Wednesday, October 25, 2017

हेडक्वार्टरमाथि बम बर्षाऊ ! - रमेश सुनुवार

यो नारा चीनमा महान सर्वहारा सांस्कृतिक क्रान्तिको बेला लगाइएको थियो । यसको अर्थ थियो- गलत नेतृत्वलाई बर्खास्त गर ।
चीनमा सन् १९४९ मा नयाँ जनवादी क्रान्ति सम्पन्न भएपछि कम्युनिष्ट पार्टीको नेतृत्व पंक्तिमा क्रमशः (विस्तारै) संशोधनवादी र पूँजीवादी प्रवृत्ति विकसित हुँदै गएको थियो । परिणाम स्वरुप पार्टीले चालेका अग्रगामी कदमहरु असफल हुँदै गइरहेका थिए । नयाँ जनवादी क्रान्तिपछि समाजवादतिर अगाडि बढ्नुपर्ने थियो, तर नेतृत्व पूँजीवादतिर फर्किरहेको थियो । त्यसले यस्तो सोच्न थालेको थियो- क्रान्ति सकियो र वर्ग-संघर्ष पनि सकियो, त्यसकारण अब उत्पादन बढाउनतिर लाग्नुपर्दछ, समृद्धितिर लाग्नुपर्दछ । यसरी नेतृत्वपंक्ति संशोधनवाद र पूँजीवादतिर उन्मुख भएको देखेर माओ त्से-तुङ्गले महान सर्वहारा सांस्कृतिक क्रान्ति चलाउने निर्णय गरे, जसको उद्देश्य थियो गलत नेतृत्वलाई बर्खास्त गर्नु ।
माओको धारणा के थियो भने क्रान्ति र वर्ग-संघषको निरन्तरताबिना न वर्गहरुको अन्त्य हुन्छ न त समृद्धि हासिल हुन्छ । क्रान्तिकारी कार्य र वर्ग-संघर्षलाई केवल उत्पादन बढाउने र समृद्धि हासिल गर्ने कुरा कोरा कल्पना मात्र हुन्छ । त्यसकारण उनले भनेका थिए- क्रान्तिलाई बलियोसँग पक्ड र उत्पादन बढाऊ ।
यो घटना अहिले नेपालमा दोहोरिएको छ । नयाँ जनवादी क्रान्तिको लक्ष्य लिएर २०५२ साल फगुन १ गतेबाट सशस्त्र संघर्षमा लागेको नेकपा माओवादी पार्टी २०६२-६३ मा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना भएपछि सशस्त्र संघर्ष छोडेर शान्तिपूर्ण राजनीतिमा सामेल भएको थियो । तर शान्तिपूर्ण राजनीतिमा प्रवेशसँगै त्यसको ओरालो यात्रा शुरु भयो ।
सशस्त्र संघर्षको माध्यमबाट दश वर्षको छोटो अवधिमै उथल-पुथल ल्याउन सफल भएको पार्टी खुल्ला रानजीतिमा भने कमजोर, निरीह बन्दै गयो । पहिलो संविधानसभाको चुनावमा सबभन्दा ठूलो दल बनेको पार्टी दोस्रो संविधानसभाको चुनावमा तेस्रो स्थानमा झर्‍यो । सशस्त्र संघर्षको कठिन परिस्थितिमा पनि नफुटेको पार्टी एकपछि अर्को फुटको चपेटामा पर्‍यो । यसरी माओवादी पार्टी नितरन्तर कमजोर बन्दै जानथाल्यो । फलस्वरुप अब यो पार्टी अवसानको सँघारमै पुगेको छ ।
