आन्दोलन र चरण–चरणका आंशिक उपलब्धिहरुबाट गुज्रँदै अन्ततः जनयुद्धको मुख्य बलमा २०१५ को संविधानमार्फत् नेपालको पुँजीवादी जनवादी क्रान्तिले एक स्तरको पूर्णता प्राप्त गरेको छ । अनि, यही पुँजीवादी क्रान्तिको भेलमा बगेर जनयुद्धको नेतृत्व गरेको कम्युनिस्ट पार्टीको मूलहिस्सा दक्षिणपन्थी संसदवादी कित्तामा पुगेको छ (त्यस धारालाई क्रान्तिकारी कित्ताबाटै पुनर्गठित र पुनसङ्गठित गर्न भएका प्रयासहरु कोही विचलनको बाटोमा पुगिसकेका छन् र कोही निकास नभेटेझैं अवस्थामा छन्, त्यसबारे यहाँ थप चर्चा गरिँदैन)।
पार्टी स्थापना गर्दा जारी पर्चा, सोही वर्षको पहिलो घोषणापत्र, प्रथम सम्मेलनको दस्तावेज, त्यसपछि पुष्पलालका लेखन तथा पुनर्गठन दस्तावेज र त्यसयताका मुख्यमुख्य क्रान्तिकारी कम्युनिस्ट समूह/पार्टीहरुले अँगालेको कार्यदिशा ‘नयाँ जनवादी क्रान्ति’कै कार्यदिशा हो । नेपाली समाजको ऐतिहासिक भौतिकवादी दृष्टिबाट अध्ययन गरी पहिलोपटक यसलाई अर्धसामन्ती र अर्धऔपनिवेशिक समाजका रुपमा विश्लेषण गर्ने काम पुष्पलालले गर्नुभएको हो । पुष्पलालको यही विश्लेषणलाई पक्रेर नै सात दशकभरिका लगभग सबै कम्युनिस्ट पार्टी र समूहहरु आन्दोलनको सबैभन्दा पछिल्लो विन्दुमा टेक्न आइपुगेका हुन् । यसअर्थमा जनताले बुझ्ने भाषामा र बिम्बमा भन्ने हो भने कम्युनिस्ट आन्दोलनको यो पहिलो अध्यायलाई हामी पुष्पलालकाल भन्न सक्छौं । पुष्पलाललाई नै यो अवधिको शीर्षस्थ मान्नु र उहाँकै नाममा काल (Era) भन्नुका केही आधार पनि छन् । पहिलो, उहाँ नै कम्युनिस्ट पार्टीको संस्थापक अगुवा र पार्टी निर्माणका अघिल्ला चरणहरुका केन्द्रीय र रानो नेतृत्वका रुपमा सम्मानित हुनुहुन्छ । दोस्रो, माथि चर्चा गरियो– उहाँले संश्लेषण गरेको कार्यदिशाकै मूलधारमा कम्युनिस्ट आन्दोलको मूलहिस्सा हिँड्यो । तेस्रो, नेपाली समाज र इतिहासको माक्र्सवादी दृष्टिकोणबाट विश्लेषणको जमर्को गर्ने पहिलो व्यक्ति उहाँ नै हुनुहुन्थ्यो । चौथो, संशोधनवाद र त्यसमा पनि विश्व कम्युनिस्ट आन्दोलनमा देखिएको सोभियत संशोधनवादविरुद्ध लड्नुभयो र माओविचारका पक्षमा उहाँ दृढतापूर्वक उभिनुभयो । पाँचौं, संस्कृति र विचारधाराको महत्त्वलाई उहाँले सुरुवातदेखि जति आत्मसात गर्नुभयो, त्यति अरु कसैले गरेन।
अघिल्लो चरणको कम्युनिस्ट आन्दोलनको समग्र जस केवल एक व्यक्ति पुष्पलालमा थोपर्न खोजेको होइन । त्यसो गर्नु सही तरिका पनि होइन । त्यसो त पुष्पलालका कमीकमजोरी नभएका होइनन् । दुई अतिवादी धारबाट पुष्पलालले आरोपहरु खेप्नुभएको पनि हो । दरबारिया कम्युनिस्टहरु उहाँलाई ‘भारतपरस्त’ र ‘काङ्ग्रेसपरस्त’को आरोप लगाउँथे, क्रान्तिकारी कम्युनिस्ट वृत्तबाटै उहाँलाई ‘गद्दार’ समेत भनिएको थियो । पुष्पलाल कमीकमजोरीसहितका नेता हुनुहुन्थ्यो र उहाँमा केही सैद्धान्तिक विचलन देखिएका थिए । तर त्यो विचलन पूर्णतः दक्षिणपन्थ, संशोधनवाद वा दरबारपरस्तमा पतन हुन पुगेको थिएन । विचलित हुनु उही कित्ताभित्र सैद्धान्तिक रुपमा चिप्लिनु हो । पुष्पलालले आफूलाई त्यसबाट सच्याउने प्रयास गर्नुभएको थियो, कित्ता बदल्नुभएको थिएन।
