Tuesday, October 17, 2017

समाजवादको यात्रा - रमेश सुनुवार

परिचय

मानव समाज परिवर्तनशील छ । यो निरन्तर निम्नावस्थाबाट उच्चावस्थातिर अग्रसर हुन्छ । हरेक सामाजिक व्यवस्थाले यो परिवर्तनको, यो विकासप्रक्रियाको एउटा चरणको प्रतिनिधित्व गर्दछ । त्यसकारण हरेक सामाजिक व्यवस्था आफूभन्दा पहिलेको सामाजिक व्यवस्थाको तुलनामा उत्कृष्ट हुन्छ, तर आफूभन्दा पछि आउने सामाजिक व्यवस्थाको तुलनामा निकृष्ट हुन्छ । समाजविकासको क्रममा हरेक सामाजिक व्यवस्था आवश्यक हुन्छ । तर आफ्नो अवधि पूरा भएपछि त्यसले अर्को सामाजिक व्यवस्थाको लागि स्थान छोड्नुपर्दछ । हरेक सामाजिक व्यवस्था ऐतिहासिक आवश्यकताले आउँदछ र ऐतिहासिक आवश्यकताले नै जान्छ । मानव समाजको इतिहासमा अहिलेसम्म चारवटा सामाजिक व्यवस्थाहरु आइसकेका छन् । र, यिनीहरुले मानव समाजको विकास वर्तमान स्तरमा आउनको लागि आवश्यक विभिन्न चरणहरुको प्रतिनिधित्व गरेका छन् । यिनीहरुमध्ये प्रथम आदिम साम्यवाद थियो । त्यसले मानव समाजलाई जंगली अवस्थाबाट सभ्यातामा प्रवेश गरायो । त्यसपछि दास व्यवस्था आयो । दास व्यवस्थाले मानव श्रमलाई समाजको आधार बनायो ।त्यसले मानव सभ्यताका सम्पूर्ण विषयहरुको जग हालेको थियो । त्यही जगमा उभिएर त्यसपछि प्रगति भएको थियो, आधुनिक सभ्यताको निर्माण सम्भव भएको थियो ।
“दास व्यवस्थाकै कारण पहिलो पटक अपेक्षाकृत ठूलो मात्रामा उद्योग र कृषिको बीचमा श्रम–विभाजन संभव भयो, र त्यसको साथसाथै युनानको सभ्यताको विकास हुन सक्यो, जसमा प्राचीन संसार प्रस्फुटित भएको थियो । दास व्यवस्था नभएको भए, युनानी राज्य पनि हुँदैनथियो; युनानी कला र विज्ञान पनि हुँदैनथिए । दास व्यवस्था नभएको भए, रोमन साम्राज्य कहिल्यै पनि असितत्वमा आउँदैनथियो । र, यदि युनानी कला तथा रोमन साम्राज्यले त्यसको जग नहालेको भए, आधुनिक युरोप पनि हुँदैनथियो । हामीले यो कहिल्यै पनि बिर्सनु हुँदैन कि हाम्रा सम्पूर्ण आर्थिक, राजनीतिक र बौद्धिक विकास एउटा यस्तो व्यवस्थाको जगमा उभिएको छ, जसमा दास व्यवस्था त्यति नै आवश्यक थियो, जति त्यसलाई सार्वत्रिक मान्यता प्राप्त थियो । र, यस अर्थमा हामीलाई यो भन्ने अधिकार पनि छ कि यदि प्राचीन कालमा दास व्यवस्था नभएको भए, आधुनिक कालमा समाजवाद पनि हुँदैनथियो ।” (फ्रेडरिक एंगेल्स, ड्युहरिङ् मत–खण्डन)
सामन्तवादले मानव समाजलाई विभिन्न जातिहरुमा र श्रेणीहरुमा विभाजन गरेर त्यसको विशिष्टीकरण गर्यो; मानवीय मूल्यहरुलाई दैवीकरण गरेर तिनीहरुलाई स्थायी,शाश्वत बनायो; र सबैभन्दा बढी मानव श्रमलाई सामाजिक स्तरमा विभाजन गरेर (सामाजिक श्रम–विभाजन गरेर) त्यसको विशिष्टीकरण गर्यो । यो नै मानव सभ्यताको लागि सामन्तवादको विशेष योगदान थियो ।
दास व्यवस्थापछि आएको सामन्तवादले मानव श्रमको परिष्कार, जातीय आधारमा श्रम–विभाजनद्वारा मानव कार्यहरु र श्रमका विषयहरुको विशेषीकरण तथा उत्पादक शक्तिको रुपमा भू–सम्पत्ति (जमिन)को विकास गर्यो । अर्थात् त्यसले श्रमको परिष्कार तथा विशेषीकरण गर्यो थप उत्पादक शक्तिको रुपमा भू–सम्पत्तिको विकास गर्यो ।
मानव समाजको विकासको क्रममा अर्को चरण पूँजीवाद हो । यो सर्वाधिक क्रान्तिकारी चरण सिद्ध भएको छ । यसमा मानव सभ्यताको उच्च विकास भएको छ । पूँजीवादले मानवको व्यक्तित्व, क्षमता,श्रम, कार्य, बुद्धि र उत्पादक शक्ति तथा साधनहरुको चौतर्फी विकास गरेको छ । यसले मानवको ज्ञान–विज्ञानमा अभूतपूर्व विकास गरेको छ । यसले मानवको कर्म र योग्यतालाई सवै कुरा प्राप्त गर्ने आधार र साधनको रुपमा स्थापित गरेको छ । 
पूँजीवादले मानवको क्षमतालाई असीमित बनाइदिएको छ । मानवश्रम र श्रमको विषयको विशिष्टतालाई अन्त्य गरेर तिनीहरुलाई सार्विक बनाएको छ । सबै प्रकारका प्राकृतिक सीमाहरु तथा विभाजनहरुको अन्त्य गरेको छ ।
अब समाजवाद आउँदै छ । यसको उदय वर्तमान पूँजीवादको अनिवार्य परिणामको रुपमा हुँदै छ । विगतको हरेक सामाजिक व्यवस्थाको जस्तै समाजवादको पनि आफ्नो ऐतिहासिक औचित्य वा महत्व छ । मानव समाजको विकास क्रममा आगामी चरण समाजवाद हो । समाजवादले आजसम्म विभिन्न वर्गहरुमा समाजको विभाजनलाई अन्त्य गर्नेछ र त्यसको स्थानहरुमा समाजका सम्पूर्ण सदस्यहरुको एकता, संघबद्धता स्थापित गर्नेछ । मानवजातिले आजसम्म आर्जन गरेको सम्पूर्ण सम्पदामाथि एउटा वर्गको एकाधिकारलाई अन्त्य गरेर त्यसलाई समाजका सम्पूर्ण सदस्यहरुको हातमा सुम्पिनेछ, एउटा वर्गको सम्पन्नता नै अर्को वर्गको विपन्नताको शर्त हुने अवस्थालाई, अर्को वर्गको दुर्गतिको शर्त हुने अवस्थालाई अन्त्य गर्नेछ र त्यसको स्थानमा हरेकको स्वतन्त्र विकास सवैको स्वतन्त्र विकासको शर्त हुने अवस्था स्थापित गर्नेछ । तब मात्र मानव समाज बाध्यताको संसारबाट स्वतन्त्रताको संसारमा जानेछ ।
“जब समाजले उत्पादनका साधनहरुमाथि अधिकार गर्दछ, तब मालहरुको उत्पादन समाप्त हुन्छ, र त्यसैसँग उत्पादकमाथि उत्पादनको प्रभुत्व पनि समाप्त हुन्छ । सामाजिक उत्पादनमा अराजकताको स्थान योजनाबद्ध, सचेतन संगठनले ग्रहण गर्दछ । त्यसपछि व्यक्तिहरुले आफ्नो–आफ्नो अस्तित्वको लाीग संघर्ष गर्नुपर्दैन । तब वास्तविक अर्थमा मानवले पहिलो पटक बाँकी पशुजगतबाट आफूलाई अन्तिम रुपमा अलग गर्दछ, र केवल पाशविक अस्तित्वका परिस्थितिहरुलाई छोडेर वास्तवमै मानव अस्तित्वका परिपिस्थतिहरुमा, जसबाट मानिसको पर्यावरण बन्दछ, र जुन अहिलेसम्म मानिसमाथि शासन गर्दैआइरहेका थिए, तिनीहरु अब मानिसको शासन तथा नियन्त्रणभित्र आउँदछन्, र मानवजाति आफ्नो सामाजिक संगठनको स्वयं मालिक बन्नुको कारण पहिलो पटक प्रकृतिको वास्तविक तथा सचेत स्वामी बन्दछ । अहिलेसम्म उसका आफ्ना सामाजिक कार्यहरुका नियमहरुले बाह्य प्राकृतिक नियमहरुको रुपमा उसमाथि शासन गर्ने गदर्थे । अब ऊ स्वयंले तिनीहरुको पूर्ण विवेकपूर्वक उपयोग गर्दछ र तिनीहरुलाई आफ्नो नियन्त्रणमा ल्याउँदछ । अहिलेसम्म मानिसको आफ्नो सामाजिक संगठनले प्रकृति र इतिहासद्वारा थोपरिएको एउटा अनिवार्य आवश्यकताको रुपमा मानिसको मुकाविला गर्दथ्यो, अब त्यो स्वयं मानवको स्वतन्त्र कार्यको परिणाम बन्दछ । अहिलेसम्म जुन बाह्य वस्तुगत शक्तिहरुले इतिहासमाथि शासन गर्दैआएका थिए, तिनीहरु अब स्वयं मानवको नियन्त्रणमा आउँदछन् । यही त्यो बिन्दु हो, जसको अगाडि मानिसले जब कुनै सामाजिक कारणहरुलाई गतिशील बनाउनेछ, तब तिनीहरुका मुख्य रुपमा र निरन्तर बढ्दो मात्रामा इच्छित परिणाम हुनेछन् । यो मानवको आवश्यकताको संसारबाट स्वतन्त्रताको संसारमा छलाङ्ग हुनेछ ।” (फ्रेडरिक एंगेल्स, ड्युहरिङ्ग मत–खण्डन)
समाजवादको यात्रा आरम्भ भइसकेको छ, तर पूरा भएको छैन । यो यात्रा पछाडितिर फर्किएर हँदैन, न त यथास्थितिमा रहेर नै हुन्छ । यो यात्रा त निरन्तर अगाडि बढेर मात्र हुन्छ । यसको लागि हरेक युगका प्रगतिशील तथा क्रन्तिकारी वर्गहरुको आफ्नो ऐतिहासिक कार्यभार हुन्छ । त्यो कार्यभार हो– विगतको समीक्षा, वर्तमानको विश्लेषण र भविष्यको योजना ।
विगतको समीक्षा
