पूर्वी युरोपमा लेनिनका सालिक ढालेर कम्युनिस्ट आन्दोलनको विश्वबाटै सफाया भइसकेको सन्देश दिने प्रयास गरियो । यसै वैचारिक अन्योल र कोलाहलबिच मदन भण्डारीले सन् १९९३ मा नेपालका लागि बिर्सजनबादको विरोध र मार्क्सवादको सृजनात्मक प्रयोग गरौँ भन्ने नारका साथ जनताको बहुदलीय जनवाद (जबज) को सैद्धान्तिक खाका प्रस्तुत गरी नेपालमा कम्युनिस्ट आन्दोलन बचाउने प्रयास गरे ।
त्यस भन्दा झन्डै दुई दशक अघिदेखि नै पश्चिमी युरोपका साम्यवादी दलहरूले ‘युरोकम्युनिजम’ को बाटो समाइसकेका थिए । त्यस्तै, नयाँ शहस्राब्दीको सुरुवातसँगै ल्याटिन अमेरिकी महादेशले ‘२१औँ शताब्दीको समाजवाद’ को नयाँ प्रकारको प्रयोग गर्न लागेको थियो । यी तीनवटै वैचारिक परिघटनाको मूलमा उल्लेखनीय समानता छ ।
यी तीनवटै प्रवृत्तिले एकातर्फ आफूलाई मार्क्सवादी धरातलमै टेकेको स्थापित शक्तिका रूपमा पस्कन चाहन्थे भने अर्कातिर सोभियत शैलीको एकदलीय समाजवादबाट कम्युनिस्ट आन्दोलन अघि बढ्न नसक्ने निष्कर्ष निकाल्दै पुँजीवादी संसदीय ढाँचामा ‘शान्तिपूर्ण सङ्क्रमण’ गर्न चाहन्थे ।
यस आलेखमा मदन भण्डारीको ३३औँ स्मृति दिवसको सन्दर्भमा क्रान्तिको वैकल्पिक मोडेलका यी तीन प्रवृत्तिमाथि मार्क्सवादी समीक्षा गरिनेछ ।
युरोकम्युनिजमः ग्राम्सीदेखि सुधारवादसम्म
युरोकम्युनिजम, विशेषगरी सन् १९७० र ८० को दशकमा इटाली, स्पेन र फ्रान्सेली कम्युनिस्ट पार्टीहरू भित्र स्थापित भएको विचारधारा हो । यसले पश्चिमी युरोपको सन्दर्भमा समाजवादी रूपान्तरणको नयाँ सिद्धान्त र व्यवहार विकास गरेको दाबी गर्यो । यसको सैद्धान्तिक जग एन्टोनियो ग्राम्सीको विचारमा निहित मानिन्छ । यसमा उनले वामपन्थी गुटबन्दीको विरोध गर्दै कम्युनिस्ट पार्टीहरूलाई सामाजिक गठबन्धन विस्तार गर्न प्रोत्साहित गरेका थिए ।
मार्क्सवादी दृष्टिले युरो कम्युनिजम एउटा ‘विरोधाभासको बीजगणित’ मात्र बनेर रह्यो । यसले ग्राम्सीको प्रस्तावित साँचो सांस्कृतिक प्रभुत्व र क्रान्तिको जटिल प्रक्रियालाई व्यवहारमा उतार्नै सकेन । परिणामतः उ लेनिनवादी सैद्धान्तिक आधारबाट बिस्तारै चिप्लिँदै गयो ।
मार्क्सवाद–लेनिनवादको कठोर व्याख्या र लोकतन्त्रको ‘पाश्चात्य संसदीय संस्थागत ढाँचा’सँगको पहिचानले गर्दा यो अनिवार्य रूपमा सुधारवादकै अर्को रूपमा परिणत हुन पुग्यो । युरोपका कम्युनिस्टहरूले हिंसात्मक क्रान्तिको सट्टा ‘शान्तिपूर्ण सङ्क्रमण’ को बाटो समाते । अर्थात् सरकारी सत्तामा बहुमत प्राप्त गर्न नियमित निर्वाचनमा सहभागिता जनाउने नीति अपनायो ।
लेनिनवादी ‘सर्वहारा वर्गको अधिनायकत्व’को सट्टा बहुदलीय प्रजातन्त्रलाई केन्द्रबिन्दुमा राखियो । स्पेनका सान्यागो कारिलोदेखि इटालीका एनरिको बर्लिन्ग्विरले यस ‘नयाँ बाटो’लाई सैद्धान्तिकीकरण गर्ने प्रयास गरे । तर यस अभ्यासको सबैभन्दा ठुलो परिणति युरोपेली वामपन्थी राजनीतिको सामाजिक–लोकतान्त्रीकरण मात्र भयो ।
मार्क्सवादी दृष्टिले युरो कम्युनिजम एउटा ‘विरोधाभासको बीजगणित’ मात्र बनेर रह्यो । यसले ग्राम्सीको प्रस्तावित साँचो सांस्कृतिक प्रभुत्व र क्रान्तिको जटिल प्रक्रियालाई व्यवहारमा उतार्नै सकेन । परिणामतः उ लेनिनवादी सैद्धान्तिक आधारबाट बिस्तारै चिप्लिँदै गयो ।
जबजः विकल्प वा दक्षिणपन्थी संशोधनवाद ?
