Sunday, May 17, 2026

सोभियत संघ विघटनपछिको संसार : पूँजीवाद–समाजवादको द्वन्द्वात्मक पुनर्पाठ - डा. महेश मास्के

 अन्तर्विरोधबाट विकल्पतर्फ : प्रकृति, असमानता र भविष्यको समाजवादी प्रश्न



सोभियत संघ विघटन भएको पैंतीस वर्ष पूरा भइसकेको छ। सोभियत संघको विघटनपछिका यी पैंतीस वर्षलाई फर्केर हेर्दा, “समाजवादी शिविर” भनेर चिनिने धारणा र संरचना गहिरा परिवर्तनहरूको प्रक्रियाबाट गुज्रिएको देखिन्छ। समाजवाद भन्नाले के बुझ्ने भन्ने अवधारणामै व्यापक पुनर्विचार र पुनर्परिभाषा भएको छ। चिन्तन र व्यवहार दुवै तहमा नयाँ–नयाँ प्रयोगहरू भइरहेका छन्, जसले समाजवादलाई बुझ्ने परम्परागत ढाँचालाई चुनौती दिएको छ।

सोभियत संघ विघटन हुनुअघि त्यहाँको समाज जुन अवस्थामा पुगेको थियो, त्यो वास्तविक समाजवादी अभ्यासको कमजोरी थियो कि समाजवादको सही अभ्यास हुन नसकेको असफलता थियो भन्ने प्रश्न गम्भीर रूपमा उठाउन आवश्यक छ।

वर्तमान  अवस्था एउटा  अर्थमा समाजवादको विघटनकाल र माओकालीन युगको समाप्तिपछिको समयसँग मिल्दोजुल्दो देखिन्छ, विशेषतः सन् १९८० पछिको कालखण्डमा पछि  चीनले अपनाएको विकासको मार्गलाई हेर्दा, त्यो एउटा नयाँ प्रकारको प्रयोग भरहेको देखिन्छ  । त्यसलाई नकारात्मक रूपमा मात्र होइन, समाजवादका नयाँ प्रयोगहरू कसरी आफ्नो अस्तिवको रक्षा  र पुनःसंरचना गर्छन् भन्ने दृष्टिले केही सकारात्मक रूपमा पनि मूल्याङ्कन गर्न सकिन्छ। यही सन्दर्भमा, सोभियत संघको विघटनलाई समाजवादकै विघटनका रूपमा बुझ्न नहुने मान्यताला  उपेक्षा  गर्न  पटक्कै  मिल्दैन 

सोभियत संघ विघटन हुनुअघि त्यहाँको समाज जुन अवस्थामा पुगेको थियो, त्यो वास्तविक समाजवादी अभ्यासको कमजोरी थियो कि समाजवादको सही अभ्यास हुन नसकेको असफलता थियो भन्ने प्रश्न गम्भीर रूपमा उठाउन आवश्यक छ। यस विषयमा विभिन्न बहसहरू भइसकेका छन् र  भरहेका  छन्  । विशेषतः सोभियतसंघमा समयक्रममा विकसित हुँदै गएका नोकरशाही  (ब्युरोक्रेटिक) मोडेलहरूले समाजवादको मूल मर्मलाई कमजोर बनाउँदै लगे। स्टालिनको जीवनकालमै व्यवहारिक तहमा अनेक समस्याहरू देखापरिसकेका थिए, र स्टालिनको मृत्युपछि सोभियतसंघ जुन दिशामा अगाडि बढ्यो, त्यसले समाजवादको आत्मा र उद्देश्यलाई प्रभावकारी रूपमा समात्नुको  सट्टा  यसको  मूल  मर्ममा  संशोधन  गर्न  उद्दत   भयो। त्यसले गर्दा  विकृतिहरुको  चाङ्ग  जम्मा हुँदै गयो र  समाजवादको  अभ्यासलाइ  जनताबाट  कटेको  नोकरशाही  राज्य  पूजीवादको  दिशा  तर्फ  मोड्यो  यस अर्थमा, त्यसको पतन एक प्रकारले अनिवार्यजस्तै थियो।

सोभियत संघको विघटनलाई समाजवादको मृत्युका रूपमा चित्रण गर्दै व्यापक प्रचार गरिनु तथ्यगत र वैचारिक रूपमा सही जस्तो लाग्दैन।

मेरो विचारमा सोभियत संघको विघटनलाई समाजवादको मृत्युका रूपमा चित्रण गर्दै व्यापक प्रचार गरिनु तथ्यगत र वैचारिक रूपमा सही छैन । र यस्तो दृष्टिकोणबाट हेर्नेहरूका लागि सोभियत संघको विघटन आफैंमा अनपेक्षित  वा विनाशकारी घटना  देखिँदैन। निश्चय नै, एउटा ठूलो शक्ति एकीकृत रूपमा अस्तित्वमा रहिरहेको भए त्यसको पृक महत्व हुन्थ्यो। तर सोभियत संघको विघटनलाई समाजवादको मृत्युका रूपमा चित्रण गर्दै व्यापक प्रचार गरिनु तथ्यगत र वैचारिक रूपमा सही जस्तो लाग्दैन। यसले समाजवादी आन्दोलनलाई केही समयका लागि निरुत्साहित वा अवरुद्ध गरेजस्तो देखिए पनि, त्यो प्रभाव स्थायी भएको देखिँदैन। मैले ३५ र्ष अघि ‘मूल्यांकन मासिक’ पत्रिकाको प्रथम अंकको अग्रलेखमा नीरव सेरचनको नामबाट लेखेको "के समाजवाद को मृत्यु भएको हो"? लेख मा यो प्रश्न उठासकेको छु र त्यति बेलाको विश्लेषण अहिले पनि मूलरुपमा सही ठान्दछु 

