Monday, December 18, 2017

एमालेका उपियाँ र बहुदलीय जनवादरुपी अजिंगर - रमेश सुनुवार

नेपालमा एमाले नामको एउटा पार्टी छ । त्यसले आफूलाई कम्युनिष्ट पार्टी भन्छ, तर पूँजीवादलाई आफ्नो आदर्श मान्छ । यो मामिलामा त्यसले पूँजीवादी पार्टीहरुलाई पनि उछिनेको छ, मानौं पूँजीवाद उसैको आवष्किार हो । र, त्यसको दुःख यहीँबाट शुरु हुन्छ ।
दुःख नं. १
एमाले पूँजीवादी कानूनलाई लक्ष्मण रेखा मान्छ । यसको थोरै मात्र उलंघन पनि एमालेको दृष्टिमा अनिष्टको सूचक हुन्छ । त्यसकारण यो न्यायको स्रोत हो, सुव्यवस्थाको आधार हो । तर कानूनका ‘नौ सिंङ’ हुन्छन् भनिन्छ, जुन यही पूँजीवादी कानूनको चरित्रलाई हेरेर भनिएको हो ।
यसको ज्वलन्त उदाहरण ०५२ साल भदौ १२ गते सर्वोच्च अदालतले गरेको फैसला थियो । तर, पनि पूँजीवादी कानूनप्रति एमालेको अगाध निष्ठा छ, असीम श्रद्धा छ । त्यसैकारण एमालेले मनमोहन अधिकारीलाई अस्पतालको शैयाबाट बकपत्र गराएको थियो । त्यसले सोचेको थियो- कानून सबैका लागि समान हुन्छ र संवेदनशील अवस्था देखेर पूँजीवादीहरुको हृदय द्रवीभूत हुन्छ । तर, कुनचाहिँ बाजले परेवाका आँखाबाट आँसु बगेको देखेर शिकार गर्न छाडेको होला ? किनभने त्यसको धर्म नै परेवाको शिकार गर्नु हो । एमालेका नेताहरुले यति कुरा पनि बुझेनन् र मनमोहन अधिकारीलाई बलिको बोको बनाए ।
पूँजीवादी कानूनको कोतमा एमालेका नेता-कार्यकर्ताहरु एकपछि अर्को शहिद बनिरहेका छन् । पहिलो शहिद मनमोहन अधिाकारी बने । दोस्रो शहिद देवी ज्ञवाली बने । अब तेस्रोको लागि कोही लाइनमा होलान् । यो शहिद बन्ने क्रम तबसम्म चलिरहन्छ, जबसम्म एमालेले पूँजीवादलाई आˆनो आदर्श र पूँजीवादी कानूनलाई लक्षमण रेखा मानिरहन्छ ।
”सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हो” भन्ने मदन भण्डारीको आदर्शलाई छाडेर एमालेले सडेगलेको पूँजीवादी कानूनको रक्षा गर्नका लागि आˆनो सबै सर्वस्व वलिदान गरेको छ । पूँजीवादीहरुले कानून तबसम्म मान्दछन्, जबसम्म त्यसबाट आफ्नो स्वार्थ सिद्ध हुन्छ । जब त्यसबाट उनीहरुको स्वर्थमा धक्का लाग्छ, त्यसपछि सबैभन्दा पहिले कानूनको उलंघन उनीहरुले नै गर्छन् । यस्ता उदाहरण इतिहासमा प्रशस्तै छन् । जस्तो कि मार्क्सले भनेका थिए- ”यदि मानिसको स्वार्थमा धक्का लाग्यो भने ज्यामितिको स्वयंसिद्ध तथ्यलाई पनि संशोधन गरिन्थ्यो होला ।”
दुःख नं. २
एमालेले बहुदलीय व्यवस्थालाई निर्विकल्प मान्छ । एमालेका नेताहरु सगर्व उद्घोष गर्दछन्- ”बहुदलीय व्यवस्थाको विकल्प छैन ।”
दुनियाँको इतिहासलाई हेर्ने हो भने निर्विकल्प भन्ने कुनै व्यवस्था छैन । फ्रान्सका राजा लुई चौधौंले ‘म नै राज्य हुँ’ भन्थे रे । तर, उनी स्वयं गणतन्त्रवादीहरुद्वारा गिलोटिनमा गिंडिएका थिए । नेपालमा पञ्चायतकालमा पञ्चहरुले पञ्चायती व्यवस्थालाई निर्विकल्प भन्थे । तर, उनीहरुको पञ्चायती व्यवस्था अहिले विकल्पमा पनि छैन । एमाले दुनियाँका यी सबै तथ्यहरुलाई बिर्सिएर बहुदलीय व्यवस्थालाई निर्विकल्प बनाउने निरर्थक प्रयत्नमा लागेको छ ।
