Wednesday, July 27, 2016

नयाँ जनवादी क्रान्तिको नेपाली विशिष्टता - - प्रेम सुवेदी

“कम्युनिस्ट पार्टीको नेतृत्वमा एउटा नौलो खालको पुँजीवादी जनवादी क्रान्ति साङ्गोपाङ्गो रुपले पुरा नगरी औपनिवेशिक, अर्ध–औपनिवेशिक र अर्ध सामन्ती व्यवस्थाको अवशेषमाथि समाजवादी समाज निर्माण गर्न खोज्नु फोस्रो कल्पना मात्र हुनेछ ।” – माओत्सेतुङ्ग
    उपरोक्त भनाईले कुनै पनि देशको क्रान्तिको कुरासँग त्यहाँको वस्तुगत अवस्था मुख्यतः अर्थराजनीतिको जगमा नै त्यस सम्बन्धी नीति निर्माण गर्न सकिन्छ र गर्नुपर्ने कुरालाई स्पष्ट गर्दछ । जहाँसम्म क्रान्तिको कुरा छ, त्यो व्यक्तिको इच्छा वा चाहानामा  होेइन, देशको समग्र उत्पादन प्रणाली, समाज विकासको ऐतिहासिक चरण र त्यसको पार्टी, क्रान्तिसम्बन्धी आम र विशिष्ट नीति त्यसको नेतृत्व गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टी सर्वहारा वर्गको पार्टी, क्रान्ति सम्बन्धी आम र विशिष्ट नीति त्यसको कार्यान्वयन गर्ने उत्पीडित वर्ग तथा समुदायको संगठन तथा संघर्षसम्बन्धी सही दृष्टिकोण अनिवार्य हुन्छ । माओले भने झै कुनै पनि औपनिवेशिक, अर्धऔपनिवेशिक तथा अर्धसामन्ती अर्थव्यवस्था रहेको मुलुकमा अनिवार्य रुपमा नैलो खालको पुँजीवादी क्रान्तिको कार्यभारलाई पुरा गरेर नै समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्नु सही दृष्टिकोण हुन्छ । यदि कसैको चाहना वा इच्छाका आधारमा त्यस्ता देशमा समाजवादी क्रान्तिको कुरा गरिन्छ भने त्यो फोस्रो कल्पना मात्र हुन्छ । तसर्थ, क्रान्ति सम्बन्धी नीति तय गर्दा ठोस परिस्थितिको ठोस विश्लेषणका आधारमा गर्न जरुरी पर्दछ । र, त्यो नै मालेमावादी विश्व दृष्टिकोण हो ।
    नेपालमा यतिवेला उठेका क्रान्तिसम्बन्धी अलग–अलग दृष्टिकोणहरुका वस्तुगत तथा आत्मगत कारणहरु नखोजी त्यस सम्बन्धी विचार व्यक्त गर्नु सही तरिका होइन । नेपालको समग्र अर्थराजनीतिको जुन अवस्था छ, त्यो जगमा नै नेपाली क्रान्तिको नीति र कार्यक्रम तर्जुमा गर्न सके मात्र समाजको रुपान्तरण सम्भव हुन्छ । तसर्थ, अहिले पनि नेपाली समाज अर्ध-नवऔपनिवेशिक तथा अर्धसामन्ती अवस्थामा रहेकोले यहाँको क्रान्तिको मुख्य कार्यभार जनवादी क्रान्ति नै हुने कुरा स्पष्ट छ । तर, समाजमा भएका कैयौं राजनैतिक परिवर्तन तथा साम्राज्यवादी वित्तीय पुँजीको एकाधिकार कायम हुँदै जानु, साम्राज्यवादी नवउदारवादी अर्थराजनीतिको प्रभाव जस्ता कुराले क्रान्तिको आधारभूत चरित्र नै बदलियो भन्ने जस्ता कुरा पनि उठ्ने गरेका छन् । यी कुरा उठ्नु नराम्रो होइन, तर समग्रमा नेपालको अर्थराजनीतिमा अहिले पनि सामन्तवादी उत्पादन प्रणाली कायम हुनु र साम्राज्यवाद विशेषतः भारतीय विस्तारवादको एकाधिकार शोषण र दमनबाट नेपाल स्वाधीन बन्न नसकिरहेको पृष्ठभूमिमा पुँजीवादी जनवादी क्रान्ति नै अहिलेको नेपालको विशिष्टता हो ।
