नेपालस्थित साम्राज्यवादी तथा विस्तारवादका दलालहरुले २०७२ साल असोज ३ गते एउटा राष्ट्रघाति, जनघाती तथा प्रतिगामी संविधान घोषणा गर्न सफल भएका छन् । २०७२ साल असोज ३ गतेका दिनलाई नेपाली सर्वहारावर्गको शान्ति राजनीतिक अनुदान नेपाल कम्युनिष्ट पार्टी–माओवादीले ‘कालो दिन’ को घोषणा गर्यो ।
तराई तथा मधेश लगायतका यस प्रतिगामी संविधानका विरोधी राजनीतिक शक्तिहरुले पनि त्यस असोज ३ गतेको दिनलाई ‘कालो दिन’ घोषणा गरेर मुखमा कालो पट्टी बाधेर विरोध जनाए । साथै देशभित्र र प्रवासमा रहेका सम्पूर्ण नेपाली जनताले असोज ३ गतेको दिनलाई कालो दिनको रूपमा विरोध जनाए र नेपालका माओवादीहरु क्रान्तिकारी कम्युनिष्टसित संघर्ष र विरोधमा एकवद्धता जाहेर गरे ।
वर्तमान नेपालको विशिष्ट परिस्थितिमा नेपाली नयाँ जनवादी क्रान्तिको नेतृत्व गरिरहेको नेकपा– माओवादीले २०७२ साल असोज ३ गते राजनीतिका इतिहासमा असोज ३ गते कालो दिनमा परिघटित हुन पुगेको र प्रतिक्रान्ति संस्थागत हुन पुगेको निष्कर्ष निकाल्दै नेपाली नयाँ जनवादी क्रान्तिको अपरिहार्य आवश्यकता रहेको घोषणा समेत सार्वजनिक गर्यो ।
नेकपा–माओवादीका अध्यक्ष कमरेड मोहनवैद्य किरण र महासचिव कमरेड रामबहादुर थापा बादलद्वारा हस्ताक्षरित उक्त प्रेस वक्तव्यमा अगाडी भनिएको छ,– “पहिलो संविधानसभाको विघटन, दक्षिणपन्थि नवशोधनवादीसितको विद्रोहपश्चात् नेकपा–माओवादीको गठन र संविधानसभा–२ को वहिष्कार बीचबाट हामी अगाडी बढ्दै आएको सुस्पष्टै छ ।
यस प्रक्रियामा हामीले संविधानसभा–२ बाट जनताको संविधान बन्न नसक्ने स्थिति देख्यौँ र त्यसको विघटन गरि राष्ट्रिय राजनीतिक सभामार्फत् नयाँ राजनीतिका निकासका लागि विशेष जोड दियाँै । परन्तु त्यसको गंम्भीरतामाथी ध्यान दिइएन र क्षेत्राधिकार निश्चित नगरी झार टार्नका लागी सर्वदलीय राजनीति सभा बोलाइयो ।
त्यस सभामा हाम्रो सहभागिता नहुने भएकोले सो सभाको आयोजना हुन सकेन तर पनि हामीले सर्वदलीय राजनीतिक सभाको आयोजनामा यथेष्ट जोड दिँदै आयौँ । अन्ततः आन्दोलनकारी तथा सरोकारवाला राजनीतिक तथा सामाजिक संघसंस्थाहरुलाई पुरै पाखा लगाएर नेका, एमाले, एमाओवादी एवं फोरम (लोकतान्त्रिक) मिली गरिएको सोह्रबुदे सहमति अनुरूप संविधानसभाद्वारा मस्यौदा संविधान तयार पारियो । सो मस्यौदाका विरोधमा २०७२ साल असार २५ गते हाम्रो पार्टी नेकपा–माओवादीले आफ्नो धारणा सार्वजनिक गर्यो ।
त्यसमा सो मस्यौदा संविधानलाई पश्चगामी र दलाल तथा नोकरशाही पूँजीवादी एवं सामन्तवादी राज्यसत्ताकै पक्षपोषक बताई त्यसलाई खारेज गर्न जोड दिइयो । अहिले जारी गरिएको संविधान मूलतः उक्त मस्यौदामै आधारित रहेको छ र त्यो प्रतिगामी भएको सुस्पष्टै छ ।” उक्त प्रेस वक्तृव्यमा अझै अगाडी यो पनि भनिएको छ कि,– “यद्यपी यस संविधानमा उल्लेखित गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता लगायत कतिपय विषय