युरोपमा प्रजातान्त्रिक क्रान्ति सम्पन्न भएपछि सवै समस्याहरुको समाधान हुन्छ भन्ने मान्यता स्थापित भएको थियो । तर त्यो मान्यता भङ्ग हुन धेरै समय लागेन । सन् १७८९ मा सम्पन्न फ्रान्सेली क्रान्तिको आदर्श स्वतन्त्रता, समानता र भातृत्वको परिणाम ठीक विपरित भयो । स्वतन्त्रता लुटतन्त्रमा बदलियो, समानता असमानतामा बदलियो र भातृत्व मत्स्य न्यायमा बदलियो । समाजका अधिकांश मानिसहरु सर्वहारामा परिणत भए । प्रजातन्त्रअल्पतन्त्रमा फेरियो । समाजमा एकातिर अति सम्पन्नता र अर्कोतिर अति विपन्नता एकत्रित भयो ।
तब मानिसहरुले यसको विकल्प खोज्न थाले । केही विचारकहरुले यसको विकल्प समाजवाद हो भन्ने धारणा अगाडि ल्याए । तिनीहरुमध्ये प्रमुख सेन्ट साइमन, चार्ल्स फूरिये र रोबर्ट ओवेन थिए । सेन्ट साइमनले निजी स्वामित्वको अन्त्यको प्रस्ताव अगाडि सारे । साथसाथै उनले समाजका सवै मानिसहरुले श्रम गर्नुपर्ने आवश्यकता औंल्याए । चाल्र्स पूmरियेले निजी सम्पत्ति र त्यसमा आधारित पूँजीवादको तीव्र आलोचना गरे । रोबर्ट ओवेनले सहकारी आन्दोलन चलाए र सामूहिक स्वामित्वअन्तर्गत सामूहिक रुपमा काम गर्दा कति धेरै प्रगति गर्न सकिन्छ र कति धेरै मानिसहरुलाई सुखी तथा सम्पन्न बनाउन सकिन्छ भन्ने कुरा व्यावहारिक रुपमै देखाए ।
सेन्ट साइमन, चार्ल्स फूरिये र रोबर्ट ओवेनले पूँजीवादको विकल्पमा ल्याएको समाजवाद सही थियो, तर उनीहरुले प्रस्ताव गरेको विधि गलत थियो । फलस्वरुप उनीहरु कहिल्यै पनि सफल हुन सकेनन् । उनीहरुको सपना सपनामै सीमित रह्यो ।
काल्पनिक समाजवादीहरुले शोषित–उत्पीडित वर्गहरुको बीचमा समाजवादको विचारलाई फैल्याउने र मुक्तिको आशा जगाउने कार्यमा ठूलो योगदान गरे । तर उनीहरुको समाजवाद काल्पनिक स्वरुपको हुनुको कारण त्यो साकार हुनसकेन ।
त्यसबेला जर्मनीमा वैचारिक आन्दोलन उत्कर्षमा पुगेको थियो । त्यसका प्रतिनिधिहरु थिए जर्ज विल्हेल्म हेगेल र लुडविग फायरबाख । हेगेलले द्वन्द्ववादलाई सम्पूर्ण अंगहरुसहित पूर्णता प्रदान गरेका थिए र फायरबाखले अध्यात्मवाद (आदर्शवाद) लाई अन्तिम रुपमा अन्त्य गरेका थिए र त्यसको स्थानमा भौतिकवादलाई प्रतिष्ठापित गरेका थिए । त्यसबाट के निष्कर्ष निस्किन्थ्यो भने संसार निरन्तर परिवर्तनशील छ र संसारको मूल आधार भौतिक तत्व हो । तर एउटा उच्चतम प्रगतिको बावजुद जर्मन शास्त्रीय दर्शनका केही कमजोरीहरु थिए । हेगेलको द्वन्द्ववाद आदर्शवादभित्र कैद थियो । उता फायरबाखको भौतिकवाद अधिभूतवादको शिकार थियो । त्यसकारण दुवै अपांग र अपूर्ण थिए ।
उता बेलायतमा (इंग्ल्याण्डमा) औद्योगिक क्रान्ति सम्पन्न भएको थियो, जसले पूँजीवादलाई उत्कर्षमा पु¥याएको थियो । त्यसले पूँजीवादको स्वरुप, सीमा तथा पूँजीवादभित्र पूँजीपति वर्ग र श्रमिक वर्गको स्थितिलाई स्पष्ट पारेको थियो । पूँजीवादको समुच्च विकासलाई अध्ययन गरेर पूँजीवादी अर्थशास्त्रीहरुले, जसमा एडम स्मिथ र डेविड रिकार्डो प्रमुख थिए, के निष्कर्ष निकालेका थिए भने पूँजीवादको संकट अवश्यम्भावी छ । तर उनीहरुले त्यसको सही कारण बताउन सकेका थिएनन् ।
इतिहासको त्यो निर्णायक चरणमा एउटा यस्तो व्यक्तिको आवश्यकता थियो, जसले यी सम्पूर्ण कुराहरुलाई संश्लेषण गरेर भविष्यको दृष्टि (vision) दिन सकोस् । यस्तो व्यक्तित्वको रुपमा कार्ल माक्र्स र फ्रेडरिक एंगेल्स आए । उनीहरु दुवै जर्मन थिए र आफ्नो जमानाका प्रमुख वैचारिक (बौद्धिक) उपलब्धिहरुसँग पूर्णतया परिचित थिए । विचार, मार्ग र उद्देश्य (लक्ष्य) एउटै भएको हुँदा उनीहरुको छिट्टै भेट पनि भयो र घनिष्ठ मित्रता पनि कायम भयो । त्यसपछि उनीहरुको सहकार्य आजीवन चलिरह्यो । त्यसकै परिणाम थियो माक्र्सवादको उदय ।
मार्क्स र एंगेल्सले सर्वप्रथम त्यसबेला सवैभन्दा अगाडि बढेका तीन देशहरुका प्रमुख उपलब्धिहरुलाई आलोचनात्मक परिष्कार गरे । तिनीहरु थिए– जर्मन शास्त्रीय दर्शन, अंग्रेजी शास्त्रीय राजनैतिक अर्थशास्त्र र फ्रान्सेली काल्पनिक समाजवाद । त्यसपछि तिनीहरुलाई तार्किक निष्कर्षमा पुर्याएर उनीहरुले एउटा सुस्पष्ट नयाँ दृष्टि (vision) संसारको सामु प्रस्तुत गरे– वैज्ञानिक समाजवाद ।
काल्पनिक समाजवादलाई वैज्ञानिक समाजवादमा बदल्नको लागि मार्क्स र एंगेल्सले चारवटा कुराहरु थपेका थिए– (१) इतिहासको भौतिकवादी धाराणा, (२) वर्ग–संघर्षको सिद्धान्त, (३) अतिरिक्त मूल्यको सिद्धान्त, र (४) क्रान्तिकारी शक्तिको रुपमा सर्वहारा वर्ग ।
१. इतिहासको भौतिकवादी धारणा
काल्पनिक समाजवादीहरुले पूँजीवादलाई अतर्कसंगतभनेर आलोचना गरेका थिए र त्यसको स्थानमा एउटा तर्कसंगत, आदर्श समाजकोस्थापना गर्ने प्रस्ताव गरेका थिए, जुन समाजवाद थियो। उनीहरुको लागि समाजवाद समाज विकासको अनिवार्य परिणाम थिएन, त्यसको विपरित यो कुनै महान व्यक्तिको चिन्तनको परिणाम थियो । समाजवादमा, त्यति मात्र होइन, सम्पूर्ण ऐतिहासिक विज्ञानमा (समाजशास्त्रमा) व्याप्त यो आदर्शवादी धारणालाई हटाएर मार्क्स र एंगेल्सले भौतिकवादी धारणा अगाडि ल्याए ।
इतिहासको भौतिकवादी धारणाअनुसार मानवजीवनको लागि आवश्यक साधनहरुको उत्पादन र विनिमय प्रणाली प्रत्येक सामाजिक व्यवस्थाको आधार हो । सवै सामाजिक परिवर्तनहरु र राजनीतिक क्रान्तिहरुका अन्तिमकारण मानिसको मस्तिष्कमा होइन, उसको चिन्तनमा होइन, बरु उत्पादन तथा विनिमय प्रणालीमा हुने परिवर्तनहरुमा निहित छन् । तिनीहरुको खोज प्रत्येक युगको दर्शनमा होइन, बरु अर्थव्यवस्थामा गरिनु पर्दछ । यदि कुनै सामाजिक व्यवस्था अविवेकपूर्ण, अतर्कसंगत र अन्यायपूर्ण छ भने त्यसको कारण उत्पादन तथा विनिमय प्रणालीमा भित्र–भित्रैै यस्ता परिवर्तनहरु हुनु हो, जससँग पुरानो आर्थिक प्रणालीमा आधारित सामाजिक व्यवस्थाको संगति रहेको छैन । यसको साथसाथै जुन असंगति, अव्यवस्थाहरु उत्पन्न भएका हुन्छन्, तिनीहरुलाई हटाउने साधनहरु पनि धेर–थोर विकसित अवस्थामा, तिनै परिवर्तित उत्पादन प्रणालीमा निहित हुन्छन् । त्यस्ता साधनहरुलाई आदर्श, निरपेक्ष सिद्धान्तहरुको निष्कर्षको रुपमा दिमागबाट निकाल्न सकिँदैन, बरु तिनीहरुलाई विद्यमान उत्पादन प्रणालीका ठोस तथ्यहरुमै पाउन सकिन्छ ।
त्यसपछि समाजवाद कुनै महान व्यक्तिको चिन्तनको परिणाम रहेन, त्यसको विपरित यो विद्यमान पूँजीवादी व्यवस्थामा विकसित उत्पादक शक्तिको परिणाम सिद्ध भयो, जसको कारण पूँजीवाद अन्यायपूर्ण, दोषपूर्ण र अतर्कसंग बनेको थियो । अब समाजवाद यही उत्पादक शक्तिको आधारमा स्थापित हुन सक्दथ्यो ।
२. वर्ग–संघर्षको सिद्धान्त
अतर्कसंगत र अन्यायपूर्ण पूँजीवादको स्थानमा तर्कसंगत र निर्दोष समाजवादको स्थापना गर्ने विधिको रुपमा काल्पनिक समाजवादीहरुले वर्ग–समन्वयलाई मानेका थिए । तर वर्गीय समाजमा वर्गहरुका हितहरु विपरित स्वरुपका हुन्छन् । त्यसकारण यस्ता विपरित हितहरु भएका वर्गहरुको बीचमा समन्वयको अपेक्षा गर्नु आदर्श कल्पनाबाहेक अरु केही हुन सक्दैनथ्यो । यसको बदला माक्र्स र एंगेल्सले इतिहासको गम्भिर अध्ययनबाट वर्गीय समाजमा सामाजिक रुपान्तरणको विधिको रुपमा वर्ग–संघर्षको खोज गरेका थिए । यसअनुसार वर्गीय समाजमा वर्ग–संघर्ष समाज रुपान्तरणको उत्तोलक हो
