Thursday, April 11, 2019

आजका कम्युनिस्टले दिनुपर्ने उत्तरहरू - आहुति

लेनिनले व्याख्या गरेको युगको अन्त्य भई संसार नयाँ युगमा प्रवेश गरेको यथार्थसँगै यस युगका कम्युनिस्ट क्रान्तिकारीले नयाँ रणनीतिसहितको उत्तर दिनैपर्छ ।


नयाँ पत्रिका बहस शृंखला
आज दुनियाँभरिको कम्युनिस्ट आन्दोलन सन् १९९० आसपासको जस्तो चरम संकटबीच उभिएको छ । कार्ल माक्र्सकालीन पेरिस कम्युनको सफल विद्रोह र ७१ दिनको श्रमिक वर्गीय शासनले पुँजीवादको विकल्पमा प्रगतिशील श्रमिक वर्गको व्यवस्था सम्भव भएको पुष्टि ग-यो । माक्र्स–एंगेल्स नेतृत्वको कम्युनिस्ट आन्दोलनले संगठन र संघर्षको अनेक प्रयत्न गरे पनि राज्यसत्ताप्राप्तिको स्तरमा त्यतिखेर पुग्न सकेन । तथापि, समग्र वैकल्पिक विचारधाराका रूपमा द्वन्द्वात्मक भौतिकवाद अर्थात् माक्र्सवाद स्थापित भने भइछाड्यो । 
माक्र्सको मृत्युपछि फ्रेडरिक एंगेल्सको मुख्य काम माक्र्स र आफूले गरेको वैचारिक कामको थप पुष्ट्याइँमा बितेको देखिन्छ । सन् १९०० को आसपासमा पुग्दा माक्र्सवादको औचित्य समाप्त भएको तीव्र हल्लाखल्ला व्याप्त भयो । विगतका कम्युनिस्टमा भागदौड मच्चियो । माक्र्सवादलाई जडसूत्रका रूपमा ग्रहण गर्ने वा सत्ताप्राप्तिको फगत हतियारका रूपमा बुझ्नेहरू नै भागाभाग गरिरहेका थिए । त्यतिवेला माक्र्सवादका तीनवटै संघटक अंग अर्थात्– दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादमाथि व्यापक रूपमा हमला भएको थियो । त्यतिवेला विरोधीले उठाएका प्रश्नको तथ्यमा आधारित वैज्ञानिक उत्तर नदिई कम्युुनिस्ट आन्दोलन एक कदम अगाडि बढ्न सम्भव थिएन । ठीक त्यही बिन्दुमा लेनिनले आफ्नो कामलाई अगाडि बढाएका थिए ।
आफ्नो समयको ज्ञान–विज्ञानका सबै निष्कर्षबाट सुसज्जित नभई क्रान्ति अगाडि बढाउन नसकिने निष्कर्षसहित ‘भौतिकवाद र अनुभवसिद्ध आलोचना’लगायतको शोधमार्फत माक्र्सवादी दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको अवधारणामा नयाँ युगअनुकुल विकास गरियो । लेनिनको नेतृत्वमा द्वन्द्वात्मक भौतिकवादको वैज्ञानिकतालाई आफ्नो समयको भौतिक विज्ञानका निष्कर्षद्वारा पुनरपुष्टि गरिएको थियो । माक्र्सले भनेजस्तो पुँजीवाद समाप्त भएन भनी विरोधीले गरेको प्रहारलाई जवाफ दिँदै प्रतिस्पर्धात्मक पुँजीवाद एकाधिकार पुँजीवादको चरणमा पुगेको, त्यो पुँजीवादी साम्राज्यवाद भएको र त्यो मरणासन्न रहेको व्याख्यासहित विश्व नयाँ युग अर्थात् साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा प्रवेश गरेको नयाँ खोज अघि सारियो ।
साम्राज्यवादी पुँजीवादको युगमा पुँजीपति वर्गका फरक–फरक गुट एक–आपसमा युद्ध गर्ने, करोडौँ मजदुर उत्पादन थलोमा संगठित हुने र त्यस्तो अवस्थालाई उपयोग गरेर समाजवादी क्रान्ति अघि बढ्न सक्ने रणनीति अघि सारियो । वैज्ञानिक समाजवादका सम्बन्धमा त्यो समाजवाद संक्रमणकालीन व्यवस्था हुने, सर्वहारा वर्गको अधिनायकत्व जरुरी हुने, सम्पूर्ण सत्ता सोभियतमा लैजानुपर्ने, कम्युनिस्ट पार्टीले अग्रदस्ताको रूपमा काम गर्नुपर्ने आदि अवधारणा अगाडि सारियो । यसरी लेनिनको नेतृत्वमा माक्र्सवादलाई नयाँ युगअनुसार विकसित गरेपछि नै नयाँ युगको क्रान्तिका हरेकजसो नयाँ प्रश्नको नयाँ उत्तर सम्भव भएको थियो । 