माओवादी पार्टी यसरी ओरालो लाग्नुको कारण अरु केही नभएर यसको नेतृत्वपंक्ति संशोधनवाद र पूँजीवादतिर उन्मुख हुनु नै हो । शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेपछि त्यो त्यतातिर उन्मुख भएको थियो । त्यसले युद्ध छोड्नुको अर्थ संघर्ष नै छोड्नु हो, बहुदलीय व्यवस्थामा आउनुको अर्थ पूँजीवादी हुनु हो र चुनावमा भाग लिनुको अर्थ पूँजीवादी पार्टी हुनु हो भन्ने सोचेको देखियो । जवकि युद्ध छोड्नुको अर्थ संघर्षको रुप फेर्नु हो, बहुदलीय व्यवस्थामा सामेल हुनुको अर्थ त्यसलाई आˆनो हितमा प्रयोग गर्नु हो र चुनावमा भाग लिनुको अर्थ पूँजीवादी पार्टीहरुलाई कमजोर बनाउनु हो । त्यसैगरी त्यसले जनयद्धको उपलब्धिहरुलाई एक-एक गरेर पूँजीवादीहरुको हातमा सुम्पियो । परम्परा र रुढिवादको सामु घुँडा टेक्यो । समाजवादी मूल्य-मान्यताको सट्टा पूँजीवादी मूल्य-मान्यतालाई अवलम्वन गर्‍यो । यसरी त्यसले आफ्नो सिद्धान्त, वर्ग, भौतिक आधार, संस्कृति र आदर्शलाई बलियो र सुदृढ बनाउनुको सट्टा पूँजीवादी सिद्धान्त, वर्ग, भौतिक आधार, संस्कृति र आदर्शलाई नै बलियो र सुदृढ बनायो । त्यसले पूँजीवादीहरूलाई रिझाउनु आफ्नो कर्तव्य ठान्यो ।
के वर्तमान व्यवस्थामा रहनका लागि ‘म पूँजीवादी हुन्छु’ भनेर शपथ लिनु पर्छ र ? किनभने यो व्यवस्था पूँजीवादीहरुले मात्र ल्याएको होइन । यो त सम्पूर्ण जनताको संघर्षको परिणाम हो । यसलाई पूँजीवादीहरुले आˆनो ढंगले प्रयोग गर्नसक्दछन् र कम्युनिष्टहरुले आˆनो ढंगले प्रयोग गर्नसक्छन् ।जीवादहरुले यसलाई आफ्नो हितमा प्रयोग गर्न सक्दछन् र कम्युनिष्टहरुले आˆनो हितमा प्रयोग गर्नसक्दछन् । त्यसकारण कम्युनिष्टहरु मात्र झुक्नुपर्छ भन्ने कुनै बाध्यता छैन । माओवादी पार्टीको नेतृत्व पूँजीवादी आदर्शको पछि लाग्नु त्यसको स्खलन मात्र हो ।
गलत चालकले चलाएको जहाज गन्तव्यमा पुग्दैन, त्यो दुर्घटनाग्रस्त हुन्छ । त्यस्तै गलत नेतृत्वद्वारा सञ्चालित पार्टी पनि लक्ष्यमा पुग्दैन, दुर्घटनामा पर्छ । माओवादी पार्टी अब डुब्न लागेको जहाजजस्तै हो । त्यसलाई बचाउने प्रयत्न गर्नु अथवा त्यसमा बसेर समुद्र पार गर्ने आशा गर्नु भनेको त्यससँगै आफू पनि डुबेर समाप्त हुनु हो ।
त्यसकारण अब सच्चा क्रान्तिकारीहरुले गलत नेतृत्वलाई समर्थन गर्नुहुँदैन, बरु त्यसको विरुद्ध विद्रोह गर्नुपर्दछ । अर्थात् हेडक्वार्टरमाथि बम बर्षाउनु पर्दछ ।
