Thursday, October 19, 2017

अक्टोबर क्रान्तिको पूर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टीको अपिल

जनबाटो संवाददाता कार्तिक ३, २०७४ काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीको अन्तराष्ट्रिय विभागले अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमको पूर्वसन्ध्यामा एक अपिल प्रकाशित गर्दै कार्यक्रम समारोह भव्य रुपमा मनाउन आह्वान गरेको छ । पार्टी केन्द्रीय समितिले ‘अक्टोबर समाजवादी क्रान्तिको शतवार्षिकी भव्य रूपमा मनाऔँ ! वैज्ञानिक समाजवादको बाटोमा दृढतापूर्वक अघि बढौँ !!’ मूल नारा दिएर अपिल जारी गरेको छ ।

अपिलको पूर्ण पाठ यसप्रकार छ :-
‘प्रत्येक क्रान्तिको अर्थ हुन्छ, विशाल सङ्ख्यामा जनताको जीवनमा आकस्मिक घुम्ती । यस्तो घुम्तीका लागि समय परिपक्व भएको छैन भने कुनै पनि वास्तविक क्रान्ति हुन सक्तैन । जसरी कुनै व्यक्तिको जीवनमा कुनै पनि घुम्तीले उसलाई धेरै नै सिकाउँछ, उसलाई धेरै नै अनुभव तथा अनुभूति झेल्न बाध्य बनाउँछ, त्यसरी नै क्रान्तिले सम्पूर्ण जनतालाई धेरै कम समयमा अत्यन्त मर्मस्पर्शी र मूल्यवान् शिक्षा दिन्छ ।’
–लेनिन, क्रान्तिको शिक्षा, १९१७ ।

आदरणीय जनसमुदाय !
लेनिनको यो संश्लेषण सन् १९१७ को पुँजीवादी फेब्रुअरी क्रान्ति र वैज्ञानिक समाजवादी अक्टोबर क्रान्तिको बीचका तुफानी दिनहरूको महत्वपूर्ण संश्लेषण हो । क्रान्ति साँच्नै नै जनताको जीवनमा आकस्मिक घुम्ती हो । आकस्मिक घुम्तीको अर्थ हुन्छ हिँडिरहेको सीधा सडकबाट पूर्वानुमान नगरिएको कुइनेटोमा खतरा झेल्दै अर्को बाटोतिर अघि बढ्नु । घुम्तीमा चालकले आफ्नो विपरीतबाट आइरहेको तथा प्रत्यक्ष नदेखिएको सवारीसाधन र आफ्नो गाडी भीरमा जाकिन सक्ने चुनौतीको सामना गर्नुपर्दछ । सन् १९०५ को असफल क्रान्ति र सन् १९१७ को फेब्रुअरी क्रान्तिबाट रुसी जनताले गम्भीर शिक्षा लिएर अक्टोबर क्रान्ति सफल पारेका थिए । हामीले नेपालमा यतिबेला विभिन्न ऐतिहासिक जनआन्दोलन र दस वर्षको ऐतिहासिक जनयुद्धको असफलताबाट मर्मस्पर्शी र मूल्यवान् शिक्षा लिँदै एकीकृत जनक्रान्ति सफल पार्ने अठोट गर्नुपर्दछ । वैज्ञानिक समाजवादी अक्टोबर क्रान्तिको शतवार्षिकीका अवसरमा हामीले लिने पहिलो शिक्षा यही नै हो । त्यो घुम्ती पार गर्ने आँट र विवेक पनि हामीसँग हुनैपर्छ किनभने यो कम्युनिस्ट क्रान्तिकारीहरूको ऐतिहासिक कार्यभार हो ।
