Friday, July 24, 2020

वैकल्पिक आन्दोलनको लागि वैकल्पिक संगठनको निर्माण किन ? : प्रमोद धिताल

यतिखेर समयतामूलक र न्यायपूर्ण समाज तथा वैकल्पिक व्यवस्था निर्माणको आन्दोलन कम्जोर हुनपुगेको महशुश आमूल परिवर्तनका पक्षधरहरुलाई भएको छ । त्यसको निम्ति वैकल्पिक नेतृत्व, कार्यदिशा र कार्यक्रमको अभाव पनि सबैतिर खड्किएको छ । यस रिक्ततालाई पूरा गर्नको लागि हामीले आ आफ्नो ठाउँबाट साना–साना झिल्काहरुको निर्माण गर्नको लागि पनि पहल र कसरत गर्नैपर्ने आवश्यकता देखिएको छ । हामीलाई थाहा छ, नाम मात्र फरक  राखेर संगठन निर्माण गर्दैमा आन्दोलन अगाडि बढ्न सक्दैन । कुनै पनि आन्दोलन अगाडि बढाउनको लागि त्यससँग आफ्नै वैचारिक जगमा आधारित मौलिक कार्यदिशा, कार्यक्रम र संस्कृति हुन आवश्यक छ । त्यसले आफ्नो मौलिक प्रवृत्तिको विकास गर्नुपर्ने हुन्छ । हामीलाई यो पनि थाहा छ कि यो रातारात निर्माण हुने प्रक्रिया पनि होइन । यसले व्यापक संवाद,  संघर्ष, जनसहभागिता एवं सहकार्य, ठोस कार्यदिशामा आधारित कार्यक्रम र निरन्तरताको माग गर्दछ । निम्न आवश्यकताको आधारमा हामीलाई वैकल्पिक आन्दोलनको लागि वैकल्पिक संगठनको आवश्यकता महुसस भएको छः

१.श्रमजीवी वर्गको मुक्ति, वर्गीय पक्षधरता, बल प्रयोगको सिद्धान्त र निरन्तर क्रान्तिको मर्ममलाई आत्मसात गरी समाजवाद हुँदै साम्यवादी समाज निर्माणको महाअभियानसँग जोडिन । 

२.मानव जातीको इतिहासमा क्रान्तिकारी वर्गले निर्वाह गर्दै आएको गौरवपूर्ण विरासतलाई अगाडी बढाउन ।

३.विश्व कम्युनिष्ट आन्दोलनको दौरानमा भए गरेका गल्ती र भूलहरुको समीक्षा गर्दै मुक्तिको दर्शनलाई नयाँ उँचाईमा स्थापित गर्न ।

४. वर्तमान भुमण्डलिकृत साम्राज्यवादी व्यवस्थाका अमानवीय शोषणकारी पक्षहरुको विरुद्धमा भण्डाफोर र संघर्ष गर्दै  उत्पीडित श्रमजीवी वर्गको आन्दोलनलाई थप मजबुत बनाउँन ।

५. विचार निर्माणमा सामुहिक सहभागीता र योगदान सुनिश्चित गर्न ।

६.आमूल परिवर्तनकारी दर्शनलाई आत्सात गर्दै समतामूलक वर्गवीहिन समाजको निर्माण गर्न ।

७.सांगठनिक अभ्यासको नाउँमा हालसम्म भएगरेका सकारात्मक र नकारात्मक अनुभवहरुबाट पाठ सिक्दै समाज रुपान्तरणको लागि सामुहिक नेतृत्वको विकास गर्न ।

८.समाजवाद र वर्गविहीन समाज कुनै सुदूर भविष्यको मात्र विषय होइन । त्यो चाहना र कामनाले मात्र उदाउने व्यवस्था पनि होइन । बरु त्यसको लागि अहिलेदेखि नै सम्भव हुने हदसम्म वैचारिक, राजनीतिक, सांठनिक, आर्थिक, सास्कृतिक, पर्यावरणीय र मानवीय सम्बन्धहरुका सवालरुमा लागू गर्दै जान ।

दार्शनिक कार्यदिशा

ऐतिहासिक द्वन्दान्तमक भौतिकवाद

आम राजनीतिक कार्यदिशा

सम्पूर्ण श्रमजीवी उत्पीडित जनसमुदायहरुको संगठित एकता र आन्दोलनको बलमा वर्तमान दलाल पूँजिवादी व्यस्थाको अन्त्य गर्दै समाजवादी व्यवस्थाको निर्माण गर्ने । 