नेपालका दुई ठूला प्रमुख कम्युनिष्ट पार्टीहरु एमाले र माओवादीको संशोधनवाद र पूँजीवादतिरको यात्रा अब क्लाइमेक्समा (उत्कर्षमा) पुगेको छ । यिनीहरु कम्युनिष्ट पार्टी होइनन् भन्ने कुरा यो घटनाबाट स्पष्ट भएको छ । नेपाली कम्युनिष्ट आन्दोलनलाई यिनीहरुको प्रभावबाट मुक्त गर्नु र यिनीहरुलाई आन्दोलनको मोर्चाबाट बहिष्कार गर्नु सम्पूर्ण क्रान्तिकारी शक्तिहरुको प्रमुख कार्यभार हो । अब यिनीहरुको अवसानलाई कुनै पनि बहानाले बचाउन सक्दैन । यिनीहरुको नियति यी दुईमध्ये एउटा मात्र हुनेछ- इतिहासको विषय बन्नु अथवा पूँजीवादी पार्टीको रुपमा गुजारा चलाउनु ।
अहिलेसम्म यिनीहरुले माक्र्सवादको नाममा, क्रान्तिकारिताको नाममा संशोधनवादी कार्य र गतिशीलताका नाममा अवसरवादी कार्य गर्दै आएका थिए । तर अब माक्र्सवादको, क्रान्तिकारिताको र गतिशीलताको पर्दा च्यातिएको छ र यिनीहरुको पूँजीवादी स्वरुप उदाङ्ग बनेको छ । यिनीहरुको माक्र्सवाद, क्रान्तिकारिता र गतिशीलता चुनाव जित्ने तुच्छ स्वार्थमा परिणत भएको छ । चुनाव जित्ने तुच्छ, सीमित स्वार्थमा एकता गर्ने, सम्झौता गर्ने पार्टीका नेताहरुको सैद्धान्तिक आधार कति बलियो होला, उनीहरुको प्रतिबद्धता कति स्थायी होला भन्ने कुरा बुझ्न कठिन छैन ।
अहिले वाम अथवा कम्युनिष्ट एकताको नाममा चुनाव जित्ने तुच्छ, निजी स्वार्थका लागि गरिएको एकतालाई जनचाहना र ऐतिहासिक आवश्यकता भनेर महिमामण्डन गरिएको छ । तर जनचाहना र ऐतिहासिक आवश्यकतामा हुने वाम अथवा कम्युनिष्ट एकताका स्वणिर्म अवसरहरु त विगतमा धेरै गुमिसकेका छन् ।
उदाहरणका लागि, २०५२ सालको चुनावमा वाम एकता भएको भए कांग्रेसले वाम सरकार ढालेर देश लथालिङ पार्न सक्थ्यो ? जनयुद्धमा वाम वा कम्युनिष्ट एकता भएको भए नयाँ जनवादी क्रान्ति सम्पन्न हुने सम्भावना हुँदैनथ्यो ? पहिलो संविधानसभाको चुनावपछि वाम एकता भएको भए जनताका धेरै एजेण्डाहरु स्थापित हुँदैनथे ? अब अहिले सबै अवसरहरु गुमिसकेपछि र आफू कमजोर भएपछि पाँच वर्षे कार्यकालको पूँजीवादी चुनाव जित्नका लागि मात्रै गरिएको एकतालाई जनचाहना र ऐतिहासिक आवश्यकता जस्ता गौरवशाली शब्दावलीहरुले सजाएर यसको औचित्य पुष्टि हुँदैन ।
विगतमा जनचाहनालाई कुल्चेर, ऐतिहासिक आवश्यकतालाई बिर्सेर फुटको खेती गर्नेहरुले अब एकता गरेर जनचाहना र ऐतिहासिक आवश्यकताअनुसार काम गर्छन् भन्ने कुनै आधार छैन । यिनीहरु विगतमा पनि जनचाहना र ऐतिहासिक आवश्यकतामा होइन, आफ्नै चाहना र आवश्यकतामा फुटेका थिए र अहिले पनि यिनीहरु जनचाहना र ऐतिहासिक आवश्यकतामा होइन, आˆनै चाहना र आवश्यकतामा जुटेका छन् । त्यसकारण यिनीहरुले एउटै मञ्चमा उभिएर एकताको घोषणा गर्नु र विपरीत मञ्चमा उभिएर गालीगलौजका जुवारी खेल्नुमा कुनै भिन्नता छैन । कम्युनिष्ट आन्दोलनमा यसको कुनै मूल्य हुँदैन । जनताको मुक्ति यात्रामा यसले कुनै योगदान गर्दैन ।