    यो विशिष्टतालाई उपेक्षा गरेर आजको क्रान्तिको कार्यभार पुरा हुन सक्दैन । अहिले कतिपय पार्टीहरु विशेष गरेर दक्षिणपन्थी संसोधनवादीहरु र केही बुद्धिजीवीहरुले पुँजीवादी क्रान्तिको कार्यभार पुरा भयो, अब समाजवादको स्थापना गर्नु पर्दछ भन्ने जस्ता तर्कहरु तथा नीतिहरु निश्चित गरेका छन् । यी नीति माओले भनेझैं फोस्रो कल्पना मात्र हुन् । निश्चय नै नेपाली समाज हिजोकै अवस्थामा छैन । तर्सथ, नयाँ जनवादी क्रान्ति चीनमा जसरी सम्पन्न भयो, त्यसरी नै सम्पन्न हुन्छ भन्ने होइन । नेपालको विशेषतामा नयाँ जनवादी क्रान्ति हुन्छ र गर्नुपर्दछ । नेपाली समाज साम्राज्यवाद र सामन्तवादको शोषण, दमन र उत्पीडनबाट सम्पूर्णरुपमा मुक्त भयो भन्ने तर्क सारमा साम्राज्यवाद र सामन्तवादप्रतिको आत्मसमर्पण नै हो । नाङ्गो रुपमा देखिएको तथ्यलाई ‘होइन’ भन्नुको तात्पर्य स्वयंको दलाली गर्नु नै हो । त्यसैले आजको नेपाली समाजको धरातलीय यथार्थताका आधारमा नै हामीले क्रान्तिको कार्यदिशा तय गर्नु पर्दछ । यो नै मालेमावादको सारतत्व हो । जहाँसम्म समाजवादलाई अहिलेको कायदिशा बनाउने कुरा छ, त्यो मनोगतवादी सोचाइ मात्र हो ।
    नयाँ जनवादी क्रान्ति र समाजवादी क्रान्तिको विषय सामान्य पदावलीको कुरा मात्र नभएर यी दुई अलग अलग युगसँग जोडिएका विषय हुन् । तसर्थ, यी विषयमा रहेका अन्तरहरुलाई सामान्य तर्कका आधारमा होइन, समाज विकासका ऐतिहासिक चरणको अध्ययन र त्यहाँ अन्तर्निहित अन्तरविरोधका आधारमा समाधान खोज्नु पर्दछ । सामन्य कुरा के हो भने अर्धसामन्ती तथा अर्ध-नवऔपनिवेशिक अर्थव्यवस्था रहेको देशको आधाभूत अन्तविरोध एकातिर घरेलु प्रतिक्रियावाद तथा साम्राज्यवाद-विस्तारवाद र अर्कोतिर साम्राज्यवाद विस्तारवाद तथा नेपाल राष्ट्र बीचमा छ । यस स्थितिमा कम्युनिस्ट पार्टीको न्यूनतम कार्यक्रम नयाँ जनवाद र अधिकतम कार्यक्रम समाजवाद तथा साम्यवाद हुने कुरा प्रष्ट छ । यस विषयमा चर्चा गर्दै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को एकता अधिवेशनमा पारित राजनैतिक प्रतिवेदनमा भनिएको छ, “नेपाली क्रान्तिको वर्तमान चरणमा दलाल एवम् नोकरशाही पुँजीपति र सामन्त वर्ग प्रमुख दुश्मन रहेका छन् । ती वर्ग सामन्यतः साम्राज्यवाद र विशेषतः भारतीय विस्तारवादद्वारा निर्देशित तथा परिचालित रहिआएका छन् । अहिले दलाल एवं नोकरशाही पुँजीपति तथा सामन्त वर्ग एकातिर र आम जनसमुदाय अर्कोतिर भई प्रधान अन्तरविरोध बनेको छ ।” उपरोक्त भनाईले नेपाली समाजको विशिष्टता र प्रधान अन्तरविरोधको विषयमा एकदम वस्तुनिष्ट निस्कर्ष निकालेको छ । तर्सथ, क्रान्तिको आजको कार्यभार के हो ? भन्ने स्वतः प्रष्ट छ । अतः नयाँ जनवादी क्रान्ति नै अहिलेको नेपाली क्रान्तिको आधारभूत कार्यक्रम हो भन्ने कुरा यी भनाईले स्पष्ट गर्दछ ।
