Tuesday, September 1, 2026

बहुदलीय जनवादका सम्बन्धमा - मदन भण्डारी



१. विषय प्रवेश
अहिले देशको क्रान्तिकारी वामपन्थी राजनीतिमा ‘बहुदलीय जनवाद’ विशेष चर्चा जिज्ञासा र छलफलको विषय बनेको छ। सामन्तवाद दलाल नोकरशाही पूँजीवाद र साम्राज्यवादको शासन, शोषणलाई समाप्त पारेर स्थापित गरिने जनताको जनवादी व्यवस्थामा पनि संविधानअनुरुपको शासन हुनुपर्छ। बहुदलीय राजनीतिक प्रतिस्पर्धाको राजनीतिक प्रणली हुनुपर्छ। आवधिक रुपमा आमनिर्वाचन हुनुपर्छ। बहुमत ल्याउनेले सरकार बनाउन पाउनुपर्छ र अल्पमतले विपक्षमा बस्नुपर्छ। जनताको मानव अधिकार, नागरिक अधिकारहरूको रक्षा गर्ने जनवादी कल्याणकारी राज्य व्यवस्थाको स्थापना गर्नुपर्छ। नेकपा (एमाले) ले यी कुराप्रति आफ्नो सैद्धान्तिक तथा राजनीतिक प्रतिवद्धता जाहेर गरेको छ। यस प्रकारको जनताको जनवादी व्यवस्थालाई ‘बहुदलीय जनवाद’को रुपमा प्रस्तुत गरेपछि यो विषय राजनीतिक क्षेत्रमा विवादको केन्द्रविन्दु बनेको छ। दक्षिणपन्थी र वामपन्थी दुवै खाले शक्तिले यस बहसमा भाग लिइरहेका छन्। उग्रदक्षिणपन्थी र उग्रवामपन्थी दुवै कोणबाट अतिवाद ढङ्गले बहुदलीय जनवादको विरोध भइरहेको छ।
बहुदलीय राजनीतिक पद्धतिमा कम्युनिष्टहरूको विश्वासै हुँदैन, तिनीहरू यसलाई अपनाउन नै सक्दैन। कम्युनिष्टहरू एकदलीय अधिनायकत्वको पक्षमा हुन्छन्। एमालेले जनतालाई धोका दिएर सत्ता हात पार्नका निम्ति मात्र यो दाउपेच खेलिरहेको छ भन्ने प्रचार उग्रदक्षिणपन्थी तत्वहरूले गरिरहेका छन् भने बहुदलीय प्रतिस्पर्धाको राजनीतिक पद्धति मार्क्सवादी लेनिनवादसम्मत हुनै सक्दैन, कम्युनिष्टहरूले त्यस्तो पद्धति अपनाउनु हुँदैन, यो त संशोधनवाद हो, पूँजीवादपन्थी विचार हो भनेर उग्रवामपन्थी तत्वहरूले विरोध गर्दैछन्। बहुदलीय जनवाद सामान्यतया परम्परागत विश्व कम्युनिष्ट आन्दोलनका परिप्रेक्ष्यमा कतिपय महत्वपूर्ण सन्दर्भबाट नयाँ र विकासित अवधारणा पनि सैद्धान्तिक तहबाट अहिले यसको पर्याप्त व्याख्या विश्लेषक नभइसकेको हुनाले कतिपय इमान्दार क्रान्तिकारी वामपन्थीहरूलाई पनि अहिले यस सवालमा केही भ्रम रहेको हुन सक्छ। औसरवादी तत्वहरूले त भ्रम फैलाउनका निम्ति यथासम्भव कोशिस गरिरहेकै पनि छन्।
सामन्ती निरङ्कुशतावादी निर्दलीय पद्धतिलाई समाप्त गरेर अहिले देशमा बहुदलीय राजनीतिक पद्धति स्थापित भएको छ। त्यसकारण वर्तमान राजनीतिक व्यवस्था र बहुदलीय जनवादमा कुनै भिन्नता छैन भन्ने चिन्तनबाट समेत भ्रमहरू उत्पन्न भएका हुन सक्छन्। बहुदलीय जनवाद आर्थिक सामाजिक पद्धति होइन, राजनीतिक पद्धति मात्र हो र नयाँ जनवाद चाहिँ आर्थिक सामाजिक पद्धति हो भन्ने सोंचाइका आधारमा पनि भ्रमहरू उत्पन्न भएका हुन सक्छन्। बहुदलीय जनवाद राजनीतिक पद्धति मात्र भएको हुनाले र अहिले पनि छ भन्ने निष्कर्ष कसैले बनाएको हुन सक्छ। त्यसकारण बहुदलीय जनवादका सम्बन्धमा उत्पन्न केही भ्रम र विरोधहरलाई खण्डन गर्नु जरुरी पनि भएको छ। यद्यपि बहुदलीय जनवादका प्रसङ्गमा अहिले क्रान्तिको बाटो र सङ्घर्षको रुप र तरीकाहरूको प्रश्न पनि उठाइएको छ। त्यसरी नै अधिनायकत्वको प्रश्न र समाजवादमा सङ्क्रमण गर्ने प्रश्न पनि उठाइएको छ। यी विषयहरू स्वाभाविक रुपमा सम्बन्धित भए पनि तिनीहरूको आवश्यक चर्चा अरु कुनै बेला गरौंला। यहाँ हामीले अघि सारेको बहुदलीय जनवाद आफैमा कस्तो व्यवस्था हो भन्ने सम्बन्धमा मात्र विचार प्रस्तुत गर्न सकिन्छ।
मार्क्र्सवाद लेनिनवादलाई जडसुत्रको रुपमा ग्रहण गर्ने र गतिशील रचनात्मक विचार विज्ञानको रुपमा ग्रहण गर्ने दुई वटा फरक फरक शैली र दृष्टिकोणहरू छन्। इमान्दार क्रान्तिकारी कम्युनिष्टहरूले अपनाउने दृष्टिकोण पहिले होइन, दोस्रो हो। प्रस्तुत विषयको विश्लेषण गर्न र बुझ्न पनि हामीलाले यही दृष्टिकोण अपनाउनु पर्छ।
२. जनवाद
जनवाद भनेको मूलतः आर्थिक सामाजिक पद्धतिको नाम हो कि राजनीतिक पद्धतिको नाम हो ? जनवादलाई प्रमुख रुपमा आर्थिक, सामाजिक कोणबाट व्याख्या गर्ने कि राजनीतिक कोणबाट ? यस विषयलाई सम्भवतः यसरी पहिला कहिल्यै पनि प्रस्तुत नगरिएको हुन सक्छ। तर, पनि यो आवश्यक छ कि जनवाद मूलतः कुन पद्धति हो ? ऐतिहासिक भौतिकवादले अर्थतन्त्र र राजनीतिको घनिष्टतम् अन्तर्सम्बन्धबारे पर्याप्त व्याख्या गरेको छ र त्यसको सत्यता प्रमाणित पनि भइसकेको छ। राजनीतिक अर्थतन्त्रकै केन्द्रित अभिव्यक्ति हो र त्यो आर्थिक पद्धतिमै आधारित पनि हुन्छ। तर, त्यसले अर्थतन्त्रको विकासमा ठोस प्रभावित पनि पार्छ। यसरी राजनीति र अर्थतन्त्रको बीचमा पारस्परिक अन्तरक्रिया हुन्छ। कुनै पनि समाज व्यवस्थाका निम्ति आर्थिक पद्धति अर्थात् उत्पादन पद्धतिले आधारको काम गर्छ भने राजनीतिमा त्यो केन्द्रित भएर अभिव्यक्त हुन्छ। यसका आधारमा जनवादको राजनीति र अर्थतन्त्र दुवै पक्षसँग घनिष्ट अन्तर्सम्बन्ध रहेको हुन्छ भन्ने कुरा स्पष्ट छ। यो राजनीति र अर्थतन्त्रको एकताको पक्ष हो। तर, यसमा भिन्नताको पक्ष पनि छ। जब हामी सम्पूर्णतालाई ख्याल गर्दै भिन्नताको पक्षबाट पनि चर्चा चलाउन चाहन्छौं भने जनवाद मूल रुपमा आर्थिक पद्धतिको नाम होइन, राजनीतिक पद्धतिको नाम हो भन्ने कुरा छर्लङ्ग हुन्छ। जनवाद मूलतः राजनीतिको नाम हो, समाजको माथिल्लो ढाँचा हो। त्यसको आधार होइन, अधिरचना हो। समाजमा राजनीति गर्ने स्वतन्त्रता कसलाई उपलब्ध छ, राज्यको सञ्चालन कसको हातमा छ र राजकीय मामिलाहरूको अन्तिम फैसला कसले गर्छ भन्ने राजनीतिक पद्धतिसँग सम्बन्धित विषय हो।
आम रुपमा राजनीतिमा दुईवटा पद्धति ज्ञात छन्। एउटा निरङ्कुशतावादी र अर्को जनवादी यद्यपि विशेष स्थितिमा यी दुवै वटा अनेक रुप र अभिव्यक्तिहरू हुन सक्छन्। व्यक्ति, वंश वा गुटको तानाशाही भएको राजतन्त्र, सैनिक तानाशाही वा एकदलीय तानाशाही जस्ता निरङ्कुशतावादी पद्धतिका अनेक रुप सक्छन् भने जनवादी राजनीतिक पद्धतिको पनि ऐतिहासिक विकासक्रमसहित स्वरुपमा विविधता रहेको छ। एकदलीय द्विदलीय वा बहुदलीय जनवादी पद्धति हुन सक्छन्। राज्यसत्ता राजनीतिको केन्द्रविन्दु हो र आफै अरु वर्गलाई अधीनमा राख्ने र उत्पीडन गर्ने साधनको रुपमा रहँदै आएको छ। व्यक्ति वंश वा अल्पमतको गुट तथा वर्गको उत्पीडनकारी शासन, शोषणको विरुद्ध त्यस बेलादेखि नै जनताले जीवनको अधिकारका निम्ति दमनका विरुद्ध बहुमतको अधिकारका निम्ति इतिहासमा गरिएका पुराना सङ्घर्षहरू जनवादका पूर्वरुप हुन् र त्यसका अतीत पनि हुन्। दास स्वामित्वको युगदेखि सामन्ती युगसम्म व्यक्ति, वंश वा गुटको निरङ्कुशतावादी समाज वर्गमा विभाजन भएर शोषक र शोषित वर्गको उदय भएपछि र अझ शोषक वर्गभित्रै पनि अभिजात्य तत्वहरूको समाज अधिकारका निम्ति पनि सङ्घर्षहरू भएका छन्। जनवादको ऐतिहासिक विकासक्रमलाई सङ्केत गर्दै लेनिनले सामन्ती अभिजात्य जनवाद, पूँजीवादी जनवादबारे विश्लेषण गर्नुभएको छ। समाजवादी जनवादका बारेमा पनि राजनीतिक साहित्यमा आजसम्म पर्याप्त प्रकाश पुगिसकेको छ। जनवादसम्बन्धी अवधारण र प्रयोग लगातार विकास परिमार्जन र प्रगति भइरहेको छ। यो कुनै गति र परिवर्तन बिनाको जड विषय होइन।
अन्तिम निष्कर्षमा जनवाद भनेको कुनै पनि किसिमको निरङ्कुशतावादी एकाधिकारवादको विरुद्ध आम जनताको पूर्ण अधिकार स्थापना गर्ने, राजनीति र सत्तामा जनतालाई अन्तिम रुपमा निर्णयक तत्व बनाउने र जनतालाई नै देशको सार्वभौमिकताको एक मात्र वास्तविक मामिला बनाउने व्यवस्थाको कुरा हो। उत्पादन पद्धतिको विकास र समाजको भौतिक उत्पादनका आर्थिक क्रियाकलापहरूका विकासका साथसाथै जनताको परिभाषा र भूमिका पनि विकसित हुन्छ। जनवादको स्वरुप र अन्तर्वस्तुमा पनि विकास हुन्छ। यसले के जाहेर गर्छ भने जनवाद मूल रुपमा राजनीतिक पद्धतिको विषय हो। तर, जनतालाई आर्थिक सामाजिक शोषणबाट पूर्ण मुक्तिको अधिकार बिना जनवाद निरर्थक विषय हुन्छ। वर्गीय सारत्व बिनाको जनवाद खोक्रो शब्दावली मात्र हो। खोक्रो शब्दावलीको निरर्थक प्रयोग जनतालाई छलछाम गर्ने र राजनीतिक ठगी गर्ने विषय बन्न सक्छ। जनतालाई अधिकार सम्पन र निर्णयक बनाउन हुन सक्दैन। यसबाट के स्पष्ट हुन्छ भने जनताको मुक्तिको आर्थिक अधिकार बिना जनवाद सार्थक, सही र वास्तविक हुन सक्दैन। तर, पनि जनवादलाई जुनसुकै युगमा पनि मूल रुपमा राजनीतिक पद्धतिको स्थापना गर्ने क्रममा नै जनवादले ठोस लक्षणहरू सहित ग्रहण गरेको हो, अहिले त्यसमा धेरै विकास भइसकेको छ।
३. पुरानो जनवाद
साम्राज्यवाद र सर्वहारा क्रान्तिको नयाँ युगमा आएर जनवादलाई विश्वव्यापी रुपमा नयाँ र पुरानो भन्ने विभाजन गर्नुपर्ने आवश्यकता र स्थिति उत्पन्न भयो, जसलाई पुरानो जनवाद भनिन्छ। त्यो पनि जनताका आर्थिक अधिकारसहितको जनवाद थियो र एक अर्थमा त्यो वास्तविक जनवाद नै थियो। त्यो पुरानो पूँजीवादी विश्वक्रान्तिको जमानाको जनवाद थियो। राजतन्त्र, एकतन्त्र र सामन्तवादलाई उन्मुलन गर्ने क्रममा स्थापित भएको जनवाद थियो। त्यसले सामन्ती उत्पादन पद्धतिलाई नष्ट गरेर पूँजीवादी उत्पादन पद्धतिको स्थापना गर्यो। सामन्ती निरङ्कुशतावादको स्थानमा पूँजीवादी जनवादको स्थापना गर्यो। त्यसले आधुनिक राष्ट्रहरूको निर्माण गर्यो। त्यो पुरानो जमाना थियो। जति बेला पूँजीपति वर्ग र अन्य सम्पूर्ण श्रमजीवी जनताहरू संश्रयकारी शक्तिको रुपमा अर्कोतिर पंक्तिवद्ध भएर वर्गीय तथा राजनीतिक शक्ति सन्तुलन तयार भएको थियो। पूँजीपति वर्गले परिर्वतनको नेताको रुपमा भूमिका खेलिरहेको थियो भने श्रमजीवी जनताहरू सहकर्मी सहयोगको रुपमा भूमिका खेलिरहेका थिए। सामन्ती शोषणबाट किसानहरूलाई मुक्त गर्न जमिन जोत्नेको नारा दिइएको थियो। सामन्ती भूस्वामित्वलाई अन्त्य गरी भूमिमा क्रान्तिकारी सुधार परिवर्तन गर्ने लक्ष्य लिइएको थियो। राजतन्त्र र सामन्तवादका विरुद्ध जनवादको निम्ति सङ्घर्ष गर्दा त्यस बेला एक हदसम्म वास्तविक जनवादलाई नै अघि सारिएको थियो र त्यो पूँजीवादी जनवाद थियो। त्यो जमाना प्रतियोगी पूँजीवादको जमाना थियो। किसानहरू र आमजनताको क्रयशक्ति बढाएर नै पूँजीपति वर्गको विकास हुन सक्थ्यो र उसले बढी मुनाफा पनि जम्मा गर्न सक्थ्यो। त्यसकारण पुरानो जनवाद पनि एक हदसम्म आर्थिक अधिकारसहितको जनवाद थियो। तर, त्यो जनवादी क्रान्तिका सकारात्मक शक्तिहरूमा पूँजीपति वर्ग नेता थियो र त्यसले आफ्नो नेतृत्वमा पूँजीवादी राज्य र पूँजीवादी अधिनायत्वको स्थापना गर्यो।
