Monday, September 25, 2017

कम्युनिस्ट राजनीति : हिजो, आज र भोलि - प्रदीप गिरि

विश्व कम्युनिस्ट आन्दोलन तितरवितरको अवस्थामा छ । नेपाल अपवादको रूपमा छ ! संसद्मा उपस्थित पार्टी हेर्दा कम्युनिस्टहरू बहुमतमा छन् यहाँ । तर कम्युनिस्ट विभाजित छन् । राजा महेन्द्रका शब्दमा कार्ल मार्क्सले गाए हुन्छ, ‘सक्दिनँ हेर्न भन्छन् कमरेड थरीथरीका ।’ प्रचण्ड, केपी ओली, चित्रबहादुर केसी, कमरेड रोहित, मानन्धर, सीपी मैनाली यत्रो जमघट छ ।
कम्युनिस्टका नाममा देखापरेका प्रत्येक समूह र व्यक्तित्वको आफ्नै इतिहास छ । यति हुँदा पनि नेपालका वामपन्थी चिन्तक र नेता नै भन्दैछन्- थोत्रो कम्युनिस्ट पार्टीको औचित्य छैन । सोभियत युनियन सन् १९८९ मा विघटन भयो । त्यसै वर्ष चीनमा तियानमेन स्क्वायरमा नृशंस हत्याकाण्ड भयो । त्यो हत्याकाण्डले कम्युनिस्ट चीनको वास्तविकता दुनियाँका नजरमा छर्लंग गरिदियो ।
सन् ६० को दशकमा पेकिङ र सांघाईका सडकमा विद्यार्थी र तन्नेरी लाखौंको संख्यामा ओर्लेर मोओत्सेतुङको सांस्कृतिक क्रान्तिको श्रीगणेश गरेका थिए । तियानमेन स्क्वायरको यसपटकको भीड पनि सानो थिएन । यी दुवै भीड दुई विपरीत प्रकृतिका थिए । सन् १९८९ मा तियानमेन स्क्वायरको दमनले चिनियाँ साम्यवादको त्रूmर अनुहार देखायो । सन् १९८९ को रूस र चीनले दुईथरीको अनुहार देखाए । रूस एकाएक दुर्बल र दिशाविहीन देखियो । चीन तानाशाही, निरंकुश, अमानवीय र क्रुर देखियो ।
साम्यवादको जलप र चमक धमिलो भएर गयो । त्यो अहिले पनि विद्यमान छ । अधिकांश वामपन्थी भग्न मनोरथ भएका छन् । अन्नपूर्ण पोस्ट दैनिक भदौ ३१ शनिबारको अंकको फुर्सदमा छापिएको लेखका लेखक त्यसैका प्रतिव्म्बि हुन् ।
कार्ल मार्क्स मार्च १८१८ मा जन्मिए । फ्रान्सेली राज्यक्रान्तिको प्रभावमा उनको व्यक्तित्वको विकास भयो । उन्नाईसौं शताब्दी समाजशास्त्रमा विचार प्रणाली बनाउने युग थियो । कान्ट र हेगलले समग्र दार्शनिक प्रणाली बनाएका थिए । उनीहरूको कृतित्वबाट मार्क्स प्रभावित थिए । पछि उनी डार्बिनबाट प्रभावित भए । मार्क्सको दाहसंस्कारको बेलामा फ्रेडरिक एंगेल्सले भनेका थिए, ‘डार्बिनले मनुष्यको प्राकृतिक जीवनको विकासको नियम पत्ता लगाए, मार्क्सले मानव समाजको इतिहासको विकासको नियम पत्ता लगाए ।’ तर फेरि एंगेल्सले थपेका थिए, ‘मार्क्स अन्ततः क्रान्तिकारी थिए ।’
सबैथोक बिर्सिए पनि मार्क्सको क्रान्तिकारिता बिर्सनु हुँदैन ।फ्रेडेरिक एंगेल्सले मार्क्सवादलाई निक्खर वैज्ञानिक रूप दिन खोजे । समाज विज्ञानलाई त्यस्तो रूप दिन सकिँदैन । भौतिक विज्ञान, वनस्पति विज्ञान वा अर्थशास्त्रसमेत पनि केही निश्चित नियमका आधारमा अघि बढ्छन् । समाज विकासको नियमलाई त्यसरी सूत्रबद्ध गर्न सकिँदैन । त्यसो गर्न खोज्दा मार्क्सवाद झन् पेचिलो भएर गएको छ।

मार्क्सवादमा अर्को कमजोरी पनि देखिन्छ । फ्रान्सेली क्रान्तिको पताकामा एकसाथ तीनवटा नारा लेखिएको थियो । स्वतन्त्रता, समानता र भ्रातृत्व ती नारा थिए । समाजवादी क्रान्तिले यी तीनवटै नारा शंखघोष गर्‍यो । बुलन्दीमा पुर्‍यायो । मार्क्स तीनैवटा आदर्शप्रति संयुक्त रूपमा प्रतिबद्ध थिए । तीनैवटा आदर्श सँगसँगै जान सक्ने रहेनछन्, तिनमा अन्तरविरोध रहेछ । यो कुरो मार्क्सोत्तर समाजमा आएर प्रस्टिँदै गएको छ ।