दोस्रो, लेनिनले संविधानसभाको चुनावको नारा अघि सार्दै त्यसका लागि अस्थायी क्रान्तिकारी सरकारमा भाग लिँदा आफ्ना प्रतिनिधिप्रति कठोर नियन्त्रण र वैज्ञानिक समाजवादी क्रान्तिको लक्ष्यप्रति एक क्षणका लागि पनि आँखा नचिम्लने सर्त राख्नुभएको थियो । अर्को कुरा, अस्थायी क्रान्तिकारी सरकारविरुद्ध विद्रोह गरी अक्टोबर वैज्ञानिक समाजवादी क्रान्ति गरेपछि पूर्वसर्तअनुरूप लेनिनले संविधानसभाको चुनाव गराउनुभयो । क्रान्तिबाट स्थापित राज्यसत्ताअन्तर्गत भएको उक्त चुनावमा समेत बोल्सेबिकलाई हराउन पुरानो सत्ताका अवशेषहरू सफल भएपछि लेनिनले ‘सम्पूर्ण सत्ता सोभियतलाई’ भन्ने नारा दिनुभयो । उक्त सोभियतले संविधानसभालाई विघटन गरी क्रान्तिकारी संविधान जनताका क्रान्तिकारी प्रतिनिधिले बनाएका थिए । त्यसकारण अक्टोबर क्रान्ति त्यस्तो क्रान्ति हो जुन संविधानसभाको चुनावबाट पुँजीवादमै टाँस्सिएन, बरु समाजवादमा अघि बढ्यो । पुरानो राज्यसत्ताअन्तर्गत संविधानसभाको चुनाव गराएर त्यसैबाट नै समाजवादमा पुग्न सकिन्छ भन्दै कल्पनाको खीर खुवाउने धोकेबाज पुष्पकमल दाहाल र बाबुराम भट्टराईको करतूतलाई यतिबेला गहिरो गरी स्मरण गर्दै महान् वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने प्रतिबद्धताका साथ हामीले अक्टोबर क्रान्तिको शतवार्षिकी भव्यतापूर्वक मनाउनुपर्दछ ।
पुष्पकमल दाहाल र बाबुराम भट्टराईले पुरानो राज्यसत्ता यथावत् राखेर संविधानसभाको चुनावमा भाग लिए र जनताले अरू सबै संसदीय पार्टीभन्दा माओवादी पार्टीलाई बढी स्थानमा विजयी गराए । तर नेपालमा न जनसंविधान बन्यो, न त पुरानो सत्ता ढलेर नयाँ सत्ता प्राप्त भयो । लेनिनले फेब्रुअरी पुँजीवादी क्रान्तिबाट बनेको सत्तालाई समेत ढालेर अक्टोबर क्रान्तिबाट बनेको वैज्ञानिक समाजवादी व्यवस्थाअन्तर्गत संविधानसभाको चुनाव गराउनुभयो । त्यस संविधानसभाबाट पुँजीवादीहरू बहुमतमा आएपछि त्यसलाई विघटन गरेर उहाँले समाजवादी राज्यवस्थाका जनप्रतिनिधिद्वारा समाजवादी संविधान बनाउनुभयो । अतएवः अक्टोबर क्रान्तिले के पुष्टि गरेको छ भने पुरानो राज्यसत्ता यथावत् राखेर जतिसुकै लोकप्रिय पार्टी भए पनि संसदीय चुनावबाट वैज्ञानिक समाजवादी क्रान्ति गर्न सकिँदैन । पुरानो राज्यसत्ता नढालीकन वैज्ञानिक समाजवादी क्रान्ति खोज्नेहरू कि माक्र्सवादको कखरा नबुझेका मूर्खहरू हुन्, होइन भने ती लालझन्डामुनि घुसेका साइलकहरू हुन् । नेपालमा यो सन्दर्भ मर्मस्पशी बनेको छ ।