कार्यनीति

वैकल्पिक संस्कृति, अर्थतन्त्र, विचारधारा, राजनीति, शिक्षानीति, स्वास्थ्य, विकास, कृषि, पर्यावरण, संस्कृति, सहित समाजवादी प्रणालीको निर्माणको कामहरुलाई अगाडि बढाउने ।

इतिहासको अध्ययन, विश्व कम्युनिष्ट आन्दोलनको अध्ययन, ज्ञानका विविध शाखाहरुको अध्ययन, नेपाली समाजको अध्ययन, विचार निर्माणको लागि सामुहिक संवाद–सहकार्य, मुक्तिको दर्शनलाई भौतिक अस्त्रमा बदल्नको लागि उत्पीडित वर्ग र जनसमुदासँग व्यापक र नियमित जनसंवाद अभियान चलाउने । 

नेपाली समाजको जात व्यवस्था, लैंगिक उत्पीडन, भाषिक उत्पीडन, क्षेत्रीय उत्पीडन लगायतका विभिन्न शोषण उत्पीडन र वर्गीय शोषण–उत्पीडनको विरुद्ध जनसमुदायलाई क्रान्तिकारी विचारको वरिपरि संगठित गर्दै संघर्षका कार्यक्रमहरुलाई अगाडि बढाउने । 

क्रान्ति र उत्पादको संगसंगै अभ्यास र निरन्तरता, आत्मनिर्भर अर्थतन्त्र, संस्कृति र जीवनशैलीको अभ्यास सामुहिक संस्कृति, चेतना र जीवनशैलीको वकालत गर्ने तर व्यक्विादी संस्कृति, चेतना र जीवनशैलीको अभ्यासको गर्ने प्रवृत्तिलाई अन्त्य गर्न संघर्ष गर्ने । 

संसारका जुनसुकै स्थानमा भए गरेका शोषण, उत्पीडन, अत्याचार विरोधी तथा साम्राज्यादी शोषण उत्पीडनविरोध आन्दोलनमा एक्यवद्धता जनाउँने । 

नेपाली समाजका जनपक्षीय, मौलिक तथा राष्ट्रि मूल्य, मान्यता, संस्कृति परम्पराहरुको संरक्षणको लागि काम गर्ने मौलिक, राष्ट्रिय र जनपक्षीय अर्थतन्त्रको संरक्षण र निरन्तरताकोलागि संघर्ष गर्ने । 

नेपालको आर्थिक, राजनीतिक, सामाजिक–साँस्कृतिक, शैक्षिक, कृषि, ऊर्जा, भूमी, सुरक्षा लगायतका विविध पक्षहरुमाथि भइरहेका साम्राज्यवादी–विस्तरावादी हस्तक्षेप, आक्रमण, घुसपैठ र अतिक्रमणको विरुद्ध विभिन्न खाले प्रतिरोधी कार्यक्रमहरुसहित जनताकोे सहभागितामा आन्दोनहरु संगठित गर्ने ।

राष्ट्रियता, सामाजिक न्याय, जनअधिकार  जनजिविकासँग जोडिएका जुनसुकै विशिष्ट प्रकृतिका मुद्धाहरुसँग जोडिएर जनतालाई संगठिन गर्ने । तिनीहरुको विरुद्ध हुने अतिक्रमण र वैचारिक, आर्थिक, साँस्कृतिक, राजनीतिक तथा पर्यापरणीय आक्रमणका विरुद्ध संघर्ष गर्ने ।

सांगठनिक कार्यदिशा

१. एकल नेतृत्वको विकल्पमा सामुहिक नेतृत्व ।

२. एकल निर्णयको विकल्पमा सामुहिक निर्णय ।

३. औपचारि तथा यान्त्रिक जनवाद र अनुशासनको ठाउँमा वास्तविक तथा सृजनशील जनवाद र अनुशासन ।

४. धेरैको लागि थोरैले सोचिदिने, बोलिदिने र गरिदिने होइन सबैले सबैको निम्ति सोच्ने, बोल्ने र गर्ने प्रणालीको अभ्यास ।