अब यसबाट यो कुरा सिद्ध भयो– समाजवाद स्थापना गर्ने विधि धनी र गरीबको बीचमा, उत्पीडक र उत्पीडितको बीचमा, शोषक र शोषितको बीचमा, शासक र शासित वर्गको बीचमा मेल–मिलाप, समन्वय वा सम्झौता होइन, बरु अनवरत संघर्ष हो । शोषक वर्गको रुपमा रहेको पूँजीपतिलाई बलपूर्वक निषेध गरेर नै समाजवादको स्थापना हुनसक्दछ । शासक पूँजीपति वर्गलाई सत्ताच्युत गर्नु समाजवादको अनिवार्य शर्त हो ।
“आजसम्म उत्पन्न सम्पूर्ण समाजको इतिहास वग–संघर्षहरुको इतिहास रहेको छ । संक्षेपमा उत्पीडक र उत्पीडितले निरन्तर एक–अर्कोको विरोध गर्दै आएका छन् । उनीहरु कहिले अप्रत्यक्ष र कहिले प्रत्यक्ष रुपमा निरन्तर एक–अर्कोसँग संघर्ष गर्दै आएका छन्, जुन संघर्षको अन्त्य हरेक पटक या त सम्पूर्ण समाजको क्रान्तिकारी रुपान्तरणमा, अथवा संघर्षरत दुवै वर्गहरुको बर्बादीमा भएको छ ।” (मार्क्स–एंगेल्स, कम्युनिस्ट घोषणापत्र)
३. अतिरिक्त मूल्यको सिद्धान्त
काल्पनिक समाजवादीहरुले पूँजीवादी अन्यायपूर्ण, शोषणमूलक छ, भनेर यसको आलोचना गरेका थिए र यसलाई त्याज्य घोषित गरेका थिए । तर उनीहरुले यसमा हुने अन्याय, शोषणलाई दर्शाउन सकेका थिएनन्, किनभने त्यो प्रत्यक्ष रुपमा हुँदैन । त्यसलाई माक्र्सको अतिरिक्त मूल्यको सिद्धान्तले उद्घाटित गर्यो ।
अतिरिक्त मूल्यको सिद्धान्तबिना पूँजीवादको सुन्दर आवरणभित्र लुकेको अन्याय, शोषण, कुरुप पक्षलाई दर्शाउन संभव थिएन । पूँजीपति वर्गले श्रमिक वर्गलाई प्रत्यक्ष रुपमा शोषण गर्दैन । उसले रुपमा श्रमको उचित मूल्य तिर्छ, कामअनुसार दाम दिन्छ । तर उसले अप्रत्यक्ष रुपमा श्रमिकलाई दिएको ज्यालाभन्दा बढी काम गराउँदछ, जसबाट उसले नाफा कमाउँदछ । यही अतिरिक्त श्रमबाट पूँजीपति वर्गको नाफा र पूँजी बन्दछन् । त्यसकारण पूँजीवादी उत्पादनको लक्ष्य यही अतिरिक्त मूल्य हो ।
पूँजीवादी व्यवस्थाको यो रहस्यको उद्घाटनबाट पूँजीवादको अन्यायपूर्ण, शोषणमूलक, कुरुप स्वरुप स्पष्ट भयो । 
अतिरिक्त मूल्यको सिद्धान्तले पूँजीवादी व्यवस्थामा न्यायको आवरणभित्र हुने अन्याय, ‘कामअनुसार दाम’को आवरणभित्र हुने शोषण र औपचारिक समानताभित्र हुने वास्तविक असमानतालाई सवैको सामु खोलेर राखिदियो ।
यही अतिरिक्त मूल्यको शोषणबाट पूँजीपति वर्ग निरन्तर धनी सम्पन्न हुँदै जान्छ र श्रमिक वर्ग निरन्तर गरीब, विपन्न बन्दै जान्छ । एकातिर धन र अर्कोतिर गरीबी, दरिद्रता चुलिन्छ । एकातिर सम्पन्नता र अर्कोतिर दरिद्रता थुप्रिन्छ ।
४.क्रान्तिकारी शक्तिको रुपमा सर्वहारावर्ग
वर्गीय समाजमा हरेक सामाजिक व्यवस्थाको एउटा प्रतिनिधि वर्ग हुन्छ, जुन शासक वर्ग हुन्छ । उदाहरणको लागि, दास व्यवस्थामा दासमालिक, सामन्तवादमा सामन्त र पूँजीवादमा पूँजीपति प्रतिनिधि र शासक वर्ग हुन्छन् । यसैगरी समाजवादमा पनि एउटा प्रतिनिधि वर्ग हुन्छ । त्यो वर्गले नै पुरानो सामाजिक व्यवस्थाको प्रतिनिधि शासक वर्गको विरुद्ध संघर्ष गर्दछ र त्यसलाई पराजित गरेर र पुरानो व्यवस्थालाई अन्त्य गरेर नयाँ सामाजिक व्यवस्थाको स्थापना गर्दछ । तर काल्पनिक समाजवादीहरुले वर्ग–संघर्ष र कुनै पनि प्रतिनिधि वर्गको अस्तित्वलाई मान्दैनथिए । उनीहरु सम्पूर्ण समाजको मुक्तिको आदर्शवादी कुरा गर्दथे । उनीहरुको दृष्टिमा समाजका सम्पूर्ण सदस्यहरुको संयुक्त प्रयत्नबाट, जुन कुनै महान चिन्तकको योजनाअनुसार हुन्छ, समाजवाद स्थापित हुन्थ्यो ।
मार्क्स र एंगेल्सले त्यसको विपरित समाजवादको प्रतिनिधि वर्गको रुपमा सर्वहारा वर्गलाई प्रस्तुत गरे । उनीहरुको विचारअनुसार समाजवादको लागि सर्वहारा एकमात्र क्रान्तिकारी शक्ति हो, किनभने यो वर्ग पूँजीवादको अनिवार्य परिणाम (वैध सन्तान) हो र अन्य वर्गहरु वर्ग–संघर्षको क्रममा लोप हुन्छन् । “सर्वहारावर्ग पूँजीवादको चिहान खन्ने मलामी हो ।” त्यसैगरी सर्वहारावर्ग मानव समाजको अन्तिम वर्ग पनि हो, किनभने यसले आफूलाई शासक वर्गको रुपमा स्थापित गरेर सम्पूर्ण वर्गको अन्त्य गर्दछ ।
अब यी चार कुराहरुको आधारमा समाजवाद काल्पनिकबाट वैज्ञानिक बन्यो । निश्चित रुपमा निरंकुश, सामन्तवादको तुलनामा पूँजीवाद अत्यन्त प्रगतिशील र क्रान्तिकारी थियो । त्यसले समाजमा स्वतन्त्रता, समानता र भातृत्वका आधारहरुको (जगहरुको) शिलान्यास गरेको थियो । जाति, कुल, वंश, धर्म, परम्परा, आदि स्थायी, अपरिवर्तनशील, र प्राकृतिक अधिकारहरुलाई समाप्त पारेर त्यसले कर्म र योग्यतालाई हरेक अधिकारको आधार बनाएको थियो । सबै शाश्वत, अपरिवर्तनशील र प्राकृतिक विभाजनहरुलाई, भिन्नताहरुलाई अन्त्य गरेर त्यसले सवै मानिसहरुलाई स्वतन्त्र र समान घोषित गरेको थियो । तर त्यसमा एउटा कुराको कमी थियो, र त्यो हो– आर्थिक समानता, जसबिना अन्य सवै स्वतन्त्रता र समानताहरु अर्थहीन हुन्छन् । पूँजीवादमा कानूनको दृष्टिमा त सवै मानिसहरु समान हुन्छन्, तर यथार्थमा (वास्तविकतामा) उनीहरु पूँजीपतिहरुको अधीनमा हुन्छन् । किनभने आर्थिक दासता सवै प्रकारका दासताको कारण बन्दछ । वैज्ञानिक समाजवादले यही आर्थिक समानतालाई अन्य सवै समानता र स्वतन्त्रताको आधार बनायो । यही कुरामा पूँजीवादको तुलनामा समाजवादको भिन्नता र उत्कृष्टता दुवै अन्तर्निहित छन् ।
यसप्रकार वैज्ञानिक समाजवादले पूँजीवादी समाजमा फैलिएको भयानक अराजकतालाई अन्त्य गर्नको लागि ठोस विकल्पहरु (उपायहरु) प्रस्तुत ग¥यो । सर्वप्रथम त त्यसले पूँजीवादमा सुधार गर्नुको बदला पूँजीवादी व्यवस्थाकै अन्त्य गर्न आह्वान गर्यो । किनभने त्यसको निष्कर्षअनुसार पूँजीवादमा जुन समस्याहरु उत्पन्न भएका थिए, तिनीहरुको कारण स्वयं पूँजीवादी व्यवस्था थियो । त्यसपछि निर्बाधप्रतिस्पर्धाको स्थानमा योजनाबद्ध उत्पादन, पूँजीपति वर्गको सत्ताको स्थानमा उत्पादक वर्गको सत्ता, निजी स्वामित्वको स्थानमा सामाजिक स्वामित्व, र औपचारिक राजनीतिक स्वतन्त्रता र समानताको स्थानमा आर्थिक स्वतन्त्रता र समानताप्रस्तुत गर्यो । समाजवादले प्रस्तुत गरेका यी विकल्पहरु यस्ता अचूक उपायहरु थिए, जसबाट पूँजीवादको विरुद्ध (पूँजीपति वर्गको विरुद्ध) श्रमिक वर्गका सम्पूर्ण आन्दोलनहरुलाई स्पष्ट मार्गदर्शन प्राप्त भयो ।
तब समाजवादको यात्रा शुरु भयो । यही सिद्धान्तको आधारमा विश्वमा एकपछि अर्को समाजवादी क्रान्तिहरु भए । त्यो लहरले विश्वभरि हलचल मच्चियो । यहाँसम्म कि स्वयं पूँजीवादीहरु पनि त्यसबाट जोगिनको लागि समाजवादको खोल ओढ्न विवश भए । जसरी जीवहरुले (प्राणीहरुले)शत्रुहरुबाट बच्नको लागि आफूलाई वातावरणको अनुकूल रंगको बनाउँदछन्, त्यसैगरी संसारका पूँजीवादीहरुले समाजवादको लहरबाट (ज्वारभाटाबाट) बच्नको लागि आफूलाई रातो रंगले रंग्याए । विश्वभरि ‘प्रजातान्त्रिक समाजवाद’ नामको भ्रमको खेती गरियो । नेपालमा नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवादको कार्यक्रम अवलम्बन गर्नु त्यसकै एउटा उदाहरण थियो ।
तर, आफ्नो महान ऐतिहासिक भूमिकाको बावजुद विगतमा समाजवादका केही सीमाहरु र कमजोरीहरु (दोषहरु) थिए । पहिलो त त्यो मानव श्रममा आधारित थियो; दोस्रो, त्यो राज्यनियन्त्रित थियो; र तेस्रो, त्यो राज्यको स्वामित्वमा आधारित थियो ।
१.श्रममा आधारित समाजवाद