आज पुष्पलाल नेपालका कम्युनिस्ट नेताहरुमा सबैभन्दा श्रद्धेय र सम्मानयोग्य नेताका रुपमा रहनुभएको छ । कम्युनिस्ट पार्टीको पहिलो महामन्त्री भएपछिको उहाँको २९ वर्ष सम्पूर्णतः पार्टी गठन–पुनर्गठनमा सङ्घर्षपूर्ण अवस्थामा बित्यो । सुरुवातका केही वर्ष क्रान्तिकारी उभारमा बिताउने र बाँकी सम्पूर्ण जीवन अवसरवाद र दक्षिणपन्थको मैदानमा बिताउने आजका अधिकांश कम्युनिस्टोपाधि नेतासँग पुष्पलालको तुलना हुँदैन । हुनै सक्दैन।
५. यसकारण अब अगाडि
माथि चर्चा गरियो– नेपाली समाजलाई ऐतिहासिक भौतिकवादका आधारमा अध्ययन गरी यो अर्धसामन्ती र अर्धऔपनिवेशिक समाज हो भन्ने निष्कर्ष निकाल्ने प्रथम अध्येता हुनुहुन्छ, पुष्पलाल । त्यसै आधारमा उहाँले नेपाली क्रान्तिको कार्यदिशा नयाँ जनवादी हुने र त्यो क्रान्तिको लक्ष्यकिटानमा ‘नेपालको माटोबाट सामन्तवाद र साम्राज्यवादलाई समूल नष्ट’ गर्ने लेख्नुभयो।
आज भने हामी त्यस्तो चुनौतिपूर्ण समयसामू उभिएका छौं, जसले सोधिरहेको छ– के नेपाली समाजको चरित्र अहिले पनि गत पौने शताब्दीकै जस्तो छ ? के आज पनि सामन्तवाद र साम्राज्यवाद समान रुपमा नेपाली जनताको चुनौती हुन् ? के आज पनि हामी त्यही देशकालमा अर्थात् पुष्पलालकालमै छौं?
छैनौं !
साम्राज्यवादी हस्तक्षेप झन् बहुरुपी भएर आएको छ । तर, सामन्तवादको माम्लोमा आज हामी सात दशक पुरानो समयमा छैनौं । विश्व पुँजीवादसँगको संसर्गबाट क्रमशः पुँजीवादीकरण हुँदै गरेको नेपाली समाजभित्र विकसित उत्पादक शक्तिको विकासमा उत्पादन सम्बन्ध बाधक बन्दै गयो । अनि अर्धसामन्ती उत्पादन सम्बन्धलाई नेतृत्व गरिरहेको सामन्तवादी राजनीतिक संरचना र उत्पादक शक्तिबीच चर्कने अन्तरविरोधले खास ऐतिहासिक चरणमा पुगेपछि क्रान्तिको रुप लिने गरेको छ र तत्कालको मुख्य अन्तरविरोध एक हदसम्म हल हुने गरेको छ । अर्को चरणमा फेरि अर्को अन्तरविरोध प्रधान बनेर आउँछ, आज आएको छ । तसर्थ, नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास पनि यतिखेर एउटा अध्यायको समाप्ति र अर्को अध्यायको थालनीको चरणबाट गुज्रिरहेको छ (वैद्य २०७६ : २१) । नयाँ थालनीका चरणमा आज केही विशिष्ट परिदृश्यहरु हाम्रासामु छन्।
