सहर र गाउँमा एकैपटक धक्का
मध्यम वर्गको परिचालन
देशभक्त, जनजाति र दलितको सहभागिता
साम्राज्यवादबाट संरक्षित दलाल पूँजीवादसँग प्रधान अन्तरविरोध
क्रान्ति र नेपाली क्रान्तिको कुरा गर्दा केही आमसहमति र केही गम्भीर मतान्तरहरू देखा पर्दै गरेका छन्।
जस्तो कि वैज्ञानिक समाजवाद र साम्यवादमा पुग्नेबारे कम्युनिष्टहरू बीच कुनै मतभेद देखिदैँन। परन्तु, विद्यमान प्रतिक्रियावादी, पूँजीवादी, दलाल पूँजीवादी राज्यसत्तालाई कसरी बदल्ने, निषेध गर्ने र यसको स्थानमा जनताको जनवादी वा वैज्ञानिक समाजवादी राज्यसत्ता निर्माण कसरी गर्ने भन्ने विषयमा भने मत भिन्नताहरू छन्।
क्रान्ति कसरी गनुपर्छ? भन्नेमा कम्युनिष्टहरूबीच विवाद छैन। तर, तत्काल कस्तो क्रान्ति गर्ने भन्नेमा विवादहरू छन्। क्रान्तिको नीतिगत पाटोमा खासै भिन्नताहरू पाइँदैन। तर, क्रान्तिलाई तत्काल प्रयोगमा लैजानेबारेका भिन्नताहरू छन्।
त्यसैगरी क्रान्तिका नीतिगत पक्षमा पनि धेरै ठूलो विवाद छैन। परन्तु, क्रान्तिलाई प्रयोगमा लैजाने र प्रतिक्रियावादी, दलाल पूँजीवादी राज्यसत्तालाई भत्काउने पल्टाउने त्यसको स्थानमा जनताको राज्यसत्ता स्थापना गर्ने विषयमा मतभेदहरू छन्। नेपालका कम्युनिष्टहरू बीच यी यस्ता विवाद र मतभेद हुन्, जसको समाधान नगरेर वा त्यसको जवाफ, नीतिगत एवम् प्रयोगात्मक ढंगले नदिएर नेपाली क्रान्ति पूरा हुन सक्दैन।
क्रान्ति गर्ने सामान्य अवधारणाको सन्दर्भमा खासै अन्तर नहुने तर, मूर्त र ठोस प्रकारले क्रान्तिलाई अगाडि बढाउने सन्दर्भमा किन कम्युनिष्टहरू बीचमा असाध्यै अन्तरविरोधहरू देखा पर्ने गर्छन त? हामीले जब क्रान्तिलाई ठोस परिस्थितिको विश्लेषण र संस्लेषण गर्ने प्रक्रिया अगाडि सार्दछौं त्यहाँनेर विषयलाई बुझ्न र सञ्चालन गर्नेमा अन्तर पर्न पुगेको र त्यही बिन्दुबाट पार्टी अमेलतिर पुगेको पाउछौं।
माओले भन्नुभए जस्तै बस्तुगत यथार्थहरूको वस्तुवादी विश्लेषण गर्दै कार्यको मार्ग निर्देशन गर्ने नियमहरू खोज्न सक्यौं भने समस्याको समाधान हुने थियो। यो वैज्ञानिक सच्याइलाई आजका क्रान्तिकारी कम्युनिष्टहरूले पनि गहिरो गरी मनन गर्न जरुरी छ।
हामीले नेपाली क्रान्तिलाई एकीकृत क्रान्तिको कार्यदिशा पूरा गर्ने भनेका छौँ। किन हामीले विद्रोह वा जनयुद्धमध्ये एक भनेनौँ? हाम्रो विचारमा नेपाली विशेषताहरूले गर्दा नेपाली क्रान्तिको कार्यदिशालाई एकीकृत भन्नु वस्तुवादी हुन्छ। किनकी रुस एक पूँजीवादी देश थियो। रुसको राजनीतिक एवम् आर्थिक अन्तरविरोध मालिक वर्ग र तीनको संरक्षक जारशाही र मजदुर वर्गका बीचमा थियो। रुसका शहरहरू नै क्रान्तिका केन्द्र थिए। क्रान्तिको आधारशक्ति मजदुर वर्ग थियो।