राज्यसत्ता एकलौटी रुपमा आफ्नो हातमा कब्जा गरेर पूँजीपति वर्गले आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक सबै क्षेत्रमा अझ बढी प्रभावशाली रुपमा सुसङ्गठित हुने र विकास गर्ने मौका पायो। स्वतन्त्र होडबाजीकै क्रमबाट एकाधिकार पूजीपतिहरूको गुटले स–साना पूँजीपतिहरूलाई नियन्त्रण गर्न र निल्न थाल्यो। राज्यसत्तामा पनि तिनीहरूकै एकाधिकावादी कब्जा बढ्दै गयो। मजदुर वर्गले पनि स्वतन्त्र रुपमा सङ्गठित भएर पूँजीवादी शासन र शोषणका विरुद्ध सङ्घर्ष गर्नु अपरिहार्य भयो। ठूलो पूँजीपतिवर्गको एकाधिकारवादी शासनमा आम जनवाद केवल औपचारिक पुरा गर्ने खोक्रो शब्दावलीमा परिणत हुँदै गयो। यसरी पुरानो जनवाद पूँजीपति वर्गको नेतृत्व र अधिनायकत्वमा आम जनताका निम्ति औपचारिक जनवाद बन्न पुग्यो। वास्तविक जनवादका निम्ति जनता स्वयं अघि सरेर सङ्घर्षद्वारा विजय प्राप्त गर्नु अनिवार्य भयो।
पुरानो जनवादी स्वयं नै एकाधिकार पूँजीवाद, साम्राज्यवाद र फासीवाद होइन, जनवाद नै फासीवादमा परिणत भएको पनि होइन। क्रान्तिका फलहरूमाथि पूँजीपति वर्गले एकलौटी कब्जा गरी यो क्रमशः पूँजीपति वर्ग एकाधिकारवादी साम्राज्यवादी र फासीवाद बन्यो। पुरानो जनवादमा सकारात्मक भूमिका खेल्ने वर्ग र राजनीतिक शक्तिहरूको चरित्र र भूमिकामा परिवर्तन आयो। पुरानो जनवादको राजनीतिक बनावट (composition) बदलियो। पूँजीपति वर्ग जनताको मित्रबाट बदलिएर शत्रु बन्यो। जनवादी क्रान्तिद्वारा स्थापित पूँजीवादी राज्यको आम जनतामाथि घोर दमन र उत्पीडन गर्न थाल्यो। त्यसकारण पुरानो जनवाद फासीवादमा बदलिएको होइन, पूँजीपति वर्गले जनवाद छोडेर औपचारिकतावादी हुँदै फासीवाद अवलम्बन गरेको हो। जनताको संश्रयकारी शक्तिको रुपमा रहेको पूँजीपति वर्ग पछि फर्किएर सामन्त वर्गसँग संश्रय कायम गर्न थाल्यो। जनताको जनवादको शत्रुका रुपमा परिणत भयो। यसरी पूँजीपति वर्गको प्रगतिशीलता समाप्त भयो, भूमिका फेरियो र वर्गीय तथा राजनीतिक शक्तिहरूको सन्तुलनमा हेरफेर भयो। यसरी पुरानो जनवाद पूँजीवादी विश्व क्रान्तिको कालको, पूँजीपति वर्ग जनताको मित्रशक्ति र नेता भएको बेलाको, त्यसले प्रगतिशील भूमिका खेलिरहेको बेलाको जनवाद हो। अहिले सर्वहारा समाजवादी विश्व क्रान्तिको बेला, पूँजीपतिवर्ग प्रतिगामी र जनताको शत्रु भएको बेलामा जनवादका शत्रुमित्रहरू र वर्ग तथा राजनीतिक शक्तिहरूको भूमिकामा हेरफेर भएको छ। जनवादी क्रान्तिको परिवेश र स्थिति नयाँ बनेको छ। अब विश्व पूँजीवाद जनताको वास्तविक जनवादको पक्षमा रहेको छैन।
मजदूर वर्गले आफ्नो मुक्ति र समृद्धि आफ्नै हातले निर्माण गर्नुपर्छ। आम जनताले आफ्नो निम्ति जनवाद आफ्नै हातले स्थापना गर्नुपर्छ। आम जनताको निम्ति वास्तविक जनवाद बिना मजदूर सर्वहारा श्रमजीवी जनताको निम्ति मुक्ति र समृद्धिको परिस्थति तयार गर्ने पनि अर्को कुनै बाटो छैन। त्यसकारण आम जनताको जनवादको निम्ति मजदुर वर्गले अग्रिम मोर्चामा उभिएर दृढतापूर्वक सङ्घर्ष गर्नु अनिवार्य भयो। मजदुर वर्गको नेतृत्वमा आम जनताको स्थिति तयार गर्नुबाहेक अर्को विकल्प रहेन। त्यसकारण जनवादलाई पनि नयाँ र पुरानोमा वर्गीकरण गर्नुपर्ने आवश्यकता उत्पन्न भएको हो।
नयाँ जनवाद
एकाधिकार पूँजीवादको उदय भएदेखि नै पूँजीपति वर्ग आम जनताको शत्रु बनिरहेको थियो। त्यसका विरुद्ध सर्वहारावादी स्वतन्त्र राजनीतिक शक्तिको निर्माण गरी वर्गसङ्घर्ष पनि तीब्र बनिरहेको थियो। सोभियत समाजवादी क्रान्तिको सफलतासँगै विश्वव्यापी रुपमा साम्राज्यवाद र सर्वहारा क्रान्तिको नयाँ युगको शुरुवात भयो। त्यसले विश्वव्यापी रुपमा वर्ग, राजनीतिक शक्ति र राष्ट्रहरूलाई ध्रुवीकरण गर्ने काम ग¥यो। विश्वव्यापी रुपमा न्यायका शक्तिहरू समाजवादको पक्षमा र अन्यायका शक्तिहरू साम्राज्यवादको पक्षमा उभिए। सामन्तवाद र एकतन्त्रलाई उन्मुलन गर्ने र पूँजीवादी जनवादको स्थापना गर्ने सामाजिक क्रान्तिको कार्यभार पुरा गरिरहेको पछौटे मुलूकका न्याय र क्रान्तिका शक्तिहरूले पनि साम्राज्यवादका विरुद्ध समाजवादको पक्षमा उभिनु अनिवार्य भयो। त्यस्ता देशका सामन्ती निरङ्कुशवादी तत्वहरू र वैदेशिक पूँजीवादका दलालहरू समाजवादका विरुद्ध साम्राज्यवादको सेवा र तावेदारीमा हाजिर भए। यसरी आजको नयाँ युगको जनवाद पहिलाको जस्तो सामन्तवाद विरोधी मात्र होइन, साम्राज्यवादको समेत विरोधी जनवाद हो।
सामन्ती निरङ्कुशतावादी र एकतन्त्रलाई समाप्त पार्ने एतिहासिक कार्यभार साम्राज्यवादको शोषण उत्पीडनलाई समाप्त पारी राष्ट्रको स्वाधिनता हासिल गर्ने कार्यभारसँग घनिष्ट रुपले गाँसिएको छ। त्यसकारण यस्तो क्रान्तिको नेतृत्व मजदुर सर्वहारा श्रमजीवी वर्गबाट हुनु अनिवार्य भएको छ र त्यसैको नेतृत्वमा आम जनताले जनवादको निम्ति सङ्घर्षमा अघि बढ्नु अनिवार्य भएको छ। विश्व पूँजीवाद सामन्तवादको संश्रयकारी भएको छ। अब त्यसले सामन्ती भू–स्वामित्वका विरुद्ध जोत्नेलाई जमिनको नारा दिएर क्रान्तिकारी भूमिसुधारको पक्षपोषण गर्न सक्दैन। अहिले पूँजीपति बढी उदार भएको खण्डमा त्यसले औपचारिक जनवादसम्मलाई समर्थन गर्दैन। सामन्तवाद र साम्राज्यवाद एकतावद्ध भएका छन्। जनता र राष्ट्रको शोषण उत्पीडन गर्ने र दासत्व र पराधिनको खाल्टोमा हाल्ने यिनीहरू नै हुन्। त्यसकारण सामान्तवाद साम्राज्यवादको अन्त्य नगरी न त सामाजिक मुक्ति सम्भव छ, न राष्ट्रको स्वाधीनताबिना जनताको वास्तविक जनवादको कल्पनासम्म पनि गर्न सकिन्न।
युग फेरिएको, वर्गीय राजनीतिक तथा सामाजिक शक्तिहरूको भूमिका फेरिएको, साम्राज्यवाद विश्वका जनता र साना कमजोर राष्ट्रको शत्रु र समाजवाद न्यायप्रेमी विश्व जनता र राष्ट्रको मात्र भएको यही पृष्ठभूमिमा जनवादलाई पनि पुरानो र नयाँ परिप्रेक्ष्यबाट व्याख्या गरिएको छ। यही सन्दर्भमा जनवादलाई नयाँ जनवादका रुपमा व्याख्या गरिएको छ। वास्तवमा पुरानो जनवाद र नयाँ जनवाद बीचका भिन्नताहरू के–के हुन्। यी दुईबीचको समानता र भिन्नताबारे ठोस रुपमा ध्यान नदिएर पनि कतिपय व्यक्तिहरूमा भ्रम परेको हुन सक्छ। नयाँ जनवाद भिन्नै उत्पादन पद्धति र सामाजिक आर्थिक ढाँचा भएको नयाँ विषय हो भन्ने परेको हुन सक्छ। यसलाई ख्याल गर्दै यहाँ केही समानता र भिन्नताबारे चर्चा गर्नु राम्रो हुनेछ।
सामन्तवादलाई उन्मुलन गर्ने, राजतन्त्र, कुनै पनि प्रकारको एकतन्त्र र अनिर्वाचित सत्तालाई अन्त्य गर्ने सामन्ती भू–स्वामित्वको अन्त्य गरी जोत्ने किसानलाई जमिनको मालिक बनाउने लक्ष्य कार्यभारहरू पहिला र अहिले पनि समान छन्। भिन्नताको पक्षलाई हेर्ने हो भने पहिला पूँजीवादी विश्व क्रान्तिको युग थियो। अहिले सर्वहारा समाजवादी क्रान्तिको युग छ। पहिला पूँजीपति वर्ग जनताको पक्षमा थियो र क्रान्तिको नेता थियो, अहिले विपक्षमा छ र शत्रु बनेको छ। पहिला मजदूर सर्वहारावर्ग सहयोगीको रुपमा थियो अहिले नेताको स्थितिमा छ। पहिला साम्राज्यवादको उदय भएको थिएन, बरु पूँजीवादी क्रान्तिले आधुनिक राष्ट्रहरूको निर्माण गरिरहेको थियो, अहिले साम्राज्यवाद छ। र, पछौटे र कमजोर राष्ट्रहरूलाई प्रत्यक्ष वा परोक्ष रुपमा कब्जा गरिरहेको छ। पहिला पूँजीपति वर्ग र जनतामा एकता थियो सामन्त वर्गसँग शत्रुता थियो अहिले पूँजीपति र सामन्त वर्गबीच एकता छ। पहिला समाजवाद अस्तित्वमा थिएन, अहिले अस्तित्वमा छ र जनवादी आन्दोलनको अन्तर्राष्ट्रिय मित्रको रुपमा छ। पहिला दलाल पूँजीवाद थिएन, अहिले छ र त्यसले राष्ट्रिय पूँजीवादको विकासमा बाधा दिइरहेको छ। यसरी पहिला र अहिले युगमा, वर्गीय, राजनीति सामाजिक शक्तिको भूमिकामा, क्रान्तिका शत्रु र मित्रहरूमा भिन्नता छ। तर, कतिपय सवालमा समानता पनि छ। समानताको पक्षको क्रान्तिको आधारभूत चरित्र पूँजीवादी जनवाद नै हो भन्ने कुरालाई स्पष्ट पार्छ भने भिन्नताको पक्षले नयाँ युग र नयाँ परिवेशमा त्यो क्रान्ति सम्पन्न गर्नुपर्छ भन्ने कुरालाई जाहेर गर्छ।
पुरानो जनवाद पूँजीपति वर्गको नेतृत्व भएको पूँजीवादी राज्यअन्तर्गत थियो भने नयाँ जनवाद मजदुर सर्वहारा श्रमजीवी जनताको नेतृत्व भएको आम जनताको संयुक्त राज्यअन्तर्गत रहने छ। पहिलाको जनवाद सामाजिक चरित्रको हिसाबले मात्र परिचित थियो भने अहिलेको जनवाद राष्ट्रिय चरित्रको हिसाबले पनि परिचित छ। पुरानो जनवाद साम्राज्यवाद विरोधी र समाजवाद समर्थ थिएन, अहिलेको जनवाद साम्राज्यवाद विरोधी र समाजवादको समर्थन मात्र होइन, समाजवादमा सङ्क्रमण गर्ने लक्ष्य लिएको छ। यस्ता अनेकौं समानता र भिन्नताका पक्षहरूको विश्लेषणबाट के निष्कर्ष देखिन्छ भने नयाँ र पुरानो जनवादबीचको भिन्नता राजनीतिक विषयसँग सम्बन्धित छ। आर्थिक सामाजिक पद्धति उत्पादन पद्धतिकै हिसाबले भने भिन्न होइन। यद्यपि साम्राज्यवाद, वैदेशिक एकाधिकार पूँजीवाद र दलाल पूँजीवादका शोषण उत्पीडन र एकाधिकारवादी कारोबारलाई समाप्त पारेर खासखास महत्वपूर्ण क्षेत्रमा राजकीय स्वामित्वको स्थापना गरिन्छ। तर, त्यसले क्रान्तिको आधारभूत उत्पादन पद्धतिलाई नै हेरफर गर्ने काम गर्दैन। नयाँ जनवादी समाज व्यवस्थाको आधारभूत उत्पादन पद्धतिमा पूरानो जनवाद खडा भएको थियो, नयाँ जनवादको आधारभूत पद्धति पनि त्यही नै हो। तर, त्यो समाजलाई सञ्चालन नियन्त्रण नेतृत्व गर्ने वर्ग, राजनीतिक शक्ति र राज्य भने निश्चित रुपमा फरक हुनेछन्। यो भिन्नता मुल रुपले राजनीतिक भिन्नता नै हो।