नयाँ युगको एकाधिकार पुँजीवादको साम्राज्यवादी आधारभूत चरित्र र त्यसका आन्तरिक संकटलाई उत्खनन् गरेपछि नै त्यसविरुद्धको रणनीति निर्माण सम्भव भएको थियो । अन्तरसाम्राज्यवादी संकटका रूपमा नै पहिलो विश्वयुद्ध अगाडि आयो र अक्टोबर समाजवादी क्रान्ति सम्पन्न हुन सम्भव भयो । माक्र्सवादी खेमामा प्रायःजसो तत्कालीन समयका कम्युनिस्ट क्रान्तिलाई मात्र लेनिनवादको सफलतासँग जोड्ने गरिन्छ, तर त्यतिमा सीमित गर्नु बिल्कुल सही कुरा होइन ।
रुसी अक्टोबर क्रान्तिपछि एकातिर कम्युनिस्ट क्रान्ति अगाडि आए भने अर्कातिर उपनिवेशवादविरोधी स्वतन्त्रता संग्राम अगाडि आए । ती दुवै क्रान्तिको मूल चरित्र उपनिवेशवादविरोधी राष्ट्रिय मुक्ति आन्दोलन थिए । राष्ट्रिय मुक्ति आन्दोलनको नेतृत्व जुन–जुन देशमा कम्युनिस्टले गरे, त्यो कम्युनिस्ट आन्दोलनका रूपमा चिनियो । पुँजीपति वर्गले नेतृत्व गरेका राष्ट्रिय मुक्ति आन्दोलनचाहिँ केवल उपनिवेशवादविरोधी क्रान्तिका नाममा चिनिए । ती क्रान्ति यसकारण सफल भएका थिए कि लेनिनले अघि सारेको अन्तरसाम्राज्यवादी युद्धमा साम्राज्यवाद फस्न पुगेको थियो । चीन, भारत, भियतनाम, कोरियालगायत संसारभरिका उत्पीडित राष्ट्रमा चलेको राष्ट्रिय मुक्ति आन्दोलन पहिलो र दोस्रो विश्वयुद्धमा शक्तिशाली साम्राज्यवादी गुटहरू आफैँसित लड्दैनथे भने सफल हुन गाह्रो थियो भन्ने यथार्थ सजिलै बुझ्न सकिन्छ । 
लेनिनको थेसिसले अगाडि सारेको अन्तरसाम्राज्यवादी अन्तरविरोधबाट जन्मिएका दुई विश्वयुद्धबाट व्यापक स्तरमा पुँजीवाद विकास भइसकेका देशका कम्युनिस्टले फाइदा उठाउन सकेनन् । पहिलो विश्वयुद्धबाट रुसी कम्युनिस्टले फाइदा उठाए । दोस्रो विश्वयुद्धको फाइदा चीन, भियतनाम, कोरिया आदि देशका कम्युनिस्टले लिन सके । पूर्वी युरोपका कम्युनिस्टलाई पनि दोस्रो विश्वयुद्धले नै सत्ताधारी बनाउन पुग्यो । यसरी सन् १९१७ बाट सुरु भएको कम्युनिस्ट क्रान्तिको लहर सन् १९५९ को क्युबाली क्रान्तिसम्म पुग्दा करिब आधा शताब्दी बेगवान रह्यो ।
यसरी पहिलो र दोस्रो विश्वयुद्धले ल्याएको पुँजीवादी खेमाको संकटको ताजा अवधिसम्म कम्युनिस्ट आन्दोलन उर्वर रह्यो । लेनिनले व्याख्या गरेझै पुँजीवाद मरणासन्न पनि भयो । त्यसैले त पुँजीवाद भौतिक आक्रमणको सट्टा कम्युनिस्ट शिविरसँग शीतयुद्ध गर्नुपर्ने हालतमा पुग्यो । तर, दोस्रो विश्वयुद्ध र त्यसको रापपछि न त तेस्रो विश्वयुद्धतिर पुँजीवाद गयो, न त नयाँ देशमा नयाँ कम्युनिस्ट क्रान्ति नै सम्पन्न भयो । स्थापित कम्युनिस्ट सत्ता पनि ढल्दै गए ।
म्यानमार, थाइल्यान्ड, बंगलादेश, फिलिपिन्सलगायत थुप्रै देशका आधार क्षेत्रसहितका कम्युनिस्ट आन्दोलन यसबीचमा पतन भएर गए । पेरुको आन्दोलन ध्वस्त भयो । नेपालमा माओवादी १० वर्षे युद्धसहित अगाडि आयो, तर त्यो पनि लज्जास्पद हारमा विसर्जन हुन पुग्यो । सन् १९१७ देखि २०१९ सम्मको पहिलो आधा शताब्दी क्रान्तिमय भयो, तर पछिल्लो आधा शताब्दी फेरि प्रतिक्रान्तिमय भयो । किन यस्तो भयो ? मरणासन्न पुँजीवाद कसरी फेरि हट्टाकट्टा भएर आयो त ?