इतिहासकार अर्नोल्ड ट्वायन्बीले मार्क्स र साम्यवादको तुलना विश्वका महान् धार्मिक आन्दोलनसँग गरेका छन् । मार्क्समा यहुदी द्रष्टा वा प्रफेटको जस्तो आवेग थियो । मार्क्स जन्मँदा यहुदी नै थिए । उनमा यहुदी धर्मका आदिपुरुष मौजे अथवा इसियाजस्तो धर्मबोध थियो । मार्क्सले भावप्रवण शैलीमा भने, ‘दुनियाँका मजदुर हो, एक बन ।’ मौजे वा मोहमद भन्थे- तिमीहरूको लडाइँलाई ईश्वरले मद्दत गर्छ । मार्क्सले ईश्वरको मद्दतको अपेक्षा राखेनन् । उनले ईश्वरको ठाउँमा इतिहास राखे । उनले भने- मजदुर हो अगाडि बढ । तिमीहरूलाई इतिहासको प्रवाहले मद्दत गर्छ । ट्वायन्बीले नै ठीक दर्शाएका छन्- मार्क्स र धार्मिक द्रष्टामा कतिपय समानता छ । यति हो- मार्क्सले ईश्वरका ठाउँमा इतिहासलाई प्रतिस्थापित गरे ।
ईश्वर एक वायवीय अवधारणा हो । ईश्वरले मद्दत गर्छ भनेर आफ्ना अनुयायीलाई भन्दा त्यसको जुनसुकै व्याख्या हुन सक्छन् । स्वयं मोहम्मदको जीवनमा यो कुरो देखिन्छ । आफ्ना खेदो गर्ने असहिष्णु विरोधीसितको पहिलो युद्धमा मोहम्मद खुब रमाएका थिए । मोहम्मदको सैन्य संख्या सानो थियो । अनेकन गुना शक्तिलाई मोहम्मदले हराए । बदरको युद्धमा मोहम्मदको विजय भयो । मोहम्मदले त्यसलाई दैवीय सहायताको रूपमा व्याख्या गरे । लगत्तै पछि उहिदको युद्धमा मोहम्मद हारे । उनी आपैंm नराम्ररी घाइते भए । हारेपछि मोहम्मद निराश हुनुपर्ने हो । ईश्वरले साथ दिएन भन्नुपर्ने हो । उनका साथी, सहयोगीले त्यसै भने । तर मोहम्मदले यस हारको मौलिक व्याख्या गरे । उनले ढुक्कसँग भने- यो त हाम्रो आस्थाको परीक्षा हो ।
हारेका बेलामा यिनीहरू मेराउपर भक्ति राख्छन् कि छोड्नेछन् भनेर जाँच लिएको हो । मोहम्मदका अनुयायी सम्हालिए । पछि भने मोहम्मदले एकपछि अर्को लडाइँ जित्दै गए । मोहम्मद र उनका अनुयायीको ईश्वरभक्ति अक्षुण्ण रह्यो । आज पनि मध्यपूर्वमा ईश्वरका नाममा कट्टर इस्लाम लड्दै छ । अहिले पनि उनीहरूलाई ईश्वरको शक्तिमाथि विश्वास छ । ईश्वरले मद्दत दिन्छ भन्ने विश्वास छ । विन लादेनले कुरानका कतिपय पंक्तिको समकालीन व्याख्या गरेर आफ्ना अनुयायीलाई प्राणोत्सर्ग गर्न प्रेरित गरेका थिए । दुर्भाग्यवश इतिहासमा ईश्वरको त्यो रहस्यमय शक्ति छैन । त्यो रहस्यमय शक्ति नहुँदा कम्युनिस्टहरू चाँडै निराश भएका छन् । चैतन्य मि श्र र राम कार्की त्यसका एक उदाहरण मात्र हुन् ।
इस्लामको इतिहासको हिसाबले भन्न सकिन्छ- कम्युनिस्टहरूले बद्रको लडाइँ त सजिलै जिते । अहिले उहिदको लडाइँका पराजयमा भने उनीहरू विलखबन्दमा परेका छन् । इतिहासमा रहस्यमय शक्ति छ भनेर दावा गर्न सकिँदैन, तर इतिहाससँग व्याख्याको तरिका छ । इतिहासलाई बुझ्ने बाटो छ । मार्क्सले नै खुद त्यो बाटो देखाएका हुन् ।
मार्क्सले भनेका थिए- विश्वमा पुँजीवादको नाश अवश्यम्भावी छ । विश्वमा पुँजीवादको नाश यत्ति वर्षभित्र हुन्छ भनेर किटेर उनले कहिल्यै भनेका थिएनन् । उनको राजनीतिक र बौद्धिक जीवन झन्डै पैंतालीस-पचास वर्षको रह्यो । उनले आफ्ना सारा विचार जन्मँदै लिएर आएका थिएनन् । घटनाक्रमका दौरान उनका विचार बन्दै गएका थिए । हिगलको दर्शनसम्बन्धी उनको टिप्पणी सन् १८४३ मा लेखिएको थियो । हिगेलको दर्शनसम्बन्धी उनको टिप्पणीदेखि गोथा क्रिटिकसम्मको रचना हेर्दा त्यहाँ एउटा विकास क्रम देखिन्छ । दास क्यापिटलको दोस्रो र तेस्रो भाग लेख्नेबारेमा उनमा अन्योल थियो ।