५.अनुसरणमुखी, आदेशमुखी होइन सहकार्यमुखी सांगठनिक अभ्यास ।

६.कुनै पनि विषयको सम्बन्धमा निर्णय र निश्कर्षको प्रक्रियामा परम्परागत बहुमत र अल्पमतको औपचारिक कर्मकाण्डबाट मुक्त रही तथ्यहरुमार्फत सत्य पत्ता लगाउने मान्यतालाई केन्द्रमा राख्दै गम्भिर अध्ययन, अन्वेषण, मन्थन र बहसको जगमा निश्कर्ष र निर्णयमा पुग्ने । देखा पर्न जाने सबै मतहरुलाई सम्मान गर्ने संस्कृतिको विकास गर्ने ।  

७.विचार निर्माणको प्रक्रियामा सत्य कुनै विशिष्ट प्रतिभावको दिमागबाट जन्म लिन्छ भन्ने आदर्शवादी मान्यतालाई पूर्ण रुपमा खारेज गर्ने । तथ्य, अध्ययन, अनुसन्धान, निरीक्षण र परीक्षणको जगमा सत्यको खोजी र पहिचान गर्ने ।

८.विचार निर्माण प्रक्रियामा निम्नपूँजीवादी अधैर्यबाट मुक्त रही त्यसको लागि आवश्यक पर्ने जतिसुकै कष्ट, मेहनत र समयसँग सम्झौता गर्दै अगाडि बढ्न तयार हुने ।

९.संगठन या आन्दोलनको सदस्य र कुनै पनि तहको अगुवा हुनको लागि कुनै व्यक्तिको सिफारिश या भावनात्मक समर्थन नभै यसले अंगालेको समग्र कार्यदिशाप्रतिको समर्थनलाई आधार बनाउँने ।

१०.संगठन या आन्दोलनलाई योगदान गर्नको लागि यसमा आवद्ध कुनै पनि व्यक्तिको विशिष्ट प्रतिभा, रुचि र क्षमतालाई उपेक्षा गरी जिम्मेवारी वहनको लागि कसैले कसैमाथि कर–बल गर्ने प्रवृत्तिलाई निरत्साहित गर्ने ।

११. आदेश र अह्रन–खटनमुखी संस्कृतिलाई होइन सामुहिक निर्णयको आधारमा जिम्मेवारी बाँडफाँड गर्ने ।

१२.मूल्यांकन संगै स्व–मूल्यांकन, आलोचनासँगै आत्मालोचनाको संस्कृति र विधिलाई स्थापित गर्ने ।

१३. कुनै पनि व्यक्तिको मूल्यांकन र जिम्मेवारी वहनको आधार उसले जीवनम लागु गर्ने जीवनदर्शन र रुपान्रणलाई बनाउँने । 

१४.कुनै व्यक्तिको बारेमा निर्णय गर्दा विशेष सिफारिस प्रणालीलाई मान्यता नदिने । आफूले गर्ने योगदानको बारेमा  आफै निर्णय गर्ने । तर सामुहिक निर्णय लिइसकेपछि त्यही निर्णय निर्णायक हुने ।

१५. आफ्नो मतलाई नै अन्तिम सत्यको रुपमा निर्णय प्रक्रियामा लैजान या स्वीकार्न लगाउने प्रकृत्तिलाई मान्यता नदिने । 

१६.व्यक्तिको सारतत्व कमिटी, कमिटीको सारतत्व संगठन, संगठनको सारतत्व वर्ग र वर्गको सारतत्व समग्र मानवजातीमा खोज्ने संस्कृतिको अभ्यास गर्ने । 

सामाजिक तथा साँस्कृतिक कार्यदिशा

जीवनका सबै पक्षहरुमा वैकल्पिक/समाजवादी/साम्यवादी संस्कृतिको अभ्यासलाई संस्थागत गर्ने । 