मदन भण्डारीले सन् १९९०को प्रारम्भमा नेपालको कम्युनिस्ट आन्दोलनलाई चुनौतीपूर्ण विश्व परिवेशमा नेतृत्व गर्न जनताको बहुदलीय जनवाद (जबज)को अवधारणा विकास गरेका थिए । यसले मार्क्सवादी वैचारिक मूल्यलाई प्रजातान्त्रिक बहुदलवादसँग मिलाउने लक्ष्य राख्थ्यो ।
एकातिर झापा आन्दोलनबाट नक्सलवाद परम्पराको विरासत बोकेको पार्टीले अर्कोतिर बहुदलीय प्रतिस्पर्धालाई आफ्नो कार्यदिशा बनाउनु नेपाली राजनीतिमै अकल्पनीय तर साहसिक वैचारिक छलाङ थियो । भण्डारी विश्वव्यापी कम्युनिस्ट पतनको मुख्य कारण ‘जनसूत्रवाद’ नै रहेको ठहर गर्छन् ।
यो समाजवाद मार्क्सवादका सिद्धान्त र स्थानीय मूल्य, सांस्कृतिक पहिचान र देखिने सामाजिक न्यायको हस्तक्षेपकारी मोडेलमा आधारित थियो । ह्युगो चाभेजले ‘एउटा पूर्ण नयाँ समाजवाद’को वकालत गरे भने इभो मोरालेसले स्थानीय जनजातीय मूल्य र सामुदायिक अर्थतन्त्रको अवधारणालाई केन्द्रबिन्दुमा राखी ‘सामुदायिक समाजवाद’ को सिद्धान्त अघि सारे ।
शास्त्रीय मार्क्सवादको परिभाषा अनुसार, कठोर वर्गसङ्घर्ष र उत्पादनका साधनको सामाजिकीकरणको बाटो त्यागेर संसदीय संरचनासँगको सम्झौतालाई सिद्धान्तकै रूप दिनुलाई ऐतिहासिक रूपमा ‘संशोधनवाद’ भनिन्छ । वास्तवमा, भण्डारीले सोभियत मोडेलको असफलता, बर्लिन पर्खालको भत्काइ र पञ्चायती व्यवस्थाको अन्त्यलाई अवसरमा बदल्न कम्युनिस्ट पार्टीलाई सामाजिक–प्रजातान्त्रिक दलसँग प्रतिस्पर्धा गरेर अघि बढाउनु पर्ने कुरा अगाडि सारेका थिए ।
तर, मार्क्सवादी समालोचकका लागि प्रश्न के हो भने– के जबजले आफ्नो मार्क्सवादी आधारलाई यति धेरै लचिलो बनायो कि त्यसको क्रान्तिकारी चरित्र नै समाप्त गरी दियो । नेपाली कम्युनिस्ट पार्टी पुँजीवादी प्रणाली भित्रैको नवउदारवादी शक्तिको नियमित खेलाडी बन्न पुग्यो । बहुदलीय प्रणालीलाई बुर्जुवा र पुँजीपतिहरूले क्रान्ति कमजोर बनाउन प्रयोग गर्ने ‘हतियार’ ठान्ने धारणा पार्टीभित्र सशक्त भएकाले उक्त तर्कलाई नेकपा (एमाले)को पाँचौँ महाधिवेशनले खण्डित गर्यो ।
ल्याटिन अमेरिकी आन्दोलन
सन् १९९०को दशकपछि ल्याटिन अमेरिकामा नव–उदारवादी नीतिहरूको विफलता छताछुल्ल भयो । वाशिङ्गटन सहमतिको प्रतिक्रिया स्वरूप यहाँ बृहत वामपन्थी आन्दोलन बेग्लै ढाँचामा उदायो, जसलाई ‘पिङ्क टाइड’ नाम दिइन्छ । यसले चुनावी प्रक्रियाबाटै सत्ता हातमा लिएर भेनेजुएला, बोलिभिया, इक्वेडर र निकारागुआ जस्ता राष्ट्रमा विशिष्ट किसिमको २१औँ शताब्दीको समाजवाद लागू गर्यो ।