नेपाली जनताका आन्दोलन तथा हकहितसित पनि जोडिएका छन् र तिनलाई आंशिक तथा मात्रात्मक रूपमा सकारात्मक अर्थमा ग्रहण गर्न सकिन्छ । परन्तु समग्र, गुणात्मक तथा सारतत्वमा यस प्रकारको संघीय लोकतान्त्रिक संविधान प्रतिगामी रहेको छ र त्यसैले यो हाम्रो लागी अस्विकार्य छ ।” भनिएको छ । माथी उल्लेखित नेकपा–माओवादीद्वारा प्रेसित प्रेस वक्तृव्यबाट पनि के निष्कर्षमा पुग्न सकिन्छ भने यो संविधान पश्चगामी, जनविरोधी राष्ट्रघाती र घोर प्रतिगामी रहेको छ भन्ने बुझिन्छ । र यो प्रतिगामी संविधान स्वतः नेपाली नयाँ जनवादी क्रान्तिका विरुद्ध ल्याइएको छ भन्ने कुरा सुस्पष्टै छ ।
यहानेर स्पष्ट हुनुपर्ने कुरा के छ भने यो प्रतिगामी संविधान त्यत्तिकै ख्याल ख्यालमै ल्याइ्एको छैन । यसमा दक्षिणपन्थि संशोधनवादीहरु र यथास्थितिवादी तथा प्रतिक्रियावादीहरुको साँठगाँठ र योजनाबद्ध ढंगले ल्याइएको छ । नेपाली राजनीतिमा स्पष्ट रूपमा देखिएको छ कि, नेका, एमाले र एमाओवादी विचको साँठगाँठ, योजना र लामो तयारी गरेर मात्रै यो प्रतिगामी संविधान ल्याएको छ ।
अर्थात् यस प्रकारको परिघटना घट्नुको पछाडी आन्दोलनकारी राजनीतिक शक्तिहरु र आम मुक्तिगामी एवं परिवर्तनकारी जनताले खबरदारी गर्दा गर्र्दै यो प्रतिगामी संविधान ल्याउनु पछाडी महान् नेपाली नयाँ जनवादी क्रान्तिलाई धाराशाही गर्ने उद्देश्यले साम्राज्यवादी तथा विस्तारवादीहरुको निर्देशन र ग्राण्डडिजाइन बमोजिम २०६९ जेठ १४ गते मध्यरातमा एक्कासी संविधानसभा–१ लाई विघटन गरेर योजना कार्यान्वयनलाई अगाडी बढाइएको कुरा पनि सुस्पष्टै छ ।
यस प्रकारको खेल र पूर्वयोजनाका बारेमा २०७२ असोज ३ गते जारी गरिएको नेकपा–माओवादीको प्रेस वक्तृव्यमा पुनः अगाडी भनिएको छ,– “आजको झण्डै बीस वर्ष अघि हाम्रो पार्टी तत्कालिक नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले देशलाई अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्थाबाट मुक्त गरी नयाँ गणतन्त्रात्मक राज्यसत्ताको स्थापना गर्न र समाजवाद तथा साम्यवादको उद्देश्य प्राप्तिको दिशामा अगाडी बढ्नका लागि २०५२ साल फाल्गुन १ गते महान जनयुद्धको ऐतिहासिक पहल गरेको थियो । त्यस महान जनयुद्धले रणनीतिक रक्षा तथा सन्तुलनको प्रक्रिया हुँदै प्रत्याक्रमणको प्रक्रियामा अत्यन्तै भव्य रूपमा अग्रता हासिल गर्दै आएको थियो ।
परन्तु संविधानसभालाई कार्यनीतिक रूपमा लिइएको भएतापनि शान्ति प्रक्रियामा आएता पनि पुरानो राज्यसत्ताको प्रतिनिधित्व गर्ने राजनितिक रूपमा अपवित्र गठबन्धन कायम गरियो । फलतः महान जनयुद्धको प्रक्रियाबाट विकसित नयाँ जनवादी क्रान्तिले गंभीर धक्का खान पुग्यो र संविधानसभा–२ मार्फत् २०७२ असोज ३ गते प्रतिगामी संविधान जारी गरेर प्रतिक्रान्तिको प्रक्रियालाई पूर्णता दिइयो । प्रतिगामी, यथास्थितिवादी र दक्षिणपन्थि, अवसरवादीहरुले यस दिनलाई “ऐतिहासिक उत्सव” का रूपमा लिई खुशीयाली मनाइरहेका छन् । यसको ठिक उल्टो हामीले यस दिनलाई प्रतिक्रान्तिको कालो दिवसको रूपमा लिई विरोध गर्नुपर्छ ।”