एक, दक्षिण छिमेकमा उपनिवेश बनाएर बसेको अङ्ग्रेजसँग दुई शताब्दीअघि सुगौली सन्धि (सन् १८१६) गरेपश्चात् अर्धसामन्ती र अर्धऔपनिवेशिक बनेको नेपाली समाजको गर्भभित्र एकातिर विश्वपुँजीवादसँगको आर्थिक–राजनीतिक संसर्ग र सन्धि–सम्झौतामार्फत् पुँजीवादी उत्पादन व्यवस्था हुर्किंदै र पन्पिँदै गयो, अर्कोतिर पटकपटकका लोकतान्त्रिक राजनीतिक सङ्घर्षहरुले उपरीसंरचना (राजनीतिक व्यवस्था) मा पुँजीवादी प्रणालीलाई स्थापित गर्दै लगे । यसको सबैभन्दा पछिल्लो कडी हो– जनयुद्धको जगमा भएको २००६ को वसन्त–विद्रोह र त्यसलाई संस्थागत गर्ने २०१५ को संविधान । अर्थात्, नेपाली समाज आज मूल चरित्रका रुपमा पुँजीवादी भइसकेको छ, यो अर्धसामन्ती अवस्थामा छैन । सामन्तवादका केही विशेषता अवशेषका रुपमा उत्पादन सम्बन्धमा र संस्कृतिका क्षेत्रमा पक्कै छन् । ती विशेषताहरु पुँजीवादी व्यवस्थाको अङ्ग बनिसकेका छन्।
दुई, यो पुँजीवाद युरोप–अमेरिकामा सामन्तवादविरुद्ध क्रान्ति गर्दै स्थापित भएको औद्योगिक पुँजीवाद होइन । सामन्तवर्गका ठाउँमा समाजको मूल शासकीय अधिनायकत्व पुँजीपति वर्गले लिएको छ तर यो त्यस्तो पुँजीवाद होइन, जुन सामन्तवादसँग जुधेर र उसलाई पराजित गरेर स्थापित हुँदा प्रगतिशील चरित्रको हुन्छ । यो त साम्राज्यवादको रुपधारण गरिसकेको विश्वपुँजीवादसँग सम्झौता र समर्पणबाट (मूलतः) विकसित विकृत र मरणासन्न पुँजीवाद हो, जसले धार्मिक अतिवाद, वर्णव्यवस्थाजन्य जातभेद, पितृसत्तात्मक लैङ्गिक विभेद र सामन्तवादी भाषिक–सांस्कृतिक उत्पीडनलाई आफैमा सहवरण गरिसकेको छ । परम्परागत विभेदपूर्ण मूल्यमान्यता, संस्कार, संस्कृति र परम्परालाई उपभोक्तावादी ढाँचामा ढालिसकेको छ । तसर्थ, पुनरुत्थानवादीहरु, धार्मिक कट्टरपन्थीहरु, ब्राह्मणवादी वर्णभेदीहरु (जातसत्तावादीहरु), पितृसत्तावादीहरु पुँजीवादी व्यवस्थाभित्रै मौलाइरहेका छन्।
तीन, यो पुँजीवाद राष्ट्रिय पुँजीपतिहरुले नेतृत्व गरेको आत्मनिर्भर र प्रगतिशील पुँजीवाद होइन । यो आफ्नो उत्पादनको कुर्कुच्चामा होइन, पश्चिमा साम्राज्यवाद र क्षेत्रीय साम्राज्यवादको दलालीको भरमा टिक्छ । सांस्कृतिक हिसाबले सामन्तवादका नकारात्मकता र पुँजीवादका विकृत रुपहरुलाई सँगसँगै अँगाल्ने यो पुँजीवाद पछौटे प्रकृतिको र दलाल प्रवृत्तिको छ । ठेट शब्दमा यसलाई काँठे पुँजीवाद भन्न सकिन्छ ।
चार, सन् १९९० पछि विश्वपुँजीवादको पछिपछि लागेर नेपालले पनि नवउदारवादी बाटो लियो । सरकारी स्वामित्वमा भएका उद्योग–कलकारखाना धमाधम निजीकरण गरिए । बैङ्क, वित्तीय संस्था (र सहकारीहरु समेत) बेलगाम मुनाफा कमाउने र श्रमजीवीहरुलाई शोषण गर्ने औजार बनाइए । देशको सिर्जनशील, उत्पादनशील र उर्जावान् श्रमशक्तिको रुपमा रहेका लाखौं युवाहरुलाई आज विकल्पहीनताको स्थिति सिर्जना गरेर आधुनिक दासका रुपमा विदेश धपाइएको छ । एकातिर वैदेशिक ऋण र अनुदान, अनि अर्कोतिर जनताको ढाड सेक्ने महँगी र करवृद्धिबाट अर्थतन्त्र चलाइएको छ । भ्रष्टाचार, कमिसनखोरी, अनियमितता, अनियन्त्रित महँगी सामान्य जस्तै बन्न थालेको छ । रैथाने ज्ञान–परम्परा, मौलिक संस्कृति, उत्पादनलाई निषेध र नष्ट गर्दै लगिएको छ । प्रकृति–पर्यावरणका क्षेत्रमा विनाशलीला मच्चाइएको छ ।