द्वन्द्वात्मक दृष्टिले विचार गर्दा, समाजमा विद्यमान सामाजिक, आर्थिक, सांस्कृतिक, भाषिक तथा लैङ्गिक अन्तर्विरोधहरूले निरन्तर गति र दबाब सिर्जना गरिरहेका हुन्छन्। ती अन्तर्विरोधहरू समाधान र वैकल्पिक मार्गको खोजीमा हुन्छन्। यही प्रक्रियाबाट समाजवादी विकल्पको अवधारणा जन्मिएको हो। जबसम्म यी आधारभूत अन्तर्विरोधहरू कायम रहन्छन्, तबसम्म समाजवादी विकल्पको आवश्यकता कम हुन्छ भन्ने मान्न कठिन छ।

द्वन्द्वात्मक दृष्टिले विचार गर्दा, समाजमा विद्यमान सामाजिक, आर्थिक, सांस्कृतिक, भाषिक तथा लैङ्गिक अन्तर्विरोधहरूले निरन्तर गति र दबाब सिर्जना गरिरहेका हुन्छन्। ती अन्तर्विरोधहरू समाधान र वैकल्पिक मार्गको खोजीमा हुन्छन्। यही प्रक्रियाबाट समाजवादी विकल्पको अवधारणा जन्मिएको हो।

अब सोभियत संघको विघटनपछिका पैंतीस वर्षलाई फर्केर हेर्दा, विश्वका सबै भूभागमा विकास र सामाजिक परिवर्तन एकनासले भएको छैन भन्ने तथ्य स्पष्ट हुन्छ। विकास सधैँ समान रेखामा अघि बढ्दैन; बरु, प्रत्येक देशको सामाजिक–आर्थिक अवस्था, ऐतिहासिक पृष्ठभूमि र संरचनात्मक विशेषताअनुसार फरक–फरक ढाँचामा अघि बढिरहेको हुन्छ। यही विविधताका कारण समाजवादी आन्दोलनले पनि विभिन्न सन्दर्भमा नयाँ–नयाँ रूपहरू ग्रहण गर्दै आएको देखिन्छ।

उदाहरणका रूपमा, युरोपेली मुलुकहरूमा समाजवादी आन्दोलनसम्बन्धी बहस एक किसिमको ढाँचामा विकसित भएको देखिन्छ भने तेस्रो विश्वका, विशेषतः कृषि प्रधान मुलुकहरूमा, ती बहसहरू फरक प्रकृतिका बने। चीन र भारतजस्ता देशहरूमा समाजवादी अवधारणालाई स्थानीय यथार्थअनुसार अनुकूलित गर्ने प्रयासस्वरूप नयाँ र नवप्रवर्तनात्मक उपायहरूको खोजी गरियो। यही सन्दर्भमा माओद्वारा  ‘नयाँ जनवाद’ जस्ता अवधारणाहरू विकसित गरिए, जसलाई त्यही ऐतिहासिक र सामाजिक परिवेशको उपजका रूपमा बुझ्न आवश्यक छ।

यस पृष्ठभूमिमा सन् १९१७ को रूसी क्रान्तिलाई सम्झनु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। त्यसबेला पनि समाजवादी क्रान्ति तत्काल सम्भव छ कि छैन भन्ने विषयमा तीव्र बहसहरू चलेका थिए। लेनिन र प्लेखानोभबीचको वैचारिक बहसलाई हेर्ने हो भने, मार्क्सवादी सिद्धान्तअनुसार पूँजीवादको एक निश्चित स्तरको परिपक्वता आवश्यक हुन्छ भन्ने तर्क प्रस्तुत गरिएको थियो। पूँजीवादी विकाससँगै त्यसका अन्तर्विरोधहरू पनि परिपक्व हुँदै जान्छन्, र त्यसपछि मात्र समाजवादी क्रान्ति सफल हुन सक्छ भन्ने धारणा त्यस समयको प्रचलित विचार थियो। विशेषतः पश्चिमी युरोपेली देशहरूलाई समाजवादी क्रान्तिका लागि बढी परिपक्व क्षेत्र मानिन्थ्यो, र रूसजस्ता देशमा पूँजीवादलाई अझ विकसित हुन दिनुपर्ने तर्क अघि सारिन्थ्यो।

तर यी तर्कहरूको विपरीत, लेनिनले तत्काल क्रान्तिको सम्भावनालाई अघि सारे र सोसल डेमोक्रेसी, दोश्रो अन्तर्राष्ट्रिय, तथा तेश्रो अन्तर्राष्ट्रियभित्र चलेका बहसहरूको सन्दर्भमै आफ्नो धारणा स्थापित गरे। यही कारणले लेनिनको योगदान विशिष्ट मानिन्छ। उनले प्लेखानोभलगायत समकालीन दिग्गजहरूको विचारको खण्डन गर्दै क्रान्तिको झण्डा उठाए र त्यसलाई व्यवहारमा सफल बनाएर देखाए। क्रान्तिको सफलतापछि लेनिनको विचार वरिपरि एउटा ठूलो शक्ति गोलबन्द भयो, जसको प्रभावस्वरूप भारत, चीनलगायत विश्वका विभिन्न भागमा कम्युनिस्ट पार्टीहरूको स्थापना हुँदै गयो।

समाजवादको सपना जन्माउने मूल अन्तर्विरोधहरू अझै समाधान भइसकेका छैनन्। ती मुद्दाहरू आज पनि जीवित छन्।