पुँजीवादले मानवको हित गरेको भए कम्युनिस्ट आन्दोलन नउठ्नु स्वाभाविकै हुन्थ्यो, तर पुँजीवादले गरिब र धनीबीचको खाडल बढाउँदै आयो । कमजोर राष्ट्रमाथि लुट र युद्ध थोपर्दै आयो । पर्यावरण ७० प्रतिशत नष्ट गरी नै सक्यो । पुँजीवादले यति ठूलो खलनायकी देखायो, तर कम्युनिस्ट आन्दोलनले आधा शताब्दीसम्म पनि आफ्नो नायकी प्रमाणित गर्न सकेन । यसबीचमा माक्र्सवादको काम छैन भनेर छाड्नेले पनि गतिलो दुनियाँ बनाउने कुनै विचार फेला पार्न सकेनन् ।
दक्षिण एसियाकै कुरा गर्दा ज्योति बसुहरू आधारभूत माक्र्सवाद छाडेर शासक त भए, तर कलकत्ताका नांगाखुट्टे रिक्सावाल श्रमिकलाई समेत मुक्त गर्न सकेनन् । माक्र्सवादको पनि कुरा गर्दै पुँजीवादी बन्ने नेपालका बाबुरामदेखि प्रधानमन्त्री ओलीसम्मले १० आँैला जोड्ने त बहुराष्ट्रिय कम्पनीवाला पुँजीवादलाई नै हो ।
जुन पुँजीपतिले आफ्नो देशमा असमानता घटाउन सकेनन्, त्यो पुँजीवादको लगानी, नाफा र लुटको भरमा नेपालमा खुसहाली कसरी आउँछ ? यसरी जताबाट विमर्श गरे पनि कम्युनिस्ट आन्दोलन र क्रान्तिको विकल्प छैन । तर, कम्युनिस्ट आन्दोलन भने सन् १९०० आसपासको जस्तै भागदौड, अन्योल र निराशाको भूमरीमा छ । त्यसैले आजका माक्र्सवादीले विगत सय वर्षमा उठेका सबै सफलता र असफलतासम्बन्धी प्रश्नको उत्तर दिन सक्नुपर्छ । विगत ७५ वर्षमा ज्ञान–विज्ञानका सबै शाखामा प्राप्त नवीन खोजको कसीमा माक्र्सवादका तीनवटै संघटक अंगलाई विकसित गर्न सक्नुपर्छ । कम्तीमा आधारभूत विषयमा उठेका प्रश्नको उत्तर त दिनैपर्छ ।
पहिलो प्रश्न : के द्वन्द्वात्मक भौतिकवाद सही छ ?
माक्र्सवाद नाम दिइएको द्वन्द्वात्मक भौतिकवादी दर्शन पुरानो आदर्शवादी दर्शनभित्रकै एक भौतिकवादी रुझानको शाखा थिएन । बरु त्यो समग्रतामा आदर्शवादविरोधी दार्शनिक प्रणाली थियो । हेगेलकृत द्वन्द्ववाद र फायरवाखकृत भौतिकवाद हुँदै द्वन्द्वात्मक भौतिकवादका रूपमा संश्लेषित गर्दा त्यतिवेलासम्मको समग्र भौतिक विज्ञान, प्रकृति विज्ञान र तर्कशास्त्र समेतका निचोडका आधारमा गरिएको थियो । भौतिक विज्ञानको क्षेत्रमा आइज्याक न्युटनको खोज नै मेरुदण्ड थियो । त्यसपछि भौतिक विज्ञानमा परमाणु र सन् १८८६–९७का बीचमा परमाणुभित्रका प्रोटोन र इलेक्ट्रोन पत्ता लागेपछिको समयमा लेनिनले तत्कालीन भौतिक विज्ञानका नयाँ निष्कर्षसमेतलाई अगाडि राखेर माक्र्सवादको दार्शनिक प्रणालीलाई पुनपुष्र्टि गरेका थिए ।
लेनिनको मृत्युपछि आएका आइन्सटाइनदेखि स्टेफन हकिंग्सम्मले ईश्वर वा चेतनाको प्रथम भूमिकालाई खुल्ला रूपमा अनावश्यक र झुठ बताए । अन्तरिक्षको विशाल फलकमा होस् या पदार्थलाई टुक्र्याउँदै जाँदा भेटिएका क्वार्क वा क्वान्टम तरंगसम्म पदार्थभित्रको आन्तरिक गति र विपरीतसँगको द्वन्द्वले नै प्रत्येक पदार्थको अस्तित्व, विकास र विनाश निर्धारित हुने तथ्य पुष्टि भएको छ । भौतिक विज्ञानका यी अत्याधुनिक निष्कर्षद्वारा माक्र्सवादी दर्शनलाई थप पुनपुष्र्टि गर्ने काम भने जरुरी स्तरमा हुन सकेको छैन । 
माओत्से तुङ आफ्ना आखिरी दिनमा रसायनशास्त्रका पुस्तक खोज्न पुस्तकालय धाउँथे भन्नेसम्म चिनियाँ पुस्तकमा उल्लेख छ । तर, दर्शनशास्त्रलाई आफ्नो समयको विज्ञानमा समेत आधारित भएर उनले काम गर्न भ्याएको भेटिन्न । वास्तवमा लेनिनपछि पनि विकसित विज्ञानले पदार्थ नै आधारभूत भएको लगातार नयाँ–नयाँ उचाइमा पुष्टि गर्दै आएको छ । तर, कम्युनिस्ट आन्दोलनले त्यसलाई माक्र्सवादी दर्शनशास्त्रलाई पुनपुष्र्टि गर्ने मुख्य औजारका रूपमा मुखर प्रयोग गर्न सकेको छैन । त्यो काम अब समग्रतामै गर्नुपर्छ । नयाँ युगको विज्ञानबाट पुनपुष्र्टि भएको दर्शनलाई मात्र नयाँ पुस्ताले ग्रहण गर्न तम्सिनेछ ।
म्यानमार, थाइल्यान्ड, बंगलादेश, फिलिपिन्सलगायत थुप्रै देशका आधार क्षेत्रसहितका कम्युनिस्ट आन्दोलन यसबीचमा पतन भएर गए । पेरुको आन्दोलन ध्वस्त भयो । नेपालमा माओवादी १० वर्षे युद्धसहित अगाडि आयो, तर त्यो पनि लज्जास्पद हारमा विसर्जन हुन पुग्यो । सन् १९१७ देखि २०१९ सम्मको पहिलो आधा शताब्दी क्रान्तिमय भयो, तर पछिल्लो आधा शताब्दी फेरि प्रतिक्रान्तिमय भयो । किन यस्तो भयो ? मरणासन्न पुँजीवाद कसरी फेरि हट्टाकट्टा भएर आयो त ?