विगतमा समाजवाद मानव श्रममा (सामाजिक श्रममा) आधारित थियो । त्यसकारण त्यो मानव श्रमका सीमाहरुद्वारा सीमित थियो । परिणामस्वरुप त्यसले पछि आउने अर्को सामाजिक व्यवस्थाको लागि, जुन विज्ञान–प्रविधिमा आधारित छ, स्थान छोड्नु पर्यो । तर त्यसबेला अन्यथा हुन पनि सक्दैनथ्यो । किनभने त्यसबेला विज्ञान–प्रविधिको विकास त्यो स्तरमा पुगेको थिएन, जसमा समाज उभिन सकोस्, र मानव श्रमबाहेक अरु कुनै उत्पादक शक्ति थिएन ।
२. राज्यनियन्त्रित समाजवाद
विगतमा समाजवाद राज्यनियन्त्रित थियो । त्यसबेला राज्य र समाजलाई एउटै मानियो । त्यसकारण राज्यको नियन्त्रणलाई नै समाजको नियन्त्रण मान्ने गल्ती गरियो । सबै कुराहरु राज्यद्वारा नियन्त्रित भएको हुँदा जनता निष्क्रिय बन्नगए । सबै कुराहरुको निर्णय राज्यले गर्ने भएपछि जनताले चाहिँ के गर्ने त ? जनताले चाहिँ दिएको खाने, अह्राएको गर्ने– अर्थात्, ‘दालभात तरकारी, जीउज्यान सरकारी !’ यसरी सबैको समानताको लागि स्थापित समाजवाद राष्ट्रिय पूँजीवादमा बदलियो । समाजको नाममा राज्यको एकाधिकार कायम भयो ।
खान–लाउन उपलब्ध हुनु नै स्वतन्त्रता होइन । यदि त्यसो हुन्थ्यो भने, प्राचीन कालका दासहरु कति स्वतन्त्र हुन्थे होलान्; पोल्ट्री फार्ममा पालिएका कुखुराहरु कति स्वतन्त्र हुन्थे होलान् ! विगतको समाजवादमा पनि जनताको अवस्था प्राचीन कालका दासहरु वा पोल्ट्री फार्मका कुखुराहरुको भन्दा धेरै भिन्न थिएन । उनीहरु सत्ताधारीहरुको अधीनस्थ थिए ।
समाज र राज्य एउटै होइनन् । राज्यसत्ता समाजबाट उत्पन्न हुन्छ र त्यसपछि समाजमाथि शासन गर्ने शक्ति बन्दछ । फेरि राज्यसत्ताको सञ्चालन त नोकरशाह (bureaucrat)ले गर्दछन् । त्यसकारण यदि समाजको नाममा सबै कुरा राज्यको अधीनस्थ बनाइयो भने, सबैभन्दा शक्तिशाली नोकरशाह बन्दछ । फलस्वरुप समाज कमजोर र राज्यसत्ता बलियो बन्दछ । जनता कमजोर र शासकहरु शक्तिशाली बन्दछन् । शासक र शासित, शोषक र शोषित वर्गहरुको सृजना हुन्छ । राज्यसत्ताबाट शोषक वर्गको उत्पत्ति हुन्छ । राज्यसत्ता विलीन हुनुको सट्टा अझ सशक्त, बलियो र सुदृढ बन्दछ । राज्यसत्ताको आडमा परजीवी वर्गको उदय हुन्छ, त्यसको पालन–पोषण हुन्छ । 
पूँजीवादी व्यवस्थामा पनि राज्यसत्ता स्वायत्त हुँदैन । त्यो पूँजीपति वर्गको अधीनमा हुन्छ । त्यसकारण पूँजीपति वर्गले त्यसलाई आफ्नो हितअनुसार, आफ्नो स्वार्थअनुसार सञ्चालन गर्नसक्दछ । समाजको अधीनमा राज्यसत्ता भएमा मात्र समाजले त्यसलाई आफ्नो हितमा उपयोग गर्नसक्दछ । तब मात्र राज्यसत्ता लोप हुन्छ । तर विगतमा ठीक यसको उल्टो भयो । समाज, जनता, नागरिक नामको केही चीज बाँकी रहेन, अजङ्गको भीमकाय, दैत्याकार राज्यसत्ता मात्र रह्यो ।
३. राज्यको स्वामित्वमा आधारित समाजवाद
पूँजीवादमा उत्पादनका साधनहरुमाथि निजी स्वामित्वको कारणले उत्पन्न समस्यालाई अन्त्य गर्नको लागि तिनीहरुमाथि सामाजिक स्वामित्व स्थापित गर्नु समाजवादको लक्ष्य हो । तर विगतमा यसको विधिको रुपमा राष्ट्रियकरणलाई अवलम्बलन गरियो । फलस्वरुप सम्पूर्ण उत्पादनका साधनहरुमाथि समाजको स्वामित्व स्थापित भएन । त्यसको विपरित राज्यको स्वामित्व स्थापित भयो । यहाँ पनि राज्य र समाजलाई एउटै मान्ने गल्ती गरियो । परिणामस्वरुप त्यहाँ न जनतालाई श्रम गर्ने उत्साह थियो, न उनीहरुको जीवनस्तर नै उठ्यो । राज्यसत्तामा रहने सीमित मानिसहरुको रजाइँ चल्यो, आम जनताको हातमा केही रहेन । जुन तत्वलाई स्वतन्त्रताको आधार मानिएको थियो, अर्थात् आर्थिक तत्व, त्यसैबाट जनता वञ्चित भए । समाजवादसँग जनताको मोह भंग भयो । त्यसकारण समाजवादी सत्ता एकपछि अर्को ढल्दा कसैले पनि त्यसको रक्षा गरेन ।

वर्तमानको विश्लेषण

आज हामी एउटा नयाँ विश्वमा छौं । यो नयाँ विश्वमा सोभियत संघ छैन, शोषित–उत्पीडित वर्गहरुको आशा–केन्द्र समाजवादी सत्ता छैन, कुनै जमानामा संसार हल्लाउने कम्युनिस्ट आन्दोलनमा गतिरोध आएको छ र शक्तिशाली श्रमिक संगठनहरु शिथिल भएका छन् । सम्पूर्ण विश्वमा पूँजीवादीहरुको करिब एकल वर्चस्व (प्रभुत्व) स्थापित भएको छ, जसको प्रतिरोध या त हुँदैहुँदैन या प्रभावहीन हुन्छ । तर पनि, सोभियत संघ नभएकोले यो विश्व नयाँ भएको होइन । त्यसको विपरित, यो विश्वको नयाँ स्वरुपको कारण सोभियत संघको अन्त्य भएको छ र पूँजीवादीले पनि अस्तित्व बचाउन आफूलाई बदलेको छ ।

विगतमा नै ढल्छ भनिएको पूँजीवाद अझ हराभरा भएर आएको छ । पहिले आपसमा प्रतिस्पर्धा, युद्ध र काट–मार गर्ने पूँजीवादीहरु अहिले आश्चर्यजनक रुपलेएकजुट, संयुक्त भएका छन् । इराक, युगोस्लाभिया, अफगानिस्तान, लिबिया र सिरियाको विरुद्ध युद्धमा उनीहरुले एकताको राम्रो परिचय दिएका छन् । यस्तो एकताका दृष्टान्तहरु बहुराष्ट्रि कम्पनीहरु, निगमहरु र गठबन्धनहरु पनि हुन् ।
विगतमा नै ढल्छ भनिएको पूँजीवाद अझ हराभरा भएर आएको छ, किन ? पहिले आपसमा प्रतिस्पर्धा, युद्ध र काटमार गर्ने पूँजीवादीहरु अहिले एकजुट भएका छन्, किन ? र समाज रुपान्तरणको अजेय शक्ति सर्वहारावर्ग अहिले निष्क्रिय भएको छ, किन ? यी प्रश्नहरुको उत्तरको लागि वर्तमानको विश्लेषण, अध्ययन गर्नु आवश्यक छ । 
वर्तमान युगका चार आधारभूत विशेषताहरु छन्–(१) नयाँ उत्पादक शक्तिको रुपमा विज्ञान–प्रविधिको विकास, (२) पूँजीवादको नयाँ स्वरुप, (३) उत्पादन क्षेत्रबाट मानवश्रमको विस्थापन, र (४) समाजको नयाँ संरचना ।
१. नयाँ उत्पादक शक्तिको रुपमा विज्ञान–प्रविधिको विकास
उन्नाइसौं र बीसौं शताब्दीको आरम्भमा राष्ट्रहरुको शक्ति तिनीहरुको औद्योगिक क्षमता थियो, जसको प्रमुख तत्व स्टील उत्पादन थियो । दोस्रो विश्वयुद्धपछि, वैज्ञानिक–प्राविधिक क्षमता देशको प्रमुख शक्ति बन्यो, र अनुसन्धान तथा विकास (R &D) ले शक्तिको मापनको रुपमा रहेको स्टील उत्पादनलाई प्रतिस्थापित गर्यो । त्यसकारण वर्तमान समाजमा (उत्तर–आधुनिक समाजमा) प्रमुख समस्या विज्ञानको संगठन हो, र प्राथमिक संस्था विश्वविद्यालय वा अनुसन्धान संस्था हो, जहाँ यस्तो कार्य गरिन्छ ।
औद्योगिक समाजमा उत्पादनको लागि यन्त्रहरु र मानिसहरुको संयोजन हुन्छ, उत्तर–आधुनिक समाज सामाजिक नियन्त्रण, नव–प्रवत्र्तन तथा परिवर्तनको निर्देशनको लागि ज्ञानको वरिपरि संगठित भएको छ । र, यसले पुनः नयाँ सामाजिक सम्बन्धहरु र नयाँ संरचनाहरुलाई जन्म दिन्छ, जसलाई राजनीतिक रुपले व्यवस्थापन गर्नुपर्दछ ।
अहिले ज्ञान वास्तवमा कुनै पनि देशको सञ्चालनको लागि आवश्यक भएको छ । उत्तर–आधुनिक समाजको लागि विशेष कुरा स्वयं ज्ञानको चरित्रमा परिवर्तन हो । निर्णयहरुको संगठन र परिवर्तनको निर्देशनको लागि जुन कुरा निर्णायक भएको छ, त्यो सैद्धान्तिक ज्ञानको केन्द्रीयता हो । अनुभवमाथि सिद्धान्तको प्रथमिकता र चिन्हहरुको अमूर्त प्रणालीहरुमा ज्ञानको सूत्रीकरण (codification), जुन स्वयंसिद्धि प्रणाली (axiomatic system)मा जस्तै धेरै भिन्न तथा विविधीकृत अनुभवका क्षेत्रहरुलाई स्पष्ट गर्न, मार्गदर्शन गर्न उपयोग गर्न सकिन्छ
अहिले हरेक समाज नव–प्रवत्र्तन र परिवर्तनको नियन्त्रणबाट बाँच्दछ, र आगामी योजनाको लागि भविष्यको पूर्वानुमान गर्ने प्रयत्न गर्दछ । सामाजिक नियन्त्रणको यो प्रतिबद्धताले समाजमा योजना र भविष्यवाणीलाई प्रवेश गराउँदछ । यो नव–प्रवत्र्तनको प्रकृतिप्रति परिवर्तित सचेतता हो, जसले सैद्धान्तिक ज्ञानलाई यति निर्णायक बनाउँदछ ।