यो ऐतिहासिक पृष्ठभूमिलाई ध्यानमा राख्दै वर्तमान अवस्थाबारे छोटकरीमा भन्नुपर्दा, समाजवादको सपना जन्माउने मूल अन्तर्विरोधहरू अझै समाधान भइसकेका छैनन्। ती मुद्दाहरू आज पनि जीवित छन्। भारत मात्र होइन, चीनको अवस्थालाई हेर्दा पनि यो स्पष्ट हुन्छ। चीनले आफ्ना ऐतिहासिक समस्याहरू समाधान गर्दै अगाडि बढिरहेको देखिए पनि, उसले आफू समाजवादको उन्नत चरणमा पुगिसकेको छ भन्ने दाबी गरेको छैन। बरु, सन् १९४९ को क्रान्तिको सय वर्ष पूरा हुने सन्दर्भमा समाजवादको एक उन्नत चरणमा पुग्ने दीर्घकालीन कार्यक्रमसहित चीन अघि बढिरहेको छ।

भारतको सन्दर्भमा हेर्दा, त्यहाँ अहिले पनि लोकतान्त्रिक क्रान्तिलाई पूर्ण रूपमा सम्पन्न गर्नुपर्ने चरणमै रहेको जस्तो देखिन्छ। तर त्यससँगै समाजवादतर्फ सिधै अघि बढ्ने कि केवल लोकतान्त्रिक सीमाभित्रै रहने भन्ने बहस पनि चलिरहेको छ। औपनिवेशिक शासनबाट मुक्त भएपछि त्यहाँ लोकतन्त्र र समाजवादी आन्दोलनबीचको सम्बन्धबारे उठेका प्रश्नहरू आज पनि पूर्ण रूपमा समाधान भइसकेका छैनन्। हामीले सुरुमा अपेक्षा गरेजस्तो समाजवादी क्रान्तिहरू छिट्टै सफल हुने अवस्था देखिएको छैन। बरु, ती आन्दोलनहरू विभिन्न जटिल परिस्थिति पार गर्दै, मोडहरू काट्दै, सोझो रेखामा नभई घुमाउरो बाटो हुँदै अघि बढिरहेका छन्। वर्तमानमा भारतमा बामपन्थी शक्तिहरु कमजोर र रक्षात्मक बनेको यथार्थ लाइ हामी नकार्न सक्दैनौ ।

हामीले सुरुमा अपेक्षा गरेजस्तो समाजवादी क्रान्तिहरू छिट्टै सफल हुने अवस्था देखिएको छैन। बरु, ती आन्दोलनहरू विभिन्न जटिल परिस्थिति पार गर्दै, मोडहरू काट्दै, सोझो रेखामा नभई घुमाउरो बाटो हुँदै अघि बढिरहेका छन्।

भियतनामको उदाहरण पनि यहाँ सान्दर्भिक देखिन्छ। कुनै समय क्रान्तिको एउटा आदर्श मोडेल मानिएको भियतनामले पनि चीनजस्तै सुधार र खुलापनको नीति अपनाएको छ– चीनले सन् १९७६ पछाडि र भियतनामले सन् १९८६ पछि। यस सन्दर्भमा, हिजोका समाजवादी देशहरूलाई केवल एकै किसिमको शास्त्रीय मापदण्डबाट हेर्ने हो भने, तिनीहरू संशोधनवादी दिशातर्फ गएका हुन् कि भन्ने धारणा पनि उत्पन्न हुन सक्छ। तर अर्को दृष्टिकोणबाट हेर्दा, ती देशहरूले वर्तमान वैश्विक परिस्थितिमा आफूलाई कसरी जोगाउँदै र अगाडि बढाउँदै लगेका छन् भन्ने पक्षलाई पनि गम्भीर रूपमा मूल्याङ्कन गर्नुपर्ने देखिन्छ।

हामीले हिजोझैँ केवल शुद्ध क्रान्तिकारी वा शास्त्रीय  दृष्टिकोणबाट मात्र होइन, द्वन्द्वात्मक चिन्तनलाई हाम्रो मुख्य विश्वदृष्टिकोणका रूपमा अंगालेर वर्तमान परिस्थितिको विश्लेषण गर्न आवश्यक देखिन्छ।

यस विषयलाई बुझ्न हामीले हिजोझैँ केवल शुद्ध क्रान्तिकारी वा शास्त्रीय  दृष्टिकोणबाट मात्र होइन, द्वन्द्वात्मक चिन्तनलाई हाम्रो मुख्य विश्वदृष्टिकोणका रूपमा अंगालेर वर्तमान परिस्थितिको विश्लेषण गर्न आवश्यक देखिन्छ। द्वन्द्ववादले वास्तविकतालाई स्थिर र एकरेखीय रूपमा होइन, निरन्तर परिवर्तनशील र अन्तर्विरोधले भरिएको प्रक्रियाका रूपमा हेर्न सिकाउँछ। यस सन्दर्भमा प्रायः ‘विपरीतहरूको एकता र संघर्ष’ (unity and struggle of opposites) भन्ने अवधारणा उल्लेख गरिन्छ। पछिल्ला व्याख्याहरूमा यसलाई अझ परिष्कृत गर्दै ‘विपरीतहरूको एकता, संघर्ष र रूपान्तरण’ (unity, struggle and transformation of opposites) को रूपमा बुझ्ने प्रयास गरिएको छ।