तेस्रो, पेरिस कम्युनबाट सुरु भएको साम्यवादी क्रान्तिको लहरलाई रुसमा अक्टोबर १९१७ मा सम्पन्न वैज्ञानिक समाजवादी क्रान्तिले गुणात्मक र व्यापक बनाइदियो । रसियाली समाजवादी गणतन्त्र सङ्घ १९२२ मा १५ वटा गणराज्य मिलेर सोभियत समाजवादी गणतन्त्र सङ्घ बन्यो । त्यसपछि क्रमशः १९२४ मा मङ्गोलिया, १९४३ मा युगोस्लाभिया, १९४४ मा अल्बानिया, १९४५ मा पोल्यान्ड र भियतनाम (भियतनाम अन्ततः १९७५ मा अमेरिकासँगको लडाइँमा विजयी भयो), १९४६ मा बुल्गेरिया, १९४७ मा रुमानिया, १९४८ मा चेकोस्लोभाकिया, १९४९ मा चीन, पूर्वीजर्मनी र हङ्गेरी, १९५३ मा कोरिया, १९६६ मा क्युबा र १९७५ मा लाओस र कम्बोडिया समाजवादी गणतन्त्रमा रूपान्तरण भएका थिए । पृथ्वीको आधाभन्दा बढी जनसङ्ख्या र आधाभन्दा बढी भूगोलमा साम्यवादी व्यवस्थाको सङ्क्रमणकालका रूपमा वैज्ञानिक समाजवाद लागू भएको थियो । आज हामीले समाजवादी व्यवस्थामा भएको प्रतिक्रान्ति र क्रान्तिको सन्निकट पुगेका देशहरूको असफलताबाट शिक्षा लिएर मालेमावादी दर्शनको विकाससहित वैज्ञानिक समाजवादी क्रान्तिबाट साम्यवादमा पुग्ने सैद्धान्तिक तथा व्यावहारिक प्रतिबद्धता गर्नु नै अक्टोबर क्रान्तिको शतवार्षिकी मनाउनुको सार्थकता रहनेछ । यसका साथै पुँजीवादीहरूले उत्तरसाम्राज्यवादको चरम अवस्थामा पुगेर साम्यवादलाई रोक्ने अनेक दुष्प्रयत्न गरिरहेका छन् । तर उनीहरूकै अति केन्द्रीकरण, निजीकरण, उदारीकरणको आर्थिक आधारमा प्रकट हुने सामाजिक उत्पादन र निजी स्वामित्वको अन्तरविरोधको तीव्रताले साम्यवादको आगमन पनि तीव्र बनेको छ ।
चौथो, अक्टोबर क्रान्तिले ठोस वस्तुको ठोस विश्लेषण गर्न सिकाएको छ र माक्र्सवादलाई लेनिनवादमा विकास गरेको छ । लेनिनले ठोस वस्तुको ठोस विश्लेषण गर्नुभयो र १९०० पछि पुँजीवाद साम्राज्यवादमा पुगेको संश्लेषण गर्नुभयो । दोस्रो अन्तर्रा्ष्ट्रियका ‘महारथीहरू’ बर्न्स्टिन, काउत्स्की र प्लेखानोभले पुँजीवादको अवस्था बुझेनन् । लेनिन समाजवादी क्रान्ति गर्न सफल हुनुभयो भने महारथीहरू यथास्थितिमै टाँस्सिए । आज नेपालमा दक्षिणपन्थी अवसरवादीहरूको संसदीय व्यवस्थाबाटै समाजवाद ल्याउने धोकाधडीका विरुद्ध वैज्ञानिक समाजवाद ल्याउने एकीकृत जनक्रान्तिको कार्यदिशा ठोस वस्तुको ठोस विश्लेषण हो । आज साम्राज्यवाद उत्तरसाम्राज्यवादमा पुगेको छ । यसको विशेषता भनेको निगम पुँजीलाई राजनीतिको निर्देशक बनाउनु, पुँजी केही व्यक्तिको हातमा केन्द्रित गरेर वा दुईचारवटा ट्रस्ट, सिन्डिकेट र कार्टेलको मातहतमा विश्वबजार कब्जा गर्नु र प्राकृतिक स्रोत हडप्नु, विज्ञान र प्रविधिलाई आफ्नो नियन्त्रणमा लिने कोसिस गर्नु हो । यसको अर्थ हुन्छ– युद्ध ।