जनताले देशको राजनीति, राज्यसत्ता र सार्वहारा तथा राजकीय मामिलाहरूमा अन्तिम एवं निर्णयक फैसला गर्न पाउनुपर्छ। देशको सार्वभौमिकताको वास्तविक मामिलाको रुपमा जनताले भूमिका खेल्न पाउनुपर्छ। जनतालाई यो भूमिकामा पूर्ण क्षमताका साथ उतार्नका निम्ति समान्तवाद, दलाल, नोकरशाही पूँजीवाद र साम्राज्यवादको शोषण उत्पीडनलाई समाप्त पार्नुपर्छ। युग समय र परिस्थितिका आधारमा बदलिएको राजनीतिक विषयहरूलाई ठीक ढङ्गले बुझेर मात्र जनताको जनवादी क्रान्तिलाई ठीक ढङ्गले निर्देशित गर्न र त्यसमा भाग लिन सकिन्छ।
५. बहुदलीय जनवाद
हामी जनताको जनवादलाई बहुदलीय जनवाद पनि भनिरहेका छौं। हामीले अघि सारेको जनवाद नयाँ युग र परिस्थितिका अनिवार्य विशेषताहरूका साथमा कायम गरिने नयाँ जनवाद नै हो। तर, यसमा केही नयाँ अनेकौं ठाउँमा प्रयोग गरिएको नयाँ जनवाद भन्दा कतिपय भिन्न रुप तरीका र नीतिहरू हामीले समावेश गरेका छौं। तर, त्यसको सैद्धान्तिक र वस्तुगत आधार भने उही नै छ। सामन्तवाद दलाल नोकरशाही पूँजीवाद र साम्राज्यवादको शासन, शोषणलाई समाप्त पारेर पनि जनवादी समाजमा वर्गहरू रहन्छन्। प्रतिगामी पुनरुत्थानवादी तत्वहरूलाई प्रतिबन्धित गरेर पनि समाजमा विद्यमान अरु विचार विविधताहरू कायम नै रहन्छन्। विभिन्न ठाउँमा प्रयोग भएको नयाँ जनवादमा विभिन्न राजनीतिक पार्टीहरू र विचारका विविधताहरूलाई कम्युनिष्ट पार्टी र सरकारको सहयोगीको रुपमा त स्वीकार गरियो। तर, वैधानिक रुपमा विपक्षको औसर दिइएन। एकता र सहयोग बल प्रयोग गरेर वा अन्य बाटाहरू थुनेर निषेध गरेर करकापले होइन, स्वेच्छा जगाएर मन जितेर गरिनुपर्छ। विरोध गर्ने अधिकार दिएर मात्र साँचो समर्थन प्राप्त गर्न सकिन्छ, फुट्ने छुट दिएर मात्र साँचो एकता प्राप्त गर्न सकिन्छ। हामी जनवादी व्यस्थामा विपक्षको वैधानिक अस्तित्व कायम गर्न चाहन्छौं। यसका निम्ति बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली, स्वतन्त्र निर्वाचन बहुमतको सरकार र अल्पमतको विपक्षलाई संवैधानिक रुपमा संस्थागत गर्न चाहन्छौं। निश्चित रुपमा आजसम्मको नयाँ जनवादको प्रयोग यो नयाँ विषय हो।
हाम्रो यही कुरालाई लिएर विभिन्न शङ्का, विरोध र आरोपहरू उरालिएका छन्। उग्रदक्षिणपन्थीहरूले लगाएको आरोपको सारतत्व हाम्रो वर्गीय दृष्टिकोण, अडान र चिन्तनमाथि प्रहार हो। वर्गसङ्घर्ष वर्गीय राज्य र वर्गीय नेतृत्व सम्बन्धित हाम्रो अडान नरहोस् र बुर्जुवाहरूको जस्तो जनतालाई ढाट्नका निम्ति अवगीय राज्य वा शोषण र शोषित सबैको साझा र पवित्र राज्यको समर्थनमा आउन् भन्ने चाहन्छन्। यसकै आधारमा तिनीहरू कम्युनिष्टहरू बहुदलीय पद्धतिमा विश्वास गर्दैनन्, एकदलीय अधिनायकत्व कायम गर्छन् भनेर प्रचार गरिरहेका छन्।
जब जनवादी समाजमा अनेक वर्गहरूको अस्तित्वप्रति कम्युनिष्टहरू स्पष्ट छन् र त्यसलाई समर्थन गर्छन् भने भिन्नभिन्नै वर्ग र समूहहरूका विचारहरू अलग अलग हुन सक्छन् भन्ने कुराप्रति अविश्वास गर्ने प्रश्नै उठ्दैन। त्यस्ता विचारहरूका बीचमा सङ्गठित ढङ्गले स्वस्थ प्रतिस्पर्धा हुन दिनुपर्छ भन्ने कुराप्रति बुर्जुवाहरूभन्दा कम्युनिष्टहरू नै बढी प्रतिवद्ध छन्। तर, यसको नाममा प्रतिगामी पुनरुत्थानवादी तत्वहरूलाई मनपरी गर्न छुट दिनुपर्छ भन्ने मान्यता हुन सक्दैन र त्यो जनवाद पनि होइन। उग्रवामपन्थीहरू बहुदलीय प्रतिस्पर्धाको पद्धति कम्युनिष्टको होइन, पूँजीवादपन्थीहरूको हो भन्ने प्रचार गर्दैछन्। यसो भनेर साँच्चै उनीहरू एकदलीय अधिनायकवादका पक्षमा उभिएका छन् र मार्क्र्सवादको झण्डा उठाएर त्यसको विरोेध गरिरहेका छन्। तिनीहरू अनुभवबाट कुनै शिक्षा लिन चाहँदैनन्। नयाँ समस्या र आवश्यकताहरू पुरा गर्न रचनात्मक ढङ्गले अघि बढ्न चाहँदैनन्। देश, काल परिस्थितिको सीमाभित्र प्रयोग भएका सापेक्ष कुराहरूलाई निरपेक्ष, शाश्वत र सार्वभौम बनाउन चाहन्छन्।
मार्क्र्सवादले न त कहीं एकदलीयताको सिफारिस गरेको छ न समर्थन गरेको छ। उग्रवामपन्थी जडसुत्रवाद मार्क्र्सवादको नाममा त्यसलाई विकृत र कमाजोर बनाउने सबैभन्दा निन्दनीय तरीका हो। जनवादलाई यदि त्यसको वास्तविक अर्थमा लिन हो भने त्यो जनतालाई सर्वोपरि तत्व बनाउने राजनीतिको अन्तरर्वस्तु हो। त्यो जनवादमा बहुदल, दुईदल वा एकदल के छ भन्ने कुरा त्यसको स्वरुपको पक्ष हो। एकदल हुँदा त्यहाँ जनवाद हुँदैन र बहुदल हुनासाथ जनवाद भइहाल्छ भन्ने ठान्नु गलत सोंचाइ हो। जनताले वास्तविक रुपमा र निर्वाध ढङ्गले राजनीतिमा राज्यसत्तमा र राजकीय मामिलाहरूमा निर्णायक भूमिका खेल्न पाएका छन् कि छैनन्, देशको सार्वभौमिकता वास्तविक मालिक हुन पाएका छन् कि छैनन् भन्ने कुरा नै जनवादको निर्णयकत्व हो। आर्थिक सामाजिक शोषणबाट पूर्ण मुक्तिको अधिकार बिना जनताले त्यस्तो भूमिका खेल्न सक्दैनन्। राजनीतिक दलहरू जनतालाई निर्णायक राजनीतिक भूमिकामा उतार्ने माध्यम र महत्वपूर्ण तत्व हुन्। तर, जनवादको सबैथोक भने होइन।
एकदलीयता भए पनि यदि जनताले त्यस्तो भूमिका खेल्न पाएका छन् भने त्यहाँ जनवाद छैन भन्नु गलत हुन्छ। के ७४ वर्षसम्म सोभियत सङ्घमा जनवाद थिएन ? के चीन, कोरिया, भियतनाम र क्युबामा अहिलेसम्म पनि जनवाद छैन। यथार्थलाई सम्मान गर्नेले यसको नकारात्मक जवाफ दिन सक्दैनन्। एक दलीयता हुँदा वा बहुदलीय प्रतिस्पर्धा नहुँदा पनि जनवाद हुनसक्छ भन्ने कुराको यो राम्रो उदारण हो। अर्कोतिर के भारतमा साँचो अर्थमा जनवाद छ ? भारतीय जनताले त्यहाँको राजनीतिमा वास्तविक रुपमा र निणर्यक ढङ्गले भाग लिन पाएका छन्। भारतको वास्तविक मालिकको रुपमा त्यहाँका आम जनताले भूमिका खेल्न पाएका छन् ? यथार्थलाई सम्मान गर्नेले यसको सकारात्मक जवाफ दिन सक्दैनन्। तर, भारतमा बहुदलीय प्रतिस्पर्धाको प्रणाली बनाउने र अल्पमतले विपक्षमा बस्ने संवैधानिक व्यवस्था छ। त्यसकारण बहुदलीय प्रतिस्पर्धा भए पनि वास्तविक जनवाद नहुन सक्छ भन्ने कुराको यो आँखा अगाडिको उदाहरण हो।
त्यसकारण जनवादको निर्णायक तत्व बहुदलीय वा एकदलीयता होइन। जनताको राजनीतिक आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारको कुरा हो, त्यसलाई प्रयोग गर्ने क्षमता र परिस्थतिको कुरा हो। प्रतिगामी धरातलमा उभिएको औपचारिक कथित् जनवाद जनवादको नाममा जनता ठग्ने नाटक मात्र हुन्छ। पद, पैसा शक्ति प्रयोग गरेर जनतको नाममा शोषक वर्गले जनतामाथि शोषण र उत्पीडनको शासन गर्ने कुरा हो, त्यसकारण जनवादलाई सबैभन्दा पहिला स्वतन्त्र रुपमा त्यसका अन्तर्वस्तुका साथमा बुझेर पद्धतिको हिसाबले बहुदलीय वा एकदलीय पद्धति अपनाउने हो भन्ने कुराको फैसला गर्नुपर्छ। हामी आफ्नो देशको वस्तुगत स्थिति, मार्क्र्सवाद लेनिनवादका सैद्धान्तिक मान्यताहरू, विश्व कम्युनिष्ट आन्दोलनको अनुभव र मुलूकको आवश्यकताको आधारमा यो पक्षमा उभिएका छौं। हामीले जनताको जनवादी व्यवस्थामा किन त्यो पद्धति रोज्यौं ? यसबारेमा थोरै चर्चा गरौं।
क्रान्तिद्वारा स्थापित हुने हाम्रो देशको जनवादी समाज वर्गीय हुने छ र वर्गीय समाजमा प्रत्येक वर्गका आ–आफ्नै वर्गीय स्वार्थ, आस्था र दृष्टिकोणहरू हुन सक्छन् र तिनीहरूलाई चल्न, खेल्न दिनुपर्छ भन्ने मार्क्र्सवादको मान्यता छ, विरोध पक्षको संवैधानिक मान्यतालाई संस्थागत नगरेर पनि विश्व कम्युनिष्ट आन्दोलनमा केही क्षति उठाउनु परेको छ र योग्यता क्षमता र जनविश्वासको प्रतिस्पर्धात्मक राजनीतिबाट नै हामी क्रान्ति र निर्माणलाई बढी जनसहभागिताका साथ अघि बढाउन सक्छौं तथा हामी जनताको विश्वासको बहुमत लिएर नै अगाडि जान चाहन्छौं भन्ने कुरा जाहेर गर्न हामी बहुदलीयतामा आवश्यक जोड दिइरहेका छौं।
जनताले स्वतन्त्र रुपमा राजनीतिमा कसरी भाग लिन्छन् ? जनताले राजनीतिक पार्टी, नेता, कार्यक्रम र सरकारको आलोचना गर्न पाउँछन् कि पाउँदैनन् ? उनीहरूले कुनै पनि पदाधिकारीको कामको गुण दोषको आधारमा टीका टिप्पणीहरू आलोचना र विरोध गर्न पाउँछन् कि पाउँदैनन् ? यदि नपाउने हो भने राजनीतिमा जनताको नियन्त्रणकारी भूमिका कसरी स्थापित गर्ने ? यदि आलोचना र विरोध गर्न दिने हो भने विकल्प प्रस्तुत गर्न दिने कि नदिने ? बिना विकल्पको आलोचना र विरोध रचनात्मक हुन सक्दैन। एकदलीय व्यवस्थामा भन्दा बहुदलीय व्यवस्थामा जनतालाई विकल्प रोज्ने र राजनीतिक पार्टी तथा सरकारलाई नियन्त्रर्ण गर्ने बढी औसर हुन्छ। जनताले हरेक पार्टी, नेता, सरकार र विचार तथा कार्यक्रमहरूको मूल्याङ्कन गर्न र जनमतको आधारमा स्वेच्छाले स्वतन्त्रतापूर्वक फैसला गर्न पाउनुपर्छ, तब मात्र नियन्त्रण र सन्तुलनको स्थिति कायम हुन सक्छ र जनता राजनीतिमा बढी निर्णयक बन्न सक्छन्।
जनताको जनवादी व्यवस्थामा जनतालाई लेख्न, छाप्न, बोल्न सभा सङ्गठन गर्ने राजनीतिक पार्टी खोल्न राजकीय निकायमा चुन्ने चुनिने जस्ता मौलिक अधिकारहरूको ग्यारेण्टी गर्ने कि नगर्ने ? नगर्ने हो भने आफ्नो नैसर्गिक अधिकार गुमाउनका निम्ति जनता जनवादको पक्षमा किन लाग्छन् ? क्रान्ति सम्पन्न भएपछि राजनीतिक गर्ने र राज्य चलाउने जिम्मा चाहिँ कम्युनिष्टहरूको मात्रै हो र अरुले चाहिँ व्यवसायहरूमा मात्रै लाग्ने भन्ने कुरा सम्भव छ ? त्यसकारण आम जनताले राजनीति गर्ने स्वतन्त्र अधिकार पाउनुपर्छ। राजनीतिक गर्नका निमित्त राजनीति पार्टीहरू गठन हुन्छन् र यदि अनेक राजनीतिक पार्टीहरू अस्तित्वमा छन् भने तिनीहरूका बीचमा स्वस्थ प्रतिस्पर्धा हुन दिनुपर्छ। विचार, कार्यक्रम र नीतिका आधारमा प्रतिस्पर्धा हुन दिनुपर्छ। कम्युनिष्ट पार्टी मजदुर र पूँजीपति सबैको, कृषि मजदुर र धनी किसान सबैको पार्टी हुन सक्दैन। कम्युनिष्ट पार्टी श्रमजीवी जनताको पार्टी हो र यसले श्रमजीवी जनताको हितलाई प्राथमिकता दिँदै अन्य वर्ग तहका जनताको हित रक्षा पनि गर्छ। तर, यसले अरु वर्ग वा विचारका पार्टीहरू बनाउने कुरामा बन्देज लगाउनु हुँदैन। कम्युनिष्ट पार्टी पनि आफ्नो इच्छाअनुसार होइन, बहुमत जनताको इच्छाअनुसार सरकार चलाउनु पर्छ। त्यसकारण कम्युनिष्ट पार्टीले चाहिँ जनताको इच्छा र विश्वासको बहुमत बुझिरहनु आवश्यक पर्दैन भन्ने विचार जनवादी होइन।