उनले लेखेका छन्, ‘विश्व तेजीले परिवर्तन भइराख्या छ । त्यो परिवर्तन क्रमलाई नबुभ्mदासम्म मैले अगाडि कसरी कलम चलाउने ? ’ मार्क्सले आपूmलाई द्रष्टा वा ईश्वरका ठाउँमा कहिल्यै राखेका थिएनन् । दुर्भाग्यवश सन् १९१७ मा भएको रूसी क्रान्तिले उनलाई द्रष्टाको ठाउँमा ठोकुवा स्थापित गरिदियो । त्यसपछि साम्यवादका सैद्धान्तिक समस्या सुरु भए । रूसको भौतिक परिस्थितिअनुसार मार्क्सको शिक्षालाई तोडमोड नगरी भएन । मार्क्सका बेमेल कुरालाई रफ्फु गरेर अगाडि सार्नुपर्ने भयो । सोभियत राज्यको स्थापनापछि राज्या श्रयमा यो काम तीव्र गतिले अगाडि बढ्यो ।
मार्क्सको मृत्युको ६ वर्षपछि फ्रेडरिक एंगेल्सको प्रेरणाले दोस्रो अन्तर्राष्ट्रियको गठन भयो । फ्रान्सेली राज्यक्रान्ति भएको एक सय वर्ष भएको थियो । राज्यक्रान्तिको सम्झनामा त्यस वर्ष दोस्रो अन्तर्राष्ट्रियको गठन भयो । दोस्रो अन्तर्राष्ट्रिय ठीक समयमा चालिएको एक ऐतिहासिक कदम थियो । छिटै जर्मनी, फ्रान्स, बेल्जियम, इटाली, नेदरल्यान्डस्, रूससमेतमा मार्क्सवादको व्यापक प्रचारप्रसार भयो । पुँजीवाद बेलायतमा जन्मिएको थियो ।
मार्क्सले बेलायतमै बसोवास गरेका थिए, तर बेलायतले पुँजीवादलाई ग्रहण गरेन । बेलायत बाहिरका युरोपेली देशमा मार्क्सवाद डढेलोजस्तै सल्कियो । समयअनुकूल थियो । मजदुर वर्ग वर्धमान थिए । उनीहरू आफ्नो हक र अधिकारका लागि अघि बढिरहेका थिए, लडिरहेका थिए । रूसमा भएको बोल्सेभिक क्रान्तिसम्म विश्वका मजदुरमा वर्गीय एकता थियो । तर रूसी राज्यक्रान्तिले सिंगो मजदुर वर्गलाई दुई भागमा विभक्त गरायो । हिंसात्मक क्रान्तिमा विश्वास गर्ने मजदुरपक्षीय पार्टीहरूले आपूmलाई कम्युनिस्ट भन्न थाले । अर्काथरीले वैधानिक एवं संसदीय बाटोलाई समाजवादतर्पm अग्रसर हुने एक मात्र राजपथको रूपमा लियो । यो अर्को धार पुरानै नाम यथा सोेसल डेमोक्रेटिक पार्टी वा लेबर पार्टीको नामले चिनियो ।
लेनिनको नेतृत्वमा मार्च १९१९ मा कम्युनिस्ट इन्टरनेसलको स्थापना भयो । त्यस दिनदेखि द्वितीय महायुद्धका दर्भियानसम्म कम्युनिस्ट र सोसल डेमोक््रयाटस्को सम्बन्ध कटुतापूर्ण रह्यो । कम्युनिस्टहरूले सोसल डेमोक््रयाट्सलाई सोसल फासिस्टसम्म भन्थे । जर्मनीमा सशक्त मजदुर आन्दोलन थियो । तर त्यहाँ हिटलर नित्य बलियो हुँदै गएका थिए । स्टालिनको निर्देशनमा जर्मन कम्युनिस्ट पार्टीले हिटलरलाई शत्रु देखेकै थिएन । उल्टो नाजी जर्मनी र कम्युनिस्ट रूसबीच अनाक्रमण सन्धि भएको थियो ।
सन् १९४३ मा आएर हिटलरले हठात सोभियत रूसउपर आक्रमण गरे । त्यसपछि मात्र स्टालिन प्रजातान्त्रिक विश्वसँग नजिकिए । स्टालिनको निर्देशनमा कम्युनिस्ट इन्टरनेसनलको विघटन भयो । विश्वका कम्युनिस्टहरू रूसलाई पितृदेश भन्थे । कम्युनिस्टहरूले द्वितीय महायुद्धलाई अब पितृभूमिको रक्षाको लडाइँको रूपमा लिए । अमेरिका, बोलायत र सोभियत रूस एउटै धुरीमा एकत्र भए । संयुक्त मोर्चाजस्तो भयो । युद्ध जितियो । युरोपको विजित भागको अंशबन्डा भयो ।