    देशमा पुँजीवादी क्रान्ति सम्पन्न भयो, अब समाजवादी क्रान्तिलाई मुख्य कार्यदिशा बनाउनु पर्दछ भन्ने पार्टी तथा व्यक्तिहरुले अगाडि सारेका केही तर्कहरु यस्ता रहेका छनः सामन्तवादको नेतृत्व गरेको राजतन्त्रको अन्त्य तथा देशमा लोकतान्त्रिक राजनैतिक प्रणालीको स्थापना हुनुले पुँजीवादी क्रान्तिको चरण पुरा भयो । यही तर्कका आधारमा मात्र पुँजीवादी क्रान्तिको चरणलाई पुरा गर्यो भन्ने कुरा सत्य होईन । देशको राजनीतिमा मात्रात्मक परिवर्तन भएको कुरा सत्य हो । तर मूलभूत रुपमा पुँजीवादी क्रान्ति सम्पन्न भयो भन्ने कुरा सही हुँदैन । जस्तो राजतन्त्रको अन्त्य हुनुको अर्थ सम्पूर्ण रुपमा सामान्तवाद समाप्त भयो भन्ने जुन बुझाई छ, त्यो सही होइन । अहिले पनि सामन्तवादी उत्पादन प्रणाली कायम छ । यो सत्य हो, सामन्तवाद हिजोको अवस्थामा छैन । त्यो कमजोर बनेको छ । राजतन्त्रको अन्त हुँदैमा पुँजीवादी क्रान्ति पुरा हँुदोरहेनछ भन्ने कुरा त चीनको इतिहास हेर्दा पनि थाहा हुन्छ, जस्तो कि १९११ मा त्यहाँ राजतन्त्रको अन्त्य भयो, तर पुँजीवादी जनवादी क्रान्तिका लागि त्यहाँ चलेको संघर्ष धेरै समय पछि नै सम्पन्न भयो । त्यति मात्र होईन आज कतिपय देशहरु जस्तो वेलायत, जापान लगायतका मुलुकमा राजतन्त्र छ तर सामन्तवाद छैन । तर्सथ, विषयलाई हेर्दा कुनै एउटा पक्षको आधारमा निश्कर्ष निकाल्नु सही हुँदैन । समग्र जस्तो अर्थराजनीति, समाज विकासका ऐतिहासिक चरणहरु, वर्गसंघर्षमा अभिव्यक्त भएका अन्तरविरोध आदि यी सार पक्षमा ध्यान दिएर नै सही निश्कर्षमा पुग्न सकिन्छ । त्यो नै मालेमावादी पद्धति हो ।
    लोकतान्त्रिक प्रणाली कै कुरा पनि त्यो सँग जोडिएको अर्थराजनीतिलाई अलग गरेर हेर्न मिल्दैन । नेपालकै इतिहासमा हेर्दा आजभन्दा झण्डै २५ सय वर्ष पहिले बुद्धकालीन समाजमा धेरै लोकतान्त्रिक मान्यता थिए भन्ने पाइन्छ, के त्यही आधारमा समाजवादको आधार निर्माण भएको थियो भन्न सकिन्छ ? अवश्य सकिदैन । उपरी संरचनामा हुने कतिपय परिवर्तनको अर्थ समाजको आधार नै बदलियो भन्ने सही होईन । त्यस प्रकारका मनोगत तथा काल्पनिक कुरालाई माक्सवादीहरुले विश्वास गर्दैनन् र त्यो सही दृष्टिकोण पनि होइन । समाजको धरातलीय अवस्था जे छ, त्यसको आधारमा कार्यदिशा निश्चित हुन्छ र हुनुपर्दछ । तसर्थ, यतिवेला नेपाली समाजको अवस्था भनेको अर्धसामन्ती तथा अर्ध-नवऔपनिवेशिक रहेकोले माओले भने झै नयाँ खालको पुँजीवादी जनवादी क्रान्ति नै हाम्रो विशिष्टता हो भन्ने प्रष्ट छ । जनवादी क्रान्तिको कार्यभारलाई पुरा गरेर नै समाजवाद र साम्यवादको यात्रा अगाडि बढाउन सकिन्छ ।

http://moolbato.com बाट साभार 

No comments:

Post a Comment