दोस्रो प्रश्न : के लेनिनको युग यथावत् छ ?
सन् १९०० पछि लेनिनले एकाधिकार पुँजीवाद र सर्वहारा क्रान्तिको नयाँ युग सुरु भएको प्रस्तावनाका रूपमा सैद्धान्तीकृत गरे । माक्र्सको युग सकिएको विश्लेषण गर्नु माक्र्सवादको औचित्य अन्त्य भएको विश्लेषण कदापि थिएन । बरु माक्र्सवादलाई नयाँ युगअनुसार लागू गर्न र विकसित गर्न संकल्प गर्नु थियो । आज विज्ञान प्रविधि नै मुख्य  उत्पादन शक्ति हुन पुगेको समयमा विश्व पुँजीवाद विज्ञान प्रविधिलाई उपयोग गरेर विश्वव्यापी रूपमा परराष्ट्रिय र बहुराष्ट्रिय कम्पनीमार्फत एकीकृत भएको छ ।
अन्तरसाम्राज्यवादी तेस्रो विश्वयुद्ध विगत सात दशकदेखि नामोनिसान छैन । लेनिनको युग हुँदा त थप विश्वयुद्ध दुईपटक देखापर्नुपर्ने हो ! करोडौँ श्रमिक उत्पादनको थलोमा नभई आज सेवा क्षेत्र र बेरोजगारीमा फालिएका छन् । लेनिनको युग बाँकी हुँदा त श्रमिक उत्पादन थलोमा केन्द्रित हुनुपर्ने होइन ? लेनिनको वित्तीय पुँजीको युगमा राजनीतिज्ञ र नोकरशाह वित्तीय पुँजीका प्रतिनिधि र व्यवस्थापक थिए, तर आजको भूमण्डलीकृत निगमीकृत पुँजीवादमा राजनीतिज्ञ र नोकरशाह केवल त्यसका दलालमा परिणत भएका छन् । 
लेनिनको थेसिसमा पुँजी नै पुँजीवादको मुख्य हतियार थियो र सर्वहाराको मुख्य हतियार सामूहिक श्रम थियो । पुँजी मान्यता मात्र थियो, तर सामूहिक श्रम अनिवार्य आवश्यकता । केवल मान्यतामाथि अनिवार्य आवश्यकताको विजय स्वाभाविक रूपमा अनिवार्य थियो । तर, आज पुँजीवादले विज्ञान प्रविधिलाई आफ्नो फरक, तर मुख्य हतियार बनायो ।
श्रमिकको सामूहिक श्रमलाई उत्पादनमा अनावश्यक र सेवा क्षेत्रमा असंगठित बनाउन सफल भयो । शारीरिक वा मानसिक श्रमको भूमिका उत्पादनमा कम बरु विज्ञान–प्रविधिको भूमिका मुख्य हुने युग सुरु भइसक्यो । पुँजीजस्तो मान्यतालाई पुँजीको बलमा होइन, बरु पुँजीवादले विज्ञान–प्रविधिको बलमा टिकाइरहेको छ । यो विषयलाई कम्युनिस्टले अब छिचोल्नैपर्छ । विज्ञान प्रविधि त आजको अनिवार्य यथार्थ हो । तर, सामूहिक श्रमचाहिँ अब उत्पादनका निम्ति हिजोको जस्तो अनिवार्य रहेन । लेनिनको थेसिससम्म पुँजीवाद केवल पुँजी मान्यतालाई लिएर लड्थ्यो, तर आज विज्ञान–प्रविधि यथार्थको हतियार बोकेर उभिएको छ । तब श्रमिक वर्गले त्यही हतियार अर्थात् विज्ञान–प्रविधिलाई मुख्य हतियार नबनाई कसरी जित्न सक्छ ?
तेस्रो प्रश्न : अब वर्गसंघर्षको स्वरूप कस्तो ?