साम्राज्यवादीहरूका बीच युद्धको अर्थ हुन्छ, गृहयुद्ध र वैज्ञानिक समाजवादी क्रान्तिद्वारा विश्वयुद्धको अन्त्य गर्नु । आज मजदुर र किसानको साथमा मध्यमवर्ग आउन बाध्य छ । थोरै पुँजीपतिले एउटै छानोमुनिबाट व्यापक बजार र राजनीतिक व्यवस्था कब्जा गरेपछि मध्यमवर्ग बाँच्ने स्थान सीमित भएर जान्छ । उसको माथितिर उक्लने अवसर बन्द हुँदै गएको छ । त्यसकारण नेपाल र विश्वमा दलाल पुँजीवाद तथा साम्राज्यवादका विरुद्ध किसान, मजदुर र सिपाहीहरू मात्र होइन, बरु मध्यमवर्ग पनि थपिएको छ । यसले गर्दा पनि एकीकृत जनक्रान्तिको कार्य्दिशा सही साबित हुँदैछ । विज्ञान र प्रविधिमा भएको क्रान्ति पनि एकीकृत रूपमा आएको छ । यसले हाम्रो कार्य्दिशाकै पुष्टि गर्दछ ।
पाँचौँ, हामी अक्टोबर क्रान्तिको शतवार्षिकीका अवसरमा यो घोषणा गर्न चाहन्छौँ, हाम्रो मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिवाद–माओवाद हो । हामी यसको आधारमा उभिएर यसको विकास गर्न चाहन्छौँ । यसको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो । यसको काम हो, संसारलाई बुझ्ने र बदल्ने । तर समाजवादी क्रान्तिमा भएको प्रतिक्रान्ति र विजयको सन्निकट क्रान्तिमा भएको असफलताले बुझ्ने र बदल्ने कुराले मात्र पुग्दैन, बरु बदलिएको कुरालाई एवम् अग्रगामी रूपान्तरणलाई रक्षा र विकास गर्नुपर्दछ । हामीले भनेका छौँ, विपरीतहरूको एकता र सङ्घर्ष सबै वस्तुहरूमा यान्त्रिक ढङ्गले लागू हुँदैन । पार्टीमा अन्तरसङ्घर्ष दुई लाइन सङ्घर्षमा पुगेपछि अग्रगामी रूपान्तरण नहुने स्थितिमा विजातीय तत्वसँग अन्तिम छिनोफानो गर्नुपर्दछ । विपरीतहरू एक–अर्कोमा रूपान्तरण हुन्छन् । विगतमा जस्तै पार्टी्भित्रका प्रचण्ड स्थायी रूपमा पक्ष र बाबुराम स्थायी रूपमा विपक्ष भइरहन दिनु गतिको नियम नबुझ्नु हो । त्यही कारणले गर्दा बाबुरामले प्रचण्डलाई निले र आज त्यो पार्टी विघटन भएर प्रतिक्रियावादमा जाकिन पुग्यो । त्यसका प्रमुख नेताहरू साम्राज्यवादका चाकर बनेका छन् ।
हामीले एकीकृत जनक्रान्तिद्वारा वैज्ञानिक समाजवादमा पुग्ने रणनीति बनाएका छौैँ । प्रश्न उठेको छ, नयाँ जनवादी रणनीति छोडियो कि ? उत्पादन प्रणालीमा विज्ञान र प्रविधिको व्यापक उपस्थितिले माओको अर्धसामन्ती तथा अर्धऔपनिवेशिक देशमा गरिने नयाँ जनवादी क्रान्ति अथवा पुँजीवादी क्रान्तिमा तीव्रता ल्याएको छ । नेपालमा सामन्तवादको नेतृत्व ढलेको छ । सामन्तवादी अवशेष, नोकरशाही पुँजीवाद र दलाल पुँजीवादको नेतृत्व दलाल पुँजीवादले नै गरेको छ । नेपाली शोषित–उत्पीडित जनता त्यसका विरुद्ध उभिएका छन् । दलाल पुँजीवादका विरुद्धको एकीकृत जनक्रान्तिको प्रक्रियामा नै पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गरेर