अतः माथि उल्लेखित वक्तृत्वको निष्कर्ष अनुसार दक्षिणपन्थि नव संशोधनवादी शक्ति र यथास्थितिवादी तथा प्रतिक्रियावादी शक्तिका बीचमा रणनीतिक रूपमा अपवित्र बन्धन हुन पुगेपछि प्रतिगामी संविधान बन्न पुगेको र यसले नेपाली नयाँ जनवादी क्रान्तिलाई गंभीर प्रकारको खतरा पैदा गर्ने निश्चित भएकोले यहीले पनि दक्षिणपन्थि संशोधनवाद चालु नयाँ जनवादी क्रान्तिको बाटोमा गंभीर प्रकारको खतराको रूपमा खडा हुन पुगेको छ ।
पहिलो अवधिमा २०२८ सालमा विष्फोट भएको झापा सशस्त्र विद्रोहबाट अगाडी बढेको एमाले दक्षिणपन्थि संशोधनवादमा पतन भै यथास्थितिवादी तथा प्रतिक्रियावादी कित्तामा सामेल हुन गई प्रतिक्रियावादी शक्तिलाई बलियो तुल्याउन पुगेको थियो भने पछिल्लो अवधिमा २०५२ साल फाल्गुन १ गतेबाट शुरु भएको महान दशवर्षे जनयुद्धको प्रक्रियाबाट अघि बढेको तत्कालीन नेकपा माओवादीको एउटा हिस्सा एमाओवादीमा परिणत हुँदै दक्षिणपन्थि नवसंशोधनवादमा पतन हुन पुग्यो र अहिले एमाओवादी पहिले एमालेझै यथास्थितवादी र प्रतिक्रियावादीलाई सहयोग गर्ने र वलियो बनाउने काममा रणनीतिक रूपमा खडा हुन पुगेको छ र यथास्थितिवादी एवं प्रतिक्रियावादीहरुलाई यो प्रतिगामी संविधान घोषणा गर्न प्रमुख मतियारको रूपमा खडा हुन पुगेको सुस्पष्टै छ । एमाओवादी अहिले जुन स्थानमा पुग्यो, यो कुनै नौलो परिघटना होइन, एमालेकै उही पुरानो परिघटनाको निरन्तरता मात्रै हो ।
एउटा कालखण्डमा अर्थात् महान दश वर्षे जनयुद्ध मार्फत् महान् नेपाली नयाँ जनवादी क्रान्तिलाई उत्कर्षमा पु¥याउने उद्देश्यका साथ तत्कालिक नेकपा (माओवादी) ले अग्रता प्राप्त गरिरहेको जसरी एमालेले यथास्थितिवादी र प्रतिक्रियावादीहरुसित रणनीतिक रूपमा अपवित्र गठबन्धन कायम गरि नेपाली क्रान्तिलाई बाधा हाल्ने, अपठ्यारो पार्ने काम गरेको, त्यही शैलीमा अहिले संविधानसभा मार्फत् साम्राज्यवाद तथा सामन्तवाद विरोधी सारतत्व बोकेको जनताको संघीय गणतन्त्रात्मक (जनगणतन्त्रात्मक) संविधान बनाउने पार्टीको निर्णय र योजनालाई असफल तुल्याउन एमाओवादीले यथास्थितिवादी तथा प्रतिक्रियावादीहरुसित रणनीतिक रूपमा अपवित्र गठबन्धन गरि यो प्रतिगामी संविधान ल्याउन एमाओवादी ठूलो सहयोगी शक्ति बन्न पुग्यो । यसरी नेपालमा नेपाली क्रान्तिको कालखण्डमा दक्षिणपन्थि संशोधनवाद क्रान्तिको प्रमुख खतरा र बाधकको रूपमा खडा हुँदै आएको छ ।
नेपाल अझै पनि अर्धसामन्ती तथा नवऔपनिवेशिक रहेको र एकातिर अझै पनि सामन्तवादी उत्पीडन कायमै छ भने अर्काेतिर साम्राज्यवाद तथा विस्तारवादद्वारा नवउपनिवेशवादी पहिले भन्दा कयौँ गुणा बढि तीब्रता दिने काम भइरहेको छ र राष्ट्रिय स्वाधिनताको रक्षाको प्रश्न इतिहासमै अत्यन्तै विकराल बन्न भएको छ ।