अब जहाँसम्म समाजवादी क्रान्तिका लागि सबै कम्युष्टिहरु मिल्नुपर्छ भन्ने प्रश्न छ, यो ‘नमरी स्वर्ग देखिँदैन’ भन्ने कुराजस्तो होइन । सबै कम्युनिष्टहरु नमिली क्रान्ति नै हुँदैन भन्ने छैन । उदाहरणका लागि, रुसमा बोल्शेभिक र मेन्शेभिकको रुपमा कम्युनिष्टहरु विभाजित थिए । दोस्रो कम्युनिष्ट अन्तर्राष्ट्रिय पनि विभाजित थियो । मेन्सेभिक र दोस्रो कम्युनिष्ट अन्तर्राष्ट्रियका नेताहरुले बोल्शेभिकहरुको विरोध गर्दथे । तर त्यही बीचमा रुसमा अक्टोबर समाजवादी क्रान्ति भयो । त्यस्तै नेपालमा माओवादी जनयुद्धको बेला एमाले, मसाल र एकताकेन्द्र माओवादीबाट अलग थिए र उनीहरुले माओवादी जनयुद्धको विरोध गर्थे । तर पनि जनयुद्ध त भएरै छोड्यो ।
त्यसकारण हामीले क्रान्तिको सूत्र कम्युनिष्ट एकतामा मात्र खोज्नु हुँदैन । त्यो त सही सिद्धान्त, सही कार्यक्रम, सही पार्टी र सही नेतृत्वमा अन्तर्निहित हुन्छ । जस्तो कि लेनिनले भनेका थिए- ”क्रान्तिकारी सिद्धान्तबिना कुनै क्रान्तिकारी आन्दोलन हुन सक्दैन ।” त्यसैगरी माओले भनेका थिए- ”राजनीतिक सिद्धान्त सही वा गतल हुनुले सबै कुरा निर्धारण हुन्छ ।”
नेपालमा करिब ६ दशक लामो कम्युनिष्ट आन्दोलन औपचारिक रुपमा अन्त्य भएको छ । नयाँ जनवादी क्रान्ति अथवा नयाँ जनवादको लक्ष्य लिएर आरम्भ भएको आन्दोलन पूँजीवादको लक्ष्यमा समापन भएको छ । र, पाँचजना सदस्यहरुबाट स्थापित भएको कम्युनिष्ट पार्टी वृहत आकार ग्रहण गरेर विसर्जन भएको छ ।
तर, कम्युनिष्ट आन्दोलनको लक्ष्य पूरा भएको छैन । त्यो लक्ष्य हो- समाजवादको माध्यमबाट सम्पूर्ण शोषण-उत्पीडनको अन्त्य गरेर एउटा स्वाधीन, स्वतन्त्र र समुन्नत नेपालको निर्माण गर्नु । त्यसकारण यसको लागि अब कम्युनिष्ट आन्दोलनको नयाँ चरण आरम्भ हुनु आवश्यक छ । यो चरणको आरम्भ नयाँ सिद्धान्त, नयाँ पार्टी, नयाँ नेतृत्व र नयाँ कार्यक्रमसहित हुनेछ । यो नयाँ यात्राको तयारीमा सम्पूर्ण देशभक्त, प्रगतिशील, मुक्तिकामी र क्रान्तिकारी शक्तिहरु एकजुट होऊँ ! यो वर्तमान युगको माग हो ।
आजको आवश्यकता पूँजीवादी चुनाव जित्नको लागि सबै कुरा दाउमा लगाउनु होइन, बरु पूँजीवादी व्यवस्थालाई नै समाप्त पार्नको लागि सबै कुरा दाउमा लगाउनु हो ।
https://www.onlinekhabar.com बाट साभार 
२०७४ कार्तिक ८ गते १९:३१ मा प्रकाशित

No comments:

Post a Comment