Friday, October 19, 2018

कस्तो समाजवाद ल्याउने : नयाँ कि पुरानै ? - रमेश सुनुवार/नन्दनहरि दाहाल

समाजवादको स्वरुप
वर्तमान पुँजीवादी व्यवस्थाबाट उत्पन्न संकटबाट मुक्त हुन समाजवादबिना सम्भव छैन । तर त्यो समाजवाद पुरानो समाजवाद होइन, नयाँ समाजवाद हो । भूमण्डलीकृत भयानक पुँजीवादबाट आक्रान्त जनता समाजवादको लागि बलिदान गर्न तयार हुन्छन्, तर विगतको जस्तो समाजवादको लागि होइन ।
त्यसकारण अब समाजवादी क्रान्तिको पहिलो प्रश्न समाजवादको स्वरुपको सम्बन्धमा उठ्छ– कस्तो समाजवाद ल्याउने ? विगतको जस्तो समाजवाद ल्याउनको लागि कोही पनि तयार हुँदैनन् । त्यो असफल भइसकेको समाजवाद फेरि किन ल्याउने ? यदि जनतालाई समाजवादको लागि उत्प्रेरित गर्ने हो भने जुन विगतको भन्दा भिन्न उपयुक्त स्वरुप प्रस्तुत गर्नु आवश्यक छ ।
नयाँ समाजवादको स्वरुप यसप्रकार हुनेछ– १) विज्ञान–प्रविधिमा आधारित समाजवाद, २) सामाजिक नियन्त्रणमा आधारित समाजवाद र ३) सामाजिक स्वामित्वमा आधारित समाजवाद ।
१) विज्ञान–प्रविधिमा आधारित समाजवाद
हरेक सामाजिक व्यवस्थाको स्वरुपको आधार उत्पादक शक्तिको स्वरुप हो । उत्पादक शक्तिको अनुरुप उत्पादनसम्बन्ध (सामाजिक व्यवस्था) हुनुपर्दछ । वर्तमान युगको उत्पादक शक्ति विज्ञान–प्रविधि हो । त्यसकारण अब बन्ने समाजवाद विज्ञान–प्रविधिमा आधारित हुनेछ ।
दोस्रो कुरा, समाजवादमा जीवनको लागि आवश्यक साधनहरुको जुन प्रचुरताको अपेक्षा गरिएको छ, त्यो विज्ञान–प्रविधिबाट मात्र सम्भव छ । आज विज्ञान–प्रविधिले उत्पादन क्षेत्रमा जुन आमूल परिवर्तन ल्याएको छ, जुन क्रान्ति ल्याएको छ, त्यसबाट अब समाजमा जीवनको लागि आवश्यक साधनहरुको अभावको कारण उत्पन्न सम्पूर्ण समस्याहरु, द्वन्द्वहरुको अन्त्य हुने सम्भावना देखिएको छ ।
२) सामाजिक नियन्त्रणमा आधारित समाजवाद
समाजवाद सामाजिक नियन्त्रणमा आधारित हुन्छ, राज्यको नियन्त्रणमा होइन । राज्यको नियन्त्रण त ती सामाजिक व्यवस्थाहरुमा हुन्छ, जसमा बहुसंख्यकमाथि अल्पसंख्यकको शासन हुन्छ । अल्पसंख्यकले राज्ययन्त्रको बलमा बहुसंख्यकमाथि नियन्त्रण गर्दछ । तर समाजवादमा सामाजिक नियन्त्रण हुन्छ । सामाजिक नियन्त्रण समाजका संघटकहरुको (सोभियतहरुको) सन्तुलनमा आधारित हुन्छ । र, सन्तुलन तिनीहरुका सम्बन्ध र अन्तर्निर्भरतामा आधारित हुन्छ । समाजका संघटकहरु सामाजिक समूहहरु हुन्; उदाहरणको लागि कृषक समूह, मजदुर समूह, व्यापारिक समूह आदि । यी समूहहरुमा शक्तिको विभाजन तथा हस्तान्तरण गर्नुपर्दछ ।
समाजका संघटकहरुमा शक्ति–पृथकीकरणबाट सामाजिक नियन्त्रण स्थापित हुन्छ ।