हामीले वैज्ञानिक समाजवादी गणतन्त्र नेपाल घोषणा गरी अघि बढ्नु आवश्यक छ । नेपालमा राजनीतिक रूपले जुन संसदीय व्यवस्था छ त्यसको विकल्प पुँजीवादी जनवादी क्रान्ति हुन सक्तैन । यसका साथै चीनमा जस्तै १९४९ मा नयाँ जनवादी क्रान्ति र १९५७ मा गएर समाजवादी क्रान्ति गर्नुपर्छ भन्ने यान्त्रिक भ्रममा कोही पनि पर्न हुँदैन । माओले समाजवाद लागू गर्न खोजेको १९४९ देखि नै हो । यसमा विलम्ब हुँदै जाँदा ल्यु साओची र देङ स्याओपिङले अझै पँुजीवादको विकास गर्न आवश्यक छ, पिछडिएको अर्थतन्त्र र उन्नत समाज व्यवस्था अन्तरविरोधी हुन्छ भनेर प्रतिक्रान्ति गर्न खोजेका थिए । त्यसकारण आजको परिस्थितिको सम्बोधन गर्नुपर्ने, संसदीय व्यवस्थाको विकल्प दिनुपर्ने र प्रतिक्रान्तिबाट बचाउन वैज्ञानिक समाजवादको रणनीति नै सही हुन्छ ।
आदरणीय जनसमुदाय !
यतिबेला साम्राज्यवादीहरू अत्याधुनिक हतियारको होडबाजीमा छन् । यसको उद्देश्य हो, प्राकृतिक स्रोत र बजार कब्जा गर्नु । उनीहरूले निगमद्वारा राजनीतिको कमान्ड गर्दैछन् । यसको परिणाम विश्वयुद्ध हुन्छ । नेपालमा साम्राज्यवादका दलाल र कथित वामहरूले नवप्रतिक्रियावादी गठबन्धन गरेर क्रान्तिका उपलब्धिहरू नष्ट गर्दै क्रान्तिको विजय रोक्ने साधनहरूको भूमिका खेल्दैछन् । अर्कोतिर पुराना सत्ताधारी पार्टीहरू अर्को गठबन्धनमा जोडिएका छन् । उनीहरूलाई दुई पार्टी व्यवस्थामा पु¥याएर क्रान्तिको गला रेट्ने र पालैपालो सरकारमा लिएर नेपालका प्राकृतिक साधनको दोहन र बजार कब्जा गर्ने साम्राज्यवादी उद्देश्य रहेको छ ।
त्यसकारण हामी अक्टोबर समाजवादी क्रान्तिको यो शतवार्षिकीका अवसरमा किसान, मजदुर, सिपाही, राष्ट्रिय पुँजीपति र देशभक्तहरूलाई वैज्ञानिक समाजवादको स्वागत गर्ने तयारी र पूर्वाभ्यास (रिहर्सल) मा अघि बढ्न जोडदार आह्वान गर्दै न्यानो अभिनन्दन टक्र्याउँछौँ । विश्वका श्रमजीवी र उत्पीडित जनताहरूलाई यो दिवसमा सहभागी हुँदै समाजवादको रणनीतितिर अघि बढ्न आह्वान गर्दछौँ ।
अक्टोबर क्रान्तिको शतवार्षिकीका अवसरमा नेपाली शोषित–उत्पीडित जनताको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टीले काठमाडौँको खुलामञ्चमा अक्टोबर २५ (कात्तिक ८) मा भव्य जनसभाको आयोजना गरिएको छ । उक्त जनसभालाई महासचिव कमरेड विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । हामी विभिन्न तह र तप्काका जनसमुदायलाई उक्त सभामा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ ।

http://www.janabato.com बाट साभार 

No comments:

Post a Comment