स्टालिनले रूसका निमित्त सन्तोषजनक हिस्सेदारी पाए । तर युद्ध समाप्तिका साथ अमेरिका र सोभियत युनियनको बीचमा फोहोर प्रतिस्पर्धा प्रारम्भ भयो । द्वितीय महायुद्धको समाप्तिदेखि सोभियत युनियनको विघटनसम्मका ती ४० वर्ष शीतयुद्धका नामले जानिन्छन् । शीतयुद्धको अन्तरालमा मार्क्सवादको पक्ष र विपक्षमा साहित्य लेख्ने÷लेखाउने ठूलो उद्योग चल्यो । अन्योल झन् गहिरिँदै गयो । सन् १९९० पछि भूमण्डलीकरणको आँधी चल्यो । यस आँधीले वामपन्थीलाई अभैm किंकर्तव्यविमूढ बनाएको छ ।

द्वितीय अन्तर्राष्ट्रियको स्थापना भएको वर्ष अर्थात् सन् १८८९ देखि लिएर सन् १९१४ सम्मको त्यस २५ वर्षको कालावधिलाई मार्क्सवादको स्वर्णयुग भनिन्छ । ती २५ वर्षमा मार्क्सवाद विश्वव्यापी आन्दोलन भयो । त्यस युगमा कार्ल काउत्स्की, प्लेखानोव, रोजा लक्जम्बर्ग, ट्राटस्की, लेनिन, बुखारिन, पेनक्वायकजस्ता उल्लेखनीय चिन्तक देखा परे । एन्टोनियो ग्रम्स्की पनि त्यसै प्रभावमा हुर्किएका हुन् । त्यो शास्त्रीय मार्क्सवादको युग थियो । पछि यो रहेन । कोलकोवस्की भन्छन्- लेनिन र स्टालिनले मार्क्सलाई सूत्रबद्ध गराउन थाले ।
सूत्रबद्ध गराएपछि समस्या सुरु भएको हो । मेरो गोरुको बाह्रै टक्का भनेजस्तै मार्क्सवाद यही हो भनेर कडाकडी परिभाषा गर्न थाले । लेनिन र स्टालिनको लेखन शैलीको र स्वभावको तुलना पनि भएको छ । लेनिन आपूm अध्ययनशील, व्यापक विश्वदृष्टि भएका मेधावी सिद्धान्तकार थिए । रोजा लक्जम्बर्ग र ट्राटस्की पनि त्यस्तै थिए । तर स्टालिन धार्मिक स्कुलमा प्रारम्भिक शिक्षा पाएर अगाडि बढेका कम्युनिस्ट नेता थिए ।
उनी मूलतः संगठनकर्ता तथा प्रशासक थिए । उनमा लेखनमा प्रवीणता थियो । स्टालिनले आफ्ना कुरा सजिलो भाषामा भन्थे । मार्क्सले भन्न खोजेको कुरालाई एंगेल्सले सजिलै बनाएका थिए । एंगेल्सको कुरालाई लेनिनले अझ सजिलो बनाएका थिए । स्टालिनले त अति नै गरे । जर्मनीको प्राञ्जल दार्शनिक परम्परामा हुर्किएको मार्क्सवादको त्यो विदग्ध बौद्धिक परम्परालार्ई स्टालिनले सरल सूत्रमा पस्किए ।
मार्क्सको उपहास यहींबाट सुरु भयो । अहिले विश्वमा विभ्रान्त भएको भनिएको मार्क्सवाद शास्त्रीय मार्क्सवाद होइन । एंगेल्सको मार्क्सवाद पनि होइन । लेनिनलाई पनि यसबाट मुक्त राख्न सकिन्छ । यो स्टालिनको मार्क्सवाद हो । स्टालिनको यो मार्क्सवाद साम्प्रदायिक शैलीमा छ । आज असफल भएको मार्क्सवाद टुटपुँजिया गुरुको धर्म शिक्षासँग तुलनीय छ ।
सोभियत युनियनको उद्भवपछि मार्क्सवादको जडता प्रारम्भ भयो । मार्क्सवाद जब जडिभूत हुँदै गयो, जब लेनिनको व्याख्या एक मात्र व्याख्या हो भन्न थालियो, जब लेनिनका विरोधीहरूलाई, लेनिनसँग मतभेद राख्ने मान्छे कम्युनिस्ट नै होइनन् भन्न थालियो, त्यसपछि मााक्र्सवादमा मनपरीतन्त्र सुरु भयो । आज कतिपय नेताविशेषले मधेसका जनतालाई नेपाली नै होइनन् भन्न खोज्दैछन् । कम्युनिस्ट विश्वमा त्यस्तै भयो ।
स्टालिनले आफ्ना सबै विरोधीलाई गद्दार र गुप्तचर भन्न थाले । पछि यो रोग चीनमा सर्‍यो । सुरुआत त लेनिनले नै गरेका थिए । उनले काउत्कीलाई गद्दार भनेका थिए । नेपालमा मोहनविक्रमले पुष्पलाललाई गद्दार भनेर किताब नै लेखे । यसरी मार्क्सवाद मनचिन्ते झोला भयो । त्यस झोलाबाट जसले जहाँ जे निकाले पनि भयो ।