हरेक समाजिक व्यवस्था ऐतिहासिक आवश्यकताले आउँछ र ऐतिहासिक आवश्यताले नै विदा हुन्छ । कसैको चाहना वा घोषणाले कुनै पनि व्यवस्था निर्विकल्प हुँदैन । बहुदलीय व्यवस्था पनि ऐतिहासिक आवश्यकताले नै आएको थियो र अब यो ऐतिहासिक आवश्यकताले नै जाँदै छ ।
निर्वर्गीय आदिम साम्यवादबाट शुरु भएको मानव समाज दासयुगपछि वर्गीय समाजमा रुपान्तरण भएको थियो । आधुनिक कालमा पूँजीवादको विकास भएपछि यो वर्गविभाजन अझ तीव्र भयो । विभिन्न वर्गहरु स्वतन्त्र हुनथाले ।परिणामस्वरुप ती वर्गहरुलाई राजनीतिक अधिकार प्राप्त गर्नको लागि राजनीतिक दलहरुको आवश्यकता पर्‍यो । यो थियो बहुदलीय व्यवस्था आउनुको ऐतिहासिक आवश्यकता । त्यसपछि विगत ३०० वर्षको अवधिमा दुनियाँको कुना-कुना पगेर यसले आफ्नो ऐतिहासिक कार्यभार पूरा गरिसकेको छ ।
बहुदलीय व्यवस्था वर्गीय समाजको परिणाम थियो । अब मानव समाज वर्गविहीन समाजवाद-साम्यवादतिर जाँदै छ । यो बहुदलीय व्यवस्था विदा हुने ऐतिहासिक आवश्यकता हो । तर बहुदलीय व्यवस्थालाई निर्विकल्प बनाएपछि यो ऐतिहासिक आवश्यकता कसरी पूरा हुन्छ ? त्यसकारण एम्ाालेले कि त समाजवाद-साम्यवादको लक्ष्य छोड्नु पर्छ कि बहुदलीय व्यवस्थालाई निर्विकल्प मान्न छोड्नुपर्छ । तर एमालेको भाग्यमा यस्तै द्विविधामा अल्झिनु लेखेको छ ।
दुःख नं. ३
एमालेले पूँजीवादको विकास गरेर देशलाई समृद्ध बनाउने सपना देख्छ । नेपालमा पूँजीवादी क्रान्ति हुँदैन भन्ने निष्कर्ष निकालेर २००६ सालमा नयाँ जनवादी क्रान्तिको लक्ष्यसहित कम्युनिष्ट पार्टीको स्थापना गरिएको थियो । तर, यसको विपरीत एमालेका नेताहरु नेपालमा पूँजीवादको विकास गर्ने सपना बाँडिरहेका छन् । उनीहरु सबैलाई पूँजीवादी बन्ने सल्लाह दिन्छन् र उनीहरु स्वंम पनि पूँजीवादी बन्ने उद्योगमा लागेका छन् । पूँजीवादको विकास नभई समाजवादमा जान सकिँदैन भन्ने उनीहरुको निष्कर्ष छ ।
तर, नेपालमा पूँजीवाद न एमालेको चाहनाले आउँछ न उसको बलबुताले नै आउँछ । त्यसकारण रमालेका नेताहरु पूँजीवादी भन्ने धुनमा अन्तर्राष्ट्रिय पूँजीवादीहरुको दलाल बनेका छन् । उनीहरु दलाल पूँजीवादको विरोध गर्दछन्, तर आफैं दलाल बनेका छन् । अर्धसामन्ती र अर्धउपनिवेशी समाजमा पूँजीवाद भनेको दलाल पूँजीवाद हो र त्यसमा पूँजीवादी हुनु भनेको दलाल हुनु हो ।
पूँजीवाद ल्याउने प्रयत्न नगरेर नेपालमा दलाल पूँजीवाद हावी भएको होइन, बरु पूँजीवाद ल्याउने प्रयत्नको परिणामस्वरुप दलाल पूँजीवाद आएको हो । त्यसकारण पूँजीवादको विकास गरेर दलाल पूँजीवाद अन्त्य गर्ने र देशलाई समृद्ध बनाउने सपना सपनामै सीमित रहन्छ ।
दलाल पूँजीवादलाई समाप्त पारेर देशलाई समृद्ध बनाउने विधि पूँजीवादको विकास गर्नु होइन । यसको विधि त समाजवादको विकास गर्नु हो ।
आश्चर्यको कुरा त के छ भने एमालेलाई किन्ने साहुहरुले नेपालमा पूँजीवादको विकास गरेका छैनन्, अब यो किनिएको एमालेले पूँजीवादको विकास कसरी गर्ने होला !