सन् १९०० पछि कम्युनिस्ट क्रान्तिको फौजी कार्यदिशा दुईवटा नै कार्यकारी भए । एक, औद्योगिक क्षेत्रसहित सहरलाई मुख्य आधार बनाएर सशस्त्र आमविद्रोह । दुई, व्यापक ग्रामीण किसान आवादीलाई मुख्य बनाएर दीर्घकालीन जनयुद्ध । सशस्त्र जनविद्रोहको फौजी कार्यदिशा एक मात्र रुसी अक्टोबर क्रान्तिमा प्रयोग भयो । ग्रामीण किसान आवादीलाई मुख्य आधार बनाएर चीन, भियतनाम, कोरिया, कम्बोडिया, लाओस आदिमा कार्यकारी भयो । क्युवा र पूर्वी युरोप अपवाद थिए । सशस्त्र आमविद्रोह रुसमा लागू हुनुको कारण त्यो पुँजीवादी मुलुक थियो ।
अरू कम्युनिस्ट क्रान्ति भएका मुलुक सामन्तवादी वा साम्राज्यवादी उत्पीडन रहेको अर्धसामन्ती थिए । सशस्त्र आमविद्रोह वा दीर्घकालीन प्रकृतिको जनयुद्धको फौजी कार्यदिशा– ती दुवैले जहाँ सबैभन्दा बढी शोषित वर्गको संख्या छ, त्यसैलाई विद्रोहमा उतार्ने हो । सशस्त्र आमविद्रोहको कार्यदिशामा साना–ठूला सबै वर्गसंघर्ष आमविद्रोह बनाउन गरियो । त्यसैगरी दीर्घकालीन जनयुद्धको कार्यदिशा सबै प्रकारको वर्गसंघर्षका रूपहरू दुस्मन सत्ताको कमजोर पहुँच भएको क्षेत्रमा आधार इलाकाको निर्माण रक्षा र विकासको निम्ति गरियो । दुवै फौजी कार्यदिशा प्रयोग गरेर भएका क्रान्ति सफल हुनुको अर्को महत्वपूर्ण  कारण थियो– विश्व पुँजीवादी खेमामा फुट र एकताबद्ध हुन सक्ने प्रविधिको अभाव । 
आज विज्ञान प्रविधि मुख्य उत्पादक शक्ति भइसकेको युग हुनाले औद्योगिक केन्द्रलाई मुख्यआधार बनाएर विद्रोह सम्भव छैन । किनभने औद्योगिक उत्पादनमा मजदुर साह्रै कम संख्यामा छन् । हिजो बहुसंख्यक मजदुरले गर्ने काम त प्रविधिले गरिरहेको छ । सहरी क्षेत्रमा कि त निर्वाहमुखी मध्यमवर्ग छ या त असंगठित क्षेत्रमा करोडाैँ श्रमिक छरिएका छन् । हिजो पुँजीवादी उत्पादनको मुख्य नाभी मजदुरकेन्द्रित थियो, तर आज उत्पादनको मुख्य नाभी प्रविधिमा छ ।
सेवा क्षेत्र त आफैँ असंगठित हुने नै भयो । थाइल्यान्डको रातो टिसर्ट विद्रोह, फ्रान्स, वाल स्ट्रिट वा अन्यमा मासिनको विशाल जमघट त भयो, तर त्यो जमघट पुँजीपति वर्गको नाफा कमाउने मूल थलोमा बाधा दिने थिएनन् । लेनिन युगको मजदुर विद्रोह शक्तिशाली हुन पुग्यो, किनभने त्यसले पुँजीपति वर्गको नाफा केन्द्रलाई तहसनहस पाथ्र्यो । सेवा क्षेत्रका मानिसको सडक प्रदर्शन पुँजीपति वर्गले बेवास्ता वा दमन गर्न यसकारण आज सम्भव छ कि तिनले मुख्य उत्पादन क्षेत्रलाई प्रभावित गर्न सक्दैनन् । यस यथार्थलाई गम्भीर रूपमा लिनैपर्छ । हिजोको युगमा प्रयोग भएको व्यापक ग्रामीण क्षेत्रका किसान जागृत गरेर मुक्त इलाका गठन गर्ने वर्ग संघर्षको स्वरूप सम्भव छैन भन्ने कुरामा धेरै छलफल आवश्यक छैन । किनभने प्रविधिका कारण विश्वको कुनै पनि भू–भाग सत्ताको कमजोर पहुँचमा अब छैन । 
नयाँ युगको यसप्रकारको यथार्थले गर्दा वर्गसंघर्षको मुख्य स्वरूपमा परिवर्तन अनिवार्य छ । कतै कम र कतै सर्वाधिक हुने गरी कृषि वा औद्योगिक सबै क्षेत्रमा श्रमिकको केन्द्रीकरण तीव्र गतिमा घट्दै जाने युग आज छ । यो विषयलाई आजका कम्युनिस्टले आत्मसात् गर्नैपर्छ । बेरोजगार वा असंगठित सेवा क्षेत्रमा छरिएका श्रमिक भनेका कार्ल माक्र्स युगभन्दा खराब हालतमा पुगेको स्थिति छ । किनकि माक्र्स–लेनिनको युगमा त श्रमिक मुख्य उत्पादनको थलोमा अनिवार्य थिए । यसकारण पुरानो वर्ग संघर्षको स्वरूपलाई अपनाएर पुँजीपति वर्गलाई हराउन सक्ने कुनै सम्भावना बाँकी छैन । तब एक मात्र विकल्प वा बाटो बाँकी छ । त्यो हो– जहाँ पुँजीवादी व्यवस्था छ, त्यहीँ त्यसको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्दै अघि बढ्ने ।