जनताको इच्छा र मतलाई स्वतन्त्र ढङ्गले कसरी बुझ्ने ? अहिलेसम्मको जनमत बुझ्ने सबैभन्दा लोकप्रिय विधि निर्वाचन हो। जनमत बुझ्न र जनादेश लिनका निम्ति आम निर्वाचन गर्ने प्रणाली अपनाउने कि न अपनाउने ? नअपनाउने हो भने त्यो जतिसुकै राम्रो शासन भए पनि त्यसमा जनताको समर्थन छ भन्ने कुरा जाहेर हुनुपर्छ। अपनाउने हो भने नीति, विचार र कार्यक्रम बिना केवल व्यक्तिको चुनाव गर्नु जनताप्रति अविश्वास हो। पञ्चायतले त्यस्तै चुनाव गर्ने गरेको थियो। त्यो प्रतिक्रियावादी व्यवस्था भएको कारणले मात्र खराब थिएन। बरु विकल्प प्रस्तुत गर्नै नदिने कारणले समेत त्यो खराब थियो। त्यसरी नै क्रान्तिकारी जनवादकै आधारमा भए पनि विकल्प र मतभेद बिनाको केवल व्यक्ति छान्ने चुनाव जनताप्रति र स्वयं आप्mनै बारेमा पनि अविश्वास हो। अनेकौं विचार र विकल्पहरूका साथमा चुनाव गर्ने हो भने जनताले स्वेच्छाले आफ्नो मत व्यक्त गर्न पाउँछन्। यस्तो गर्ने हो भने स्वाभाविक रुपमा जनादेशको आधारमा पक्ष र विपक्ष रहने परिपाटी संस्थागत गर्नैपर्छ। बहुदलीय प्रतिस्पर्धाको प्रणाली प्रमूख रुपमा विपक्षको अस्तित्वलाई वैधानिक रुपमा संस्थागत गर्ने र सम्मान गर्ने प्रणाली हो।
कम्युनिष्ट पार्टीको विचारदर्शन द्वन्द्वात्मक भौतिकवाद हो। अन्तर विरोधहरूको सार्वभौमिकता हुने तर द्वन्द्वलाई कम्युनिष्ट पार्टीले विकासको सार्वभौम नियम मान्दछ। तर, स्वयं त्यस पार्टीले निर्विरोध स्थितिमा काम गर्न चाहनु र अन्य विरोधलाई भिन्नतालाई प्रकट हुन नदिएर एकलौटी कायम गर्न खोज्नु किमार्थ मिल्ने कुरा होइन। वैचारिक विरोधलाई वैचारिक रुपमै परास्त नगरेर बल प्रयोगको सहारा लिनु सवल होइन, दुर्वलताको लक्षण हो। त्यसकारण विरोध र विपक्षलाई वैधानिक रुपमा स्थापित गरी संस्थागत गर्नुपर्छ। बारम्बार जनताको विश्वास र जनादेश लिएर नै कम्युनिष्ट पार्टीले पनि सरकार चलाउनु पर्छ। बहुदलीय जनवाद मजदुर र सर्वहारा श्रमजीवी जनताको नेतृत्वमा आम जनताको संयुक्तको जनवादी राज्यअन्तर्गत स्थापित हुने जनवाद हो। यसमा अनिर्वाचित सत्ता र अनिर्वाचित शासनको परम्परालाई सम्पूर्ण रुपमा अन्त्य गरिने छ। संविधानका आधारमा राज्य र कानूनका आधारमा शासन सञ्चालन गरिने छ। क्रान्तिका उपलब्धीहरूलाई उल्टाउन चाहने प्रतिगामी पुनरुत्थानवादी तत्वहरूलाई नियन्त्रण र दमन गर्ने कानूनी व्यवस्था गरिने छ।
संविधानको परिधिभित्रका सबै राजनीतिक शक्ति र विचारहरूले स्वतन्त्रतापूर्वक राजनीतिक निकायहरूमा निर्वाचित हुन र समाजमा राजनीति गर्न प्रतिस्पर्धा गर्न पाउने व्यवस्था संस्थागत गरिने छ। आम निर्वाचन र जनादेशका आधारमा सरकारमा विपक्ष रहने कुरा संस्थागत गरिने छ। जनताका मौलिक अधिकारहरू, नागरिक तथा मानव अधिकारहरूको ग्यारेण्टी र रक्षा गरिने छ। जाति, भाषा, धर्म, संस्कृतिका सवालमा सबै प्रकारका एकाधिकार विशेषाधिकारहरूको अन्त्य गरी पूर्ण स्वतन्त्रता र समानता कायम गरिने छ। सामन्तवादलाई पूर्ण रुपमा उन्मुलन गर्ने, साम्राज्यवादको शोषण नियन्त्रण र उत्पीडनलाई सम्पूर्ण रुपले समाप्त पार्ने, दलाल नोकरशाही पूँजीवादी शोषण, उत्पीडन समाप्त पार्ने, संविधान र नियम कानून परिधिभित्र राष्ट्रिय निजी पूँजीलाई सुरक्षित नियन्त्रित र प्रोत्साहित गर्ने तथा प्राथमिकका आधारमा वैदेशिक पूँजी लगानी ठाउँ दिने तथा खास खास क्षेत्रमा राज्यको स्वामित्व र नियन्त्रण निर्देशन कायम राख्ने क्रान्तिकारी भूमिसुधार, ग्रामीण क्षेत्रको विकास क्षेत्रीय किाकासमा सन्तुलन तथा योजनावद्ध रुपमा राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने जस्ता जनवादी आर्थिक नीतिहरू अपनाउने छ।
सामन्तवाद र साम्राज्यवादको प्रभावलाई समाप्त पार्ने र राष्ट्रिय जनवादी संस्कृतिको निर्माण गर्ने तथा जाति भाषा धर्म र संस्कृतिहरूबीच सांस्कृतिक समानता कायम गर्ने नीति अपनाइने छ। राष्ट्रिय स्वाधिनता कायम राख्न असमान सन्धि सम्झौताको खारेजी र पञ्चशीलका आधारमा सबै देशसँग सम्बन्धको पुनर्संरचना गरिने छ। सामान्यतया हामीले भनेको बहुदलीय जनवाद यही हो। आर्थिक, सामाजिक, सांस्कृतिक नीतिहरू बहुप्रचारित छन्। बहुदलीय जनवाद भनेको प्रमूख रुपमा अल्पमत वा विपक्षलाई वैधानिक रुपमा मात्र एकता गर्ने होइन, विविधतालाई अनुमति दिएर एकता गर्ने जनवाद हो। पार्टी, विचार, दर्शन र व्यवस्था सबैभन्दा संस्थागत गर्ने र अनुमति दिने जनवाद हो। बलपूर्वक एकरुपता कायम गरेर होइन, जनतालाई सर्वोपरीतत्व मानेर स्थापित गर्ने जनवाद हो। राजनीति र व्यवस्थामा जनताको नियन्त्रण र सन्तुलन कायम राख्ने जनवाद हो। हामी एकदलीयताको र कुनै एउटा दल विशेषको राजनीतिक एकाधिकारवादीको विपक्षमा छौं। जनताको अधिकार र मतको सम्मान नगरी जनताका नाममा शासन चलाउनु निरङ्कुशतावादी तरीका हो र हामी त्यसको विपक्षमा छौं।
६. बहुदलीय जनवाद र अधिनायकत्व
कम्युनिष्टहरूले अधिनायकत्वको प्रश्नलाई सुस्पष्ट रुपमा अघि सारेको हुनाले पूँजीवादपन्थी तत्वहरू सुरुदेखि नै यसका विरुद्ध खनिएका छन्। तिनीहरू आफूलाई अधिनायकत्वको विपक्षमा प्रस्तुत गर्न चाहन्छन् र प्रजातन्त्रवादी देखाउन चाहन्छन्, तिनीहरूको यस्तो प्रचारले केही कम्युनिष्टहरूको मन पनि दोधार भएको हुनसक्छ। अधिनायकत्व भन्नु हुँदैन जनवाद भने पुगिहाल्छ भन्ने खालका विचारहरू पनि उत्पन्न भएका हुन सक्छन्। पूँजीवादपन्थी तत्वहरू सामन्त वर्ग विरोध सङ्घर्षमा लागेको बेला वर्गसङ्घर्षको पक्षमा थिए। तर अहिले तिनीहरू वर्गसम्झौताको पक्षपाती भएका छन् र कथित सर्वकल्याणवादी भएका छन्। तिनीहरू वर्गीय दृष्टकोण, वर्गीय नेतृत्व र राज्यको यथार्थतालाई ढाकछोप गरेर पूँजीवादी दृष्टिकोण नेतृत्व र राज्यको स्वरुपलाई लुकाउन चाहन्छन्। मार्क्र्सवादले आफ्नो वर्गीय प्रतिवद्धता सार्वजनिक रुपमा सुस्पष्ट पारेको छ। राज्य अवर्गीय र सबै वर्गहरूभन्दा माथि सबैको समान रुपमा साझा राज्य हुन सक्दैन। राज्यसत्ता वर्गीय हुन्छ र आफै नै त्यो अधिनायकत्व पनि हो।
यसरी पूँजीवादी राज्यले पूँजीवादी अधिनायकत्व लागू गरिरहेको हुन्छ र सामन्त वर्ग र दलाल नोकरशाही पूँजीवादी वर्गको राज्यले तिनीहरूकै अधिनायकत्व लागू गरिरहेको हुन्छ। हामी जनताको जनवादी राज्यको पक्षमा छौं। यसको मतलव जनताको जनवादी अधिनायकत्वका पक्षमा छौं। राज्य वैधानिक रुपमा सङ्गठित सशस्त्र शक्ति र अधिकार भएको निकाय हो। त्यो कुनै शक्तिहीन तटस्थदर्शी निकाय होइन। संविधान, नियम कानून र सामाजिक व्यवस्था तथा मर्यादा उल्लङ्घन भएका खण्डमा बल प्र्रयोग गरी नियन्त्रण कायम गर्ने अङ्ग हो। जनताको राज्यले जनताको जनवादी संविधान, नियम, कानून व्यवस्थाको उल्लङ्घन नगर्ने, जनता र राष्ट्रिय हित विरुद्ध हुने र त्यसमाा हानी पुर्याउने तत्वहरूलाई नियन्त्रण र दमन गर्ने काम गर्न सक्छ। अर्थात् संविधान र नियम कानूनका आधारमा बल प्रयोग गर्न सक्छ। त्यसकारण अधिनायकत्व भन्ने वित्तिकै पूँजीवादपन्थीहरूले विरोध गर्नुको न त कुनै महत्व छ, न यो सुनेर कम्युनिष्टहरूले झस्किनु जरुरी छ। अधिनायकतत्व भनेको अन्तिम निष्कर्षमा वैधानिक सशस्त्र सत्ता हो।
यदि जनताको राज्य स्थापना गर्ने लक्ष्य नलिने हो भने क्रान्तिकारी राजनीति र पार्टीको कुनै महत्व बाँकी रहँदैन। हामी जनताको जनवादी राज्यका पक्षमा छौं। जनताको जनवादी अधिनायकत्वका पक्षमा छौं। पूँजीवादीपन्थीहरूको तर्कमा ध्यान दिने हो भने तिनीहरू साझा राज्यको कुरा गर्छन् र त्यसरी नै अवर्गीय अधिनायकत्वलाई स्वीकार गर्न सक्छन्, जसले सबैमाथि समान ढङ्गले व्यवहार गर्छ। तर, राज्यको त्यस्तो चरित्र इतिहास वर्तमान र भविष्य कुनै बेला पनि छैन र हुन सक्दैन। स्वयं पूँजीपति वर्गको राज्यले जनतामाथि उत्पीडनकारी पूँजीवादी अधिनायकत्व लागू गरिरहेको हुन्छ।
अधिनायकत्व राज्यको प्रश्न हो र वर्गीय राज्यको प्रश्न हो। तर, विश्व कम्युनिष्ट आन्दोलनमा वर्गको अधिनायकत्वलाई पार्टी र अझ व्यक्तिको अधिनायकत्वको तहमा प्रयोग गर्ने केही अनुचित कुराहररु भएका छन्। एउटा वर्गको राज्य हुन सक्छ। तर, एउटा पार्टीको राज्य र अझ व्यक्तिको राज्य कुनै हालतमा स्वीकार्य विषय होइन। तर, राज्यको सञ्चालनमा भएका विगत कमजोरीहरूले जनताको हातमा राज्यसत्ता लिने क्रान्तिकारी लक्ष्यप्रति कुनै बैराग उत्पन्न गर्न सक्दैन। जनताको सत्ता संविधानसम्मत हुनुपर्छ र त्यसको रक्षाको निम्ति वैधानिक रुपमा राज्यको बल प्रयोग गर्नुपर्छ। जनताको क्रान्तिकारी राज्यको विरुद्ध घातक काम गर्ने तत्वहरूलाई दमन र नियन्त्रण गर्नुपर्छ।
‘बहुदलीय जनवाद’ भनेपछि त्यहाँ अधिनायकत्व नरहने भयो भन्ने भ्रम र चिन्ता कतिपय व्यक्तिहरूमा पैदा भएको वा बहुदलीय जनवादमा अधिनायकत्व नहुने भएको ठीक भयो भन्ने पनि लागेको हुन सक्छ। बहुदलीय जनवाद कुनै राज्यसत्ताविहीन कल्पना होइन। त्यो जनताको जनवादी सत्ता हो। एकदलीय भए अधिनायकत्व हुने र बहुदलीय भए अधिनायकत्व नहुने र बहुदलीय हुँदैमा नरहने होइन। हामी हिजो पनि एउटा राजनीतिक दलको अधिनायकत्वको पक्षमा थिएनौं र आज पनि छैंनौ। हामीले आफ्नो पार्टीको मात्र राज्यसत्ता बनाउने खोजेको होइन, हामी त जनताको जनवादी राज्य बनाउन खोजेको हो। राज्यको सम्पूर्ण शक्तिलाई एउटा पार्टीको हितमा उपयोग गर्ने र एकदलीय राजनीतिक एकाधिकारवाद एकदलीय अधिनायकत्व कायम गर्न खोज्नु हो। जनवादी राज्यको सशस्त्र शक्ति जनताको सत्ताको रक्षा गर्ने शक्ति हो। त्यसलाई दृढतापूर्वक खुला र वैधानिक ढङ्गले क्रान्ति, जनता र जनवादको रक्षामा प्रयोग गर्नुपर्छ।
वैधानिक सशस्त्र सत्ताबाहेक अधिनायकत्व अर्को सामयिक, आंशिक र तात्कालिन अर्थ पनि हुन सक्छ। क्रान्ति सम्पन्न गरेर नयाँ सत्ता वैधानिक रुपमा स्थापित, स्थिर र सुदृढ नहुञ्जेलको सङ्क्रमण कालमा जहाँ विधान, नियम र कानून बनेका स्थापित भइसकेका हुँदैनन्, त्यसबेला क्रान्तिबाट भरखर सत्ताच्युत गरिएका तत्वहरूले फेरि प्रतिक्रान्तिको शिर नउठाउन् भनी क्रान्तिकारी शक्तिको बल प्रयोग गरेर त्यस्ता तत्वहरूलाई नियन्त्रण, दमन गर्ने र परिर्वतनको रक्षा गर्नुपर्ने हुन्छ। तर, यो स्थिति लामो समयसम्म यसरी नै विधान र नियमविहीन ढङ्गले गरिनु हुन्न। सङ्क्रमणकालीन स्थितिमा स्वभाविक रुपमा आन्दोलन या क्रान्तिको अधिनायकत्व लागू हन्छ।