चीनमा राजनीतिक एवम् आर्थिक अन्तरविरोध कुनैबेला जापानी साम्राज्यवाद र देशभक्त, किसानका बीचमा र कुनैबेला किसान र सामन्ती राज्यसत्तासँग थियो। चीनमा क्रान्तिको केन्द्र गाउँ थिए। क्रान्तिका आधारशक्ति किसान थिए।
तर, आज नेपालको स्थितिलाई वस्तुवादी प्रकारले विश्लेषण ग¥यौं भने स्पष्ट हुन्छ– यो न रुसको जस्तो विशेषतामा छ न त चीनको जस्तो विशेषतामा नै छ। रुसका जस्ता सहरहरू सर्वहारा वर्गीय आन्दोलनका केन्द्र छैनन्। यहाँका सहरहरू मजदुर वर्गीय नभई मध्यम वर्गीय चरित्रका छन्।
अर्कोतर्फ नेपालको अवस्था ६५ वर्ष पहिलको गाउँ नै गाउँ र किसान किसानले भरिएको चीनको जस्तो नै छ। नेपाल रुस चीनको दुवैको हुबहू स्थितिमा छैन। यसका आफ्नै विशेषताहरू छन्।
जो आजको भूमण्डलीकृत विश्व राजनीति र नेपालमा विकास भइरहेको राजनीतिक र आर्थिक उत्पादनको सम्बन्धले गर्दा पैदा हुन पुगेको छ। ती विशेषता, जसलाई नेपालीका मौलिक विशेषता भनेका छौं, निम्न अनुसार रहेका छन्।
सानो र भुपरिवेष्टित अवस्था
नेपाल सानो देश हुनुको कारणले राज्यको उपस्थिति प्रशासनिक रुपले सबैतिर रहेको र रहनसक्ने खालको रहेको छ। त्यसैगरी क्रान्तिकारी पार्टीको प्रभाव र उपस्थिति सबैतिर रहेको छ। दुई बिशाल उदयीमान महाशक्ति देशहरूका बीचमा छौं। चीनको मूलभूमि निकै टाढा छ। हामीले चाहेर पनि यी दुई मुलुकभन्दा सहज सम्बन्ध राख्ने अवस्थामा छैन। आफ्नो उत्पादनमा निर्भर रहने बस्तुवाहेक सबै माल यिनै देशहरूमा भर पर्नुपर्दछ। नेपालमा क्रान्ति गर्नका लागि यो विशेषतालाई क्रान्तिकारी शक्तिले विशेष हेक्का राख्नुपर्दछ।
गाउँ र शहरको सम्बन्ध
भौतिक पूर्वाधार शिक्षा, स्वास्थ्य, व्यापार, प्रशासनिक सम्बन्ध, यातायात, सूचना सञ्चारका कारण गाउँ र शहरबीचको सम्बन्ध पछिल्लो कालमा निकै निकट बन्दै गएको छ। शहरमा रहने जनसंख्या सापेक्षतामा गतिशील र चलाख छ भने, गाउँमा रहने जनसंख्या सापेक्षतामा मध्यम र साधारण जनशक्ति देखिन्छ।
गाउँहरू सामाजिक एवम् वर्ग दृष्टिकोणले बढी उत्पीडित छन्, भने शहर पनि बेरोजगारी र महंगीका कारणले समस्यामै छन्। पूँजीको चरित्रले गर्दा मुनाफामुखी बजारीया सम्बन्ध र शहर गाउँमा सँगसँगै पुग्ने खालको छ। पछिल्लो समयमा आइएमईको कुरा गरौँ वैदेशिक रोजगारीको कारणले पूँजीपतिलाई आईएमई शहरमा मात्र होइन, गाउँमा पनि खोल्दा फाइदा हुने भएपछि गाउँगाउँसम्म पनि पुगेको छ।
भन्न खोजेको के हो भने, बिसौं शताब्दिसम्म गाउँ र शहरको बीचमा रहेका अन्तरहरू एक्काइसौं शताब्दीमा आउँदा निकै कम भएर गएको र दूरी घट्दै गएको छ। अब गाउँलाई मात्र जोड दिएर बिसौं शताब्दीमा गरिएको जस्तो क्रान्ति सम्भव छैन। नेपालको विशेषता नै गाउँ र शहरको निकटसम्बन्ध भएको स्थितिमा रहेको छ। समय परिस्थितिअनुरुप कुनै विशेषताई पकड्नुमा अब यी दुवैलाई सँगसँगै पकड्नुपर्ने आवश्यकता छ।