एङ्गेल्सको Dialectics of Nature मा प्रस्तुत “विपरीतहरूको अन्तःप्रवेशन” (interpenetration of opposites) भन्ने अवधारणाले पनि यही तथ्यलाई स्पष्ट गर्छ। विपरीत तत्वहरू केवल एक–अर्काको विरुद्धमा मात्र हुँदैनन्; ती एक–अर्कामा अन्तःप्रवेश गर्छन्, पारस्परिक प्रभाव पार्छन्, सहअस्तित्वमा रहँदै संघर्ष पनि गर्छन्। यही अन्तर्क्रिया र प्रभावको प्रक्रियामा ती विपरीत तत्वहरू क्रमशः रूपान्तरित हुँदै जान्छन्। कुनै अवस्थामा एउटा पक्ष कमजोर हुँदै समाप्त हुन्छ भने अर्को पक्ष बलियो हुँदै प्रधानता हासिल गर्छ। तर त्यसरी स्थापित भएको नयाँ एकाइभित्र पनि पुनः नयाँ विपरीत तत्वहरूको अस्तित्व रहन्छ  वा निर्मित हुन्छ, जसमा एउटा पक्ष हावी भएर त्यसको प्रकृति निर्धारण गर्छ।

पूँजीवादको विकासलाई हेर्ने हो भने, त्यो पनि सामन्ती व्यवस्थासँगको संघर्ष र अन्तःक्रियाबाट विकसित भएको प्रणाली हो। पूँजीवादी सामाजिक–आर्थिक सम्बन्ध स्थापित हुँदै गर्दा सामन्ती सम्बन्धहरू पनि केही समयसम्म सहअस्तित्वमा रहेका थिए, तर संक्रमणकालमा ती क्रमशः कमजोर हुँदै गए।

यस दृष्टिकोणबाट हेर्दा, कुनै पनि वस्तु वा सामाजिक प्रणाली एकल, स्थिर र स्वतन्त्र अस्तित्व होइन; त्यसको भित्री संरचनामै विपरीत तत्वहरूको उपस्थिति र अन्तर्द्वन्द्व निहित हुन्छ। उदाहरणका रूपमा पूँजीवादको विकासलाई हेर्ने हो भने, त्यो पनि सामन्ती व्यवस्थासँगको संघर्ष र अन्तःक्रियाबाट विकसित भएको प्रणाली हो। पूँजीवादी सामाजिक–आर्थिक सम्बन्ध स्थापित हुँदै गर्दा सामन्ती सम्बन्धहरू पनि केही समयसम्म सहअस्तित्वमा रहेका थिए, तर संक्रमणकालमा ती क्रमशः कमजोर हुँदै गए। आज नेपालजस्ता समाजमा पनि सामन्ती संरचनाहरू क्षीण हुँदै गएको र नयाँ प्रणाली स्थापित हुन खोजिरहेको अवस्था देखिन्छ।

एक समय हामीले पूँजीवादी उत्पादन प्रणाली र समाजवादी उत्पादन प्रणालीलाई एकदमै शुद्ध र अलग–अलग रूपमै बुझ्ने गरेका थियौँ– मानौँ पूँजीवादी प्रणाली पूर्ण रूपमा समाप्त भएपछि मात्रै समाजवादी प्रणाली स्थापित हुन्छ। तर व्यवहारिक यथार्थले देखाएको छ कि सामाजिक रूपान्तरण यति सरल र सीधा हुँदैन।

यही सन्दर्भमा “विपरीतहरूको अन्तःप्रवेशन” को अवधारणा विशेष रूपमा महत्त्वपूर्ण देखिन्छ। एक समय हामीले पूँजीवादी उत्पादन प्रणाली र समाजवादी उत्पादन प्रणालीलाई एकदमै शुद्ध र अलग–अलग रूपमै बुझ्ने गरेका थियौँ– मानौँ पूँजीवादी प्रणाली पूर्ण रूपमा समाप्त भएपछि मात्रै समाजवादी प्रणाली स्थापित हुन्छ। तर व्यवहारिक यथार्थले देखाएको छ कि सामाजिक रूपान्तरण यति सरल र सीधा हुँदैन। एक प्रणालीले अर्को प्रणालीलाई पूर्ण रूपमा विस्थापित गर्नुअघि लामो समयसम्म अन्तःक्रिया, संघर्ष र मिश्रणको अवस्था रहन्छ। र त्यसक्रममा वर्णशंकर (hybrid) स्वरूपहरुला पनि जन्म दिन्छ । जस्तो: नेपालको सन्दर्भमा सामन्तवादी सम्बन्धलाइ पुनरुत्पादन गरि रहने साम्राज्यवाद पोषित र पराश्रित दलाल पुँजीवाद 

आजको सन्दर्भमा पूँजीवादले वातावरण र प्रकृतिमाथि गरिरहेको विनाश पनि समाजवादी विकल्पको सम्भावनालाई अझ बलियो बनाउने एउटा प्रमुख पक्ष बनेको छ। प्राकृतिक स्रोतहरूको अन्धाधुन्ध दोहन, पर्यावरणीय संकट र मानव अस्तित्वमै चुनौती पैदा गर्ने प्रवृत्तिले पूँजीवादी प्रणालीप्रति गम्भीर प्रश्नहरू उठाइरहेको छ। प्रकृति र समाज दुवैको शोषण जारी रहँदा त्यसको विरुद्धमा प्रतिरोधका स्वरहरू उठ्नु स्वाभाविक हुन्छ।

आजको सन्दर्भमा पूँजीवादले वातावरण र प्रकृतिमाथि गरिरहेको विनाश पनि समाजवादी विकल्पको सम्भावनालाई अझ बलियो बनाउने एउटा प्रमुख पक्ष बनेको छ।