०००
(नेकपा एमालेका महासचिव मदन भण्डारीले २०४८ फाल्गुण ९ गते नारायणढमा सम्पन नेपाल बुद्धिजीवी परिषद्को प्रथम राष्ट्रिय भेलामा प्रस्तुत गरेको कार्यपत्र।)


Sunday, May 17, 2026

सोभियत संघ विघटनपछिको संसार : पूँजीवाद–समाजवादको द्वन्द्वात्मक पुनर्पाठ - डा. महेश मास्के

 अन्तर्विरोधबाट विकल्पतर्फ : प्रकृति, असमानता र भविष्यको समाजवादी प्रश्न



सोभियत संघ विघटन भएको पैंतीस वर्ष पूरा भइसकेको छ। सोभियत संघको विघटनपछिका यी पैंतीस वर्षलाई फर्केर हेर्दा, “समाजवादी शिविर” भनेर चिनिने धारणा र संरचना गहिरा परिवर्तनहरूको प्रक्रियाबाट गुज्रिएको देखिन्छ। समाजवाद भन्नाले के बुझ्ने भन्ने अवधारणामै व्यापक पुनर्विचार र पुनर्परिभाषा भएको छ। चिन्तन र व्यवहार दुवै तहमा नयाँ–नयाँ प्रयोगहरू भइरहेका छन्, जसले समाजवादलाई बुझ्ने परम्परागत ढाँचालाई चुनौती दिएको छ।

सोभियत संघ विघटन हुनुअघि त्यहाँको समाज जुन अवस्थामा पुगेको थियो, त्यो वास्तविक समाजवादी अभ्यासको कमजोरी थियो कि समाजवादको सही अभ्यास हुन नसकेको असफलता थियो भन्ने प्रश्न गम्भीर रूपमा उठाउन आवश्यक छ।

वर्तमान  अवस्था एउटा  अर्थमा समाजवादको विघटनकाल र माओकालीन युगको समाप्तिपछिको समयसँग मिल्दोजुल्दो देखिन्छ, विशेषतः सन् १९८० पछिको कालखण्डमा पछि  चीनले अपनाएको विकासको मार्गलाई हेर्दा, त्यो एउटा नयाँ प्रकारको प्रयोग भरहेको देखिन्छ  । त्यसलाई नकारात्मक रूपमा मात्र होइन, समाजवादका नयाँ प्रयोगहरू कसरी आफ्नो अस्तिवको रक्षा  र पुनःसंरचना गर्छन् भन्ने दृष्टिले केही सकारात्मक रूपमा पनि मूल्याङ्कन गर्न सकिन्छ। यही सन्दर्भमा, सोभियत संघको विघटनलाई समाजवादकै विघटनका रूपमा बुझ्न नहुने मान्यताला  उपेक्षा  गर्न  पटक्कै  मिल्दैन 

सोभियत संघ विघटन हुनुअघि त्यहाँको समाज जुन अवस्थामा पुगेको थियो, त्यो वास्तविक समाजवादी अभ्यासको कमजोरी थियो कि समाजवादको सही अभ्यास हुन नसकेको असफलता थियो भन्ने प्रश्न गम्भीर रूपमा उठाउन आवश्यक छ। यस विषयमा विभिन्न बहसहरू भइसकेका छन् र  भरहेका  छन्  । विशेषतः सोभियतसंघमा समयक्रममा विकसित हुँदै गएका नोकरशाही  (ब्युरोक्रेटिक) मोडेलहरूले समाजवादको मूल मर्मलाई कमजोर बनाउँदै लगे। स्टालिनको जीवनकालमै व्यवहारिक तहमा अनेक समस्याहरू देखापरिसकेका थिए, र स्टालिनको मृत्युपछि सोभियतसंघ जुन दिशामा अगाडि बढ्यो, त्यसले समाजवादको आत्मा र उद्देश्यलाई प्रभावकारी रूपमा समात्नुको  सट्टा  यसको  मूल  मर्ममा  संशोधन  गर्न  उद्दत   भयो। त्यसले गर्दा  विकृतिहरुको  चाङ्ग  जम्मा हुँदै गयो र  समाजवादको  अभ्यासलाइ  जनताबाट  कटेको  नोकरशाही  राज्य  पूजीवादको  दिशा  तर्फ  मोड्यो  यस अर्थमा, त्यसको पतन एक प्रकारले अनिवार्यजस्तै थियो।

सोभियत संघको विघटनलाई समाजवादको मृत्युका रूपमा चित्रण गर्दै व्यापक प्रचार गरिनु तथ्यगत र वैचारिक रूपमा सही जस्तो लाग्दैन।