मार्क्स र एंगेल्सको मार्क्सवाद सर्वग्राही, सबैलाई समेट्ने समन्वयकर्ता चिन्तन थियो । गीतालाई वेदवेदान्तको नौनीका रूपमा प्रचार गरिन्छ । मार्क्सले परवर्ती र समकालीन विद्या वाङमयका यावत् धारा दुहेका थिए । मार्क्सले हेगेलको द्वन्द्ववादलाई सहर्ष स्वीकार गरेका थिए । फयरबाखको भौतिकवाद उनको प्रस्थान विन्दु थियो ।
डेबिड रिकार्डोको अर्थशस्त्र पैंचो नलिएको भए मार्क्सवाद बन्ने थिएन । फ्रान्सका क्रान्तिका घटनाक्रम र मुठभेड उनको राजनीतिक पाठशाला थिए । सोभियत युनियनको आविर्भावपछि मार्क्सवादको यो ओजस्वी परम्परा ओझेल भयो, तर समस्या यतिमात्र थिएन । समस्या अरू पनि थिए । त्यस समस्याले चीनको सांस्कृतिक क्रान्तिको पृष्ठभूमिसमेत तयार गरेको हो ।
माओत्से तुङ साँच्चै अवतारी नेता थिए । उनको महिमा निराधार होइन । चीनका त्यत्रा प्रतापि नेता भएर पनि उनलाई विदेश भ्रमणले कहिल्यै लोभ्याएन । हाम्रा प्रधानमन्त्री शपथ ग्रहण गर्नासाथ अमरावती जान कसिन्छन् । माओ एकपटक विदेश रूस गएका थिए । रूस मार्क्सका सिद्धान्तको प्रयोगभूमि थियो । रूस लेनिनको देश थियो । माओत्से तुङ रूसका आम जनताको अवस्था देखेर दुःखी र हतप्रभ भएका थिए । चिन्तित भएर आएका थिए । उनले आपैंmलाई प्रश्न गरेका थिए । के कम्युनिस्टहरूले बनाउन खोजेको समाज यस्तै हो त ? रूसमा मजदुर छन् । तर ती मजदुर पिस्सिएर बसेका छन् ।
थिचिएर बसेका छन् । तिनको वाणी फुटेको छैन । रूसका यी मजदुरले त पुँजीवादी समाजमा भन्दा पनि बढी दुःख पो पाएका रहेछन् त भन्ने उनलाई लाग्यो । उनले आफ्नो देशमा आएर सोभियत अर्थशास्त्रको आलोचना भन्ने एउटा पुस्तक पनि लेखे । त्यस ग्रन्थमा उनले लेखे- यसरी त समाजवादको निर्माण हुँदैन ।
समाजवाद त अर्कै खालको मानिस र समाज बनाउने विचारधारा हो । समाजवादले मेसिनलाई महत्व दिने होइन, समाजवादले त मनुष्यलाई महत्व दिने हो । समाजवादले उत्पादकताका मात्रका निमित्त होडबाजी गर्ने होइन । समानताको लक्ष्यपन ओझेल हुन नदिने हो । तिनताक नै क्युबाका चे गोभेराले समाजवादमा मनुष्यको स्थान के हो भन्ने पुस्तक लेखेका थिए । दुवै पुस्तकको भावना उस्तै थियो ।
माओले चलखेल गर्न थालेपछि विश्व कम्युनिस्ट आन्दोलन दुई भागमा विभक्त भयो । ठूलो विवाद भयो । ठूलो भनाभन चल्यो । साम्यवादमा पुग्ने सही बाटो कुन हो भन्न्ने बहस अन्तर्राष्ट्रिय स्तरमा चल्यो । लेनिनका पालामा द्वितीय अन्तर्राष्ट्रिय विभक्त भएको थियो । माओत्से तुङले कम्युनिस्ट आन्दोलन विभाजन गराए । चीनको महान् सांस्कृतिक क्रान्ति यस विभाजनको विस्तार मात्र थियो ।
माओत्से तुङले भन्न थाले- हामीले बेग्लै खालको साम्यवाद बनाउने हो । त्यो साम्यवादले मनुष्यलाई केन्द्रमा राख्छ । मनुष्यले जे पनि गर्न सक्छ । यो भन्दै जाँदा उनले एउटा प्रयोग गरे । हामीले घरघरमा इस्पात बनाउनुपर्छ भन्ने थाले ।
त्यो प्रयोग ग्रेट लिप फोरवार्ड भन्ने नामले महसुर छ । महान् छलाङ मार्ने अभियान गरे भनौं । त्यो छलाङ काम लागेन । छलाङ काम नलाग्ने भएपछि माओत्से तुङ पार्टीभित्र कमजोर भए । उनका विरोधीले माओलाई र्‍याखर्‍याख पारे । तर माओ त माओ नै थिए । उनी आत्तिएनन् । साथीहरूलाई मेरो कुरा मन परेको छैन भने म एकपटक फेरि बन्दुक बोकेर जंगल जान तयार छु । जे गर्नु छ गर्नुस् । यस धम्कीले माओका विरोधी धेरै डराए । यस अन्तरदलीय संघर्षमा अन्ततः माओत्से तुङ विजयी भए । लगत्तै सांस्कृतिक क्रान्ति थालियो ।