यसको मूल कारण प्रणालीहरूको आत्मरक्षा प्रवृत्ति हो। उदाहरणका रूपमा पूँजीवादलाई लिँदा, यसको आधारभूत चरित्र नै शोषणमा आधारित छ– जहाँ थोरै व्यक्तिहरू अत्यन्त सम्पन्न हुन्छन् र बहुसंख्यक जनसंख्या आर्थिक असमानतामा धकेलिन्छ। यसले धनी र गरिबबीच गहिरो खाडल सिर्जना गर्छ, जसबाट सामाजिक द्वन्द्व, मानवीय संकट र वैकल्पिक समाधानको खोजी जन्मिन्छ। यही परिस्थितिले अर्को, अझ मानवीय र न्यायपूर्ण सामाजिक प्रणालीको मागलाई जन्म दिन्छ। यस अर्थमा समाजवादी चिन्तन, सपना र आन्दोलनहरू पूँजीवादकै कर्म– वा कुकर्मको परिणामका रूपमा अघि बढिरहेका हुन्छन्।

तर पूँजीवाद आफ्ना गहिरा र जन्ड स्वार्थहरूका कारण सजिलै आफ्नो प्रभुत्व छोड्न चाहँदैन। बरु, आफूभन्दा उन्नत र बढी मानवीय चिन्तनहरूलाई दबाउने, कमजोर बनाउने र निस्तेज पार्ने प्रयासमार्फत आफ्नो वर्चस्व कायम राख्न खोज्छ। यही द्वन्द्वात्मक यथार्थलाई आजको विश्व परिदृश्यमा हामी स्पष्ट रूपमा देखिरहेका छौँ।

बारम्बार बौरिइरहेको पुँजीवाद !

यसै सन्दर्भमा उठ्ने गरेको एउटा प्रश्न निक्कै रोचक र गम्भीर छ । त्यो हो– मार्क्सवादी भाष्यअनुसार पूँजीवादको अन्त्य अपरिहार्य मानिन्छ, किनकि सामन्तवादबाट पूँजीवादतर्फ समाजको विकास हुनु ऐतिहासिक रूपमा स्वाभाविक प्रक्रिया हो। तर यति हुँदाहुँदै पनि एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ– यति धेरै आन्तरिक अन्तर्विरोध, संकट, महाविपत्ति र संरचनात्मक समस्याहरूका बाबजुद पूँजीवाद कसरी निरन्तर आफूलाई जोगाउँदै अघि बढ्न सफल भयो ? यो कसरी सम्भव भयो ? के यसको अर्थ समाजवादी शिविरबाट पर्याप्त धक्का नपुग्नु हो, वा समाजवादी चिन्तन स्वयंले आफ्ना रणनीति र दृष्टिकोणलाई परिमार्जन गर्नुपर्ने अवस्था आएको हो ?

पूँजीवादले सधैँ आफूलाई जोगाउने प्रयास गर्छ। उसले विभिन्न देश र सन्दर्भमा नयाँ–नयाँ रूपान्तरण, पुनर्संरचना र अन्वेषण गर्दै आफ्नो अस्तित्वलाई दीर्घकालीन बनाउन खोजिरहेको हुन्छ।

यसको जवाफ खोज्ने क्रममा मलाई लाग्छ, यसका दुवै पक्ष छन्। एकातिर पूँजीवादले सधैँ आफूलाई जोगाउने प्रयास गर्छ। उसले विभिन्न देश र सन्दर्भमा नयाँ–नयाँ रूपान्तरण, पुनर्संरचना र अन्वेषण गर्दै आफ्नो अस्तित्वलाई दीर्घकालीन बनाउन खोजिरहेको हुन्छ। यो प्रवृत्ति विशेष रूपमा सन् १९३० को दशकमा अमेरिकामा देखिएको ‘ग्रेट डिप्रेसन’को समयमा स्पष्ट रूपमा देखियो। त्यतिबेला पूँजीवादी राज्यहरूले केही समाजवादी मूल्य र सिद्धान्तहरू ‘उधारो’ लिए। केन्सियन अर्थशास्त्रको उदय, राज्यलाई सामाजिक रूपमा जिम्मेवार बनाउने प्रयास, वेलफेयर स्टेटको अवधारणा, रोजगारी सिर्जना र सार्वजनिक सेवामा राज्यको सक्रिय भूमिकाजस्ता उपायहरू पूँजीवादकै आत्मरक्षाका रणनीतिहरू थिए।

पूँजीवादले आफ्नै बचाउका लागि समाजवादी मूल्यहरू पनि अपनाउन सक्छ। ठुला ठुला कम्पनीहरु आर्थिक संकटमा पर्दा राज्यकोषको प्रयोग गरेर राहत प्याकेज मार्फत् उनीहरुको बचाव गर्न पूँजीवाद हिच्किचाएको देखिँदैन । आज पनि पूँजीवाद विभिन्न तरिकाले आफूलाई जोगाउँदै अघि बढिरहेको छ र  यही प्रक्रियामा ‘विपरीतहरूको अन्तःप्रवेशन’ (interpenetration of opposites) स्पष्ट रूपमा देखिन्छ।

यसले देखाउँछ कि पूँजीवादले आफ्नै बचाउका लागि केही समाजवादी उपचार  पनि अपनाउन सक्छ। आज पनि हामी देखिरहेका छौँ कि पूँजीवाद विभिन्न तरिकाले आफूलाई जोगाउँदै अघि बढिरहेको छ। यही प्रक्रियामा ‘विपरीतहरूको अन्तःप्रवेशन’ (interpenetration of opposites) स्पष्ट रूपमा देखिन्छ। पूँजीवादी प्रणालीले समाजवादी चिन्तनका शक्ति र कमजोरीहरूलाई आफ्ना थिङ्क ट्याङ्कहरू, नीति–अनुसन्धान केन्द्रहरू र बौद्धिक संरचनामार्फत अत्यन्त सावधानीपूर्वक विश्लेषण गर्छ । उसले आफ्नो दीर्घकालीन अस्तित्वका लागि उपयोगी तत्त्वहरू अपनाउँछ र आफूलाई अनुकूल बनाउँदै जान्छ।