पूँजीवादीहरुले पनि सामन्तवादको विकास गरेर पूँजीवाद स्थापना गरेका थिएनन् । पुनर्जागरणकालपछि युरोपबाट अमेरिका गएका मानिसहरुले, जो पूँजीवादी थिए, अमेरिकामा सामन्तवादको विकास नगरी सिधै पूँजीव्ाादको स्थापना गरेका थिए । अझ उनीहरुले त्यहाँका आदिवासीहरुलाई, जो आदिम सामाजिक व्यवस्थामा थिए, बलपूर्वक दमन गरेर आˆनो व्यवस्था निर्माण गरेका थिए ।
भारतमा आएका अंग्रेजहरुले सामन्ती व्यवस्थामा रहेका भारतीयहरुलाई दमन गर्थे । उनीहरुले कहिल्यै पनि भारतमा सामन्तवादको विकास गरेर पूँजीवाद स्थापना गर्ने कुरा सोचेनन् । अहिले अमेरिकाले विश्वमा रहेका पूँजीवादबाहेक अन्य व्यवस्थाहरुलाई बलपूर्वक उखेलेर ˆयाँक्ने प्रयत्न गर्छ । यसरी पूँजीवादीहरु पूँजीवाद स्थापना गर्नका लागि जुनसुकै कदम चाल्न हिच्किचाउँदैनन्, अनि अरुले चाहिँ आˆनो व्यवस्था ल्याउनका लागि पनि पूँजीवादकै विकास गर्नुपर्ने ?
कम्युनिष्ट झण्डा फहराएर पूँजीवादलाई आफ्नो आदर्श मान्नुको परिणामस्वरुप एमालेका यस्ता अनगिन्ती दुःखहरु छन् । यी सबै दुःखको कारण चाहिँ एउटै छ । त्यो के हो भने एमालेले बहुदलीय जनवादलाई पूँजीवादसँग साटेको छ ।
के थियो बहुदलीय जनवाद ?
बहुदलीय जनवाद सैद्धान्तिकरुपमा नयाँ जनवादी कार्यक्रम थियो र व्यावहारिक रुपमा ‘पूँजीवादलाई यथासम्भव ताछ्ने र पातलो बनाउने’ विधि थियो । त्यसकारण बहुदलीय जनवादका दुईवटा लक्ष्यहरु थिए । एउटा लक्ष्य नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर समाजवादको लागि मार्गप्रशस्त गर्नु थियो । अर्को लक्ष्य कम्युनिष्टहरुले पूँजीवादीहरुसँग हरेक क्षेत्रमा प्रतिस्पर्धा गरेर उनीहरुको एकाधिकारलाई समाप्त पार्नु र पूँजीवादीलाई कमजोर बनाएर सर्वहारा वर्गलाई शक्तिशाली बनाउनु थियो ।
तर, अहिले एमालेका नेताहरु त पँूजीवादलाई नै बलियो बनाउने र आफू पनि पूँजीवादी बन्ने धुनमा लागेका छन् । एमालेको लागि बहुदलीय जनवाद र पूँजीवादी व्यवस्थाको बीचमा कुनै भिन्नता छैन । बहुदलीय जनवादमा तिनै दलहरु मात्र रहन्छन्, जुन नयाँ जनवादको पक्षधर हुन्छन् । तर एमालेका लागि शत्रु-मित्र भन्ने कुरा नै छैन । सत्तामा जान ऊ जोसँग पनि सम्झौता गर्न तयार हुन्छ र त्यो पनि ‘वेश्यावृत्ति’को स्तरमा ।
यसरी बहुदलीय जनवाद र पूँजीवादको बीचमा भेद छुट्याउन नसकेर एमालेका नेताहरु पूँजीवादको जंगलमा हराएका छन् । उनीहरु मदन भण्डारीका नालायक उत्तराधिकारी बनेका छन् ।
एकपटक आफ्ना नालायक अनुयायीहरुलाई देखेर माक्र्सले भनेका थिए रे -”मैले अजिङ्गरको दाँत रोपेको थिएँ तर हात लाग्यो उपियाँ ।” त्यस्तै मदन भण्डारीले अजिङ्गगरको दाँतको रुपमा रोपेको बहुदलीय जनवादमा अहिले उपियाँहरु उफ्रिरहेका छन् ।