यी समस्याको जड कहाँ थियो ? सोभियत रूस के गर्न खोज्दै थियो ? माओलाई किन चित्त बुझेको थिएन त ? यो बुझ्न आवश्यक छ । द्वितीय महायुद्धका अभिक्रममा सोभियत युनियनले अप्रत्यासित गौरव प्राप्त गरेको थियो । झन्डै आधा युरोप कब्जामा लिएको थियो, किन ? रूससँग लालसेनाको विशाल संख्या थियो । जर्मनीलाई हराउन रूससँग सिपाहीको कमी थिएन । अमेरिकासँग पैसा र बन्दुक थियो, तर सस्ता मान्छे थिएनन् । मान्छे रूससँग सस्तै थिए । रूसका लालसेनाले जर्मनीका सेनालाई त्यसरी नै परास्त गर्‍यो, जसरी कुनै समय नेपोलियनलाई गरेको थियो ।
त्यतिबेला, सोभियत युनियनसँग आधुनिक हवाई शक्ति थिएन । आणविक अस्त्र थिएन । यी दुवैमा अमेरिका धेरै अगाडि थियो । द्वितीय महायुद्धपछि त्यस क्रममा सोभियत युनियनले चाहिनचाहिने प्रतिस्पर्धा गर्नुपर्ने अवस्था सिर्जना भएको थियो । त्यस्तो प्रतिस्पर्धाले रूसलाई अतिरिक्त पुँजी सञ्चय गर्न झन्झन् बाध्य गराएको थियो । सोभियत राज्य आम जनतामा भन्दा बढी सस्त्रास्त्रमा लगानी गर्नपट्टि लागेको थियो । जनताको जीवनस्तर उकासिन सकेको थिएन । माओले यो देखे । बेग्लै किसिमको समाज बनाउँछु भन्ने सोचे ।
रूसको बाटो गलत थियो भनेर नयाँ निष्कर्ष निकाली माओले चीनको महान् छलाङ÷ग्रेट लिप फरवार्ड चलाएका थिए । त्यो असफल भयो । तर ग्रेट लिप फरवार्डको असफलताले माओ आत्तिएनन् । उनले एउटा अलग निष्कर्ष निकाले । उनले भने गे्रट लिप फरवार्ड सिद्धान्त खराब होइन । उनले सोचे- यो मलाई शीर्षस्थ साथीहरू लु साओ ची, देङ सियाओ पङले धोका दिएका हुन् । भित्रभित्र उनले समानान्तर संगठन गर्न थाले । र त्यही समानान्तर संगठनको प्रकटीकरण सन् १९६६ मा महान् सांस्कृतिक क्रान्तिका रूपमा भयो ।
ग्रेट प्लोलिरेटियन कल्चरल रिभ्योलुसन । मार्क्सवादको इतिहासमा उनको बमबार्ड द हेडक्वार्टर्स् भन्ने आह्वान ऐतिहासिक घटना हो । उनले भने- अवज्ञा परमो धर्म । क्रान्ति मनुष्य मात्रको जन्मसिद्ध अधिकार हो । कुनै नियम नमान । कुनै प्राधिकार नमान । सडकमा उत्र । टाउकेहरूको टाउको फोड भनेर नारा लाग्यो । माओवादका धेरै कमजोरी छन् । कहाँ लेनिनको अध्ययन र कार्ल मार्क्सको दास क्यापिटलको उडान ! तर मार्क्स र लेनिन दुवै मूलतः क्रान्तिकारी थिए । माओको व्यक्तित्वकोे क्रान्तिकारी चरमोत्कर्ष उनको त्यो सोह्रबुँदे आह्वानमा छ । त्यसमा उनी भन्छन्- बमबार्ड द हेडक्वार्टस्।
माओत्से तुङको यसै आह्वानबाट प्रेरित भएर नेपाल कम्युनिस्ट पार्टी माओवादीको जन्म भएको हो, तर जन्म मात्र भयो । न्वारनसम्म माओको सिद्धान्तबाट भयो । नेकपा माओवादीले प्रारम्भमा त्यही सिद्धान्तको आधारमा देङको विरोध गरे । अन्ततः प्रचण्ड र बाबुराम दुवै विश्व पुँजीवादको पोल्टामा खसेका छन् । उनीहरू अहिले कांग्रेस र एमालेसँग कोचाहिँ पुँजीवादपट्टि ज्यादा जाने भनेर प्रतिस्पर्धा गर्दैछन् । हुँदाहुँदा नामुद बुद्धिजीवी पनि अब मार्क्सवादको भविष्य छैन भन्न थालेका छन् ।