पाँच, विशिष्ट ऐतिहासिक एवम् भू–राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय परिस्थिति तथा केही आत्मगत कारणहरुले गर्दा नेपालको कम्युनिस्ट आन्दोलनले आफ्नै नेतृत्वमा नयाँ जनवादी क्रान्तिको कार्यभार क्रान्तिकारी तरिकाले पूरा गर्न सकेन । आज सामन्ती राजतन्त्रको ठाउँमा रजगज गर्न आइपुगेको पुँजीवादी हालहुकुम श्रमजीवी वर्गको व्यवस्था होइन । यो पुँजीवादी लोकतन्त्रको एउटा गौंडो मात्रै हो । यो व्यवस्था पनि उस्तै शोषणकारी छ, वर्गविभेद झन् गहिरिँदै गएको छ । यहाँनिर आइपुगेपछि क्रान्तिकारी कम्युनिस्टहरुले आफ्नो कार्यदिशामा गुणात्मक विकास गर्नुपर्ने खाँचो अघिल्तिर छ । तर, क्रान्तिकारी कम्युनिस्ट पृष्ठभूमिबाट विकसितमध्येको एउटा ठूलो हिस्सा तीव्र वेगमा दक्षिणपन्थी विचलनमा पुगेको छ र अन्ततः पुँजीवादी संसदीय व्यवस्थाकै एउटा गतिलो द्वारपालमा परिणत भएको छ । सम्बन्ध–विच्छेद र पुनर्गठनको प्रक्रियामा हेलिएका क्रान्तिकारी पंक्तिहरुमध्ये कोही निकास नभेटेर दुविधाग्रस्त कतै अड्किरहेको अवस्थामा छन्, कोही नयाँका नाममा सैद्धान्तिक अस्पष्टता थाप्लामा बोकेर कतै भड्किरहेका हालतमा छन् ।
छ, आज नेपाली समाज जस्तो परिस्थितिमा छ, जुन सङ्कट र अन्तरविरोधहरुले रोगिएको छ, त्यसलाई निकास दिने क्रान्तिकारी ल्याकतसहितको बलियो राजनीतिक शक्ति हाम्रा सामुन्नेमा देखा परेको छैन । जसले पुँजीवाद आइसक्यो भन्छन्, उनीहरुसँग पुँजीवादसँग लड्ने क्रान्तिको कार्यदिशा छैन, कार्यक्रम छैन, वर्गसङ्घर्षको खाका छैन, सर्वहारा सांस्कृतिक क्रान्तिलाई आत्मसात गर्ने ह्याउ छैन । नयाँ र मौलिक कार्यदिशा ल्यायौं भन्दै ताउरमाउर गर्न खोज्ने केही समूहहरु छन्, उनीहरु मुक्तचिन्तन र लोकरिझ्याइँबाट ग्रसित छन् । अनि नाममा माक्र्सवाद र व्यवहारमा उत्तरआधुनिकतावादी र गैरमाक्र्सवादी प्रवृत्तिका पैरवीकार बनेर निस्केका छन् ।
सात, पेरिस कम्युन, अक्टुबर क्रान्ति, चिनियाँ नयाँ जनवादी क्रान्ति, महान् सर्वहारा सांस्कृतिक क्रान्ति हुँदै अघि बढेको विश्व सर्वहारावर्गको विजययात्राले बिसौं शताब्दीको आठौं दशकको उत्तराद्र्धदेखि गम्भीर धक्का खाएको छ । र, सन् नब्बेदेखि यता एक्काइसौं शताब्दीका अघिल्ला दुई दशकमा पनि वस्तुगत र आत्मगत दुवै कारणले क्रान्तिकारी उभार सिर्जना हुन सकेन । संसारैभरि क्रान्तिका लागि प्रतिकूल अवस्था रहेको यही अवधिमा (१९९६–२००६) नेपाल भने वर्गसङ्घर्षको भीषण उथलपुथलमय प्रक्रिया (जनयुद्ध)बाट गुज्रेको थियो । परन्तु, त्यो क्रान्तिकारी उभारले पनि आफूलाई निरन्तर क्रान्तिकै बाटोमा अघि बढाउन सकेन । एकप्रकारले आत्मगत र वस्तुगत दुवै कारणले गर्दा क्रान्तिकारी दिशामा ठेस लाग्यो र पुँजीवादी जनवादी व्यवस्थाको पूर्णताभित्र सम्झौतामा यो टुंगियो ।