यो कुरा सर्वप्रथम विज्ञान र प्रविधिको परिवर्तित सम्बन्धमा देख्न सकिन्छ । विगत कालका करिब सवै उद्योगहरु– स्टील, विद्युतीय शक्ति, टेलिग्राफ, टेलिफोन, मोटरगाडी, हवाईजहाज–मुख्यतया प्रतिभाशाली आविष्कारकहरुका सृजना थिए, जो विज्ञान र आफ्ना अनुसन्धानका आधारभूत नियमहरुसँग अपरिचित थिए । तर वर्तमान कालका सवै उद्योगहरु विज्ञानमा पारंगत इन्जिनियरहरुका सृजना हुन् । वर्तमान कालका प्रमुख उद्योगहरुमध्ये एउटा रासायनिक उद्योग हो, जसमा विज्ञान र प्रविधिको जटिल संयोजन हुन्छ । किनभने रासायनिक संश्लेषणको लागि– यौगिकहरुका संयोजन र रुपान्तरणको लागि– सूक्ष्म अणुहरुको सैद्धान्तिक ज्ञान आवश्यक हुन्छ ।
वर्तमान समयमा विज्ञान, प्रविधि र अर्थतन्त्रको संयोजनलाई ‘अनुसन्धान र विकास’ (Research and Development) शब्दावलीद्वारा व्यक्त गरिन्छ । यसबाट विज्ञानमा आधारित उद्योगहरु (कम्प्युटर, इलोक्ट्रोनिक्स, अप्टिक्स, पोलिमर) आएका छन्, जसले निरन्तर समाजका उत्पादन क्षेत्रहरुमा आधिपत्य जमाइरहेका छन् । तर यी विज्ञानमा आधारित उद्योगहरु मुख्यतया सैद्धान्तिक कार्यमा आधारित छन् । उदाहरणको लागि, कम्प्युटरको अस्तित्व केही वर्षपहिले फेलिक्स ब्लखद्वारा प्रवत्र्तित ठोस अवस्थाको भौतिक विज्ञान (solid state physics)मा गरिएको कार्यबिना हुन सक्दैनथ्यो । लेजरको आगमन आणविक प्रकाशीय बिममा आई.आई.रबिसको अनुसन्धानको प्रत्यक्ष परिणाम हो ।
अहिले कुनै पनि क्षेत्रका प्रगतिहरु बढ्दो मात्रामा सैद्धान्तिक कार्यको प्राथमिकतामा आधारित छन्, जसले ज्ञान कुराहरुलाई सूत्रबद्ध गर्दछ, र आनुभविक पुष्टिको लागि मार्गदर्शन गर्दछ । परिणामस्वरुप, सैद्धान्तिक ज्ञान निरन्तर रुपमा समाजको रणनीतिक स्रोत (प्रमुख स्रोत), मूल आधार बनेको छ । र, विश्वविद्यालयहरु, अनुसन्धान संगठनहरु र बौद्धिक संस्थाहरु, जहाँ सैद्धान्तिक ज्ञान सूत्रबद्ध र समृद्ध हुन्छ, उदीयमान समाजका प्रमुख भागहरु बनेका छन् । यो कुरा ज्ञानको हरेक क्षेत्रमा लागु हुन्छ ।
पूँजीवादी समाजमा आधारभूत तत्व निजी सम्पत्ति थियो, र वर्तमान समाजमा यो तत्व सैद्धान्तिक ज्ञानको केन्द्रीयता हो । औद्योगिक समाजमा प्रमुख आर्थिक विषय पूँजी थियो तर उत्तर–औद्योगिक समाजमा प्रमुख आर्थिक विषय विज्ञानको संगठन भएको छ ।
उत्तर–औद्योगिक समाजका आधारहरु उत्पादनका विधिहरुमाथि, विशेषगरी विद्युतीय तथा रासायनिक उद्योगहरुमा रुपान्तरणको लागि, विज्ञानको निरन्तर प्रभावमा निहित छन् । 
विज्ञान जगत त्यो बीजाणु हो, जसमा भावी समाजको भ्रूण रहेको छ ।
सामाजिक संरचनाको नयाँ निर्धारक विशेषता वैज्ञानिक–प्राविधिक क्रान्ति हो, अथवा सैद्धान्तिक ज्ञानको केन्द्रीयता हो, जसले सामाजिक संगठनको प्रमुख आधारको रुपमा काम गर्दछ । 
समाजको नयाँ स्तरीकरण प्रणालीको विशेषता वैज्ञानिक तथा प्राविधिक वर्गहरु र विज्ञान–प्रविधिभन्दा बाहिर रहने वर्गहरुको बीचमा विभाजन हो ।
नव–प्रवर्तनसँग विज्ञानको संयोजन र व्यवस्थित तथा संगठित (योजनाबद्ध) प्राविधिक बृद्धिको संभाव्यता, वर्तमान समाजको प्रमुख आधार हो । पहिलेका आविष्कारहरु र नव–प्रत्र्तनहरु वैज्ञानिक अनुसन्धानसँग जोडिएका थिएनन् । तर वर्तमान उद्योगहरु–पोलिमर र प्लास्टिक, इलोक्ट्रोनिक्स र अप्टिक्स, रसायनहरु र सिन्थेटिक्स, वायुयान र सञ्चार– सबै पूर्णतया विज्ञानमा आधारित छन् ।
उत्तर–आधुनिक समाजको एउटा अक्ष प्रविधि हो र अर्को अक्ष आधारभूत स्रोतको रुपमा ज्ञान हो । ज्ञान र प्रविधि सामाजिक संस्थाहरुमा मूर्त भएका छन्, त्यसकारण वर्तमान समाजलाई ज्ञान–समाज (knowledge society) भन्न सकिन्छ ।
प्रविधि बृद्धि भएको सम्पूर्ण उत्पादकत्वको आधार हो, र उत्पादकत्व आर्थिक क्षेत्रको रुपान्तरणकारी तत्व बनेको छ, जसको कल्पना कुनै पनि शास्त्रीय अर्थशास्त्रीले गर्न सकेको थिएन । 
उत्तर–औद्योगिक समाजलाई दुई अर्थमा ज्ञान–समाज भन्न सकिन्छ : पहिलोे, नव–प्रवत्र्तनका स्रोतहरु बढी मात्रामा अनुसन्धान र विकास (R & D) बाट प्राप्त हुन्छन्; दोस्रो, कुल राष्ट्रिय उत्पादनको ठूलो भाग र रोजगारको ठूलो भाग ज्ञानको क्षेत्रमा पर्दछन् ।
विज्ञानमा आधारित प्रविधिहरु र उद्योगहरुलाई उत्पादन तथा प्रक्रियाहरुमा प्रमुख प्रगतिहरु गर्नको लागि ठूलो सुविधा प्राप्त छ । वर्तमान समाजमा अधिकांश वस्तुहरु विज्ञानमा आधारित प्रविधिहरु तथा उद्योगहरुबाट उत्पादित भएका छन् ।
वैज्ञानिक प्राविधिक क्रान्तिको परिणाम केवल श्रमको मात्र होइन, सम्पूर्ण उत्पादक शक्तिहरुको अविच्छिन्न, यन्त्रीकृत (स्वचालित) उत्पादन प्रक्रियामा रुपान्तरण हो, जसमा अब मानव उत्पादन प्रक्रियाको ‘किनारा’मा रहन्छ, जहाँ पहिले ऊ त्यसको प्रमुख कर्ता हुन्थ्यो । फलस्वरुप समाजका उत्पादक शक्तिहरुको बृद्धिमा श्रम–शक्ति (र श्रमिक वर्ग) होइन, बरु विज्ञान (र वैज्ञानिक वर्ग) ‘निर्णायक तत्व’ भएको छ ।
सरल, विखण्डित कार्यको स्थानमा अहिले प्रविधि, संगठन र कुशलताको भेषमा विज्ञान र त्यसको प्रयोग आएको छ । पहिले जुन क्षेत्र उद्योगबाट अलग हुन्थ्यो र कहिलेकाही सानो मात्रामा मात्र ल्याइन्थ्यो, त्यो अब उत्पादन र सम्पूर्ण सामाजिक जीवनको केन्द्रमा प्रवेश गरिरहेको छ ।
अर्को शब्दमा, विज्ञान राष्ट्रिय अर्थतन्त्रमा प्रमुख चर(तत्व)को रुपमा र सभ्यताको विकासमा प्रमुख आयामको रुपमा उदाइरहेको छ । वैज्ञानिक–प्राविधिक क्रान्तिको र यसद्वारा विकसित बृद्धिका प्रारुपहरुका परिवर्तनहरुको एउटा निश्चित चरणमा, समाजको विकासका सम्पूर्ण नियमहरु र अनुपातहरु (आकारहरु) एउटा नयाँ प्रकाशमा देखिन्छन् । यो मुख्यतया विज्ञान, प्रविधि र उत्पादनको बीचको सम्बन्धमा लागु हुन्छ । वैज्ञानिक–प्राविधिक क्रान्तिका परिवेशहरुमा उत्पादक शक्तिहरुको बृद्धिले एउटा उच्च प्राथमिकताको नियमलाई, अर्थात् प्रविधिमाथि विज्ञानको र उद्योगमाथि प्रविधिको प्राथमिकतालाई अनुसरण गर्दछ ।
२. पूँजीवादको नयाँ स्वरुप
विगत कालको पूँजीवादको विकासक्रमलाई तीन चरणहरुमा विभाजन गर्न सकिन्छ– (१) संरक्षणवादी पूँजीवाद, (२) प्रतिस्पर्धी पूँजीवाद, र (३) एकाधिकारी पूँजीवाद ।
१) संरक्षणवादी पूँजीवाद (Protectionist Capitalism)– पूँजीवादको यो चरण चौधौं शताब्दीबाट आरम्भ भएको थियो र सोह्रौं शताब्दीसम्म अस्तित्वमा रहेको थियो । यसको आधार व्यापार थियो, त्यसकारण यो व्यापारिक पूँजीवाद (Mercantile Capitalism) थियो ।
२) प्रतिस्पर्धी पूँजीवाद(Competitive Capitalism)–यो चरण सोह्रौं शताब्दीबाट आरम्भ भएको थियो र उन्नाइसौं शताब्दीसम्म रहेको थियो । यसको आधार उद्योग थियो, त्यसकारण यो औद्योगिक पूँजीवाद (Industrial Capitalism) थियो ।
३) एकाधिकारी पूँजीवाद(Monopoly Capitalism)– यसको आरम्भ बीसौँ शताब्दीबाट भएको थियो र यो आधा शताब्दीसम्म (१९४५सम्म) रह्यो । यो वित्तमा आधारित पूँजीवाद अथवा वित्तीय पूँजीवाद (Financial Capitalism) थियो ।
तर सन् १९४५ बाट पूँजीवादले एकीकरणको चरणमा प्रवेश ग¥यो । यो नै पूँजीवादको वर्तमान चरण हो ।