बहुदलीय जनवाद बहुदलीय व्यवस्थालाई घृणा गर्ने उग्रबामपन्थी तथा जडसूस्त्रवादी प्रवृत्ति र बहुदलीय व्यवस्थालाई सर्वस्व ठान्ने संशोधनवादी तथा पूँजीवादी प्रवृत्तिबाट माथि उठेर कम्युनिष्ट आन्दोलनलाई परिवर्तित परिवेश अनुकूल अगाडि बढाउन ल्याइएको थियो ।
एमालेले बहुदलीय जनवादका दुई लक्ष्यहरुमध्ये कुनै पनि पूरा गरेको छैन । बहुदलीय जनवादको एउटा लक्ष्य नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्नु थियो ।
सिद्धान्ततः नयाँ जनवादमा बहुदलीय व्यवस्था हुन्छ । किनभने त्यसमा समाजवादको तुलनामा धेरै वर्गहरु हुन्छन् । ती वर्गहरुको प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीहरु धेरै हुनु स्वाभाविक छ । चीनको उदाहरण हेरेर नयाँ जनवाद एक दलीय व्यवस्था हो भन्ने निष्कर्ष निस्किँदैन । त्यहाँ एउटा विशेष परिस्थितिले एकदलीय व्यवस्था स्थापना भएको थियो । त्यो परिस्थिति के थियो भने नयाँ जनवादी क्रान्तिको लागि बनेको संयुक्त मोर्चाको एउटा घटक कोमिन्ताङ पार्टीले क्रान्तिसम्मपन्न हुनुभन्दा पहिले नै संयुक्त मोर्चा छोडेर शत्रु खेमामा सामेल भएको थियो । फलस्वरुप नयाँ जनवादी क्रान्तिको पक्षमा चिनियाँ कम्युनिष्ट पार्टी मात्र बाँकी रहेको थियो । यदि क्रान्ति सम्पन्न हुँदासम्म दुवै पार्टीहरु संयुक्त मोर्चामा रहेका भए क्रान्तिपछि तिनीहरुको सम्बन्ध के हुन्थ्यो ? निश्चित रुपमा तिनीहरुको सम्बन्ध प्रतिस्पर्धी नै हुन्थ्यो । यसको अर्थ त्यहाँ बहुदलीय व्यवस्था हुन्थ्यो ।
त्यसकारण बहुदलीय जनवाद र नयाँ जनवाद एउटै हुन् । बहुदलीय व्यवस्थालाई मान्नुको अर्थ नयाँ जनवादलाई छोड्नु होइन, बरु बहुदलीय व्यवस्थालाई उपयोग गरेर नयाँ जनवादको कार्यभार पूरा गर्नु हो ।
जब बहुदलीय जनवादलाई नयाँ जनवाद मानिन्छ, तब मात्र त्यसको माध्यमबाट देशलाई अर्धसामन्ती-अर्धउपनिवेशी अवस्थाबाट र दलाल पूँजीवादबाट मुक्त गर्न सकिन्छ ।
अहिलेसम्म देशलाई अर्धसामन्ती-अर्धउपनिवेशी अवस्थाबाट र दलाल पूँजीवादबाट मुक्त गर्न नसकिनुको कारण नयाँ जनवादबिनाको बहुदलीय व्यवस्थालाई अवलम्बन गरिरहनु हो ।
त्यसैगरी बहुदलीय जनवादको अर्को लक्ष्य बहुदलीय व्यवस्थालाई आफ्नो हितमा उपयोग गर्नु थियो । कम्युनिष्टहरुले बहुदलीय व्यवस्थालाई हेर्ने सही दृष्किोण यसलाई घृणा गरेर यसबाट अलग रहनु होइन र यसलाई सर्वस्व मानेर यसमै रमाएर बस्नु अथवा यसमै विलीन हुनु पनि होइन । बहुदलीय व्यवस्था वर्गीय समाजको यथार्थ हो । त्यसकारण बहुदलीय व्यवस्थाबाट अलग रहनुको अर्थ यथार्थबाट अलग रहनु हो । यथार्थबाट अगल रहनु कुनै क्रान्तिकारी कार्य हुँदैन । त्यसैगरी बहुदलीय व्यवस्थालाई सर्वस्व मान्नुको अर्थ पूँजीवादमा सीमित हुनु हो, जुन क्रान्तिलाई छोड्नु हो ।