आठ, साम्राज्यवादका घरेलु प्रतिनिधि रहेका प्रतिक्रियावादी शक्तिहरु आज नेपाली समाजको अग्रगतिका मुख्य बाधक हुन् । विश्व साम्राज्यवाद र क्षेत्रीय साम्राज्यवादी शक्तिले नयाँनयाँ रुपमा हस्तक्षेप बढाइरहेको बेला नेपालका पूर्वक्रान्तिकारीहरु तिनै शक्तिका नेपाली दलालमा रुपान्तरित भएका छन् । दक्षिणपन्थी संशोधनवादले अहिले पनि नेपालमा ‘कम्युनिस्ट’ भ्रम छरिरहेको छ । नवगठनका नयाँ पहलहरु कमजोर तथा प्रतिरक्षात्मक भएका छन् । कतिपय क्रान्तिकारी साङ्गठानिक गतिविधि तथा पुनर्गठनका प्रयासहरुले सही दिशा पाइरहेका छैनन् ।
नौ, विघटन र विभाजनका अनेक शृङ्खलाहरु, पुनर्गठनका चेष्टाहरु, नयाँ आधार निर्माणका कोसिसहरु अहिले पनि कम्युनिस्ट आन्दोलनभित्र चलिरहेका छन् । पुष्पलालकालको अन्त्यसँगै सुरु भएको नयाँ अध्यायको प्रारम्भिक चरणमा यतिखेर संसदवादी कम्युनिस्ट समूहभित्र टुटफुट, विभाजन, असन्तुष्टि र निराशाजनक अवस्था छ भने नयाँ क्रान्तिकारी धाराको खोजीमा लाग्ने कम्युनिस्ट नेता–कार्यकर्ता तथा समर्थकहरु समूह–समूहमा विद्रोह, बहिर्गमन र सम्बन्धविच्छेद गरिरहेका छन् । नकारात्मकताको पाटोमा व्यक्तिवाद, अराजकतावाद, उदारवाद, लोकरिझ्याइँ, करिअरवाद, अस्तित्ववाद र उपभोक्तावाद पन्पिँदै गएको छ, सँगसँगै सकारात्मकता के छ भने युवाहरुबीच प्रतिबद्धता, सङ्कल्प र सङ्गठित चेतनायुक्त पहलहरु पनि बढ्दै छन् । नयाँ पुनर्गठनका प्रयासहरु विभिन्न क्षेत्रबाट भइरहेका छन् । यस्तो समयमा नयाँ सैद्धान्तिक आधारमा विचार–निर्माण, सङ्गठन निर्माण, जनसङ्घर्ष–सिर्जना र सांस्कृतिक अभियानहरुको शृङ्खलाबीचबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी नवनिर्माण गर्नुपर्नेछ– क्रान्तिकारी सिद्धान्तको पथप्रदर्शन र क्रान्तिकारी कार्यदिशाको आलोकमा !
दश, बलियो विचारधारात्मक आधारमा उभिएको र क्रान्तिकारी ढाँचामा बुनिएको सशक्त क्रान्तिकारी पार्टीले मात्रै आजको सङ्कटलाई पार लगाउन सक्छ । तर, त्यस्तो पार्टी हाम्रा सामू छैन । सर्वहारा–श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने त्यस्तो कम्युनिस्ट क्रान्तिकारी पार्टी एकै झड्कामा र स्वतःस्फूर्त बन्दैन । त्यसले एउटा निश्चित प्रक्रिया र चरणहरु पार गर्नैपर्छ । नेपाली कम्युनिस्ट आन्दोलनको पहिलो अध्यायको प्रारम्भिक चरणले वैचारिक–साङ्गठानिक चेष्टाहरुको जुन शृङ्खला छिचोलेको थियो, आज त्योभन्दा कैयौं गुना जटिल चुनौतीहरुको झारजङ्गलहरु छिचोल्नुपर्ने अवस्था छ । आज हामी अर्को अध्यायको त्यस्तै सुरुवातमा छौं । यतिखेर हामीले प्रष्ट हुनुपर्नेछ– क्रान्ति कुनै पपुलिस्ट अगुवाले गर्ने चमत्कार होइन, क्रान्ति कुनै कोठे विमर्शकारले गर्ने तर्कबाजी वा शब्दविलासको खेती पनि होइन । आजको दलाल पुँजीपतिवर्गका सामू घुँडा टेक्न इन्कार गर्ने र दक्षिणपन्थी संशोधनवादी शक्तिसँग सम्झौताहीन वैचारिक सङ्घर्ष गर्ने आँट जुटाउने प्रतिबद्ध क्रान्तिकारीहरुलाई आज समयले डाक हालिरहेको छ ।