मार्क्सवादले जुन सैद्धान्तिक संरचना खडा गरेको छ, त्यसमा त्रुटि नभएको होइन । तर त्यो त्रुटि समयसापेक्ष हो । न्युटनको नियम परिवर्तित हुन्छ, तर त्यो महत्वहीन हुँदैन । त्यसलाई आइन्स्टाइनले चुनौती गर्छन्, तर त्यो पनि अन्तिम हुँदैन । त्यसैले मार्क्सको जुन सैद्धान्तिक पक्ष हो, त्यसमा थुप्रा चिर्का परेका छन् । त्यो चिर्का रचनाको विशेषता होइन । त्यो चिर्का देश, काल र परिस्थितिको अनुभव हो । मार्क्सवादकै पद्धतिबाट त्यसलाई बुझ्न सकिन्छ । मार्क्सका रचनालाई वेद, कुरान र पुराणसँग तुलना गर्ने मान्छे गल्ती थिए । घटनाक्रममा तिनको परिष्कार आवश्यक थियो । त्यसैले प्रश्न मार्क्सले के भने भन्ने छैन । प्रश्न मार्क्सले कुन समयमा किन र के भने भन्ने हो।
असली कुरा हो, मार्क्सको चिन्तन प्रणाली । उनले कुनै विषयको तहमा कसरी पुग्थे, त्यो तरिका ठीक थियो कि थिएन ? तथ्यबाट सत्य खोज्नुपर्छ भन्ने मार्क्सको सिद्धान्त विल्कुलै सही थियो । समाज विकासका केही नियम हुन्छन् भन्ने पनि आफ्नो ठाउँमा ठीक थियो । दुनियाँको अर्थ बुझ्नको लागि ईश्वर होइन, यही दुनियाँमा खोज भन्ने भौतिकवाद पनि ठीक थियो । उनको त्यागमय जीवन एउटा उदाहरण थियो । तर अब ‘त्यहाँ सबैथोक छ, त्यहाँ के छैन ? ’ भनेर महाभारतमा दुनियाँमा भएको सबै कुरा छ भनेजस्तै मार्क्सवादमा पनि दुनियाँमा भएको सबै कुरा छ भन्नु हास्यास्पद हुन्छ ।
अमेरिकामै रहेको, अमेरिकामै संस्थापित भएको रिम भन्ने संगठनले नेपालमा माओवादीको बीउ छर्‍यो भनिन्छ । तर कसैले कुनै बीउ छर्दैमा बाली हुर्कंदैन । माटो मलिलो हुनुपर्छ । हावापानीले साथ दिनुपर्छ । रिमका दुईतीनवटा पुस्तकका कारण नेपालमा माओवादी विद्रोह चम्कियो भन्नु नेपाली इतिहास र समाजलाई नचिन्नु हो । बब एबाकिन भन्ने जस्ता एकाध व्यक्तिले माओत्से तुङका अमर सिद्धान्तहरूका बारेमा किताब लेखे भन्दैमा क्रान्ति हुँदैन । त्यस्ता पुस्तकले नेकपा माओवादीको विद्रोहको सैद्धान्तिक आधार तयार गर्‍यो होला ।
त्यो आधार फितलो थियो । सत्तामा पुगेपछि प्रचण्ड, बाबुरामहरू यसमा टिकिरहन सकेनन् । भूमण्डलीकरणको आँधीमा उनीहरू उडे । नेपालको ठोस परिस्थितिमा सामान्य गाँस, वास र कपासका निमित्त के गर्दा ठीक हुन्छ भन्ने मौलिक सोच उनीहरूले देखाउन सकेनन् । माओत्से तुङले अनुभूतिको स्तरमा रूसको भन्दा बेग्लै किसिमको समाजवाद बनाउने सोचेका हुन् । तर माओ आफैं ठाउँ र ठेगानमा पुग्न सकेनन् ।
सांस्कृतिक क्रान्ति एक ठूलो दुखान्तिका मात्र भयो । प्रचण्ड र बाबुराम एक कदम अगाडि बढे । उनीहरू प्रहसन मात्र भए । मार्क्सले नेपोलियन प्रथमलाई दुखान्तिका र तृतीयलाई यसरी नै प्रहसन भनेका थिए । मार्क्सको शब्द यहाँ पैंचो लिइएको मात्र हो ।तर यतिमै निराश हुने होइन, इतिहासको अन्त्य आएको छैन । आउँदैन पनि । प्रचण्ड वा बाबुरामका साथ नेपाल कम्युनिस्ट आन्दोलन डुब्यो भन्ने पनि छैन । उनीहरूको उपलब्धि पनि सानो छैन । उनीहरूले आफ्नो अवदानलाई आपैंm अवमूल्यन गरेका छन् । होइन भने विश्वका सबै महान् जनसंघर्ष यसरी नै अगाडि बढ्छ ।
बुद्धका कतिपय सूत्रहरू पकडेर बुद्ध गलत थिए भन्न सकिन्छ । उनका यावत् शिक्षालाई यथावत् लिन सकिँदैन । तर बुद्धपछि पनि उनका मूल सूत्र पकडेर बौद्ध दर्शनको परिस्कार र विकास भएको छ । मार्क्सका साथ पनि यस्तो हुँदैछ । रूस, चीन र नेपालकोे घटनाक्रम मात्र साम्यवाद वा मार्क्सवाद होइन । सिंगोे एक्काईसौं शताब्दीमा पनि, आज पनि मार्क्स र माओबाट प्रेरणा लिने विचारक र कार्यकर्ताहरू मनग्य छन् । त्यसको तुलनामा पुँजीवादको उपलब्धि न्यून छ । तैपनि आज विश्वमा पुँजीवाद सत्तामा छ । सत्तामा भएपछि यस्तै रमझम र रापताप हुन्छ ।