यहाँनेर स्पष्ट हुनुपर्ने कुरा के छ भने यो प्रतिगामी संविधान निर्णयको प्रक्रियामा जनताका जनवादी हक अधिकारको हनन् मात्र भएन त्यसका साथै देशको राष्ट्रिय अस्मितामाथि झनै गम्भीर खतरा पैदा गरिदिएको छ । यस्तो अवस्थामा राष्ट्रिय स्वाधीनताको रक्षा गर्न जनताको जनतन्त्र र जनजिविकाका आधारभूत समस्याको समाधानको लागि अहिले पनि नेपालमा नयाँ जनवादी क्रान्ति अनिवार्य रूपमा आवश्यक बन्न पुगेको छ ।
महान् नेपाली नयाँ जनवादी क्रान्तिले मात्र नेपाली जनतालाई सबैखाले शोषण र उत्पीडनबाट मुक्त गर्ने र राष्ट्रलाई साम्राज्यवाद र विस्तारवादको उत्पीडनबाट स्वाधीन र सार्वभौम तुल्याउने छ । अत: महान नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि हामी माओवादी क्रान्तिकारी कम्यूनिष्टहरुले सर्वप्रथम प्रमुख खतराको रूपमा दक्षिणपन्थी संशोधनवादलाई परास्त गर्न अनिवार्य छ । नेपाली क्रान्तिको यो द्धन्दवादलाई सम्पूर्ण क्रान्तिकारीहरु र आम मुक्तिकामी जनताले हृदयगंमन गर्न जरुरी छ ।
अब हामी क्रान्तिकारी माओवादीहरुका सामु महान नेपाली नयाँ जनवादी क्रान्तिलाई अगाडी बढाउन र अग्रता हाँसिल गर्नका लागि अरु दुःख कष्ट र परिश्रम गर्नुपर्ने बेला आएको छ । महान जनयुद्धको प्रक्रियाबाट अगाडी बढेकोमा अहिले यथास्थितिवादी एवं प्रतिक्रियावादीहरुले प्रतिगामी संविधान घोषणा गरेपश्चात पुरानो अध्याय समाप्त भएको छ र नयाँ अध्यायको सुरुवात भएको छ । निश्चय पनि यो नयाँ अध्यायलाई अगाडी बढाउनका लागि विगतमा भन्दा पनि ठूलो त्याग, तपस्या र बलिदानको आवश्यकता त पर्ने छ नै ।
यहाँनेर असोज ३ गते नेकपा माओवादीद्धारा जारी गरिएको प्रेस वक्तव्यको एउटा अंशलाई जोड्दा बढी सान्दर्भिक हुन जान्छ । त्यसमा अगाडी भनिएको छ, ‘महान जनयुद्धको पहल यता विकसित हँुदै आएको जनवादी क्रान्तिको एउटा अध्यायले गंभीर धक्का खाएको छ र अन्ततः त्यसको प्रतिक्रान्तिमा अवसान हुन पुगेको छ ।
यस प्रकारको स्थिति पैदा हुनुमा पार्टीमा विद्यमान दक्षिणपन्थी नवसंशोधनवाद प्रमुख रूपमा जिम्मेवार रहेको छ । यसका साथै जनयुद्धको प्रक्रिया र शान्तिकालमा समेत क्रान्तिकारी पक्षका पनि कयौँ कमी कमजोरी तथा सिमा रहन गएका छन् र त्यसबारे पनि अझै गंभीर आत्मसमिक्षा गर्दै क्रान्तिको नयाँ अध्यायमा प्रवेश गर्न जरुरी छ । क्रान्तिको प्रक्रियामा चिन्तन र प्रवृत्तिका क्षेत्र विभिन्न विचलनहरु देखिँदै आएका छन् । परन्तु वर्तमान सन्दर्भमा दक्षिणपन्थी संशोधनवाद नै क्रान्तिका निम्ति प्रमुख खतरा रहेको छ र यस प्रति विशेष सतर्क रहन आवश्यक छ ।’
अतः अन्त्यमा के निष्कर्षमा पुग्न जरुरी छ भने माथि उल्लेखित नेकपा माओवादीको प्रेस वक्तव्यमा उल्लेख गरिएका नेपाली क्रान्तिका लागि दक्षिणपन्थी संशोधनवाद प्रमुख खतरा भएकाले यसलाई वैचारिक सैद्धान्तिक रूपमा परास्त गर्न अनिवार्य आवश्यक छ ।
No comments:
Post a Comment