यी परिदृश्यहरुले भन्छन्– आज नेपालमा त्यस्तो क्रान्तिको कार्यक्रम चाहिएको छ, जो हिजोको अक्टुबर क्रान्ति भन्दा नयाँ हुनेछ, हिजोको चिनियाँ क्रान्तिभन्दा मौलिक हुनेछ र नेपाली कम्युनिस्ट अग्रजहरुले देख्नुभएको सपनाभन्दा झन् सुन्दर हुनेछ । आजसम्म त नेपाली कम्युनिस्ट आन्दोलनका सबै ‘नयाँ जनवादी’ गाग्रीहरुले पुष्पलालले खनेको इनारबाट पानी भर्ने गरेका थिए, त्यो इनार अब सुकिसक्यो । आज नयाँ युगको फाँट हराभरा पार्न हामीलाई नयाँ समाजवादी क्रान्तिका विशाल नहरहरु आफै खन्नुपरेको छ । हो, हरेक नयाँ युगले आफ्नै भाका र भङ्गिमाहरु निर्माण गर्छ । क्रान्तिको नयाँ अध्यायले आफ्नो नयाँ गीत पनि आफै लेख्छ ।
६. र, अन्त्यमा – सुरुवातदेखि फेरि सुरु गरौं !
सबै कामका सुरुवाती चरणहरु सदैव कष्टकर हुन्छन् । क्रान्तिका सुरुवाती पहलहरु कम्ती कठिनाइले भरिएका हुँदैनन् । जब क्रान्ति स्वयम् प्रतिक्रान्तिद्वारा पराजित हुन्छ, त्यस्तो बेलामा पुनः क्रान्तिको धारलाई अगाडि बढाउनु झन् कष्टकर हुन्छ । आज हामी त्यस्तै चरणमा छौं । नेपाली कम्युनिस्ट आन्दोलनको पहिलो अध्यायमा हामीले देख्यौं– एक समय क्रान्तिकारी कदम उठाउने पार्टी र नेतृत्व अर्को अवधिमा प्रतिक्रान्तिकारी र दक्षिणपन्थी कित्तामा पुग्ने गरेको छ । यो यथार्थको वस्तुगत र ऐतिहासिक भौतिकवादी कोणबाट पुनर्मूल्याङ्कन गर्नुपर्नेछ । नयाँ अध्यायको कम्युनिस्ट आन्दोलन थालनी गर्ने हो भने इतिहासका सकारात्मक–नकारात्मक शिक्षाको सार खिच्नु, असफलताको वस्तुगत र आत्मगत सीमा र समस्याहरुको विश्लेषण गर्नु हाम्रो प्राथमिक दायित्व हुन जान्छ ।
पुष्पलाल स्वयम्ले त्यसै गर्नुभएको थियो । २०२५ सालमा उहाँको अगुवाइमा भएको तेस्रो सम्मेलन पार्टी पुनर्गठनको यस्तै प्रयत्न थियो । हामी त्यही गर्न खोज्दैछौं, जो गर्नुपर्ने भनी एङ्गेल्सले सिकाउनुभएको थियो– अर्थात् सुरुवातदेखि नै फेरि सुरु गर्ने काम ! यो सुरुवात कम्युनिस्ट आन्दोलनको समग्र मूलकथाको दोस्रो अध्यायको सुरुवात हो, यो शून्यबाट हुन लागेको सुरुवात होइन । यो सुरुवातले आफ्ना पूर्वजले हासिल गरेका ज्ञान र अनुभवका शिक्षाहरुलाई अवश्यै आत्मसात गर्नुपर्छ, गर्नेछ । विश्वकम्युनिस्ट आन्दोलनका तीनै चरण (माक्र्स–एङ्गेल्सले दार्शनिक–सैद्धान्तिक जग बसाएको पहिलो चरण, माक्र्सवादको पथप्रदर्शनमा अक्टुबर क्रान्ति र लेनिनवादको विकास भएको दोस्रो चरण र माओ नेतृत्वमा चीनमा सम्पन्न महान् सर्वहारा सांस्कृतिक क्रान्तिको तेस्रो चरण)का अनुभव र शिक्षा, अनि नेपाली कम्युनिस्ट आन्दोलनको पहिलो कालखण्डका अनुभव, ज्ञान र क्रान्तिकारी शिक्षालाई आजको क्रान्तिकारी पिंढीले गुणात्मक ढङ्गले समृद्ध गर्न आवश्यक छ ।