जनपक्षीय संस्कृतिलाई सामाजिक संस्कृतिको रुपमा स्थापित गर्न कार्यक्रहरु सहित श्रमजीवी वर्गको बीचमा पुर्‍याउने ।

ooo

======================================

जीवनशैली रुपान्तरण किन?
 –प्रमोद धिताल
हामी बाँचिरेहेको व्यवस्था खन्चुवा व्यवस्था हो । उपभोक्तवादले रोगी बनाइएको व्यवस्था हो । एकथरि मानिसहरु छन् जो न्यूनतम उपभोगको अवसरबाट पनि बन्चित छन् । बन्चित मात्र छैनन् उनीहरु असुरक्षित र रोगी छन् । उनीहरुको जिन्दगीभरि भिड्नुपर्ने सवाल भएको छ रोटी र कपडाको सवाल । एकतिर खाने कुरा थुप्रिएको छ, अर्कोतिर भोका मानिसहरु के खाउँ भन्ने चिन्ताले तड्पिरहेका छन् । एकातिर कपडाका खातहरु छन् अर्कोतिर एकसरो कपडाको अभावमा मानिसहरु भौतारिइरहेका छन् । एकातिर आलिशान महलहरुमा खाली कोठाहरु छन्, अर्कोतिर मानिसहरु ओतको अभावमा खुला आकाशमुनि कठ्याङ्ग्रिदै रात गुजार्न बाध्य छन् । 

यस्तो किन हुन्छ ? के यो पूर्व जन्मको पाप या पूण्यको परिणाम हो जसले गर्दा कोहि अभावग्रस्त र कोही यति सम्पन्न छ ? के यो ती अधिकांश साधन र स्रोतहरुबाट बन्चित मानिसहरुको अकर्मण्यता, अज्ञानता र गल्तीको परिणाम हो जसले गर्दा उनीहरुले अभावको सजाय भोग्दैछन् ? अनि केहि मुठ्ठीभर मानिसहरुको बुद्धिमता र पौरखको परिणाम हो जसले गर्दा उनीहरु संसारका यावत अवसरहरुका भागिदार छन् ? एकथरि मानिसहरुको बुझाई, व्याख्या र निश्कर्ष यस्तो खालको छ । यो निश्कर्ष भनेको लुटाहा वर्गको निश्कर्ष हो । यो निश्कर्षप्रति ढुक्क भएर बसेपछि कसैलाई पनि लुटाहा व्यवस्थाप्रति विद्रोह गर्नुपर्ने आवश्यकता रहँदैन । वैकल्पिक व्यवस्था निर्माणको लागि संघर्षको गर्नुपर्ने हुँदैन । आफ्नो भाग्यलाई दोष दियो बस्यो । अनि आफू असक्षम, बुद्धिहीन र नालायक भएको कुरा स्वीकार गर्‍यो बस्यो । 

नाफामा अधारित व्यवस्थाले सहअस्तिवलाई स्वीकार गर्दैन । प्रतिस्पर्धामा विश्वास गर्छ । शोषणमा विश्वास गर्छ । सह–जीवनमा होइन अरुलाई उछिनेर अगाडि जाने कुरामा विश्वास गर्छ । प्रतिस्पर्धाको लागि समान अवसर दुश्मन हो । कोहि मानिसहरु सम्पन्न बन्नको लागि, सुखी बन्नको लागि धेरै मानिसहरु गरीब बन्नुैपर्छ, दुखी बन्नैपर्छ । किनभने यसो नभइकन यो व्यवस्था टिक्नै सक्दैन । यदि लुटाहा वर्गले निर्माण गरेको भाष्य अनुसार केहि मुट्ठीभर व्यक्तिहरुको स्वामित्वमा रहेको विश्वको अधिकांश सम्पत्ति उनीहरुको पौरखको फल हुन्थ्यो भने संसारका अधिकांश मानिसहरु बिना परिश्रम, दुःख र संघर्ष त बसेका छैनन् किन उनीहरु गरीब छन् त ? गरिबी र असमानता यव्यवस्थाको उपज हो । वर्गीय समाजको परिणाम हो । यदि अहिलेकै तरिकाबाट सबै देश र मानिसहरु सम्पन्न बन्न खोज्ने हो भने सिंगो पृथ्वी नै मानिसका लागि अपर्याप्त हुन्छ । 

पूँजीवादी आदर्श भनेको म नै उपभोग गरौं भन्ने हो । मबाट सुरु भएर ममा टुँगिने साँस्कृतिक मनोविज्ञानले त्यति मात्र गरेर चयनको नींद सुत्न सक्दैन । बरु त्यसले के भन्छ भने संसारमा भएका सबै  सुख, सुविधा, साधन स्रोतहरु म मात्रै उपभोग गरुँ । जति सक्यो धेरै उपभो गरुँ । “बाँचौं र बचाऔं” भन्ने नारा वर्तमान व्यवस्थाको निम्ति एउटा ढोंगी नारा हो । जुन व्यवस्थाभित्र मानिसको मूल्यांकनको आदि र अन्तिम आधार पैसा र व्यक्तिगत सम्पत्ति हो त्यो व्यवस्था कसरी मानवीय हुन्छ ? वर्तमान व्यवस्थाभित्र कसैलाई गर्ने सहयोग पनि नाफाको लागि गरिने लगानी हुन्छ । 