यो समाजवाद मार्क्सवादका सिद्धान्त र स्थानीय मूल्य, सांस्कृतिक पहिचान र देखिने सामाजिक न्यायको हस्तक्षेपकारी मोडेलमा आधारित थियो । ह्युगो चाभेजले ‘एउटा पूर्ण नयाँ समाजवाद’को वकालत गरे भने इभो मोरालेसले स्थानीय जनजातीय मूल्य र सामुदायिक अर्थतन्त्रको अवधारणालाई केन्द्रबिन्दुमा राखी ‘सामुदायिक समाजवाद’ को सिद्धान्त अघि सारे ।
तथापि, समालोचकहरूका अनुसार यो व्यवहार प्रायः पूर्वी युरोपेली सोभियत मोडलबाट टाढिए पनि अत्यधिक व्यक्ति केन्द्रित र निकासीवादी उद्योगमै निर्भर रह्यो । र, वितरणको सामाजिक न्यायले उत्पादनको मूल प्रश्नलाई समाधान गर्न सकेन ।
तुलनात्मक विश्लेषण
यी तीनवटै मोडेलहरूको मूलमा एक समान विशेषता रहेको देखिन्छ । मार्क्सवादी शब्दावलीमा पूर्वी युरोपको एकदलीय मोडल र सोभियत साम्राज्यवादप्रतिको असन्तोष र त्यसको विकल्पको खोजी । सबैमा एउटै मान्यता निहित छ– संसदीय प्रजातन्त्र, बहुलवाद र स्वतन्त्र निर्वाचन प्रणाली । मार्क्सवादी राजनीतिको मुख्य आवश्यक घटक हो ।
तर, वर्गीय कोणबाट यी कुनै पनि मोडलले उत्पादनका साधनको सामाजिकीकरणलाई उत्तिकै तीव्रता दिएन, न त पुँजीवादी अर्थतन्त्र र सम्बन्धलाई आमूल रूपान्तरण गर्ने महत्त्वाकाङ्क्षा नै देखायो । भारत र नेपालमा भरखर भएको निर्वाचनको परिणामले र वामपन्थीहरुको पराजयले उक्त तर्कलाई पुष्टि गरेको त छैन ? भन्ने प्रश्नको उत्तर पनि अनुत्तरित नै छ ।
हामीले के कुरा भुल्नु हुँदैन भने नेपालको जबज, युरोकम्युनिजम भन्दा पनि पछि सिर्जित भएको र सोभियत विघटनकै तत्कालीन परिवेशबाट उत्पन्न विचार हो । यसले एउटा तेस्रो विश्वको राष्ट्रिय मुक्ति र विकासका मुद्दालाई जोडेर आफूलाई स्थापित गर्न खोज्यो । ल्याटिन अमेरिकी समाजवाद यी दुईभन्दा स्पष्ट रूपमा सामाजिक आन्दोलन र जनसहभागितामा अझ प्रत्यक्ष सक्रिय देखिन्छ ।
यद्यपि यसको सफलता पनि वस्तुको मूल्य र श्रमको मार्क्सवादी सूत्र परीक्षण गर्ने विन्दुमा पुग्दा विफल हुन्छ । इतिहासले देखाइसकेको छ, पुँजीवादी संसदीय प्रणालीलाई उपकरण बनाएर समाजवादी रूपान्तरण सम्भव छैन भन्ने कुरा जवजले अस्वीकार गर्छ । यी सबै अन्ततः मार्क्सवादको भावनात्मक कुरा गराइमा बाँचेका पुँजी–समर्थक समाजवादकै मोडेल हुन् ।
निष्कर्ष