मध्यम वर्गको उपस्थिति
नेपालको फरक खाले आर्थिक उत्पादन सम्बन्धका कारण मध्यम वर्गको विकास हुन पुगेको छ। यतिबेला नेपालमा औद्योगिक अर्थतन्त्र र उत्पादन सम्बन्ध तीव्र विकासमा छैन भने कृषि अर्थसम्बन्धमा पनि दिनप्रतिदिन घट्दै र कमजोर हुँदै गएको छ। यसले गर्दा मध्यम वर्गीय शक्तिको विकास निकै धिमाहा छ भने, किसान जनशक्तिको स्थिति पनि घट्दो छ।
तथ्यांकअनुसार मजदुरको जम्मा जनसंख्या सात प्रतिशतमा छ भने, किसानको जनसंख्या ६० प्रतिशतमा देखिएको छ। अर्थ उत्पादनका दृष्टिले कृषिमा आधारित अर्थ उत्पादन जम्मा ३५ प्रतिशतमा रहेको छ। तर, मध्यम वर्गको वृद्धि हुँदै गएको छ। यसको संख्या हाललाई २० देखि २४ प्रतिशत पुगेको मानिन्छ।
सामान्यतः मध्यम वर्ग भन्नाले दिनमा हजारदेखि १५ सय कमाउन सकिने वर्गलाई लिइएको छ। यसमा मुख्यतः डाक्टर, इन्जिनियर, प्रोफेसर, लेक्चरर, वकिल, कर्मचारी, मझौला खालका ब्यापारी, व्यवसायी पर्दछन्। यो वर्ग आफैमा कुनै मालिक पनि होइन र परम्परागत मजदुर पनि होइन। नेपालको हकमा यो वर्ग प्रगतिशील एवम् अग्रगामी नै देखिन्छ। आउँदो क्रान्तिमा यो वर्गको सहभागिता र भूमिकालाई विशेष महत्वका सागथ लिनैपर्ने आवश्यकता देखिएको छ।
जाति, जनजाति र दलित जातिको बसोबास
बसोबासका हिसावले नेपालमा कुनै जातिको मात्र बाहुल्य छैन। तर, राज्यसत्तामा सयौं वर्ष आर्य–खस जातिले नेतृत्व गरेका कारण जनजातिमाथि राजनीतिक उत्पीडन छ भने, दलित जातिमा सामाजिक आर्थिक राजनीतिक सम्पूर्ण क्षेत्रमा अमानवीय उत्पीडन थोपरिएको छ।
नेपालमा क्रान्ति गर्दा कुनै एक जातिलाई मात्र संगठित र परिचालित गरेर वा कुनै एकलाई मात्र पक्डेर सम्पन्न हुनसक्ने देखिदैँन। सचेतता र योजनाबद्धताका साथ सबै जाति जनजातिलाई संगठित र परिचालित गर्नु जरुरी छ। क्रान्तिकारी शक्तिले यो आवश्यकतालाई समाधान दिन नसक्दा साम्राज्यवादी शक्तिहरूको चलखेल अतिवादसम्म पु¥याउने गरी हुनेमा कुनै दुविधा छैन। तसर्थ क्रान्तिका लागि यो विशेषतालई जोड्नु अनिवार्य बन्न गएको छ।
दलाल पूँजीवादको प्रभुत्व
सामाजिक एवम् आर्थिक क्षेत्रमा आमूल परिवर्तन हुन नसक्नु तर, पुरानो सत्तासीन वर्गको एउटा हिस्सा पाराजित हुन पुग्नुको कारण सत्तामा दलाल पूँजीवाद हावी हुन पुगेको छ। सत्ता नियन्त्रण गरेको राजतन्त्रात्मक शक्तिको पराजय अनि क्रान्तिकारी कम्युनिष्ट शक्तिको पनि विचलन–विघटनले दलाल पूँजीवादलाई हावी बन्न निकै सहज बन्यो।