तसर्थ हामीले अब यतिखेरदेखि नै त्यस्तो चिन्तन र जीवनशैलीको खोजी गर्नुपर्ने भएको छ जसले  सभ्यताको  नाउँमा हामीलाई परिष्कृत पशुमा सीमित नगरिदेओस् । यो दुनियाको सृजनशील, न्यायप्रेमी, सचेत र समृद्ध प्राणीको पहिचान दिन सकोस् । तर के जीवनशैलीको वर्तमान दिशाबाट हामी यो दुनियाँको समृद्ध प्राणी बन्न सक्छौं ? समृद्धि त्यो होइन जसले मानिसलाई कहिल्यै नअघाउने खन्चुवा र भोगवादमा लिप्त बनाउँछ । बरु समृद्धि त्यो हो जसले मानिस आविष्कारकको सँगसँगै आफ्नो परिवेशी जगतप्रति संवेदनशील पनि बनोेस् । चारैतिर विनाशको आगो सल्काएर भोगचलन गर्ने समृद्धि भनेको समृद्धि नभएर पशुववृत्ति भन्दा पनि तुच्छ दर्जाको आत्मघाती खेल हो । जुन अहिलेको पूँजीवादी खन्चुवा व्यवस्थाले गरिरहेको छ । जसले आर्थिक र भौतिक समृद्धिको कुरा त गर्छ तर मानसिक, वौद्धिक, सामाजिक र साँस्कृतिक समृद्धिको कुरा गर्दैन । किनकि त्यससँग मानवीय न्याय, समानता, मानव जाती र प्रकृतिको संरक्षणको कुरा जोडिएको छ । व्यक्तिस्वार्थ केन्द्रित नाफामा टिकेको व्यवस्थाभित्र जुन सम्भव नै छैन । त्यसले त जम्मै मानवीय संवेदशनीलताहरुको पनि व्यापार गर्छ ।  

पूँजीवादी उपभोक्तावादले मानिसलाई आवश्यकताको आधारमा बस्तुको छनौट गर्ने बनाउँदैन । बरु पहिला बस्तुको आविष्कार गर्छ अनि मानिसभित्र आवश्यकताको मनोविज्ञान पैदा गर्छ । कुनै पनि उत्पादित मालको दाश बनाउँनुभन्दा पहिला उसले आलोचनात्मक र सचेत प्राणीलाई अचेतन उपभोक्तामा बदल्नुपर्ने हुन्छ । त्यसको लागि पूँजीवादले विज्ञापनका साधनहरुमार्फत मानवीय तथा सामाजिक रुचि मार्दै जानु र बजारको रुचि प्रवेश गराउँदै जानुपर्ने हुन्छ । त्यो काम उसले मानिसलाई बचपन देखि नै गर्ने गर्छ ।  “बजारको माग” अन्तर्गत मानिसको विवेकलाई बन्ध्याकरण गर्नु र उसलाई नाफाको साधन बनाउनु नै यसको मुख्य ध्यय हो । यो आवश्यकता उसले मानिसको विवेक र सोच्ने तरिकामाथि आक्रमणबाट पूरा गर्छ । यसलाई “ब्रेन वास” पनि भन्न सकिन्छ । 