विश्वमा जबसम्म अन्याय र अत्याचार रहन्छ, तबसम्म मार्क्सवाद र समाजवाद रहन्छ । मार्क्स रहन्छन् । लेनिन, रोजा र ग्राम्स्कीको प्रासंगिकता रहनेछ । गान्धी, अम्बेडकर, जयप्रकाश र लोहिया पनि रहनेछन् । असमर्थता र अज्ञान रहँदासम्म अन्धविश्वस पनि रहनेछ । निरूपाय व्यक्तिले हाम्रो यो खराब स्थितिलाई ईश्वरले दूर गर्छन् भनी पुकारा र प्रार्थना गरिरहन्छन् । जोश र आवेग भएका व्यक्तिले हाम्रो यो स्थितिलाई क्रान्तिले समाप्त गर्छ भन्छन् । मार्क्सकै नाम लिनुपर्छ भन्ने छैन ।
मार्क्सको समाजवादको एउटा टड्कारो सीमा थियो । उनको समाजवाद औद्योगीकरणबाट प्रेरित थियो । विपुुलताको जगमा आधारित थियो । सम्पन्नताको अनिवार्यतामा विश्वस्त थियो । विश्वको सम्पदा युरोपमा थुप्रिँदै थियो । मार्क्सले त्यसै उत्कर्षशील पुँजीवादको पृष्ठभूमिमा आफ्नो समाजवादको कल्पना गरे । तर बेलायत वा अमेरिकाको पुँजीवादको पुनरावृत्ति तेस्रो विश्वमा सम्भव छँदै छैन । चीन वा भारतमा त छँदै छैन । चीन र भारतले अहिले खुबै विकास गरे भन्छन् । तर ती दुवै देशमा गरिबीका खाल्डा पनि गहिरिँदैछन् । बेलगाम उपभोक्तावादले सामाजिक विकृति जन्माउँदैछ।
सोभियत क्रान्तिको भोलिपल्ट रूसमा पनि के के न होला भन्ने थियो । हिजाको रूस र आजको चीन दुवै नै युरोप र अमेरिकाको जीवनस्तरसँग प्रतिस्पर्धा गर्दैछन् । प्रत्येक चिनियाँ र भारतीय अमेरिकी जीवनस्तरमा पुग्न चाहन्छ । यो सम्भव नै छैन । दुनियाँलाई अमेरिकी जीवनस्तरमा पुर्‍याउन प्राकृतिक एवं भौतिक साधन धरतीमातासँग छैन । दुनियाँमा प्रत्येक मनुवालाई निजी विलासी गाडी चाहिएको छ ।
पृथ्वीमा भने त्यस्ता असंख्य गाडीमा पुर्‍याउन सकिने पेट्रोल छैन । पेट्रोल त परै जाओस् गाडी रंगरोगन गर्न चाहिने खनिज पदार्थ पनि छैन । उपभोगको पागलपनले पर्यावरणीय संकट निम्त्याउँदैछ । मार्क्सको विचार पद्धति आधारभूत रूपमा ठीक छ । तर विपुलताको पूर्वाधारमा अगाडि बढ्न चाहने मार्क्सको समाजवाद एसिया र अफ्रिकामा यान्त्रिक रूपमा प्रयोग गर्न सकिँदैन । गर्न खोज्दा अनर्थ हुन्छ । रूसमा त्यही भएको हो । चीन र भारतको झन् बिजोक हुनेवाला छ ।
मार्क्सवादमा अर्को कमजोरी पनि देखिन्छ । फ्रान्सेली क्रान्तिको पताकामा एकसाथ तीनवटा नारा लेखिएको थियो । स्वतन्त्रता, समानता र भ्रातृत्व ती नारा थिए । समाजवादी क्रान्तिले यी तीनवटै नारा शंखघोष गर्‍यो । बुलन्दीमा पुर्‍यायो । मार्क्स तीनैवटा आदर्शप्रति संयुक्त रूपमा प्रतिबद्ध थिए । तीनैवटा आदर्श सँगसँगै जान सक्ने रहेनछन्, तिनमा अन्तरविरोध रहेछ । यो कुरो मार्क्सोत्तर समाजमा आएर प्रस्टिँदै गएको छ । मार्क्सले यो कुरो देखेनन् । सम्पन्नता खोज्दा समानतासँग सम्झौता गर्नुपर्ने रहेछ । समानता रोज्दा स्वतन्त्रतालाई अप्ठेरो पर्ने रहेछ । भ्रातृत्व त अझ कठिन अवधारणा हो । मार्क्सवादले यी अवधारणाको अन्तरविरोधमा बेलैमा ध्यान पुर्‍याउन सकेन । यी सबै कुरामा ध्यान पुर्‍याउनु आजका बुद्धिजीवीको दायित्व हो । यो आजको पुस्ताको कार्यभार हो ।

http://annapurnapost.com बाट साभार 

No comments:

Post a Comment