पुँजीवादी राज्यलाई पहिले ध्वस्त गरेर समाजवाद निर्माण गर्ने पुरानो युगको कार्यदिशा अब लागू हुन सक्दैन । आजको विज्ञान–प्रविधिको कारणले प्रत्येक देशमा पुँजीवादी व्यवस्थाको समानान्तरमा समाजवादी व्यवस्था निर्माण गर्दै अघि बढ्नु सम्भव छ । सर्वहारा–श्रमिक वर्गका अगाडि अर्को विकल्प छैन । सम्भव छ त त्यो ? छ । कसरी भन्नेबारे कम्युनिस्ट आन्दोलनले गम्भीर बहसमा प्रवेश गर्न उत्साहित हुनुप¥यो । हिजो पुँजी र त्यसको कारोबार शोषकवर्गीय मान्यता थियो । त्यसमाथि कब्जा गर्न श्रमिक वर्गले सत्ता कब्जा नगरी सक्दैनथ्यो । तर, विज्ञान–प्रविधि त कथिएको मान्यता होइन । बरु त्यो त जसले प्रयोग गरे पनि हुने पत्ता लागेका सूत्रहरू हुन् । त्यसैले विज्ञान–प्रविधिलाई जसले चाहन्छ, त्यसैले प्रयोग गर्न सक्छ । तब विज्ञान–प्रविधिलाई प्रयोग गरेर श्रमिक वर्गले क्रान्ति गर्नुपर्ने नयाँ युग आइपुग्यो । धेरैले भन्छन्, विज्ञान प्रविधि त पुँजीपति वर्गको कब्जामा छ अनि कसरी श्रमिक वर्गले प्रयोग गर्ने ? त्यस्तो पटक्कै होइन भन्ने इतिहास र वर्तमानले भन्छ । आइन्सटाइन सामाजवाद चाहिन्छ भनेर लेख लेख्थे । मृत्युपहिले स्टेफन हकिङले पुँजीवादी शासकलाई दोष दिएरै छाडे । 
म्याडम क्युरीले असामान्य अभावग्रस्त जीवनमा गरेको रेडियमको खोज र उत्तर कोरियाले बनाएको अमेरिकालाई हैरान पार्ने परमाणु बम ! के यो यथार्थबाट बुझ्न सम्भव छैन र विज्ञान–प्रविधि कसको हुन्छ ? जसले चाहन्छ, त्यसले प्रयोग गर्न सक्छ । पुँजीपति वर्ग थोरै छ । ऊ असमानता र पृथ्वी ध्वस्त पार्ने लीलामा छ । श्रमिक वर्ग बहुसंख्यक छ अनि समानता र पृथ्वी जोगाउने पक्षमा छ । त्यसैले मानवताको मुक्तिको निम्ति श्रमिकवर्गले नै विज्ञान–प्रविधिलाई आफ्नो पक्षमा लिइछाड्नुपर्नेछ । यसको विकल्प छैन ।
यसरी लेनिनले व्याख्या गरेको युगको अन्त्य भई संसार नयाँ युगमा प्रवेश गरेको यथार्थसँगै यस युगका कम्युनिस्ट क्रान्तिकारीले नयाँ रणनीतिसहितको उत्तर दिनैपर्छ । विज्ञान–प्रविधि मुख्य उत्पादन शक्ति भइसक्यो, अबको क्रान्तिको रणनीति त्यसैमा आधारित हुनुपर्छ । यो निष्कर्षलाई कतिपयले हतारमा बनिबनाउ पुरानो आरोपले पन्छाउन खोज्छन् । कार्ल माक्र्स इन्जिन गाडी नभएको युगमा थिए । लेनिन इन्जिनले तान्ने रेल चढेर क्रान्ति गर्न हिँडे । के इन्जिन प्रविधिलाई प्रयोग गर्नु लेनिनको प्रविधिवादी कदम थियो ? प्रविधिले स्वतः परिवर्तन ल्याउँछ वा प्रविधि प्रयोगमा अब्बल हुन सके परिवर्तन गर्न सकिन्छ वा प्रविधि प्रधान हो, विचारधारा होइन भन्ने अवधारणा प्रविधिवाद हो । तर, मानिस निर्णायक हो । विचारधारा मुख्य हो । विचारधाराको विजयका निम्ति विज्ञान प्रविधिको प्रयोग मुख्य आवश्यकता भयो भन्नु प्रविधिवाद कसरी हुन्छ ?
पुँजीवाद र कम्युनिस्ट आधारभूत सबै विषयमा ठीक उल्टो हुनैपर्छ । तब त उल्टो समाज व्यवस्थालाई सुल्ट्याउन सम्भव हुन्छ । पुँजीवादले भोट हालेर प्रतिनिधि पठाउनुलाई पूर्ण लोकतन्त्र भन्छ, जुन झुट हो । कम्युनिस्ट आन्दोलनले भोट हालेर प्रतिनिधि चुन्ने अधिकार पुँजीवादको षड्यन्त्र हो, बरु सरोकारवाला आफैँले आफ्नाबारेमा निर्णय गर्न पाउनु पूर्ण लोकतन्त्र हो भन्न सक्नुपर्छ ।
चौथो प्रश्न : पुँजीवादी ढाँचामा कम्युनिस्ट संगठन कसरी ?