उपभोक्तावादी सँस्कृतिले ‘नीड’ र ‘ग्रीड’को बीचमा भिन्नता मेटिदिन्छ । ग्रीडलाई नै निडको रुपमा स्थापित गरिदिन्छ । अन्ततः मानिसभित्र अन्त्यहीन, कहिल्यै शान्त नहुने लालचको आगो यसरी लाग्छ कि त्यो कहिल्यै शान्त हुँदैन । हाम्रो जीवनकालभरि शरीर ढाक्नलाई कति कपडा आवश्यक पर्छ ? स्वस्थ रहनको लागि कति खाद्य पदार्थ चाहिन्छ ? हाम्रो परिवारलाई कस्तो, कति ठूलो निवासको आवश्यक पर्छ ? हामीले विहानदेखि बेलुकासम्म उपभोग नगरिनहुने बस्तुहरु के–के हुन् ? यसरी प्राथमिकता छनौट र निर्धारण गर्न दिंदैन उपभोक्तावादले । यसले भन्दैन कि तिमीलाई जे अनिवार्य छ त्यो उपभोग गर जे छैन त्यसमा फजुल पैसा, समय र ऊर्जा खर्च नगर । अनावश्यक तनावको शिकार नबन । बरु यसले यो भन्छ कि हरेक दिन बजारले प्रदर्शनीमा राख्ने सबै नयाँ–नयाँ कुराहररुको उपभोग गर । केहि नछोड । त्यसले मात्र तिमीलाई सु–सँस्कृत, सभ्य र उन्नत प्राणीमा बदल्नेछ । जसरी हुन्छ खरिद्न र बेच्न सक्ने मानिस बन, अन्यथा सुख र समृद्धिको दौडमा असफल हुनेछौं । यस्तो छ उपभोक्तवादी प्रशिक्षण अन्तर्गत एउटा समृद्ध मानिसबारेको बुझाई ।

यसै विषयमा भारतीय लेखिका सरला सुन्दरम लेख्छिन्, “एक जमाना थियो जतिखेर मानिसहरु जिवित रहनको लागि उत्पादन गर्दथे । फेरि उनीहरुले सुख–चयन र मोजमस्तीको जिन्दगी ज्यूनको लागि तथा आध्यात्मिक र सौन्दर्यात्मक आनन्दको लागि पनि उत्पादन गर्न लागे । तर आजको अर्थव्यवस्था केबल उपभोगका बस्तुहरुको मात्र उत्पादन गर्दैन बरु उपभोक्ताहरुको पनि उत्पादन गर्छ........ऊ केबल उपभोक्ता हो जो उपभोगको लागि उपभोग गर्छ  ।” उनी कारको चर्चा गर्दै भन्छिन् कि आजको मानिसलाई कारको अकांक्षाले होइन बरु आकांक्षाले कारले चलाईरहेको छ । हुन पनि हो सुविधासम्पन्न जीवनको लागि मानिसले पहिला कार खरिद्छ अनि सोच्न थाल्छ त्यसको किस्ता कहाँबाट तिर्ने ? जसको परिणाम यही हुन्छ कि मानिसले कार होइन कारले मानिसलाई चलाउँन थाल्छ । आजको उपभोक्ता त्यतिमा मात्र सन्तुष्ट छैन । बरु उसलाई बजारमा आउने हरेक मोडेलका कारहरु पनि चढ्नुछ । जसको चरित्र विगतको उपभोक्ताभन्दा फरक छ । यसबाट के देखिन्छ भने आजको उपभोक्ता आवश्यकता पूर्तिको लागि होइन उपभोगको लागि उपभोग गर्छ । यो जन्मजात मानवीय स्वभाव, कम्जोरी या अपराध नभएर व्यवस्था आविष्कृत मनोविज्ञान हो । 