पूँजीवादले आफ्नै बचाउका लागि केही समाजवादी उपचार  पनि अपनाउन सक्छ।

आज हामी देखिरहेका छौँ: पूँजीवादी राज्यहरूले कतिपय अवस्थामा समाजवादी राज्यले जस्तै राहत प्याकेजहरू घोषणा गर्छन्, उद्योगहरू जोगाउँछन्, शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गर्छन्। विशेषतः युरोपका धेरै देशहरूमा सामाजिक कल्याणका संरचनाहरू बलियो देखिन्छन्। स्क्यान्डिनेभियन देशहरूमा त सामाजिक सुरक्षा, सार्वजनिक सेवा र समानताको अभ्यास अत्यन्त विकसित अवस्थामा छ। यस कारण ती देशहरू समाजवाद र पूँजीवादको बीचको एक प्रकारको ‘मध्यवर्ती मोडेल’ जस्ता देखिन्छन् ।

यसै सन्दर्भमा अमेरिकी राजनीतिमा पनि यो बहस स्पष्ट रूपमा देखिन्छ। अमेरिकी निर्वाचनका क्रममा डोनाल्ड ट्रम्पजस्ता नेताहरूले आफ्ना विरोधीहरूलाई ‘समाजवादी’ वा ‘स्क्यान्डिनेभियन मोडेलतर्फ झुकेका’ भनेर चित्रण गर्दै भय सिर्जना गर्ने प्रयास गरेका छन्। यसले शुद्ध फ्री–मार्केट अर्थशास्त्री र नवउदारवादी चिन्तनका पक्षधरहरूभित्र रहेको असुरक्षालाई पनि उजागर गर्छ। अर्कोतर्फ, प्रगतिशील पूजीवाद  (Progressive  Capitalism)* जस्ता अवधारणाहरू अघि सारिँदैछन्– अर्थात् पूँजीवादलाई जोगाउने, तर त्यसलाई केही सामाजिक र मानवीय मूल्यहरूले सुसज्जित गर्ने प्रयास।

पूँजीवाद जति नै लचकदार र अनुकूलनशील भए पनि, यसको मूल चरित्र– नाफा र शोषणमा आधारित संरचना– अपरिवर्तित रहन्छ। जबसम्म नाफा निरन्तर आइरहन्छ, ठूला निगम र पूँजीपति वर्गका मूल स्वार्थ सुरक्षित रहन्छन्, तबसम्म यो प्रणाली चलिरहन्छ।

यद्यपि पूँजीवाद जति नै लचकदार र अनुकूलनशील भए पनि, यसको मूल चरित्र– नाफा र शोषणमा आधारित संरचना– अपरिवर्तित रहन्छ। जबसम्म नाफा निरन्तर आइरहन्छ, ठूला निगम र पूँजीपति वर्गका मूल स्वार्थ सुरक्षित रहन्छन्, तबसम्म यो प्रणाली चलिरहन्छ। तर यति हुँदाहुँदै पनि आज ती देशहरूमा धनको असमानता झनै तीव्र रूपमा बढिरहेको छ। सम्पत्ति केही सीमित व्यक्तिहरू र परिवारहरूको हातमा केन्द्रित हुँदै गएको छ। एलन मस्कजस्ता व्यक्तिहरूको तीव्र धनसञ्चय, थोरै परिवारहरूको हातमा अपार सम्पत्तिको एकाग्रता– यी सबै संकेत हुन् कि प्रणालीको भित्री अन्तर्विरोध अझै गहिरिँदै गएको छ।

यही ‘कोर’ संरचना जब गम्भीर रूपमा चुनौतीमा पर्छ, तब नयाँ परिवर्तन र सम्भावित क्रान्तिकारी मोडका आधारहरू विकसित हुन सक्छन्– त्यो विकसित पूँजीवादी देशहरूमा पनि। ठीक यही प्रकारको प्रक्रिया समाजवादी देशहरूमा पनि देख्न सकिन्छ। विकास र नवप्रवर्तनका लागि केही पूँजीवादी मूल्य र उपकरणहरू उपयोगी हुन सक्छन् भन्ने निष्कर्षमा उनीहरू पुगेका छन्।

यस सन्दर्भमा चीनको सुधार र खुलापन (Reform and Opening) नीतिका बारे प्रश्नहरु उठ्ने गरेका छन् । तर त्यसलाई पूर्ण रूपमा नकारात्मक रूपमा मात्र हेर्नु उपयुक्त हुँदैन। माओकालपछिको चीनले गम्भीर चुनौतीहरूको सामना गरिरहेको थियो– विशाल जनसंख्यालाई खाद्य सुरक्षा सुनिश्चित गर्नुपर्ने, आर्थिक विकासलाई तीव्र बनाउनुपर्ने, र एकातिर सोभियत संघको पतनजस्तो खतरा देखिइरहेको अवस्था। त्यसैले चीनका लागि आत्मरक्षा र दीर्घकालीन अस्तित्वको प्रश्न अत्यन्त महत्त्वपूर्ण थियो।

प्रारम्भिक मार्क्सवादी सोचमा (लेनिनको समयसम्म पनि) विश्वव्यापी क्रान्तिको अपेक्षा गरिएको थियो। विशेषतः युरोपका विकसित पूँजीवादी देशहरूमा समाजवादी क्रान्ति हुने र त्यसले रूसजस्ता देशलाई सहयोग गर्ने आशा थियो। तर त्यो विश्व क्रान्ति भएन।