पूँजीवादको आरम्भमा प्रतिस्पर्धालाई यसको अनिवार्य शर्त मानिन्थ्यो । तर वर्तमान समयमा एकता पूँजीवादको लागि अनिवार्य शर्त र लाभदायक भएको छ । त्यसकारण वर्तमान पूँजीवादको विशेषता प्रतिस्पर्धा होइन, एकता हो ।
वर्तमान पूँजीवाद प्रतिस्पर्धी छैन; त्यसको विपरित, यो एकीकृत भएको छ, जुन भूमण्डलीकरण (globalization) को रुपमा व्यक्त भएको छ । त्यसकारण यो एकीकृत पूँजीवाद (Unified Capitalism) हो । अर्को शब्दमा, यसलाई अन्तर्सम्बन्धित पूँजीवाद (Interconnected Capitalism) भन्न सकिन्छ ।
पूँजीवादको एकीकरणका तीन चरणहरु तथा प्रक्रियाहरु छन्– (१)सिण्डिकेट, (२) कार्टेल र (३) कर्पोरेशन
१) सिण्डिकेट(syndicate)– समान प्रकारका उद्यमहरु मिलेर सिण्डिकेट बन्दछ, अथवा समान प्रकारका उद्यमहरुको संयोजनबाट सिण्डिकेट बन्दछ, जसको उद्देश्य मूल्य निश्चित गर्नु हो । यसले प्रतिस्पर्धाबाट हुने मूल्यको ह्रासलाई नियन्त्रण गर्दछ ।
२) कार्टेल(cartel)– भिन्न प्रकारका तर परिपूरक उद्यमहरुको संयोजनबाट कार्टेल बन्दछ । अथवा असमान तर अन्तर्निभर उद्यमहरु मिलेर कार्टेल बन्दछ, जसको उद्देश्य उत्पादन लागत घटाउनु हो ।
३) निगम(corporation)– सम्पूर्ण उद्यमहरु मिलेर निगम बन्दछ । अथवा सवै प्रकारका उद्यमहरुको संयोजनबाट निगम बन्दछ । यसको उद्देश्य सम्पूर्ण क्षेत्रमा एकाधिकार कायम गर्नु हो । अथवा यसको उद्देश्य सम्पूर्ण मानवीय आवश्यकताहरु पूरा गर्नु र ग्राहकलाई आफ्नो परिधि (क्षेत्र) भन्दा बाहिर जान नदिनु हो । त्यसकारण एउटा निगमले सवै आवश्यक वस्तुहरुको र सेवाहरुको उत्पादन गर्दछ– सियोदेखि रकेटसम्म, जुत्तादेखि ताजसम्म, चुरोटदेखि औषधिसम्म । बहुराष्ट्रिय कम्पनीहरु यसका उदाहरण हुन् । 
यी तीन चरणहरु र प्रक्रियाहरुबाट वर्तमान पूँजीवाद एकीकृत वा अन्तर्सम्बन्धित भएको छ ।
वर्तमान एकीकृत पूँजीवाद विज्ञान–प्रविधिमा आधारित छ । अर्थात् वर्तमान एकीकृत पूँजीवादको आधार विज्ञान–प्रविधि हो ।
३. पूँजीवादको आधारको रुपमा विज्ञान–प्रविधि
सन् १९३०को दशक र १९४० को दशकको बीचमा कोलिन क्लर्कले अर्थतन्त्रमा “तृतीय क्षेत्र”, सेवा क्षेत्रको बढ्दो महत्वमाथि ध्यानाकर्षित गरेका थिए । तर यो दृष्टिकोणले वर्तमान समयमा भइरहेको रुपान्तरणको केन्द्रमा पर्याप्त जोड दिएको छैन :  त्यो हो पूँजीवादी उत्पादनका सम्पूर्ण गतिशील क्षेत्रहरुमा विज्ञान–प्रविधिको बढ्दो महत्व । 
पूँजीवाद आज सदाको भन्दा धेरै शक्तिशाली छ, र हामी पूँजीवादको एउटा नयाँ युगको उद्घाटन भइरहेको देखिरहेका छौँ, जसमा निगमहरु (corporations) ले नयाँ वस्तुहरु तथा नयाँ योजनाहरुको विकास गर्नको लागि विज्ञान–प्रविधिको उपयोग गर्दछन्, र जसमा एकाधिकारको सृजनाको लागि प्रतिस्पर्धात्मक संघर्षले एउटा स्थायी आधार प्राप्त गर्दछ ।
यो नयाँ पूँजीवाद विज्ञान–प्रविधिका विकास तथा क्षमतामा निर्भर छ, जसमा नव–प्रवर्त्तन (innovation) को स्रोत अनुसन्धान तथा विकास (R&D) हुन् । विज्ञान–प्रविधिको विकासमाथि पूँजीवादको अधिकार नै यसको वर्तमान “अग्रगामी छलाङ्ग”को र स्थिर अर्थतन्त्र भएका देशहरुमाथि यसको वर्तमान विजयको एउटा अनिवार्य पक्ष हो ।
वर्तमान युगका विकासहरुमा गतिको केन्द्र विशाल पूँजीवादी कर्पोरेशनहरुमा विज्ञान–प्रविधिको अधीनस्थतामा रहेको छ, जसले यसको प्रयोग आफ्ना उद्देश्यहरुको पूर्तिको लागि गर्दछन् । यी शक्तिशाली पूँजीवादी कर्पोरेशनहरुल त्यो प्रमुख आवेग प्रदान गर्दछन्, जसले पदार्थ, शक्ति, जैविक वस्तुहरु, विद्युत–चुम्बकीय सञ्चार र सूचना संग्रह तथा प्रसारणजस्ता क्षेत्रहरुमा नयाँ वैज्ञानिक तथा प्राविधिक ज्ञानको उपयोग गराउँदछ ।
आज वैज्ञानिक ज्ञानका प्रभावहरु हरेक आर्थिक क्षेत्रमा– कृषिदेखि यातायातसम्म– र विभिन्न सेवा क्षेत्रहरुमा–उदाहरणको लागि स्वास्थ्य, संस्कृति, शिक्षा, मनोरञ्जन तथा प्रशासन– देखिन्छन् । विशाल आकारका वैज्ञानिक–प्राविधिक प्रणालीहरुले– जुन वैज्ञानिक तथा प्राविधिकहरुका समूहहरुद्वारा निर्मित तथा सञ्चालित हुन्छन्– नयाँ वस्तुहरु र बजारहरुको सृजना र विकास गर्दछन् (वस्तुहरु, पदार्थहरु, सेवाहरु), जसको उत्पादन पनि विज्ञानमा आधारित प्राविधिक ज्ञानद्वारा हुन्छ । हामी बाँच्ने तरीका र हाम्रो समाजले काम गर्ने तरीका दुवै यो प्रक्रियाबाट पूर्णरुपले प्रभावित छन् ।
वर्तमान पूँजीवादी उत्पादनमा उत्पादित वस्तुहरु अत्यन्त जटिल स्वरुपका छन्, जसको खरिद अलग–अलग ढंगबाट गर्न सकिन्छ तर अन्य भागहरुबिना तिनीहरु उपयोगहीन हुन्छन्; उदाहरणको लागि सफ्टवेयर प्रोग्राम, नेटवर्क सब्स्क्रीप्सन, विभिन्न संयोजक घटकहरु । अल्पसंख्यक विशाल कर्पोरेशनहरुद्वारा नियन्त्रित र निरन्तर नवीकृत प्रविधिहरुको संयोजनले जोडिएका यी नयाँ वस्तुहरु सञ्जालहरु (networks)र प्रणालीहरुमा आबद्ध छन्, जसले आफ्नै कार्यविधिहरु र मान्यताहरु स्थापित गर्दछन् । यी नयाँ सञ्जालहरु र प्रणालीहरु विज्ञान–प्रविधिमा आधारित छन्, र त्यसैकारण यिनीहरु पूर्णरुपले त्यस्ता विज्ञान कम्पनीहरु तथा कर्पोरेशनहरुमा निर्भर छन्, जुन स्वयंले विज्ञान–प्रविधिको नियन्त्रण गर्दछन् । त्यसकारण यो नयाँ पूँजीवादको शिखरमा हुनुको अर्थ नयाँ वैज्ञानिक–प्राविधिक विकासहरुमा पारंगत हुनु हो ।
वर्तमान उत्पादन प्रक्रियामा दुई रणनीतिक क्षेत्रहरु अन्तर्सम्बन्धित भएका छन्– मातृ प्रविधिहरुको क्षेत्र (कम्प्युटर, दूरसञ्चार, जैवप्रविधि, विशेषगरी जेनेटिक इन्जिनियरिङ्ग र पदार्थ विज्ञान, इत्यादि) र तिनीहरुको संयोजनको क्षेत्र (अन्तरिक्ष प्रविधि, भूमण्डलीकृत सूचना तथा बहुसञ्चार, स्वास्थ्य, इत्यादि) । यी क्षेत्रहरुमध्ये प्रत्येकमा केवल विशाल कर्पोरेशनहरु मात्र, जुन अन्य अत्यन्तै उच्च ढंगबाट विशिष्टीकृत कम्पनीहरुको साथमा काम गर्दछन्, नयाँ प्रणालीहरु तथा वस्तुहरुको उत्पादनको लागि विज्ञान–प्रविधिको सञ्चालन, नियन्त्रण र निर्देशन गर्ने स्थानमा रहन्छन् ।
यो नयाँ उत्पादन प्रक्रिया तथा नयाँ प्राविधिक प्रतिस्पर्धाको लागि अनुसन्धान, उपकरण तथा तालिममा अझ धेरै लगानीको आवश्यकता पर्दछ । परिणामस्वरुप प्रत्येक रणनीतिक क्षेत्रमा केवल अल्पसंख्यक कर्पोरेशनहरुको मात्र प्रमुख हुन्छ ।
सन् १९९० को दशकदेखि करिब यी सबै क्षेत्रहरुमा संकेन्द्रण बढेको छ, र पूँजीवादीहरुका ध्रुवहरुको बीचमा तथा प्रत्येक ध्रुवभित्र पनि संझौताहरु, गठबन्धनहरु र व्यापारहरु भइरहेका छन् ।
यो सामान्यीकृत (भूमण्डलीकृत) पूँजीवादको निर्णायक स्थानमा रहन चाहने कुनै पनि देशले नयाँ वैज्ञानिक–प्राविधिक विकासहरुमा पारंगत हुनुपर्दछ ।
विज्ञान–प्रविधिमा आधारित वर्तमान विशाल कर्पोरेशनहरुले (निगमहरुले) केवल उत्पादन तथा बजारमा मात्र प्रभाव पार्दैनन्; तिनीहरुले अनुसन्धानको निर्देशन, उत्पादनहरुको परिकल्पना, प्रणालीहरुको निर्माण, मागको सृजना र अन्ततः जीवनशैली तथा भावी समाजको स्वरुपलाई निर्धारण पनि गर्दछन् ।