उपभोग र विकासको यही मोडेल अगाडि बढ्दै जाने हो भने मनुष्यको लागि भविष्यको मानचित्र सुरक्षित देखिन गाह्रो पर्छ । तसर्थ विकास र जीवनशैलीको यो विनाशकारी गतिलाई रोक्ने हो भने हामीसँग दुईवटा विकल्प छन् । एउटा पूँजिवादी व्यवस्थाले अगाडि सारेको विकासको अवधारणामाथि स्वतन्त्र दिमागले पुनर्विचार गर्नु । अर्को हामीले आफ्नै जीवनशैलीलाई जति सकिन्छ सरल र मितव्ययी बनाउँनु । औपनिवेशिक दिमाग बोकेर मानवीय मुक्ति र स्वतन्त्रताको यात्रा गर्न असम्भव छ । यसले एउटा त मानिसभित्रको जिवित(आलोचनात्मक, विवेकशील, सामाजिक) मानिसको हत्या गर्दोरहेछ । अर्को प्रकृतिको इकोसिस्टम जो मानिसको इच्छा र योजनाभन्दा स्वतन्त्र, शक्तिशाली, स्वभाविक र जीवनमैत्री छ, त्यसको बिनास पनि गर्दोरहेछ । 
पूँजिवादी–साम्राज्यवादले नीति अन्तर्गत मुख्यगरि तीनवटा कुराहरु आउँछन् । निजिकरण, भूमण्डलीकरण र उदारीकरण । साम्राज्यवादी शोषण र लुटपाटको नीतिलाई विश्वव्यापी रुपमा फैलाउनु नै आजको भुमण्डलीकरणको नीति हो । त्यसलाई जतिसुकै महिमामण्डित गरेर पेश गरेपनि अहिलेको भुमण्डलीकरण उत्पीडित जनतालाई शोषण–उत्पीडनबाट मुक्त गर्ने अस्त्र हुँदै होइन । बरु पूँजीवादी–साम्राज्यवादी स्वार्थको निम्ति गरीब मुलुकहरुमा रहेका साधनहरुमाथि लुट मच्चाउनु, त्यसको निम्ति त्यहाँका रैथाने आदिवासीहरुलाई जमिनबाट बेदखल गर्नु र अकुत नाफा कमाएर आफ्नो वर्चश्व कायम राख्नु हो । यसलाई निर्वाध रुपमा अगाडि बढाउनको लागि गरीब राष्ट्रहरु र तिनका सरकारहरु साम्राज्यवादी मुलुकका नीति–कार्यक्रमहरुलाई लागू गर्नको लागि ढोका खोलिदिनुपर्छ भन्न्ने नीति हो । यति भैसकेपछि शिक्षा, स्वास्थ्य, उद्योग, कृषि, रोजगारी, ऊर्जा लगायतका सामाजिक दायित्वका क्षेत्रहरुबाट सरकारले हात झिक्ने र ती क्षेत्रहरुलाई निजि क्षेत्र या पूँजिपतिहरुको हातमा सुम्पिने कुरा स्वाभाविक छ । यसरी सरकारले दायित्व बहन गर्नुपर्ने या जिम्मा लिनुपर्ने क्षेत्रहरु बहुराष्ट्रिय कम्पनीको हातमा पुगिसकेपछि  सरकार केबल नियमनकारी कर उठाउने संस्थाको रुपमा मात्र सीमित हुनपुग्छ । तर बिडम्बनाको कुरा जुन राजनीतिक क्याम्पभित्र यो विषयमा सबैभन्दा बढि बहस हुनुपर्ने हो त्यो भएको छैन । आफूलाई आमूल परिवर्तनका  अगुवा र अनुयायी दाबी गर्नेहरु नै जीवनशैलीको यही मोडेलाई विकास भन्दै साम्राज्यवादी खन्चुवा व्यवस्थाका मतियार बन्ने काम गरिरहेका छन् ।  

आजको पूँजिवाद एउटा औजार मात्र लिएर विश्व विजयको अभियानमा सरिक भएको छैन । बरु यसले आफ्नो वर्चश्व कायम गर्नका लागि आर्थिक, राजनीतिक, सामाजिक, साँस्कृतिक र शैन्य सबै प्रकारका अस्त्रहरुको संगसँगै प्रयोग गर्छ । कुनै बेला कुनै पनि कम्जोर मुलुकलाई उपनिवशे बनाउनुपर्दा ऊ सिधा सैन्य आक्रमण गथ्र्यो भने आज उसले साँस्कृतिक रुपले त्यहाँका राजनीतिक, वौद्धिक, शैक्षिक क्षेत्र हुँदै पुरै समाजमा औपनिवेशिक दाशता कायम गर्छ । उसले अगाडि सारेको विकास, समृद्धि र जीवनशैको मोडेल नै निर्विकल्प हो भन्ने कुर स्थापित गर्ने ध्याउन्नमा छ । यसको लागि उसले कला, साहित्य, सुचना–सञ्चार, विज्ञापन शिक्षा, वौद्धिक सबै औजारहरुको प्रयोग गरेको छ । त्यही भएर साम्राज्यवाद र त्यसका सबै दानवीय चेहराहरु पनि मानिसलाई मानवीय, सभ्य र उत्कृष्ट लाग्छन् । यसलाई हामी साम्राज्यवादी मोहनी भन्न सक्छौं  । तर यसैलाई वर्तमानको सबैभन्दा ठूलो सच्चाईको रुपमा स्थापित गर्न ऊ प्रयत्नशील र सफल पनि छ । 