कम्युनिस्ट आन्दोलनका अग्रणी कमरेड पुष्पलाल (१९२४–१९७८) को ४५औं स्मृति दिवस र यसै वर्ष चलिरहेको उहाँको जन्मशताब्दीका अवसरमा नेपालका सबै सच्चा क्रान्तिकारी कम्युनिस्ट पंक्ति, कार्यकर्ता, समूह, अभियान तथा मोर्चाहरु, बौद्धिक जगत्, अध्ययन समूहहरु र गैरपार्टी कम्युनिस्ट व्यक्तित्वहरु सबैमा नयाँ पहलकदमीका लागि हामी आह्वान गर्दछौं । आउनुस्, नयाँ अध्यायको थालनी गरौं ! पुष्पलालले झैं नयाँ अध्यायका लागि अझ गुणात्मक विधि र प्रक्रियाबाट नयाँ कम्युनिस्ट पार्टी निर्माणको अभियानमा निस्कौं ! पुष्पलालले झैं आफ्नो समय, समाज र इतिहासको सही अध्ययन, सही विश्लेषण र सही निष्कर्ष निकालौं ! यो सन्धिविन्दुमा उभिएर सम्मान व्यक्त गरौं र सम्झौं– कमरेड पुष्पलाललाई, उहाँले स्थापना गरेको कम्युनिस्ट पार्टीलाई, क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको सम्पूर्ण इतिहासलाई, अनि ती आन्दोलनमा जीवन होम्नुहुने हजारौं सहिद तथा बेपत्ता योद्धालाई ! यो सन्धिविन्दुमा उभिएर सङ्कल्प गरौं– नेपालको नयाँ भविष्य निर्माणका लागि, यो बर्बरतम पुँजीवादी व्यवस्था अन्त्यका लागि र समग्र मानवजातिको मुक्तिका लागि!
अन्त्यमा, एङ्गेल्स, लेनिन, माओ र पुष्पलालका निम्न चार सान्दर्भिक उद्धरणहरु राखेर यो छलफलपत्रलाई यहीं रोक्ने अनुमति माग्छु–
१. ‘...फेरि पनि सुरुवातदेखि नै सुरु गर्नुबाहेक हाम्रो सामु गर्नुपर्ने अरु केही छैन । र, सौभाग्यवश हाम्रासामु आन्दोलनको पहिलो अध्याय समापन भएको र दोस्रो अध्याय सुरु हुनुअघिको एकदमै छोटो मध्यान्तर उपलब्ध छ, जसले हामीलाई एकदमै जरुरी काम गर्ने समय दिन्छ– ती कारणहरुको अध्ययन गर्ने समय जो क्रान्तिको विस्फोट र पराजयको कारण केही नेताका आकस्मिक प्रयत्नहरू, प्रतिभा, त्रुटिहरू, गल्ती र गद्दारीहरूमा खोज्ने होइन, बरु उथलपुथलग्रस्त राष्ट्रहरूको आम सामाजिक स्थितिमा र तिनको अस्तित्वको अवस्थामा खोज्नुपर्छ (एङ्गेल्स १९७७ : ४)।
२. प्रायशः के हुन्छ भने इतिहासले जब अचानक नयाँ मोड लिन्छ, प्रगतिशील पार्टीहरु समेत आफूलाई नयाँ स्थितिअनुसार अनुकूलन गर्न केही समयसम्म असमर्थै हुन्छन् र तिनीहरुले तिनै पुराना नाराहरु दोहो¥याइरहन्छन्, जुन नारा हिजोसम्म सही थिए तर आज तिनले आफ्नो सबै अर्थ गुमाइसकेका छन्, ती नारा त्यसरी ‘अचानक’ पुराना पल्टेका छन्, जसरी इतिहासले अचानक नयाँ मोड लिएको छ (लेनिन १९१७ : ४५४)।
३. ....हरेक ऐतिहासिक चरणका आफ्नै खास विशेषताहरु हुन्छन् र तिनलाई अर्को चरणमा यान्त्रिक ढङ्गबाट लागू गर्न सकिँदैन (माओ २०६३ : १३९)।
४. हामी नेपाली कम्युनिस्टहरु, नेपालको विशेषता र त्यसमा प्रयोग हुने नियमलाई नबुझी यदि माक्र्सवाद–लेनिनवाद र माओको विचारधाराको मात्र कुरा गर्दछौं भने सो माक्र्सवाद–लेनिनवाद तथा माओको विचारधाराको कन्ठस्त गर्ने क्रिया मात्र हुन जाँदछ । ...अतः नेपालको वास्तविक वस्तुस्थिति र हाम्रो विशेषतामा माक्र्सवाद–लेनिनवाद तथा माओको विचारधाराअनुसार कसरी काम गर्ने भन्ने कुरामा आज सम्पूर्ण पार्टीले सोची सम्झी हल निकाल्नु परेको छ (पुष्पलाल छा.र. भाग–३ .......: ९४)।