मदन भण्डारीको जबज, युरो कम्युनिजम र ल्याटिन अमेरिकी समाजवादले एउटै सत्य सिकाउँछ– मार्क्सवादीले सधैँ स्थानीय परिस्थिति र शक्ति सन्तुलनलाई सूक्ष्म ढंगले नियाल्नु पर्छ । तर यी मोडेलहरुको सबैभन्दा ठुलो समस्या के हो भने कम्युनिस्ट आन्दोलनले पुँजीवादी शक्तिसँगको गठबन्धन र संसदीय व्यवस्थालाई मुख्य रणनीति बनाउँदा, उसले क्रमशः आफ्नो मूल साँचो लेनिनवादी हतियारलाई गुमाउँदै जान्छ र समाजको मूलभूत वर्गीय संरचना उस्तै रहन्छ ।
बहुदलीय जनवादको प्रयोगले यदि क्रान्तिकारी नियन्त्रणलाई समाजमा हस्तक्षेपकारी शक्तिका रूपमा अघि बढाई राख्थ्यो भने त्यो साँच्चै ऐतिहासिक हुन्थ्यो । तर व्यवहारमा यो पुँजीवादी विश्वको एउटा अंग बन्न पुग्यो । आजको गम्भीर समीक्षाले पुँजीवादी वैश्वीकरणको अथाह शक्तिशाली पानी जहाजमा चढेर समाजवादको स्वप्न देख्नु भ्रम मात्र हो भन्ने जबज र युरोकम्युनिजम दुवैबाट स्पष्ट छ । यसले बहुदलीय प्रतिस्पर्धा र निर्वाचनलाई एउटै टोकरीमा राखेर हेर्ने दुष्प्रयास गर्छ ।
मदन भण्डारीलाई सम्झना गर्दै के भन्न सकिन्छ भने जबजलाई आजका दिन हिन्दुहरूको बेद, मुस्लिमहरुको कुरान र क्रिश्चियनहरुको बाइबल बनाउने हो भने यसको औचित्य समाप्त हुनेछ ।
उनीहरू कुनै पनि विषयलाई मार्क्सवादी विश्व दृष्टिकोणबाट हेर्नुपर्छ भन्ने मान्यता नै राख्दैनन् । युरोकम्युनिजमले सर्वहारा वर्गको अधिनायकत्वलाई पूर्ण रूपमा अस्वीकार गर्छ भने जबजले मार्क्सवादी लेनिनवादी सिद्धान्तको सृजनात्मक प्रयोगमा जोड दिन्छ । युरोकम्युनिजमले विकसित पुँजीवादी देशमा सिधै समाजवादको कुरा गर्छ तर व्यवहारमा सुधारवाद भन्दा अघि बढ्न सक्दैन । जबज दलाल पुँजीवादी राज्यसत्तालाई ध्वस्त पार्ने आमूल परिवर्तनको कुरा गर्छ र पुँजीवादी राज्यसत्ता भित्रै रमाउँछ । युरोकम्युनिजम शान्तिपूर्ण संसदीय व्यवस्थाको वरिपरि घुम्छ भने जबज बल प्रयोगको कुरा गर्छ ।
अहिले आफूलाई जबजको सच्चा पहरेदार हुँ भन्नेहरुले जबजलाई ठगी खाने भाँडो बनाएका छन् । उनीहरुले जबजमा त्यस्तो अचुक मन्त्र फेला पारेका छन्, जसले उनीहरूको खाई आएको विरासतलाई त्यसले धानिदिएको छ । जडसुत्रवादको विकल्पमा ल्याइएको जबज आफै भित्रको जडसुत्रवादबाट उम्कन सकेको छैन ।
मदन भण्डारीलाई सम्झना गर्दै के भन्न सकिन्छ भने जबजलाई आजका दिन हिन्दुहरूको बेद, मुस्लिमहरुको कुरान र क्रिश्चियनहरुको बाइबल बनाउने हो भने यसको औचित्य समाप्त हुनेछ ।
000
www.ratopati.com बाट साभार

No comments:
Post a Comment