तर पनि विज्ञान–प्रविधिमा आधारित पूँजीवादको उदयसँगै आद्योगिक पूँजीवादको लोप भएको छैन । मानव समाजको विकास क्रममा सदा के देखिन्छ भने अगाडिका चरणहरु कमजोर बन्दछन् र पछाडिका चरणहरु प्रबल बन्दछन् । त्यसैगरी वर्तमान युगमा औद्योगिक पूँजीवाद कमजोर बनिरहेको छ र विज्ञान–प्रविधिमा आधारित पूँजीवादले शक्ति प्राप्त गरिरहेको छ । यसको साथसाथै, अगाडिका सामाजिक चरणहरु, सामान्यतया अगाडिका उत्पादनका रुपहरु, नयाँ आकारमा ढालिन्छन्– जसरी कृषि तथा घरेलु जीवन औद्योगिक पूँजीवादको नव–प्रवत्र्तक शक्तिद्वारा पूर्णरुपले रुपान्तरित भएका थिए, त्यसैगरी औद्योगिक पूँजीवादका सवै सामाजिक क्रियाकलापहरु– घरेलु जीवन, कृषि, यातायात, उद्योग, स्वास्थ्य सेवा, सूचना–सञ्चार, आदि– विज्ञान–प्रविधिमा आधारित वर्तमान पूँजीवादको नव–प्रवत्र्तक शक्तिद्वारा गम्भिर रुपले रुपान्तरित भइरहेका छन् ।
मानव समाजका पूर्ववर्ती चरणहरुको तुलनामा उत्तरवर्ती चरणहरुमा गतिविधिहरुको विस्तार पनि उल्लेखनीय देखिन्छ । म्यानुफ्याक्चर कालको पूँजीवादले आपूmलाई मुख्यतया कपडा उत्पादनमा लगाएको थियो, औद्योगिक पूँजीवादले आफ्नो कार्यक्षेत्रलाई अत्यन्तै विविधीकृत वस्तुहरुको उत्पादनमा विस्तार ग¥यो, र विज्ञान–प्रविधिमा आधारित वर्तमान पूँजीवादले आफूलाई मानव जीवनको हरेक क्षेत्रमा पुर्याएको छ– ज्ञान, वस्तु उत्पादन र सेवा । यस अर्थमा, विज्ञान–प्रविधिमा आधारित पूँजीवादको उदयसँगै हामी पूँजीवादको गतिविधिको क्षेत्र विस्तृत तथा सार्वभौमिक भइरहेको देखिरहेका छौं ।
यसप्रकार, पूँजीवादले विश्व र यसका समाजहरुमाथि पहिलेभन्दा अझ धेरै प्रभुत्व जमाएको छ । व्यापारिक पूँजीवादको उदय युरोपमा चौधौं शताब्दीदेखि सोह्रौं शताब्दीमा भएको थियो । औद्योगिक पूँजीवाद सत्रौं शताब्दीदेखि उन्नाइसौं शताब्दीमा आएको थियो । त्यसपछि बीसौं शताब्दीमा वित्तीय पूँजीवाद आयो । अब एक्काइसौं शताब्दी वैज्ञानिक–प्राविधिक पूँजीवादको युग बन्नलागेको छ । यद्यपि हामीहरु आज यसका सम्पूर्ण अभिव्यक्तिहरु देख्नबाट धेरै टाढा छौँ, तर पूँजीवादको यो नयाँ चरण वर्तमान समाजको “आमूल रुपान्तरण”को आधारभूत तत्व हो भन्ने कुरामा कुनै शंका छैन । 
त्यसकारण वर्तमान पूँजीवाद वैज्ञानिक–प्राविधिक पूँजीवाद(Scientific-technological Capitalism) हो ।
३. उत्पादन क्षेत्रबाट मानव श्रमको विस्थापन
मानव समाजको इतिहासमा मानवश्रम सदा प्रमुख उत्पादक शक्ति रहिआएको थियो । तर यसको विपरित वर्तमान युगमा मानवश्रम उत्पादन क्षेत्रबाट विस्थापित भएको छ । अब यो समाजको प्रमुख उत्पादक शक्ति रहेको छैन । 
मानवश्रमको भूमिका (१) शक्ति, (२) कुशलता, र (३) नियन्त्रण हो । यी तीनै भूमिकाहरुलाई वर्तमान विज्ञान–प्रविधिले विस्थापन गरेको छ : शक्तिलाई प्राकृतिक शक्तिद्वारा, कुशलतालाई यन्त्रद्वारा र नियन्त्रणलाई स्वचालनद्वारा ।
उत्पादन क्षेत्रलाई तीन श्रेणीहरुमा विभाजन गरिएको छ– (१) प्राथमिक क्षेत्र (primary sector), (२) द्वितीय क्षेत्र (secondary sector) र (३) तृतीय क्षेत्र (tertiary sector) । प्राथमिक क्षेत्रमा कृषि, द्वितीय क्षेत्रमा उद्योग र तृतीय क्षेत्रमा सेवा पर्दछन् । यी क्षेत्रहरुमा श्रमको संलग्नता क्रमशः स्थानान्तरण भएर वर्तमान युगमा सेवा क्षेत्रमा पुगेको छ । तर सेवा क्षेत्र उत्पादनको सहायक क्षेत्रमा पर्दछ । त्यसकारण वर्तमान समाजमा मानव श्रमको भूमिका पनि सहायक बनेको छ।
४. समाजको नयाँ संरचना
उत्पादनका क्षेत्रबाट मानव श्रम–शक्तिको विस्थापन भएपछि मानव श्रम सामाजिक व्यवस्थाको आधार रहेन । परिणामस्वरुप अहिले समाजको विभाजन र स्तरीकरणका अन्य गौण तत्वहरु प्रभावकारी बनेर सतहमा आएका छन् । ती तत्वहरु हुन्– लिङ्गं, जाति, वर्ण, समुदाय, धर्म, क्षेत्र, आदि । यी तत्वहरुले वर्तमान समाजमा ठूलो विषमता सृजना गरेका छन् । वर्गीय विभेदको स्थान लिङ्गीय, जातीय, धार्मिक, क्षेत्रीय विभेदहरुले लिएका छन् । समाजमा मानिसहरुको सम्बन्ध र एकताको आधारको रुपमा, वर्गीकरणको आधारको रुपमा अन्य गौण तत्वहरु प्रभावकारी बनेका छन् । तर यसको अर्को पक्ष पनि छ, जुन क्रान्तिको लागि अत्यन्त महत्वपूर्ण छ ।
उत्पादक शक्तिको रुपमा विज्ञान–प्रविधिको विकास र त्यसमाथि पूँजीपति वर्गको एकाधिकारको परिणामस्वरुप समाजका बहुसंख्यक मानिसहरु उत्पादन क्षेत्र र सम्पदा (सम्पत्ति) को स्वामित्व दुवैबाट विस्थापित भएका छन् । यिनीहरुबाट अब एउटा नयाँ वर्गको निर्माण भइरहेको छ । यही वर्ग वर्तमान युगको सवैभन्दा क्रान्तिकारी वर्ग हो, किनभने यससँग गुमाउनको लागि आफ्नो केही पनि छैन, तर जित्नको लागि सम्पूर्ण संसार छ, र यो वर्तमान पूँजीवादी व्यवस्थाको अनिवार्य परिणाम, वैध सन्तान, हो ।

भविष्यको योजना

विगतको समीक्षा र वर्तमानको विश्लेषणपछि अब हामी भविष्यको योजना निर्माणको बिन्दुमा आइपुगेका छौँ । यसका ४ संघटकहरु छन्– (१) क्रान्तिको लक्ष्य, (२) क्रान्तिका साधनहरु, (३) क्रान्तिको विधि, र (४) समाजवादको स्वरुप ।
१. क्रान्तिको लक्ष्य
विश्वमा सर्वहारा वर्गको राजनीतिक आन्दोलन शुरु भएपछि तीनवटा सामाजिक परिवेशहरु आए– (१) प्रतिस्पर्धी पूँजीवाद (२) एकाधिकारी पूँजीवाद, र (३) अर्ध–सामन्ती र अर्ध–उपनिवेशी अवस्था (उपनिवेशवाद) ।
१) प्रतिपर्धी पूँजीवाद :- प्रतिस्पर्धी पूँजीवादको अवस्थामा पूँजीपति वर्गहरुको बीचमा तीव्र प्रतिस्पर्धाको कारण सम्पूर्ण विश्वभरि पूँजीवाद कमजोर भएको थियो । त्यसकारण सम्पूर्ण विश्वभरि एकैपटक समाजवादी क्रान्ति संभव थियो । त्यही अवधिमा माक्र्सवादको उदय भएको थियो, जसले क्रान्तिको लक्ष्यको रुपमा समाजवाद र क्रान्तिको विधिको रुपमा सशस्त्र जनविद्रोहद्वारा सम्पूर्ण विश्वभरि (कम्तीमा पनि बेलायत, फ्रान्स र जर्मनी तीन ठूला पूँजीवादी देशहरुमा) एकैपटक क्रान्ति सम्पन्न गर्ने कुरालाई निर्धारित गरेको थियो । पेरिस कम्युनको असफलता त्यसको पुष्टि थियो । त्यो अवस्था आरम्भदेखि सन् १९०० सम्म रह्यो ।
२) एकाधिकारी पूँजीवाद :- सन् १९०० सम्ममा प्रतिस्पर्धी पूँजीवाद एकाधिकारी पूँजीवादमा, साम्राज्यवादमा रुपान्तरित भइसकेको थियो । फलस्वरुप सम्पूर्ण विश्वमा एकैपटक समाजवादी क्रान्ति हुने अवस्था समाप्त भएको थियो । भी.आई. लेनिनले यो तथ्यलाई महसुस गरेर एउटा देशमा वा केही देशमा मात्र समाजवादी क्रान्ति गर्नुपर्ने मान्यतालाई अगाडि सारे । तर दोस्रो कम्युनिस्ट अन्तर्राष्ट्रियले प्रथम कम्युनिस्ट अन्तर्राष्ट्रियकै मान्यतालाई अगाडि बढाएको थियो । त्यसकारण लेनिन र दोस्रो कम्युनिस्ट अन्तर्राष्ट्रिका नेताहरुको बीचमा मतभेद उत्पन्न भयो । लेनिन रुसमा समाजवादी क्रान्ति गर्न चाहन्थे, तर दोस्रो कम्युनिस्ट अन्तर्राष्ट्रिका नेताहरुलाई त्यो कुरा मान्य थिएन । अन्ततः लेनिनले दोस्रो कम्युनिस्ट अन्तर्राष्ट्रिलाई नै परित्याग गरे ।
पूँजीवादको नयाँ स्वरुप साम्राज्यवादको विश्लेषण गरेर लेनिनले नयाँ (क्रान्तिको) अवधारणा प्रस्तुत गरे, जुन लेनिनवादको नामले परिचित छ । लेनिनवादले क्रान्तिको लक्ष्यको रुपमा समाजवाद र क्रान्तिको विधिको रुपमा एउटा देशमा वा केही देशहरुमा मात्र सशस्त्र जनविद्रोहद्वारा क्रान्ति गर्ने कुरालाई अगाडि सा¥यो । त्यसैअनुरुप रुसमा सन् १९१७ को अक्टोबरमा समाजवादी क्रान्ति सम्पन्न भयो ।