मेरो विचारमा सोभियत संघको विघटनलाई समाजवादको मृत्युका रूपमा चित्रण गर्दै व्यापक प्रचार गरिनु तथ्यगत र वैचारिक रूपमा सही छैन । र यस्तो दृष्टिकोणबाट हेर्नेहरूका लागि सोभियत संघको विघटन आफैंमा अनपेक्षित  वा विनाशकारी घटना  देखिँदैन। निश्चय नै, एउटा ठूलो शक्ति एकीकृत रूपमा अस्तित्वमा रहिरहेको भए त्यसको पृक महत्व हुन्थ्यो। तर सोभियत संघको विघटनलाई समाजवादको मृत्युका रूपमा चित्रण गर्दै व्यापक प्रचार गरिनु तथ्यगत र वैचारिक रूपमा सही जस्तो लाग्दैन। यसले समाजवादी आन्दोलनलाई केही समयका लागि निरुत्साहित वा अवरुद्ध गरेजस्तो देखिए पनि, त्यो प्रभाव स्थायी भएको देखिँदैन। मैले ३५ र्ष अघि ‘मूल्यांकन मासिक’ पत्रिकाको प्रथम अंकको अग्रलेखमा नीरव सेरचनको नामबाट लेखेको "के समाजवाद को मृत्यु भएको हो"? लेख मा यो प्रश्न उठासकेको छु र त्यति बेलाको विश्लेषण अहिले पनि मूलरुपमा सही ठान्दछु 

द्वन्द्वात्मक दृष्टिले विचार गर्दा, समाजमा विद्यमान सामाजिक, आर्थिक, सांस्कृतिक, भाषिक तथा लैङ्गिक अन्तर्विरोधहरूले निरन्तर गति र दबाब सिर्जना गरिरहेका हुन्छन्। ती अन्तर्विरोधहरू समाधान र वैकल्पिक मार्गको खोजीमा हुन्छन्। यही प्रक्रियाबाट समाजवादी विकल्पको अवधारणा जन्मिएको हो। जबसम्म यी आधारभूत अन्तर्विरोधहरू कायम रहन्छन्, तबसम्म समाजवादी विकल्पको आवश्यकता कम हुन्छ भन्ने मान्न कठिन छ।

द्वन्द्वात्मक दृष्टिले विचार गर्दा, समाजमा विद्यमान सामाजिक, आर्थिक, सांस्कृतिक, भाषिक तथा लैङ्गिक अन्तर्विरोधहरूले निरन्तर गति र दबाब सिर्जना गरिरहेका हुन्छन्। ती अन्तर्विरोधहरू समाधान र वैकल्पिक मार्गको खोजीमा हुन्छन्। यही प्रक्रियाबाट समाजवादी विकल्पको अवधारणा जन्मिएको हो।

अब सोभियत संघको विघटनपछिका पैंतीस वर्षलाई फर्केर हेर्दा, विश्वका सबै भूभागमा विकास र सामाजिक परिवर्तन एकनासले भएको छैन भन्ने तथ्य स्पष्ट हुन्छ। विकास सधैँ समान रेखामा अघि बढ्दैन; बरु, प्रत्येक देशको सामाजिक–आर्थिक अवस्था, ऐतिहासिक पृष्ठभूमि र संरचनात्मक विशेषताअनुसार फरक–फरक ढाँचामा अघि बढिरहेको हुन्छ। यही विविधताका कारण समाजवादी आन्दोलनले पनि विभिन्न सन्दर्भमा नयाँ–नयाँ रूपहरू ग्रहण गर्दै आएको देखिन्छ।

उदाहरणका रूपमा, युरोपेली मुलुकहरूमा समाजवादी आन्दोलनसम्बन्धी बहस एक किसिमको ढाँचामा विकसित भएको देखिन्छ भने तेस्रो विश्वका, विशेषतः कृषि प्रधान मुलुकहरूमा, ती बहसहरू फरक प्रकृतिका बने। चीन र भारतजस्ता देशहरूमा समाजवादी अवधारणालाई स्थानीय यथार्थअनुसार अनुकूलित गर्ने प्रयासस्वरूप नयाँ र नवप्रवर्तनात्मक उपायहरूको खोजी गरियो। यही सन्दर्भमा माओद्वारा  ‘नयाँ जनवाद’ जस्ता अवधारणाहरू विकसित गरिए, जसलाई त्यही ऐतिहासिक र सामाजिक परिवेशको उपजका रूपमा बुझ्न आवश्यक छ।

यस पृष्ठभूमिमा सन् १९१७ को रूसी क्रान्तिलाई सम्झनु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। त्यसबेला पनि समाजवादी क्रान्ति तत्काल सम्भव छ कि छैन भन्ने विषयमा तीव्र बहसहरू चलेका थिए। लेनिन र प्लेखानोभबीचको वैचारिक बहसलाई हेर्ने हो भने, मार्क्सवादी सिद्धान्तअनुसार पूँजीवादको एक निश्चित स्तरको परिपक्वता आवश्यक हुन्छ भन्ने तर्क प्रस्तुत गरिएको थियो। पूँजीवादी विकाससँगै त्यसका अन्तर्विरोधहरू पनि परिपक्व हुँदै जान्छन्, र त्यसपछि मात्र समाजवादी क्रान्ति सफल हुन सक्छ भन्ने धारणा त्यस समयको प्रचलित विचार थियो। विशेषतः पश्चिमी युरोपेली देशहरूलाई समाजवादी क्रान्तिका लागि बढी परिपक्व क्षेत्र मानिन्थ्यो, र रूसजस्ता देशमा पूँजीवादलाई अझ विकसित हुन दिनुपर्ने तर्क अघि सारिन्थ्यो।

तर यी तर्कहरूको विपरीत, लेनिनले तत्काल क्रान्तिको सम्भावनालाई अघि सारे र सोसल डेमोक्रेसी, दोश्रो अन्तर्राष्ट्रिय, तथा तेश्रो अन्तर्राष्ट्रियभित्र चलेका बहसहरूको सन्दर्भमै आफ्नो धारणा स्थापित गरे। यही कारणले लेनिनको योगदान विशिष्ट मानिन्छ। उनले प्लेखानोभलगायत समकालीन दिग्गजहरूको विचारको खण्डन गर्दै क्रान्तिको झण्डा उठाए र त्यसलाई व्यवहारमा सफल बनाएर देखाए। क्रान्तिको सफलतापछि लेनिनको विचार वरिपरि एउटा ठूलो शक्ति गोलबन्द भयो, जसको प्रभावस्वरूप भारत, चीनलगायत विश्वका विभिन्न भागमा कम्युनिस्ट पार्टीहरूको स्थापना हुँदै गयो।

समाजवादको सपना जन्माउने मूल अन्तर्विरोधहरू अझै समाधान भइसकेका छैनन्। ती मुद्दाहरू आज पनि जीवित छन्।

यो ऐतिहासिक पृष्ठभूमिलाई ध्यानमा राख्दै वर्तमान अवस्थाबारे छोटकरीमा भन्नुपर्दा, समाजवादको सपना जन्माउने मूल अन्तर्विरोधहरू अझै समाधान भइसकेका छैनन्। ती मुद्दाहरू आज पनि जीवित छन्। भारत मात्र होइन, चीनको अवस्थालाई हेर्दा पनि यो स्पष्ट हुन्छ। चीनले आफ्ना ऐतिहासिक समस्याहरू समाधान गर्दै अगाडि बढिरहेको देखिए पनि, उसले आफू समाजवादको उन्नत चरणमा पुगिसकेको छ भन्ने दाबी गरेको छैन। बरु, सन् १९४९ को क्रान्तिको सय वर्ष पूरा हुने सन्दर्भमा समाजवादको एक उन्नत चरणमा पुग्ने दीर्घकालीन कार्यक्रमसहित चीन अघि बढिरहेको छ।

भारतको सन्दर्भमा हेर्दा, त्यहाँ अहिले पनि लोकतान्त्रिक क्रान्तिलाई पूर्ण रूपमा सम्पन्न गर्नुपर्ने चरणमै रहेको जस्तो देखिन्छ। तर त्यससँगै समाजवादतर्फ सिधै अघि बढ्ने कि केवल लोकतान्त्रिक सीमाभित्रै रहने भन्ने बहस पनि चलिरहेको छ। औपनिवेशिक शासनबाट मुक्त भएपछि त्यहाँ लोकतन्त्र र समाजवादी आन्दोलनबीचको सम्बन्धबारे उठेका प्रश्नहरू आज पनि पूर्ण रूपमा समाधान भइसकेका छैनन्। हामीले सुरुमा अपेक्षा गरेजस्तो समाजवादी क्रान्तिहरू छिट्टै सफल हुने अवस्था देखिएको छैन। बरु, ती आन्दोलनहरू विभिन्न जटिल परिस्थिति पार गर्दै, मोडहरू काट्दै, सोझो रेखामा नभई घुमाउरो बाटो हुँदै अघि बढिरहेका छन्। वर्तमानमा भारतमा बामपन्थी शक्तिहरु कमजोर र रक्षात्मक बनेको यथार्थ लाइ हामी नकार्न सक्दैनौ ।

हामीले सुरुमा अपेक्षा गरेजस्तो समाजवादी क्रान्तिहरू छिट्टै सफल हुने अवस्था देखिएको छैन। बरु, ती आन्दोलनहरू विभिन्न जटिल परिस्थिति पार गर्दै, मोडहरू काट्दै, सोझो रेखामा नभई घुमाउरो बाटो हुँदै अघि बढिरहेका छन्।

भियतनामको उदाहरण पनि यहाँ सान्दर्भिक देखिन्छ। कुनै समय क्रान्तिको एउटा आदर्श मोडेल मानिएको भियतनामले पनि चीनजस्तै सुधार र खुलापनको नीति अपनाएको छ– चीनले सन् १९७६ पछाडि र भियतनामले सन् १९८६ पछि। यस सन्दर्भमा, हिजोका समाजवादी देशहरूलाई केवल एकै किसिमको शास्त्रीय मापदण्डबाट हेर्ने हो भने, तिनीहरू संशोधनवादी दिशातर्फ गएका हुन् कि भन्ने धारणा पनि उत्पन्न हुन सक्छ। तर अर्को दृष्टिकोणबाट हेर्दा, ती देशहरूले वर्तमान वैश्विक परिस्थितिमा आफूलाई कसरी जोगाउँदै र अगाडि बढाउँदै लगेका छन् भन्ने पक्षलाई पनि गम्भीर रूपमा मूल्याङ्कन गर्नुपर्ने देखिन्छ।

हामीले हिजोझैँ केवल शुद्ध क्रान्तिकारी वा शास्त्रीय  दृष्टिकोणबाट मात्र होइन, द्वन्द्वात्मक चिन्तनलाई हाम्रो मुख्य विश्वदृष्टिकोणका रूपमा अंगालेर वर्तमान परिस्थितिको विश्लेषण गर्न आवश्यक देखिन्छ।

यस विषयलाई बुझ्न हामीले हिजोझैँ केवल शुद्ध क्रान्तिकारी वा शास्त्रीय  दृष्टिकोणबाट मात्र होइन, द्वन्द्वात्मक चिन्तनलाई हाम्रो मुख्य विश्वदृष्टिकोणका रूपमा अंगालेर वर्तमान परिस्थितिको विश्लेषण गर्न आवश्यक देखिन्छ। द्वन्द्ववादले वास्तविकतालाई स्थिर र एकरेखीय रूपमा होइन, निरन्तर परिवर्तनशील र अन्तर्विरोधले भरिएको प्रक्रियाका रूपमा हेर्न सिकाउँछ। यस सन्दर्भमा प्रायः ‘विपरीतहरूको एकता र संघर्ष’ (unity and struggle of opposites) भन्ने अवधारणा उल्लेख गरिन्छ। पछिल्ला व्याख्याहरूमा यसलाई अझ परिष्कृत गर्दै ‘विपरीतहरूको एकता, संघर्ष र रूपान्तरण’ (unity, struggle and transformation of opposites) को रूपमा बुझ्ने प्रयास गरिएको छ।

एङ्गेल्सको Dialectics of Nature मा प्रस्तुत “विपरीतहरूको अन्तःप्रवेशन” (interpenetration of opposites) भन्ने अवधारणाले पनि यही तथ्यलाई स्पष्ट गर्छ। विपरीत तत्वहरू केवल एक–अर्काको विरुद्धमा मात्र हुँदैनन्; ती एक–अर्कामा अन्तःप्रवेश गर्छन्, पारस्परिक प्रभाव पार्छन्, सहअस्तित्वमा रहँदै संघर्ष पनि गर्छन्। यही अन्तर्क्रिया र प्रभावको प्रक्रियामा ती विपरीत तत्वहरू क्रमशः रूपान्तरित हुँदै जान्छन्। कुनै अवस्थामा एउटा पक्ष कमजोर हुँदै समाप्त हुन्छ भने अर्को पक्ष बलियो हुँदै प्रधानता हासिल गर्छ। तर त्यसरी स्थापित भएको नयाँ एकाइभित्र पनि पुनः नयाँ विपरीत तत्वहरूको अस्तित्व रहन्छ  वा निर्मित हुन्छ, जसमा एउटा पक्ष हावी भएर त्यसको प्रकृति निर्धारण गर्छ।

पूँजीवादको विकासलाई हेर्ने हो भने, त्यो पनि सामन्ती व्यवस्थासँगको संघर्ष र अन्तःक्रियाबाट विकसित भएको प्रणाली हो। पूँजीवादी सामाजिक–आर्थिक सम्बन्ध स्थापित हुँदै गर्दा सामन्ती सम्बन्धहरू पनि केही समयसम्म सहअस्तित्वमा रहेका थिए, तर संक्रमणकालमा ती क्रमशः कमजोर हुँदै गए।