हरेक वस्तुको विकास र विनाशको मुख्य कारण त्यस वस्तुभित्रै निहित हुन्छ भन्ने द्वन्द्वात्मक भौतिकवादी निष्कर्षबाट हेर्दा सन् १८७१ को पेरिस कम्युनदेखि आजसम्मका कम्युनिस्ट व्यवस्थाको पतनको मूल कारण त्यहीँभित्र छ भन्ने मान्नैपर्छ । सोभियत संघदेखि चीनको आजको पुँजीवादी व्यवस्थासम्म बाहिरबाट आक्रमण गरेर चिली, इन्डोनेसियाको वामपन्थीलाई जसरी ढालेर प्रतिक्रान्ति भएको होइन । बहुसंख्यक देशका कम्युनिस्टका पुराना निष्कर्ष अर्थात् संशोधनवादले सत्ता कब्जा गरेर कम्युनिस्ट ढलेको मान्ने हो भने के पुँजीवादको अनुमतिमा समाजवाद सम्भव हुने माक्र्सवाद कतै थियो र ? भन्ने प्रश्नमा गएर ठोकिन्छ ।
वास्तवमा संशोधनवादका रूपमा अगाडि आउने पुँजीवादसँग लड्ने वैचारिक र संगठनात्मक विधि विकास गर्न असफल भयौँ भनेर पो सच्चा कम्युनिस्टले स्विकार्नुपर्ने हुन्छ । रुसका स्टालिन नियतमा सच्चा श्रमजीवी वर्गका नेता नै प्रमाणित हुन्छन्, तर संशोधनवादसँगै लड्ने उनको विधिबाट सफलता मिलेन । चीनका माओले सर्वहारा सांस्कृतिक क्रान्तिको प्रयोग गरे, जुन असाधारण क्रान्तिको रूपमा पुँजीवादी बौद्धिक क्षेत्रमा समेत स्थापित भयो, तर त्यो असफल भयो । माओले चाहेझैँ थप सांस्कृतिक क्रान्तिको आयोजक बाँकी रहेनन् । माक्र्स र एंगेल्सले सत्ता अभ्यास गर्नै पाएनन् । सत्ता प्राप्त गरेर धेरथोर अभ्यास गर्ने वैचारिक नेता लेनिन र माओले गम्भीर मिहिनेत गरेको पाइन्छ । लेनिनले सम्पूर्ण सत्ता सोभियतलाई भनेर अनि माओले आमजनतालाई अधिकार दिन सांस्कृतिक क्रान्तिमार्फत प्रयत्न गरे । लेनिन र माओको यो यथार्थमै महान् प्रयोग थियो । किनभने उनीहरू दुवैले आमश्रमिक जनतालाई नै निर्णायक बनाउन ती प्रयोग गरेको देखिन्छ । 
पुँजीवाद र संशोधनवादका रूपमा प्रकट हुने छद्म पुँजीवादले त क्रान्तिअघि वा क्रान्तिपश्चात आक्रमण त गर्छ नै । त्यसैले संशोधनवादको आक्रमणका कारण हामी हा-यौँ भन्ने भाष्यलाई मुख्य बनाउन कम्युनिस्टलाई छुट छैन । बरु आज कम्युनिस्टले विचारका अलावा संगठनको ढाँचा र पद्धतिमा कहाँ गल्ती भयो भन्ने प्रश्नमा घोत्लिनु जरुरी छ । यदि कठोर सिंहावलोकनतिर लाग्ने हो भने पुँजीवादले बनाएको संगठनको ढाँचा र कम्युनिस्टले बनाएको संगठनको ढाँचा आधारभूत रूपमै उस्तै हुँदै आएको छ ।
संगठनको अंश पार्टीभित्र मात्रै होइन, सिंगै राज्य व्यवस्थासम्म पुँजीवाद र कम्युनिस्ट ढाँचामा आधारभूत फरक छैन । १. पुँजीवादी पार्टीमा सर्वेसर्वा पिरामिडको चुचुरोमा रहेको नेता वा समिति हुन्छ । ठीक त्यसैगरी कम्युनिस्ट पार्टीमा पनि त्यस्तै हुन पुग्यो । पुँजीवादी व्यवस्थामा नेता भनेको शासक हुन्छ । कम्युनिस्ट व्यवस्थामा पनि मूलतः त्यही हुँदै आयो । फरक के भयो ? २. पुँजीवादी व्यवस्थाले आमजनतालाई प्रतिनिधि छान्ने मात्र अधिकार दिन्छ । त्यसपछि प्रतिनिधिमूलक संस्थाले प्रतिनिधि छान्ने जनताको बारे सबै निर्णय गरिभ्याउँछ ।
कम्युनिस्ट व्यवस्थामा पनि एक वा अर्को रूपमा यस्तै भयो । सरोकारवाला वर्ग र समुदाय आफैँले निर्णय गर्नै पाएनन् । तब फरक के भयो ? पुँजीवादसँग लड्ने र वैज्ञानिक समाजवादी समाज बनाउने लक्ष्य राख्ने, तर निर्णय जति पुँजीवादले जस्तै सानोभन्दा सानो जमातले गर्ने प्रणाली बनाएपछि त्यो समाजवादी ढाँचा नै अन्ततः भएन । तसर्थ, कम्युनिस्ट आन्दोलनले संगठनको ढाँचा र निर्णय प्रणालीलाई पूरै उल्ट्याउनु जरुरी छ ।