त्यसकारण हामी यो कुरामा स्पष्ट हुनपर्ने जरुरी छ कि विकास र समृद्धि यो मोडेल साम्राज्यवादद्वारा पालित पोषित बहुराष्ट्रिय कम्पनी र तिनका मालिकहरुको समृद्धि हो हाम्रो समृद्धि होइन । हाम्रो समृद्धि उनीहरुका विकासे फर्मुलाहरु प्रयोग गरेर आउनेवाला छैन । त्यो हामीले नै तय गर्नुपर्ने छ । यतिखेरको समृद्धि भनेको हामी र हामी बसेको धर्ती लुटिने, कंगाल र खोक्रो हुने तर उनीहरु जुका ढाडिए झैं मोटाउने समृद्धि हो । यसैलाई उनीहरुले सबैको समृद्धिको रुपमा मूर्ख बनाइरहेका छन् । आज राज्यले विकासको नाउँमा बहुराष्ट्रिय कम्पनीहरुलाई पैशाको लोभमा लुटको लाइशेन्स प्रदान गरिरहेको छ । यो नीतिको विरुद्धमा उभिनु विकास र समृद्धिको विरुद्धमा उभिनु होइन विनाशको विरुद्धमा उभिनु हो । 

साम्राज्यवादी मिशन अनुकूलको सोंच,संस्कृति, मनोविज्ञान र जीवनशैलीको विस्तार जति गर्न सक्यो ऊ त्यति नै सफल हुनसक्छ । त्यसको लागि उसले जनतालाई आकर्षित गर्ने खालका नाराहरु अगाडि सारेर जनविरोधी परियोजनाहरु प्रवेश गराउँछ । साम्राज्यवादले त्यसरी नै काम गर्छ जसरी बल्छीमा चारो उनेर माछालाई फसाइन्छ । आर्थिक लगानी, सहयोग, अनुदान विकास, समृद्धि, गरिबी निवारण, हरित क्रान्ति, आर्थिक बृद्धि, जीवनस्तरमा सुधार, लैंगिक उत्थान, दलित शशक्तिकरण जुनसुकै नारा लिएर पनि ऊ आउन सक्छ । तर त्यसको घातक परिणाम गरीब मुलुक र त्यहाँका जनताहरुले भोग्नुपर्छ ।

तसर्थ वर्तमान भूमण्डलिकृत पूँजीवादले हाम्रो मौलिक जीवनशैली र सँस्कृतिमाथि आक्रमण गरिरहेको छ । यसको हामीले आफ्नो जीवनशैलीमाथि पुनर्विचार गरेर हाम्रो अर्थको गुणस्तरीय जीवनशैलीको खोजी गनैपर्ने हुन्छ । जुन स्वस्थ, मितव्ययी र देखासिकीमुक्त होस् । सुविधा र क्षणिक सन्तुष्टीको नाउँमा जसले हामीलाई थप गरिबीतिर नलैजाओस् । यस्तो जीवनशैली जसले हामीलाई मौलिक, सृजनशील, स्वाभीमानी, स्वावलम्बी र उत्पादनशील बनाओस् । वैकल्पिक जीवनशैली निर्माणको आन्दोलन साँस्कृतिक आन्दोलनसँगै सम्बन्धित विषय हो । त्योभन्दा अलग विषय होइन । यतिखेर जीवनशैली अनुसरणको हिसाबले जनताले रोलमोडल मान्न सक्ने गरी कुनै वैकल्पिक शक्ति अगाडि देखिन्न । जसले अपील गर्न सकोस् कि हाम्रो जीवनशैली र मौलिक संस्कृति यो हो । समाजवादी जीवनशैली अपनाएर मात्र हामी साँस्कृतिक साम्राज्यवादले खडा गरेका भ्रम र आक्रमणहरुलाई परास्त गर्न सक्छौं । गरीब तथा उत्पीडित मुलूकहरुका जनताहरुले आफूलाई दह्रोसँग उभ्याउनको लागि सबैभन्दा शक्तिशाली हतियार भनेको नैतिक र साँस्कृतिक हतियार हो । 




2 comments:

  1. ठीक छ सारमा तर दार्शनिक पृष्ठभूमिमा मार्क्सवादी लेनिनवादी सिद्धान्त स्पष्टरुपमा अाउन सकेको छैन ,त्याे राख्नुपर्ने देखिन्छ ।

    ReplyDelete