यस दृष्टिकोणबाट हेर्दा, कुनै पनि वस्तु वा सामाजिक प्रणाली एकल, स्थिर र स्वतन्त्र अस्तित्व होइन; त्यसको भित्री संरचनामै विपरीत तत्वहरूको उपस्थिति र अन्तर्द्वन्द्व निहित हुन्छ। उदाहरणका रूपमा पूँजीवादको विकासलाई हेर्ने हो भने, त्यो पनि सामन्ती व्यवस्थासँगको संघर्ष र अन्तःक्रियाबाट विकसित भएको प्रणाली हो। पूँजीवादी सामाजिक–आर्थिक सम्बन्ध स्थापित हुँदै गर्दा सामन्ती सम्बन्धहरू पनि केही समयसम्म सहअस्तित्वमा रहेका थिए, तर संक्रमणकालमा ती क्रमशः कमजोर हुँदै गए। आज नेपालजस्ता समाजमा पनि सामन्ती संरचनाहरू क्षीण हुँदै गएको र नयाँ प्रणाली स्थापित हुन खोजिरहेको अवस्था देखिन्छ।

एक समय हामीले पूँजीवादी उत्पादन प्रणाली र समाजवादी उत्पादन प्रणालीलाई एकदमै शुद्ध र अलग–अलग रूपमै बुझ्ने गरेका थियौँ– मानौँ पूँजीवादी प्रणाली पूर्ण रूपमा समाप्त भएपछि मात्रै समाजवादी प्रणाली स्थापित हुन्छ। तर व्यवहारिक यथार्थले देखाएको छ कि सामाजिक रूपान्तरण यति सरल र सीधा हुँदैन।

यही सन्दर्भमा “विपरीतहरूको अन्तःप्रवेशन” को अवधारणा विशेष रूपमा महत्त्वपूर्ण देखिन्छ। एक समय हामीले पूँजीवादी उत्पादन प्रणाली र समाजवादी उत्पादन प्रणालीलाई एकदमै शुद्ध र अलग–अलग रूपमै बुझ्ने गरेका थियौँ– मानौँ पूँजीवादी प्रणाली पूर्ण रूपमा समाप्त भएपछि मात्रै समाजवादी प्रणाली स्थापित हुन्छ। तर व्यवहारिक यथार्थले देखाएको छ कि सामाजिक रूपान्तरण यति सरल र सीधा हुँदैन। एक प्रणालीले अर्को प्रणालीलाई पूर्ण रूपमा विस्थापित गर्नुअघि लामो समयसम्म अन्तःक्रिया, संघर्ष र मिश्रणको अवस्था रहन्छ। र त्यसक्रममा वर्णशंकर (hybrid) स्वरूपहरुला पनि जन्म दिन्छ । जस्तो: नेपालको सन्दर्भमा सामन्तवादी सम्बन्धलाइ पुनरुत्पादन गरि रहने साम्राज्यवाद पोषित र पराश्रित दलाल पुँजीवाद 

आजको सन्दर्भमा पूँजीवादले वातावरण र प्रकृतिमाथि गरिरहेको विनाश पनि समाजवादी विकल्पको सम्भावनालाई अझ बलियो बनाउने एउटा प्रमुख पक्ष बनेको छ। प्राकृतिक स्रोतहरूको अन्धाधुन्ध दोहन, पर्यावरणीय संकट र मानव अस्तित्वमै चुनौती पैदा गर्ने प्रवृत्तिले पूँजीवादी प्रणालीप्रति गम्भीर प्रश्नहरू उठाइरहेको छ। प्रकृति र समाज दुवैको शोषण जारी रहँदा त्यसको विरुद्धमा प्रतिरोधका स्वरहरू उठ्नु स्वाभाविक हुन्छ।

आजको सन्दर्भमा पूँजीवादले वातावरण र प्रकृतिमाथि गरिरहेको विनाश पनि समाजवादी विकल्पको सम्भावनालाई अझ बलियो बनाउने एउटा प्रमुख पक्ष बनेको छ।

यसको मूल कारण प्रणालीहरूको आत्मरक्षा प्रवृत्ति हो। उदाहरणका रूपमा पूँजीवादलाई लिँदा, यसको आधारभूत चरित्र नै शोषणमा आधारित छ– जहाँ थोरै व्यक्तिहरू अत्यन्त सम्पन्न हुन्छन् र बहुसंख्यक जनसंख्या आर्थिक असमानतामा धकेलिन्छ। यसले धनी र गरिबबीच गहिरो खाडल सिर्जना गर्छ, जसबाट सामाजिक द्वन्द्व, मानवीय संकट र वैकल्पिक समाधानको खोजी जन्मिन्छ। यही परिस्थितिले अर्को, अझ मानवीय र न्यायपूर्ण सामाजिक प्रणालीको मागलाई जन्म दिन्छ। यस अर्थमा समाजवादी चिन्तन, सपना र आन्दोलनहरू पूँजीवादकै कर्म– वा कुकर्मको परिणामका रूपमा अघि बढिरहेका हुन्छन्।

तर पूँजीवाद आफ्ना गहिरा र जन्ड स्वार्थहरूका कारण सजिलै आफ्नो प्रभुत्व छोड्न चाहँदैन। बरु, आफूभन्दा उन्नत र बढी मानवीय चिन्तनहरूलाई दबाउने, कमजोर बनाउने र निस्तेज पार्ने प्रयासमार्फत आफ्नो वर्चस्व कायम राख्न खोज्छ। यही द्वन्द्वात्मक यथार्थलाई आजको विश्व परिदृश्यमा हामी स्पष्ट रूपमा देखिरहेका छौँ।

बारम्बार बौरिइरहेको पुँजीवाद !

यसै सन्दर्भमा उठ्ने गरेको एउटा प्रश्न निक्कै रोचक र गम्भीर छ । त्यो हो– मार्क्सवादी भाष्यअनुसार पूँजीवादको अन्त्य अपरिहार्य मानिन्छ, किनकि सामन्तवादबाट पूँजीवादतर्फ समाजको विकास हुनु ऐतिहासिक रूपमा स्वाभाविक प्रक्रिया हो। तर यति हुँदाहुँदै पनि एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ– यति धेरै आन्तरिक अन्तर्विरोध, संकट, महाविपत्ति र संरचनात्मक समस्याहरूका बाबजुद पूँजीवाद कसरी निरन्तर आफूलाई जोगाउँदै अघि बढ्न सफल भयो ? यो कसरी सम्भव भयो ? के यसको अर्थ समाजवादी शिविरबाट पर्याप्त धक्का नपुग्नु हो, वा समाजवादी चिन्तन स्वयंले आफ्ना रणनीति र दृष्टिकोणलाई परिमार्जन गर्नुपर्ने अवस्था आएको हो ?

पूँजीवादले सधैँ आफूलाई जोगाउने प्रयास गर्छ। उसले विभिन्न देश र सन्दर्भमा नयाँ–नयाँ रूपान्तरण, पुनर्संरचना र अन्वेषण गर्दै आफ्नो अस्तित्वलाई दीर्घकालीन बनाउन खोजिरहेको हुन्छ।

यसको जवाफ खोज्ने क्रममा मलाई लाग्छ, यसका दुवै पक्ष छन्। एकातिर पूँजीवादले सधैँ आफूलाई जोगाउने प्रयास गर्छ। उसले विभिन्न देश र सन्दर्भमा नयाँ–नयाँ रूपान्तरण, पुनर्संरचना र अन्वेषण गर्दै आफ्नो अस्तित्वलाई दीर्घकालीन बनाउन खोजिरहेको हुन्छ। यो प्रवृत्ति विशेष रूपमा सन् १९३० को दशकमा अमेरिकामा देखिएको ‘ग्रेट डिप्रेसन’को समयमा स्पष्ट रूपमा देखियो। त्यतिबेला पूँजीवादी राज्यहरूले केही समाजवादी मूल्य र सिद्धान्तहरू ‘उधारो’ लिए। केन्सियन अर्थशास्त्रको उदय, राज्यलाई सामाजिक रूपमा जिम्मेवार बनाउने प्रयास, वेलफेयर स्टेटको अवधारणा, रोजगारी सिर्जना र सार्वजनिक सेवामा राज्यको सक्रिय भूमिकाजस्ता उपायहरू पूँजीवादकै आत्मरक्षाका रणनीतिहरू थिए।

पूँजीवादले आफ्नै बचाउका लागि समाजवादी मूल्यहरू पनि अपनाउन सक्छ। ठुला ठुला कम्पनीहरु आर्थिक संकटमा पर्दा राज्यकोषको प्रयोग गरेर राहत प्याकेज मार्फत् उनीहरुको बचाव गर्न पूँजीवाद हिच्किचाएको देखिँदैन । आज पनि पूँजीवाद विभिन्न तरिकाले आफूलाई जोगाउँदै अघि बढिरहेको छ र  यही प्रक्रियामा ‘विपरीतहरूको अन्तःप्रवेशन’ (interpenetration of opposites) स्पष्ट रूपमा देखिन्छ।

यसले देखाउँछ कि पूँजीवादले आफ्नै बचाउका लागि केही समाजवादी उपचार  पनि अपनाउन सक्छ। आज पनि हामी देखिरहेका छौँ कि पूँजीवाद विभिन्न तरिकाले आफूलाई जोगाउँदै अघि बढिरहेको छ। यही प्रक्रियामा ‘विपरीतहरूको अन्तःप्रवेशन’ (interpenetration of opposites) स्पष्ट रूपमा देखिन्छ। पूँजीवादी प्रणालीले समाजवादी चिन्तनका शक्ति र कमजोरीहरूलाई आफ्ना थिङ्क ट्याङ्कहरू, नीति–अनुसन्धान केन्द्रहरू र बौद्धिक संरचनामार्फत अत्यन्त सावधानीपूर्वक विश्लेषण गर्छ । उसले आफ्नो दीर्घकालीन अस्तित्वका लागि उपयोगी तत्त्वहरू अपनाउँछ र आफूलाई अनुकूल बनाउँदै जान्छ।

पूँजीवादले आफ्नै बचाउका लागि केही समाजवादी उपचार  पनि अपनाउन सक्छ।

आज हामी देखिरहेका छौँ: पूँजीवादी राज्यहरूले कतिपय अवस्थामा समाजवादी राज्यले जस्तै राहत प्याकेजहरू घोषणा गर्छन्, उद्योगहरू जोगाउँछन्, शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गर्छन्। विशेषतः युरोपका धेरै देशहरूमा सामाजिक कल्याणका संरचनाहरू बलियो देखिन्छन्। स्क्यान्डिनेभियन देशहरूमा त सामाजिक सुरक्षा, सार्वजनिक सेवा र समानताको अभ्यास अत्यन्त विकसित अवस्थामा छ। यस कारण ती देशहरू समाजवाद र पूँजीवादको बीचको एक प्रकारको ‘मध्यवर्ती मोडेल’ जस्ता देखिन्छन् ।

यसै सन्दर्भमा अमेरिकी राजनीतिमा पनि यो बहस स्पष्ट रूपमा देखिन्छ। अमेरिकी निर्वाचनका क्रममा डोनाल्ड ट्रम्पजस्ता नेताहरूले आफ्ना विरोधीहरूलाई ‘समाजवादी’ वा ‘स्क्यान्डिनेभियन मोडेलतर्फ झुकेका’ भनेर चित्रण गर्दै भय सिर्जना गर्ने प्रयास गरेका छन्। यसले शुद्ध फ्री–मार्केट अर्थशास्त्री र नवउदारवादी चिन्तनका पक्षधरहरूभित्र रहेको असुरक्षालाई पनि उजागर गर्छ। अर्कोतर्फ, प्रगतिशील पूजीवाद  (Progressive  Capitalism)* जस्ता अवधारणाहरू अघि सारिँदैछन्– अर्थात् पूँजीवादलाई जोगाउने, तर त्यसलाई केही सामाजिक र मानवीय मूल्यहरूले सुसज्जित गर्ने प्रयास।

पूँजीवाद जति नै लचकदार र अनुकूलनशील भए पनि, यसको मूल चरित्र– नाफा र शोषणमा आधारित संरचना– अपरिवर्तित रहन्छ। जबसम्म नाफा निरन्तर आइरहन्छ, ठूला निगम र पूँजीपति वर्गका मूल स्वार्थ सुरक्षित रहन्छन्, तबसम्म यो प्रणाली चलिरहन्छ।

यद्यपि पूँजीवाद जति नै लचकदार र अनुकूलनशील भए पनि, यसको मूल चरित्र– नाफा र शोषणमा आधारित संरचना– अपरिवर्तित रहन्छ। जबसम्म नाफा निरन्तर आइरहन्छ, ठूला निगम र पूँजीपति वर्गका मूल स्वार्थ सुरक्षित रहन्छन्, तबसम्म यो प्रणाली चलिरहन्छ। तर यति हुँदाहुँदै पनि आज ती देशहरूमा धनको असमानता झनै तीव्र रूपमा बढिरहेको छ। सम्पत्ति केही सीमित व्यक्तिहरू र परिवारहरूको हातमा केन्द्रित हुँदै गएको छ। एलन मस्कजस्ता व्यक्तिहरूको तीव्र धनसञ्चय, थोरै परिवारहरूको हातमा अपार सम्पत्तिको एकाग्रता– यी सबै संकेत हुन् कि प्रणालीको भित्री अन्तर्विरोध अझै गहिरिँदै गएको छ।