यससँगै यो एउटा सैद्धान्तिक प्रश्न पनि थियो। प्रारम्भिक मार्क्सवादी सोचमा (लेनिनको समयसम्म पनि) विश्वव्यापी क्रान्तिको अपेक्षा गरिएको थियो। विशेषतः युरोपका विकसित पूँजीवादी देशहरूमा समाजवादी क्रान्ति हुने र त्यसले रूसजस्ता देशलाई सहयोग गर्ने आशा थियो। तर त्यो विश्व क्रान्ति भएन। त्यसपछि रूसले एक्लै समाजवाद निर्माण गर्ने चुनौती सामना गर्नुपर्यो, र यही सन्दर्भमा ‘एक देशमा समाजवाद’ (Socialism in One Country) को बहस जन्मियो। जोसेफ  स्टालिन त्यसको पक्षमा उभिए, लियन त्रोत्स्की  त्यसको विरोधमा ।

वैश्विक पूँजीवादले घेरिएको परिस्थितिमा एउटै देशमा समाजवाद सम्भव छ कि छैन भन्ने प्रश्नले समाजवादी आन्दोलनलाई लामो समयसम्म चुनौती दिइरह्यो। चारैतिर प्रतिकूल अन्तर्राष्ट्रिय वातावरण, आन्तरिक संरचनागत समस्या र विकृतिहरू उत्पन्न भए। ती समस्याहरू लामो समयसम्म निरन्तर रहे। विश्व क्रान्तिको अभावमा चीन, वियतानाम क्युबा लगायतका देशहरु आफ्नो देशमा आफ्नै शक्ति को बलमा  समाजवाद को विकास र रक्षा गर्न बाध्य भए र   समाजवादी मार्गमा अघि बढे ।

ऐतिहासिक र वैचारिक प्रक्रियालाई बुझ्दै गर्दा, समाजवाद र पूँजीवाद दुवै स्थिर, बन्द र शुद्ध प्रणालीहरू होइनन् भन्ने यथार्थ स्पष्ट हुन्छ। ती दुवै निरन्तर अन्तःक्रिया, संघर्ष र रूपान्तरणको प्रक्रियामा रहेका छन्, र यही द्वन्द्वात्मक गतिले भविष्यका सम्भावनाहरू निर्धारण गर्दै जाने देखिन्छ।

यस सम्पूर्ण ऐतिहासिक र वैचारिक प्रक्रियालाई बुझ्दै गर्दा, समाजवाद र पूँजीवाद दुवै स्थिर, बन्द र शुद्ध प्रणालीहरू होइनन् भन्ने यथार्थ स्पष्ट हुन्छ। ती दुवै निरन्तर अन्तःक्रिया, संघर्ष र रूपान्तरणको प्रक्रियामा रहेका छन्, र यही द्वन्द्वात्मक गतिले भविष्यका सम्भावनाहरू निर्धारण गर्दै जाने देखिन्छ।

ऐतिहासिक भौतिकवाद (Historical Materialism) अनुसार समाज विभिन्न चरण र अवस्थाहरू हुँदै रूपान्तरित हुँदै जान्छ। सामन्तवादबाट पूँजीवाद र पूँजीवादबाट समाजवादतर्फको यात्रा यही चरणगत परिवर्तनको प्रक्रिया हो। यस सन्दर्भमा मार्क्सले स्पष्ट रूपमा भनेका छन्– कुनै पनि आर्थिक प्रणाली तबसम्म लोप हुँदैन, जबसम्म त्यसले आफ्ना सबै सम्भावित स्वरूप र क्षमताहरू प्रयोग गरेर समाप्त हुँदैन। यही अवधारणाको आधारमा आजको सन्दर्भमा एउटा गम्भीर प्रश्न उठ्छ– के वर्तमान अवस्थामा पूँजीवादभित्रै समाजवादको सिर्जनाबारे नयाँ कोणबाट बहस गर्नु आवश्यक छैन ?

नेपालमा पनि केही चिन्तकहरूले यही धारणा अघि सारेका छन्– अर्थात् पूँजीवादले आफ्ना सबै सम्भावनाहरू प्रयोग गरिसकेपछि मात्र समाजवादी रूपान्तरण सम्भव हुन्छ भन्ने विचार। तर यहाँ मूल प्रश्न उठ्छ– ती सम्भावनाहरू समाप्त गर्ने काम कसले गर्छ ?

यो प्रश्नलाई अहिले केही चिन्तकहरुले गम्भीरतापूर्वक उठाइरहेका छन्। ऐतिहासिक रूपमा प्लेखानोभसँग सम्बन्धित यी बहसहरू आज तेस्रो विश्वका सन्दर्भमा पुनः सतहमा आइरहेका देखिन्छन्। नेपालमा पनि केही चिन्तकहरूले यही धारणा अघि सारेका छन्– अर्थात् पूँजीवादले आफ्ना सबै सम्भावनाहरू प्रयोग गरिसकेपछि मात्र समाजवादी रूपान्तरण सम्भव हुन्छ भन्ने विचार। तर यहाँ मूल प्रश्न उठ्छ– ती सम्भावनाहरू समाप्त गर्ने काम कसले गर्छ ? यदि हामी “सबै सम्भावनाहरू समाप्त नहुन्जेल धैर्य गर्नुपर्छ” भन्ने निष्क्रिय सोचमा अडिग रह्यौँ भने, त्यसको व्यावहारिक अर्थ के हुन्छ ?