यसलाई हेर्ने सही दृष्टिकोण त यसलाई आफ्नो हितमा उपयोग गर्नु हो । तर फेरि बहुदलीय व्यवस्थालाई उपयोग गर्नुको अर्थ चुनावमा भाग लिनु मात्र होइन । यसलाई उपयोग गर्नुको अर्थ त पूँजीवादभित्र समानान्तरमा समाजवादको निर्माण गर्नु हो ।
तर एमाले चुनावमा सीमित भएको छ । उसको यात्रा चुनावदेखि चुनावसम्म हो । एमाले बहुदलीय व्यवस्थालाई सर्वस्व मानेर यसमै रमाएर बसेको छ । त्यसकारण उसले बहुदलीय जनवादको दोस्रो लक्ष्य पनि पूरा गरेको छैन ।
तर एमालेले बहुदलीय जनवादलाई नयाँ जनवादबाट अलग गरेर पँूजीवादीहरुको सेवा गरिरहेको छ ।
अहिले एमाले कुनै नेतृत्वदायी राजनीतिक पार्टी होइन । यो त थाकेका मानिसहरु बिसाउने चौतारी हो । मदन भण्डारीले भन्थे-”राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन ।” तर एमालेको शब्दाकोशमा थकाइ बाहेक अरु कुनै शब्दावली नै छैन । थकाइ माने- निर्विकल्प बहुदलीय व्यवस्था, थकाइ माने- कानूनी राज्य, थकाइ माने- मानवअधिकार, थकाइ माने- पँूजीवादको विकास, थकाइ माने- चुनाव, इत्यादि ।
विगतमा कांग्रेसले गाउँमा चुनावमा प्रचार गर्दा भन्ने गर्थ्यो -”कम्युनिष्टहरुले जिते भने भारतले नून-तेल रोक्छ ।” उसको चुनाव जित्ने रणनीति जम्मा ‘नून-तेल’ रोकिने त्रास हुन्थ्यो । अहिले एमालेले पनि त्यस्तै रणनीति बनाएको छ- ‘एमाले हार्‍यो भने वृद्धभत्ता रोकिन्छ ।’
बाघ बुढो भएपछि फट्याङ्ग्रा मार्न थाल्छ भनिन्छ । आफ्नो जवानीमा बाघले आफूभन्दा ठूलो हात्तीको पनि शिकार गर्छ रे । तर जब त्यो बुढो हुन्छ, तब फट्याग्रा मार्न थाल्छ । एमालेको अवस्था त्यस्तै भएको छ । सिंगो देश बदल्न हिँडेको एमाले अब वृद्धभत्तामा थन्किएको छ ।
यो कहीँ नपुग्ने यात्रामा लागेको एमालेबाट सम्पूर्ण मुक्तिकामी सच्चा क्रान्तिकारीहरु बाहिर निस्किनुपर्छ र नक्कली बहुदलीय जनवादको झाडीमा डढेलो सल्काउनुपर्छ । त्यसपछि मदन भण्डारीले बहुदलीय जनवादलाई जहाँ छोडेका थिए, त्यहीबाट शुरु गर्नुपर्छ । एमाले नामको जंगलमा हराएका, भांैतारिएका इमान्दार तथा क्रान्तिकारी जनसमुदायहरुको वर्तमान कार्यभार यही हो । मदन भण्डारीकै शब्द सापटी निले हो भने, ‘ढिलो भए पनि अबेर भएको छैन ।’
( लेखक मार्क्सवादी अध्ययन केन्द्रसँग सम्वद्ध छन्)
https://www.onlinekhabar.com बाट साभार 
२०७४ पुष ३ गते २०:०० मा प्रकाशित

No comments:

Post a Comment