३) सामाजिक स्वामित्वमा आधारित समाजवाद
समाजवादको लक्ष्य उत्पादनका साधनहरुमाथि समाजको स्वामित्व स्थापित गर्नु हो । अथवा यसको लक्ष्य उत्पादनका साधनहरुमाथि व्यक्तिगत स्वामित्वलाई अन्त्य गरी सम्पूर्ण समाजको स्वामित्व स्थापित गर्नु हो । तर यो लक्ष्य उत्पादनका साधनहरुको राष्ट्रियकरण गरेर पूरा हुनसक्दैन, जुन विगतको अनुभवबाट स्पष्ट हुन्छ ।
त्यसैगरी यो लक्ष्य उत्पादनका साधनहरुमाथि सम्पूर्ण समाजको स्वामित्व घोषणा गरेर पनि पूरा हुनसक्दैन, किनभने त्यो अमूर्त हुन्छ । यसको लागि सर्वप्रथम समाजका समूहहरुको स्वामित्व स्थापित गर्नुपर्दछ । यसको विधि राष्ट्रियकरण गरेर उत्पादनका साधनहरुलाई राज्यको स्वामित्वमा ल्याउनु होइन, समाजका समुदायहरुको स्वामित्वमा ल्याउनु हो । समाजका विभिन्न समूहहरु, संघटकहरु उत्पादन प्रक्रियाका अंगहरु हुन् । तिनीहरुको स्वामित्वमा सम्पूर्ण उत्पादन साधनहरु र सम्पदा ल्याउनु आवश्यक छ ।
समाजका संघटकहरुको रुपमा विभिन्न समूहहरु हुन्छन् । ती समूहहरुले समाजका अलग–अलग कार्यहरु सम्पन्न गर्दछन् । अलग–अलग भूमिकाहरु निर्वाह गर्दछन् । समाजीकरणको प्रक्रिया ती समूहहरुलाई तिनीहरुको आफ्नो क्षेत्रको स्वामित्व प्रदान गरेर सम्पन्न गर्न सकिन्छ । उदाहरणको लागि किसानहरुको समूहहरुलाई कृषिको स्वामित्व, मजदुरहरुको समूहहरुलाई उद्योगको स्वामित्व प्रदान गरेर कृषि तथा उद्योगको समाजीकरण गर्न सकिन्छ । कारण कृषिको वास्तविक स्वामी किसानहरु र उद्योगका वास्तविक स्वामी मजदुरहरु हुन्छन् ।
समाजको प्रत्येक क्षेत्र त्यसमा संलग्न मानिसहरुको समूहलाई सुम्पिनु वास्तविक स्वामित्व स्थापनाको वास्तविक प्रक्रिया वा विधि हो । तर समाजवादको लागि वास्तविक स्वामित्व स्थापना मात्र पर्याप्त हुँदैन । यो त्यसको एउटा पक्ष मात्र हो । त्यसको अर्को पक्ष समाजीकरण हो । समाजीकरणको लागि हरेक उद्यमलाई समाजको एउटा अंग बनाउनु पर्दछ । यसरी हरेक उद्यम सम्पूर्ण सामाजिक व्यवस्थाको एउटा अंगमा परिणत भएपछि त्यसको स्वतन्त्र अस्तित्व समाप्त हुन्छ र त्यसले समाजमाथि शासन गर्न पाउँदैन । कारण त्यसलाई अन्य अंगहरुले (उद्यमहरुले) नियन्त्रण गर्दछन् ।
निष्कर्ष
समाजवादको यात्रा निरन्तर अगाडि बढिरहेको छ । कल्पनावादीहरुको कल्पनामा मात्र अस्तित्ववान समाजवाद माक्र्सवादको रुपमा सिद्धान्तमा प्रकट भयो । मार्क्सवादको रुपमा सिद्धान्तमा मात्र अस्तित्ववान समाजवाद पेरिस कम्युनको रुपमा सन् १८७१ मा व्यवहारमा साकार भयो । पेरिस कम्युनमा ७२ दिनसम्म मात्र अस्तित्व रहेको समाजवाद १९१७ मा बोल्सेभिक क्रान्तिको रुपमा पृथ्वीको ६ खण्डको १ खण्ड सोभियत संघमा स्थापित भयो । र, सोभियत संघमा ७० वर्षसम्म मात्र अस्तित्वमा रहेको समाजवाद अब सम्पूर्ण विश्वमा ७० शताब्दीसम्म अस्तित्वमा रहने गरी स्थापित हुने अवस्था तयार भइरहेको छ ।
यसको लागि हामीलाई आज तीन कुराहरुको (तीन जादूमय साधनहरुको) आवश्यकता छ । तिनीहरु हुन्– नयाँ मार्गदर्शन, दृढ प्रतिज्ञा र अदम्य साहस ।
भी.आई. लेनिन पहिलो पटक पक्राउ पर्दा उनलाई लिएर जाने प्रहरी अधिकृतले यसरी उनीसँग सोधेका थिए रे–
“तिमीले यस्तो दुस्साहस किन गरेको ? तिमीलाई थाहा छैन, तिम्रो अगाडि ठूलो पर्खाल उभिएको छ भन्ने कुरा ?”
त्यसको प्रतिउत्तरमा लेनिनले यसो भनेका थिए रे–
“मलाईं राम्रोसँग थाहा छ, मेरो अगाडि ठूलो पर्खाल उभिएको छ भन्ने कुरा । र, मलाई यो कुरा पनि राम्रोसँग थाहा छ कि यो पर्खाल यति पुरानो र मक्किएको छ, यदि यसलाई एक मुक्का प्रहार गर्ने हो भने यो गल्र्यामगुर्लुम ढल्छ । त्यसकारण मैले यस्ते साहस गरेको ।”
तर आजको पुँजीवाद लेनिनले भनेजस्तो कमजोर छैन । यसविरुद्ध सफलतापूर्वक संघर्ष गर्नको लागि र यसमाथि निर्णायक प्रहार गर्नको लागि नयाँ मार्गदर्शनको आवश्यकता छ ।
आज यस्तो दृढ प्रतिज्ञाको आवश्यकता छ, जुन हो चि मिन्हले देखाएका थिए– “हामी सय वर्षदेखि लड्दै आएका छौं । अब फेरि आवश्यक पर्दछ भने हामी अरु हजार वर्ष लड्न तयार छौं ।”
त्यसैगरी आज चे ग्वेभाराको जस्तो साहसको आवश्यकता छ, जसले सिङ्गो ल्याटिन अमेरिकी महादेशमा क्रान्ति ल्याउने साहस गरेका थिए । अर्थात्, सिङ्गो भू–मण्डलमा क्रान्ति ल्याउने साहसको आवश्यकता छ । तब विजय सुनिश्चित हुन्छ ।

लेखकद्वयको प्रकाशोन्मुख पुस्तक ‘समाजवादको यात्रा’को एक अंश- सम्पादक ।
http://esamata.com बाट साभार 

No comments:

Post a Comment