केही समय पहिले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आए। उनी आउनु अघिसम्म पिटीए, पिडीए आदि सबै विषयमा निकै विवाद थियो। जब मोदी आउने दिन नजिकिदै आयो, अनौठो प्रकारले ती नेता र ब्यक्तिको बोली लरबराउन थाल्यो। मोदी पक्षको लाममा कांग्रेस, एमाले, राप्रपा र मधेशवादी भनिने सबै शक्ति लागेकै थिए तर, आफूलाई सर्वहारा वर्गको प्रतिनीधि भन्दै आएको एमाओवादीसमेत सबैभन्दा अगाडि लाममा उभिन पुग्यो।
नेपालको सम्पूर्ण आर्थिक क्षेत्र सीमित वर्गको नियन्त्रणमा पुगेको छ। त्यसमा पनि जम्मा १० जना धनाढ्यको हातमा पूँजीको नियन्त्रण हुन पुगेको छ। नेपाली अर्थतन्त्र निकै कमजोर बन्दै गएको छ। विभिन्न क्षेत्रबाट उम्रन थालेका उद्योगी व्यवसायी पनि सुकेर सकिदै गएका छन्। निजामति क्षेत्रमा खास खास संस्थाहरूको प्रमुख नियुक्तिसमेत विदेशीको इशारामा भइरहेको छ।
कर्मचारी नै यस्ता देखिएका छन्, जो राष्ट्रघाती सम्झौताहरूका पक्षमा खुलेआम पक्षपोषण र समर्थन जुटाउँदै हिँडीरहेका छन्। यसप्रति आमनागरिक नै आक्रोशित बन्दै गएका छन्। स्थिति कतिसम्म डरलाग्दो छ भने, नेपालको राज्यभन्दा विदेशी राजदुतावास र गैरसरकारी संस्थाहरू शक्तिशाली र निर्णायक हुँदै गएका छन्। क्रान्तिका लागि यो विशेषतामा पनि ध्यानै दिनैपर्छ।
देशभक्त शक्तिको प्रभाव
इतिहासतः नेपालमा आफ्नो देशको सार्वभौमिकता र स्वाधिनतालाई रक्षा गर्ने धार निरन्तर कायम छ। ब्रिटिस साम्राज्यदेखि नै शसक्त प्रतिरोध गर्दै आएको छ। पछिल्लो समयमा भारतीय हस्तक्षेप र नाकाबन्दीविरुद्ध पनि निरन्तर लड्दै आएको छ।
यही धारका कारण नेपालको राज्यसत्तामा फेरबदलसमेत हुने गरेको छ। कुनैपनि शक्तिकेन्द्र नेपालजस्तो देशलाई आफ्नो नियन्त्रणमा लिनसक्ने र विदेशी शक्तिकेन्द्रको प्रभावमा जबरजस्त रहनुपर्ने अवस्थामा यो धारको महत्व क्रान्तिमा रहने कुरालाई ध्यान दिनु जरुरी छ।
नेपाली क्रान्ति न गाउँलाई मात्र पकडेर न त सहरलाई मात्र पकडेर सम्पन्न हुनसक्छ। गाउँ र सहरमध्ये एकलाई मात्र मुख्य बनाएर वा एकलाई मात्र पकडेर सम्पन्न गर्न सकिने स्थिति देखिँदैन।
त्यसैगरी वर्गीय दृष्टिले पनि न किसानलाई मात्र न मजदुरलाई मात्र न मजदुर– किसानलाई मात्र पकडेर पूरा गर्न सकिन्छ।
नेपालको हकमा यहाँको मध्यम वर्ग र देशभक्त शक्तिलाई सँगसँगै संगठित र परिचालित गरेर साथै जाति–जनजाति दलित जातिको मनोभावलाई केन्द्रित गरेर मात्र अगाडि बढ्न सकिन्छ।
यो क्रान्ति सम्पूर्ण क्रान्तिकारी वर्ग, शक्ति, समुदाय र भूगोलको अलग–थलग परिचालन गरेर होइन, सम्पूर्ण शक्तिको एकीकृत सहभागिता र परिचालनद्वारा मात्र सम्भव छ। तसर्थ यसलाई एकीकृत क्रान्ति भन्नु वस्तुवादी र उपयुक्त देखिन्छ।
(नवगठित नेकपा माओवादीका प्रमुख चन्दको ‘एकीकृत क्रान्ति’ भन्ने पुस्तकको सम्पादित अंश)
No comments:
Post a Comment