पार्टीलगायत प्रतिनिधि समितिले १. वैचारिक र राजनीतिक दिशाबोध गर्ने । २. उत्पीडित वर्ग र समुदायका निर्णयलाई व्यवस्थापन अर्थात् लागू गर्ने । ३. उत्पीडित वर्ग र समुदायबीच संयोजन गर्ने काम मात्र गर्ने ढाँचा तय गर्नुपर्छ । पुँजीवादले निर्णयाधिकार सबै माथि लैजान्छ भने कम्युनिस्टले चाहिँ निर्णय गर्ने अधिकार सरोकारवाला आमजनसमुदायमा फर्काउने प्रणालीमै जानुपर्छ । पुँजीवाद र कम्युनिस्ट अधारभूत सबै विषयमा ठीक उल्टो हुनैपर्छ । तब त उल्टो समाजव्यवस्थालाई सुल्ट्याउन सम्भव हुन्छ । पुँजीवादले भोट हालेर प्रतिनिधि पठाउनुलाई पूर्ण लोकतन्त्र भन्छ, जुन ठूलो झुठ हो । कम्युनिस्ट आन्दोलनले भोट हालेर प्रतिनिधि चुन्ने अधिकार पुँजीवादको ठूलो षड्यन्त्र हो बरु सरोकारवाला आफैँले आफ्नो बारेमा निर्णय गर्न पाउनु पूर्ण लोकतन्त्र हो भन्न सक्नुपर्छ र त्यसैअनुसारको संगठन एवं व्यवस्थाको ढाँचा प्रस्तुत गर्नुपर्छ ।
पाँचौँ प्रश्न : प्रकृतिमाथि विजयी हुनु मानवलक्ष्य हो ?
पुँजीवादले प्रकृतिलाई ध्वस्त नबनाइसकेको समयमा मानव जातिको सुखको निम्ति प्रकृतिलाई अत्यधिक प्रयोग गर्नुपर्ने आवश्यकता र लालसाका कारण माक्र्स–एंगेल्सकालीन कम्युनिस्ट साहित्यमा प्रकृतिमाथि विजयी बन्नुपर्ने अवधारणा स्थापित हुन पुग्यो । वर्गको अन्त्यपश्चात् साम्यवादी समाजमा मानवको मुख्य अन्तरविरोध प्रकृतिसँगै हुने अवधारणासमेत जोडतोडले प्रचार हुन पुग्यो ।
प्रकृतिका नियमको कम ज्ञानका कारण मानव जीवनलाई समृद्ध बनाउन परेको समस्याको चापले यस्तो मान्यता अगाडि आएको मान्न सकिएला, तर यो गलत अवधारणा थियो । जसरी निजी सम्पत्तिको जन्म भयो, त्यसपछि मानव सभ्यता विकृतितिर जान सुरु भयो । जबदेखि मानवले पृथ्वीलाई आफ्नो मात्र ठान्न थाल्यो, पर्यावरण ध्वस्त हुन सुरु भयो । त्यसैले मानव विशिष्ट जीवन हो, तर अरूभन्दा सर्वश्रेष्ठ हो भन्ने मान्यता आज गलत साबित भएको छ । त्यसैगरी, प्रकृतिमाथि विजयी हुने अवधारणा पनि गलत हुन्छ । मानव स्वयं प्रकृतिको अंश हो । तब प्रकृति दुस्मन कसरी हुन्छ ? रोगी मुटुले मात्र दिमागसँग संघर्ष गर्न थाल्छ र मान्छेको मृत्यु हुन्छ नत्र भने शरीरका अंग त एक–अर्काका पुरक पो हुन्छन् । 
प्रकृतिको मानव अत्यन्त सानो अंश हो, तब मानवले प्रकृतिका नियम पत्ता लगाउँदै प्रकृतिको रक्षा गर्दै आफ्नो पनि समृद्धि खोज्नुपर्ने हुन्छ । आजको समाजशास्त्र, मानवशास्त्र आदि ज्ञानका क्षेत्रमा प्राप्त यी र यस्ता सयौँ गम्भीर प्रश्नको नयाँ र सही उत्तर आजको कम्युनिस्ट आन्दोलनले दिन सक्नुपर्छ । त्यस्ता विषयमा हिजो कम्युनिस्ट आन्दोलनले गरेका त्रुटिलाई सच्याउने वा नयाँ युगअनुकुल मान्यता निर्माण गर्न सक्नैपर्छ । 
के नयाँ युगका नयाँ प्रश्नको उत्तर दिएर २१औँ शताब्दीलाई पुनः कम्युनिस्ट क्रान्तिमय बनाउन कम्युनिस्टहरू तम्सिएलान् ? ढिलो–चाँडो कम्युनिस्टहरूले त्यो पहलकदमी लिनेछन् ।
www.nayapatrikadaily.com बाट साभार 

No comments:

Post a Comment