आजको विश्व व्यवस्था पूँजीवादले घेरिएको अवस्थामा, यस्तो सोचले देशभित्र पूँजीवादलाई अझै विस्तार गर्न दिनुपर्छ भन्ने निष्कर्षतर्फ लैजान सक्छ। किनकि भनिन्छ– पूँजीवादले अझै आफ्ना सबै सामर्थ्य प्रदर्शन गरिसकेको छैन। तर वास्तवमा पूँजीवादको सामर्थ्य कति भयावह हुन सक्छ भन्ने कुरा स्वयं मार्क्सले पनि आफ्नो समयमा पूर्ण रूपमा देख्न पाएका थिएनन्। उनले संकेतका रूपमा मात्र ‘मेटाबोलिक रिफ्ट’जस्ता अवधारणाहरू उल्लेख गरेका थिए– अर्थात् मानव समाज र प्रकृतिबीचको सन्तुलन भङ्ग हुने प्रक्रिया। यदि मार्क्सले आजको पूँजीवादले प्रकृति र पर्यावरणमाथि आर्जन गरेको विनाशकारी शक्ति देखेका भए, सायद “पूँजीवादलाई आफ्ना सबै सम्भावना प्रयोग गर्न दिनुपर्छ” भन्दा पनि “यसको शक्ति जतिसक्दो छिटो कमजोर पार्न समाजवादी शक्तिहरू सचेत रूपमा सक्रिय हुनुपर्छ” भन्ने तर्फ जोड दिन्थे होला, जसरी लेनिन र त्यसपछिका क्रान्तिकारी मार्क्सवादीहरुले दिएका थिए 

यही सन्दर्भ हाम्रो जस्तो देशमा झनै सान्दर्भिक देखिन्छ। उदाहरणका लागि, हाम्रो संविधानले राज्यलाई “समाजवादउन्मुख” भनेर परिभाषित गरेको छ। तर कतिपयले तर्क गर्छन्– नेपालमा पूँजीवादको पूर्ण विकास नै भइसकेको छैन, त्यसैले समाजवादी कार्यक्रमतर्फ उन्मुख हुनु हतारो हो। यस्ता तर्कहरू सुन्न पाइन्छ। तर समाजवादउन्मुख मार्गतर्फ अघि बढ्नु भनेको पूँजीवादले सिर्जना गरिरहेका समस्याहरूसँग लड्दै, त्यसका केही सकारात्मक पक्षहरूलाई आत्मसात् गर्दै अघि बढ्नु हो।

मार्क्सले आजको पूँजीवादले प्रकृति र पर्यावरणमाथि आर्जन गरेको विनाशकारी शक्ति देखेका भए, सायद “पूँजीवादलाई आफ्ना सबै सम्भावना प्रयोग गर्न दिनुपर्छ” भन्दा पनि “यसको शक्ति जतिसक्दो छिटो कमजोर पार्न समाजवादी शक्तिहरू सचेत रूपमा सक्रिय हुनुपर्छ” भन्ने तर्फ जोड दिन्थे होला।

उदाहरणका लागि, *समाजवाद उन्मुख* लोकतन्त्रको अवधारणा स्वयं मिश्रित अर्थतन्त्र (mixed economy) को परिणाम हो। यसमा पूँजीवादी उत्पादन प्रणालीको अस्तित्व रहन्छ, तर त्यसलाई समाजवादी सामाजिक स्वार्थअनुसार नियमन र निर्देशित गरिन्छ। निजी उत्पादन प्रणालीलाई सामाजिक उत्तरदायित्वसँग जोडेर अघि बढाउने यही प्रयास हो। समाजवादी शक्तिहरूले यस्तो सचेत र सक्रिय सोच विकास गर्न सके भने, पूँजीवादी शक्तिलाई कसरी सामाजिक हितअनुकूल प्रयोग गर्न सकिन्छ भन्ने दिशामा आन्दोलनलाई अगाडि बढाउन सकिन्छ।

समाज परिवर्तनमा सचेत, सक्रिय र हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने सट्टा यदि हामी तटस्थ दर्शक बनेर बस्यौँ भने, समाजवादतर्फ अग्रसर हुने ऐतिहासिक  जिम्मेवारीबाट हामी स्वयं उम्कन खोजिरहेका छौ  भन्ने निष्कर्षमा पनि पुग्न सकिन्छ।

तर हामी निष्क्रिय भएर “पहिले पूँजीवादलाई आफ्नो काम गर्न दिऔँ, अनि त्यो  पूर्ण विकसित भए पछि मात्र हामी हस्तक्षेप गरौँ” भन्ने दृष्टिकोण अपनाउँछौँ भने, त्यसको परिणाम उल्टो हुन सक्छ। यस्तो अवस्थामा हामी स्वयं सामाजिक रूपान्तरणको प्रक्रियाबाट पछि हट्ने मात्र होइन, पूँजीवादी शक्तिको आयु लम्ब्याउन सहयोग गरिरहेको हुनेछौं ।  समाज परिवर्तनमा सचेत, सक्रिय र हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने सट्टा यदि हामी तटस्थ दर्शक बनेर बस्यौँ भने, समाजवादतर्फ अग्रसर हुने ऐतिहासिक  जिम्मेवारीबाट हामी स्वयं उम्कन खोजिरहेका छौ  भन्ने निष्कर्षमा पनि पुग्न सकिन्छ।

(यो आलेख पूर्व राजदूत एवं बाम बौद्धिक डा. महेश मास्केसँग गरिएको कुराकानीको आधारमा तयार गरिएको हो  । यसमा उठाइएका तथा चर्चा गरिएका विषयवस्तुहरु अहिले रक्षात्मक अवस्थामा पुगेको नेपाली वामवृत्तभित्र गम्भीर छलफल र बहसको एउटा मुद्दा बन्नुपर्छ भन्ने हामीलाई लाग्छ । )

प्रस्तुति: केदार सिटौला, चन्द्र खाकी

(पछिल्लो परिमार्जन र आद्यावधिक: २०८३ वैशाख ३१ गते बिहान ७ बजे)

https://dayitwabodh.com बाट साभार 

No comments:

Post a Comment