यही ‘कोर’ संरचना जब गम्भीर रूपमा चुनौतीमा पर्छ, तब नयाँ परिवर्तन र सम्भावित क्रान्तिकारी मोडका आधारहरू विकसित हुन सक्छन्– त्यो विकसित पूँजीवादी देशहरूमा पनि। ठीक यही प्रकारको प्रक्रिया समाजवादी देशहरूमा पनि देख्न सकिन्छ। विकास र नवप्रवर्तनका लागि केही पूँजीवादी मूल्य र उपकरणहरू उपयोगी हुन सक्छन् भन्ने निष्कर्षमा उनीहरू पुगेका छन्।

यस सन्दर्भमा चीनको सुधार र खुलापन (Reform and Opening) नीतिका बारे प्रश्नहरु उठ्ने गरेका छन् । तर त्यसलाई पूर्ण रूपमा नकारात्मक रूपमा मात्र हेर्नु उपयुक्त हुँदैन। माओकालपछिको चीनले गम्भीर चुनौतीहरूको सामना गरिरहेको थियो– विशाल जनसंख्यालाई खाद्य सुरक्षा सुनिश्चित गर्नुपर्ने, आर्थिक विकासलाई तीव्र बनाउनुपर्ने, र एकातिर सोभियत संघको पतनजस्तो खतरा देखिइरहेको अवस्था। त्यसैले चीनका लागि आत्मरक्षा र दीर्घकालीन अस्तित्वको प्रश्न अत्यन्त महत्त्वपूर्ण थियो।

प्रारम्भिक मार्क्सवादी सोचमा (लेनिनको समयसम्म पनि) विश्वव्यापी क्रान्तिको अपेक्षा गरिएको थियो। विशेषतः युरोपका विकसित पूँजीवादी देशहरूमा समाजवादी क्रान्ति हुने र त्यसले रूसजस्ता देशलाई सहयोग गर्ने आशा थियो। तर त्यो विश्व क्रान्ति भएन।

यससँगै यो एउटा सैद्धान्तिक प्रश्न पनि थियो। प्रारम्भिक मार्क्सवादी सोचमा (लेनिनको समयसम्म पनि) विश्वव्यापी क्रान्तिको अपेक्षा गरिएको थियो। विशेषतः युरोपका विकसित पूँजीवादी देशहरूमा समाजवादी क्रान्ति हुने र त्यसले रूसजस्ता देशलाई सहयोग गर्ने आशा थियो। तर त्यो विश्व क्रान्ति भएन। त्यसपछि रूसले एक्लै समाजवाद निर्माण गर्ने चुनौती सामना गर्नुपर्यो, र यही सन्दर्भमा ‘एक देशमा समाजवाद’ (Socialism in One Country) को बहस जन्मियो। जोसेफ  स्टालिन त्यसको पक्षमा उभिए, लियन त्रोत्स्की  त्यसको विरोधमा ।

वैश्विक पूँजीवादले घेरिएको परिस्थितिमा एउटै देशमा समाजवाद सम्भव छ कि छैन भन्ने प्रश्नले समाजवादी आन्दोलनलाई लामो समयसम्म चुनौती दिइरह्यो। चारैतिर प्रतिकूल अन्तर्राष्ट्रिय वातावरण, आन्तरिक संरचनागत समस्या र विकृतिहरू उत्पन्न भए। ती समस्याहरू लामो समयसम्म निरन्तर रहे। विश्व क्रान्तिको अभावमा चीन, वियतानाम क्युबा लगायतका देशहरु आफ्नो देशमा आफ्नै शक्ति को बलमा  समाजवाद को विकास र रक्षा गर्न बाध्य भए र   समाजवादी मार्गमा अघि बढे ।

ऐतिहासिक र वैचारिक प्रक्रियालाई बुझ्दै गर्दा, समाजवाद र पूँजीवाद दुवै स्थिर, बन्द र शुद्ध प्रणालीहरू होइनन् भन्ने यथार्थ स्पष्ट हुन्छ। ती दुवै निरन्तर अन्तःक्रिया, संघर्ष र रूपान्तरणको प्रक्रियामा रहेका छन्, र यही द्वन्द्वात्मक गतिले भविष्यका सम्भावनाहरू निर्धारण गर्दै जाने देखिन्छ।

यस सम्पूर्ण ऐतिहासिक र वैचारिक प्रक्रियालाई बुझ्दै गर्दा, समाजवाद र पूँजीवाद दुवै स्थिर, बन्द र शुद्ध प्रणालीहरू होइनन् भन्ने यथार्थ स्पष्ट हुन्छ। ती दुवै निरन्तर अन्तःक्रिया, संघर्ष र रूपान्तरणको प्रक्रियामा रहेका छन्, र यही द्वन्द्वात्मक गतिले भविष्यका सम्भावनाहरू निर्धारण गर्दै जाने देखिन्छ।

ऐतिहासिक भौतिकवाद (Historical Materialism) अनुसार समाज विभिन्न चरण र अवस्थाहरू हुँदै रूपान्तरित हुँदै जान्छ। सामन्तवादबाट पूँजीवाद र पूँजीवादबाट समाजवादतर्फको यात्रा यही चरणगत परिवर्तनको प्रक्रिया हो। यस सन्दर्भमा मार्क्सले स्पष्ट रूपमा भनेका छन्– कुनै पनि आर्थिक प्रणाली तबसम्म लोप हुँदैन, जबसम्म त्यसले आफ्ना सबै सम्भावित स्वरूप र क्षमताहरू प्रयोग गरेर समाप्त हुँदैन। यही अवधारणाको आधारमा आजको सन्दर्भमा एउटा गम्भीर प्रश्न उठ्छ– के वर्तमान अवस्थामा पूँजीवादभित्रै समाजवादको सिर्जनाबारे नयाँ कोणबाट बहस गर्नु आवश्यक छैन ?

नेपालमा पनि केही चिन्तकहरूले यही धारणा अघि सारेका छन्– अर्थात् पूँजीवादले आफ्ना सबै सम्भावनाहरू प्रयोग गरिसकेपछि मात्र समाजवादी रूपान्तरण सम्भव हुन्छ भन्ने विचार। तर यहाँ मूल प्रश्न उठ्छ– ती सम्भावनाहरू समाप्त गर्ने काम कसले गर्छ ?

यो प्रश्नलाई अहिले केही चिन्तकहरुले गम्भीरतापूर्वक उठाइरहेका छन्। ऐतिहासिक रूपमा प्लेखानोभसँग सम्बन्धित यी बहसहरू आज तेस्रो विश्वका सन्दर्भमा पुनः सतहमा आइरहेका देखिन्छन्। नेपालमा पनि केही चिन्तकहरूले यही धारणा अघि सारेका छन्– अर्थात् पूँजीवादले आफ्ना सबै सम्भावनाहरू प्रयोग गरिसकेपछि मात्र समाजवादी रूपान्तरण सम्भव हुन्छ भन्ने विचार। तर यहाँ मूल प्रश्न उठ्छ– ती सम्भावनाहरू समाप्त गर्ने काम कसले गर्छ ? यदि हामी “सबै सम्भावनाहरू समाप्त नहुन्जेल धैर्य गर्नुपर्छ” भन्ने निष्क्रिय सोचमा अडिग रह्यौँ भने, त्यसको व्यावहारिक अर्थ के हुन्छ ?

आजको विश्व व्यवस्था पूँजीवादले घेरिएको अवस्थामा, यस्तो सोचले देशभित्र पूँजीवादलाई अझै विस्तार गर्न दिनुपर्छ भन्ने निष्कर्षतर्फ लैजान सक्छ। किनकि भनिन्छ– पूँजीवादले अझै आफ्ना सबै सामर्थ्य प्रदर्शन गरिसकेको छैन। तर वास्तवमा पूँजीवादको सामर्थ्य कति भयावह हुन सक्छ भन्ने कुरा स्वयं मार्क्सले पनि आफ्नो समयमा पूर्ण रूपमा देख्न पाएका थिएनन्। उनले संकेतका रूपमा मात्र ‘मेटाबोलिक रिफ्ट’जस्ता अवधारणाहरू उल्लेख गरेका थिए– अर्थात् मानव समाज र प्रकृतिबीचको सन्तुलन भङ्ग हुने प्रक्रिया। यदि मार्क्सले आजको पूँजीवादले प्रकृति र पर्यावरणमाथि आर्जन गरेको विनाशकारी शक्ति देखेका भए, सायद “पूँजीवादलाई आफ्ना सबै सम्भावना प्रयोग गर्न दिनुपर्छ” भन्दा पनि “यसको शक्ति जतिसक्दो छिटो कमजोर पार्न समाजवादी शक्तिहरू सचेत रूपमा सक्रिय हुनुपर्छ” भन्ने तर्फ जोड दिन्थे होला, जसरी लेनिन र त्यसपछिका क्रान्तिकारी मार्क्सवादीहरुले दिएका थिए 

यही सन्दर्भ हाम्रो जस्तो देशमा झनै सान्दर्भिक देखिन्छ। उदाहरणका लागि, हाम्रो संविधानले राज्यलाई “समाजवादउन्मुख” भनेर परिभाषित गरेको छ। तर कतिपयले तर्क गर्छन्– नेपालमा पूँजीवादको पूर्ण विकास नै भइसकेको छैन, त्यसैले समाजवादी कार्यक्रमतर्फ उन्मुख हुनु हतारो हो। यस्ता तर्कहरू सुन्न पाइन्छ। तर समाजवादउन्मुख मार्गतर्फ अघि बढ्नु भनेको पूँजीवादले सिर्जना गरिरहेका समस्याहरूसँग लड्दै, त्यसका केही सकारात्मक पक्षहरूलाई आत्मसात् गर्दै अघि बढ्नु हो।

मार्क्सले आजको पूँजीवादले प्रकृति र पर्यावरणमाथि आर्जन गरेको विनाशकारी शक्ति देखेका भए, सायद “पूँजीवादलाई आफ्ना सबै सम्भावना प्रयोग गर्न दिनुपर्छ” भन्दा पनि “यसको शक्ति जतिसक्दो छिटो कमजोर पार्न समाजवादी शक्तिहरू सचेत रूपमा सक्रिय हुनुपर्छ” भन्ने तर्फ जोड दिन्थे होला।

उदाहरणका लागि, *समाजवाद उन्मुख* लोकतन्त्रको अवधारणा स्वयं मिश्रित अर्थतन्त्र (mixed economy) को परिणाम हो। यसमा पूँजीवादी उत्पादन प्रणालीको अस्तित्व रहन्छ, तर त्यसलाई समाजवादी सामाजिक स्वार्थअनुसार नियमन र निर्देशित गरिन्छ। निजी उत्पादन प्रणालीलाई सामाजिक उत्तरदायित्वसँग जोडेर अघि बढाउने यही प्रयास हो। समाजवादी शक्तिहरूले यस्तो सचेत र सक्रिय सोच विकास गर्न सके भने, पूँजीवादी शक्तिलाई कसरी सामाजिक हितअनुकूल प्रयोग गर्न सकिन्छ भन्ने दिशामा आन्दोलनलाई अगाडि बढाउन सकिन्छ।

समाज परिवर्तनमा सचेत, सक्रिय र हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने सट्टा यदि हामी तटस्थ दर्शक बनेर बस्यौँ भने, समाजवादतर्फ अग्रसर हुने ऐतिहासिक  जिम्मेवारीबाट हामी स्वयं उम्कन खोजिरहेका छौ  भन्ने निष्कर्षमा पनि पुग्न सकिन्छ।

तर हामी निष्क्रिय भएर “पहिले पूँजीवादलाई आफ्नो काम गर्न दिऔँ, अनि त्यो  पूर्ण विकसित भए पछि मात्र हामी हस्तक्षेप गरौँ” भन्ने दृष्टिकोण अपनाउँछौँ भने, त्यसको परिणाम उल्टो हुन सक्छ। यस्तो अवस्थामा हामी स्वयं सामाजिक रूपान्तरणको प्रक्रियाबाट पछि हट्ने मात्र होइन, पूँजीवादी शक्तिको आयु लम्ब्याउन सहयोग गरिरहेको हुनेछौं ।  समाज परिवर्तनमा सचेत, सक्रिय र हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने सट्टा यदि हामी तटस्थ दर्शक बनेर बस्यौँ भने, समाजवादतर्फ अग्रसर हुने ऐतिहासिक  जिम्मेवारीबाट हामी स्वयं उम्कन खोजिरहेका छौ  भन्ने निष्कर्षमा पनि पुग्न सकिन्छ।

(यो आलेख पूर्व राजदूत एवं बाम बौद्धिक डा. महेश मास्केसँग गरिएको कुराकानीको आधारमा तयार गरिएको हो  । यसमा उठाइएका तथा चर्चा गरिएका विषयवस्तुहरु अहिले रक्षात्मक अवस्थामा पुगेको नेपाली वामवृत्तभित्र गम्भीर छलफल र बहसको एउटा मुद्दा बन्नुपर्छ भन्ने हामीलाई लाग्छ । )

प्रस्तुति: केदार सिटौला, चन्द्र खाकी

(पछिल्लो परिमार्जन र आद्यावधिक: २०८३ वैशाख ३१ गते बिहान ७ बजे)

https://dayitwabodh.com बाट साभार