–––––––––––––––––––––––––––––––––––––––
२०८० साउन ६ ।। २०२३ जुलाई २२, शनिबार ।।
सन्दर्भः ४५औं पुष्पलाल स्मृति दिवस ।। काठमाडौं ।।
राजनीतिक संवाद थालनीद्वारा काठमाडौंमा आयोजित विचारगोष्ठीमा प्रस्तुत ।।
-------
i. यो गीतको मुख्य अंश पुष्पलालले आफ्नो पुस्तक ‘नेपालमा कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास’मा उधृत गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टीको पहिलो घोषणापत्रमा पनि यसको थेगो उद्धरण गरिएको छ । यहाँ प्रस्तुत विस्तृत अंश कार्यपत्र लेखकलाई नेकपाका एकजना संस्थापक नरबहादुर कर्माचार्यले वि.सं. २०६६ सालमा गाएर सुनाउनुभएको होः
पहाड पर्वत खोला नाला जग्गा जमिन सबको
मालिक हामी दास बनौं किन हिस्सा सबमा सबको !
रक्त बहाई धनसम्पत्ति सब पैदा गर्छौं हामी
तैपनि किन हो हाय अचम्म भोकै मर्छौं हामी
सहेर कहिलेसम्म सहुँ, यो जन्मजन्मको पीडा
जाऊँ क्षय संहार गरौं अब पीडाका यी किरा
क्रान्ति गरौं, क्रान्ति गरौं, अब जाऊँ क्रान्ति गरौं
नाश गरौं यो राणाशाही, झण्डा लाल समाऔं
दूर हटाई धनी गरिब, समको राज्य बसाऔं !!
–––––––––––––––––––––––––
मुख्य सन्दर्भ सामाग्रीहरु:
१. एङ्गेल्स, फ्रेडरिक (१९७७) । रिभ्योल्युसन एन्ड काउन्टर रिभ्योल्युसन इन जर्मनी । फरेइन ल्याङ्ग्वेज प्रेस, पेकिङ।
२. कर्माचार्य, नरबहादुर (२०१०) । प्रत्यक्ष कुराकानी।
३. तुङ, माओ त्से (२०६३) । अनु. कृष्णदास श्रेष्ठ । माओ त्से तुङका चुनिएका रचनाहरु । विविध पुस्तक भण्डार, काठमाडौं।
४. पुष्पलाल (२०५३, दो.सं.) । नेपालमा कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास । पुष्पलाल स्मृति प्रतिष्ठान, काठमाडौं ।
५. पुष्पलालका छानिएका रचना, भाग–१, २, ३, ४ । पुष्पलाल स्मृति प्रतिष्ठान, काठमाडौं ।
६. माक्र्स, कार्ल र एङ्गेल्स, फ्रेडरिक (१९४९) । कम्युनिस्ट घोषणापत्र । पहिलो नेपाली अनुवाद, अनु. पुष्पलाल ‘नेपाली’ । प्रकाशक–पुष्पलाल, बेलगाछिया, मुक्ताराम बाबू सेकेण्ड लेन, कलकत्ता ।
७. लेनिन, भ्ला. इ. (१९८३) । व्ला.इ. लेनिन सङ्कलित रचनाएँ, दस खण्डो में, खण्ड ६ । प्रगति प्रकाशन, मस्को ।
८. लेनिन, भी. आई. (१९१७) । अन स्लोगन्स । https://www.marxists.org/archive/lenin/works/1917/jul/15.htm
९. वैद्य ‘किरण’, मोहन (२०७६) । संशोधनवाद र पश्चगमन । विवेक सिर्जनशील प्रकाशन, काठमाडौं ।
१०. श्रेष्ठ, कृष्णदास (२०६१) । पुष्पलाल : विचार र व्यक्तित्व । पैरवी हाउस ।
११. श्रेष्ठ, माणिकलाल (अप्रकाशित लेख) । नेपालमा कम्युनिस्ट पार्टीको स्थापनाको पृष्ठभूमि ः पार्टी स्थापनाअघि कम्युनिस्ट विचारधाराको प्रचारप्रसार।
---------------------
No comments:
Post a Comment