३) अर्ध–सामन्ती र अर्ध–उपनिवेशी अवस्था :- साम्राज्यवादको आगमनपछि विश्वमा दुई अवस्थाहरु सृजना भए– (१) एक वा केही देशहरुमा मात्र समाजवादी क्रान्ति हुनसक्ने र (२) पूँजीवादी क्रान्ति नभएका देशहरुमा समाजवादी र पूँजीवादी क्रान्ति दुवै हुन नसक्ने । (अथवा (१) सम्पूर्ण विश्वमा एकैपटक समाजवादी क्रान्ति नहुने, र (२) पूँजीवादी क्रान्ति नभएका देशहरुमा पूँजीवादी क्रान्ति र समाजवादी क्रान्ति दुवै नहुने ।)
यी दुई अवस्थाहरुमध्ये प्रथम अवस्थाले लेनिनवादलाई जन्म दियो र दोस्रो अवस्थाले मओवादलाई ।
तर पनि, यो दोस्रो अवस्थालाई बेवास्ता गरेर (ध्यान नदिई) तेस्रो कम्युनिस्ट अन्तर्राष्ट्रियले चिनियाँ कम्युनिस्ट पार्टीलाई कोमिन्ताङ पार्टीको अधीनमा रहेर पूँजीवादी क्रान्तिको लागि सहयोग गर्न निर्देशन दिएको थियो । तर माओ त्से–तुङले त्यसलाई अस्वीकार गरे । त्यसको प्रतिउत्तरमा उनले भनेका थिए– “हामी जुत्ताको नापअनुसार खुट्टा काट्दैनौँ, खुट्टाको नापअनुसार जुत्ता काट्छौँ । चीनको विशेषतासँग नमिल्ने कुरा, चाहे त्यो माक्र्सले नै भनेको किन नहोस्, त्यसलाई हामी दृढतापूवर्क अस्वीकार गर्दछौँ ।” चीनको त्यो विशेषता के थियो त ? माओका अनुसार चीनको त्यो विशेषता अर्ध–सामन्ती र अर्ध–उपनिवेशी अवस्था थियो । त्यस्तो अवस्थाको देशमा साम्राज्यवादको हस्तक्षेप भएको हुँदा पूँजीवादी क्रान्ति हुनसक्दैन र पूँजीवादी क्रान्ति नभइसकेको हुँदा समाजवादी क्रान्ति पनि हुनसक्दैन । तब त्यस्ता देशहरुमा कस्तो क्रान्ति हुनसक्दछ त ? त्यसको लागि माओले क्रान्तिको लक्ष्यको रुपमा नयाँ जनवाद र क्रान्तिको विधिको रुपमा संयुक्त मोर्चाको माध्यमबाट दीर्घकालीन जनयुद्ध प्रस्तुत गरे । त्यसकै आधारमा चीनमा सन् १९४९ मा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । चिनियाँ जनवादी क्रान्ति माओवादको पुष्टि थियो ।
तर अहिले विश्वमा नयाँ परिवेश आएको छ । सन् १९५० देखि पूँजीवादले नयाँ चरणमा प्रवेश गरेको थियो । त्यो चरण हो– एकीकरणको चरण, जुन भूमण्डलीकरणको रुपमा व्यक्त भएको छ । एकीकृत पूँजीवादको चरणमा क्रान्तिको लक्ष्य नयाँ जनवाद हुन सक्दैन, किनभने त्यो पूँजीवादको एकाधिकारी चरणको कार्यक्रम थियो । अहिले सम्पूर्ण विश्वका पूँजीवादीहरु एकीकृत भएका छन्, त्यसकारण अब पूँजीपति वर्गको कुनै पनि पक्षसँग संयुक्त मोर्चा हुनसक्दैन, जुन नयाँ जनवादको अनिवार्य शर्त हो ।
वर्तमान एकीकृत पूँजीवादको (भूमण्डलीकृत पूँजीवादको) विकल्प समाजवाद मात्र हुन सक्दछ, समाजवादभन्दा तलको कार्यक्रमले (सामाजिक व्यवस्थाले) यसको सामना वा मुकाबिला गर्नसक्दैन । त्यसकारण अब सर्वहारा वर्गीय क्रान्तिको लक्ष्य नयाँ जनवाद होइन, समाजवाद हुनुपर्दछ । अन्ततः सर्वहारा वर्गको लक्ष्य त समाजवाद–साम्यवाद नै हो । त्यो समय अब आइसकेको छ ।
२. क्रान्तिका साधनहरु
हरेक शासक व्यवस्थाका निश्चित, आधारभूत संघटकहरु हुन्छन्, जसको आधारमा त्यो अस्तित्वमा, सत्तामा रहन्छ । तिनीहरु हुन्– १) विचारधारा, २) संगठन, ३) सेना, ४) राजनीतिक सत्ता, र ५) अर्थतन्त्र । त्यसकारण कुनै पनि शासक व्यवस्थालाई ध्वस्त पार्नको लागि यिनै पाँच तत्वहरुको आवश्यकता पर्दछ, तर तिनीहरुको स्वरुप विपरित हुनपर्दछ । यी तत्वहरु नै क्रान्तिका साधन हुन्छन् । यस आधारमा वर्तमान पूँजीवादलाई ध्वस्त पार्नको लागि आवश्यक क्रान्तिका साधनहरु निम्नानुसार हुनेछन्– १) विचारधाराको रुपमा द्वन्द्वात्मक भौतिकवाद २) संगठनको रुपमा भूमण्डलीकृत पूँजीवादबाट उत्पीडित सम्पूर्ण पक्षहरुको संगठन, ३) सेनाको रुपमा जनसेना, ४) राजनीतिक सत्ताको रुपमा जनताको प्रत्यक्ष शासन, र ५) अर्थतन्त्रको रुपमा अन्तर्सम्बन्धित अर्थतन्त्र ।
यी साधनहरुको विकास गरेर पूँजीवादको विरुद्ध समानान्तरमा नयाँ सामाजिक व्यवस्था समाजवादको निर्माण गर्नुपर्दछ, जसबाट एउटा सामाजिक शक्ति उत्पन्न हुन्छ । त्यही शक्तिले वर्तमान पूँजीवादलाई ध्वस्त बनाउनेछ ।
१) विचारधारा (Ideology)
हरेक सामाजिक व्यवस्थाको आफ्नो एउटा वैचारिक आधार हुन्छ । त्यसलाई ध्वस्त पार्नको लागि त्यसको वैचारिक आधारलाई ध्वस्त पार्नुपर्दछ । उदारहणको लागि, विगतमा सामन्तवादी व्यवस्थाको वैचारिक आधार धार्मिक विचारधारा थियो । त्यसलाई ध्वस्त पार्नको लागि पूँजीवादले भौतिकवादी विचारधारालाई अगाडि ल्यायो । त्यसकारण पूँजीवादी व्यवस्थाको विचारधारा भौतिकवाद हो । अब यसलाई ध्वस्त पार्नको लागि द्वन्द्वात्मक भौतिकवादको आवश्यकता छ । पूँजीवादको विचारधाराको रुपमा रहेको (आएको) भौतिकवाद अधिभूतवादी भौतिकवाद हो । यसले विश्वको अपरिवर्तनशीलताको, यथास्थितिको, पूँजीवादको शाश्वतताको पक्षपोषण गर्दछ । त्यसकारण यसलाई द्वन्द्वात्मक भौतिकवादले विस्थापन गर्दछ, जसले सम्पूर्ण विश्वको गतिशीलता, परिवर्तनशीलताको पक्षपोषण गर्दछ । अधिभूतवादी भौतिकवादको लागि पूँजीवाद नित्य, अपरिवर्तनशील र अनैतिहासिक छ । इतिहास विगतमा थियो, अब पूँजीवादको युगमा छैन । त्यसकारण इतिहासको अन्त्य भयो (फुकुयामा, त्जभ भ्लम या ज्ष्कतयचथ)। यो मानव समाजको तार्किक निष्कर्ष हो, इतिहासको अन्तिम चरण हो । 
आज पूँजीवादी विचारधारामा अधिभूूतवादी दर्शनका विभिन्न रुपहरु व्याप्त छन्– अस्तित्वाद, शून्यवाद, उपभोक्तावाद, प्रत्यक्षवाद, सारसंग्रहवाद, आदि । यिनीहरु सवैको उद्देश्य पूँजीवादी व्यवस्थालाई सही, निर्विकल्प सिद्ध गर्नु हो ।
यसको विपरित, द्वन्द्वात्मक भौतिकवादको लागि कुनै पनि वस्तु अन्तिम, निरपेक्ष तथा शाश्वत छैन । यसले हरेक वस्तुमा र हरेक वस्तुको परिवर्तनशील गुण प्रदर्शित गर्दछ, यसको सामु निम्नावस्थाबाट उच्चावस्थातिर जाने अन्तहीन (असीमित) विकासक्रम, उत्पत्ति र विनाशको अनवरत प्रक्रियाबाहेक अरु कुनै वस्तु रहन सक्दैन । यसले अन्तिम, निरपेक्ष सत्य र तदनुरुप मानवजातिका निरपेक्ष अवस्थाहरुका अवधारणाहरुलाई अन्त्य गरिदिन्छ । यसले के मान्दछ भने ज्ञान र समाजका निश्चित अवस्थाहरु समय र परिस्थितिको सन्दर्भमा न्यायसंगत छन्, तर त्यहीसम्म मात्र । उत्कृष्ट समाज, उत्कृष्ट राज्य, यी सवै कल्पनाको संसारमा मात्र अस्तित्वमान हुनसक्दछन् । यसको विपरित, सवै निरन्तर घटित हुने सामाजिक अवस्थाहरु (व्यवस्थाहरु) मानव समाजको निम्नावस्थाबाट उच्चावस्थातिर जाने, अन्तहीन विकासक्रमका केवल अल्पकालीन चरणहरु मात्र हुन् । हरेक चरण आवश्यक हुन्छ, त्यसकारण जुन समय र परिस्थितिहरुको कारण त्यसको उत्पत्ति हुन्छ, तिनीहरुको लागि त्यो उचित हुन्छ । तर नयाँ र उच्चतर परिस्थितिहरुको सामु, जुन विस्तार–विस्तार त्यसको गर्भमा विकसित हुन्छन्, त्यसले आफ्नो वैधता र औचित्य गुमाउँदछन् । त्यो त्यस उच्चतर चरणको लागि स्थान छोड्न बाध्य हुन्छ, जुन स्वयं आफ्नो पालोमा एकदिन विनाश भएर लोप हुनेछ ।
यस दृष्टिकोणअनुसार पूँजीवाद कुनै शाश्वत, अन्तिम, पूर्ण र निरपेक्ष व्यवस्था होइन, जसरी पूँजीवादीहरुले दावी गर्दछन् । यो पनि विगतका अन्य व्यवस्थाहरुजस्तै मानव समाजको विकासक्रमको एउटा चरण मात्र हो । त्यसकारण यसको अन्त्य सुनिश्चित छ ।
२) संगठन (Organization)
राजनीतिक संगठनको कार्य सम्पूर्ण क्रान्तिकारी वर्गहरुलाई (शक्तिहरुलाई) एकताबद्ध गर्नु हो । जब छरिएर रहेका वर्गहरु संगठित हुन्छन्, तब एउटा निर्णायक शक्तिको सृजना हुन्छ ।
विगतमा समाजवादी क्रान्तिको लागि श्रमिक वर्गलाई निर्णयक प्रमुख शक्ति मानिएको थियो र श्रमिक संगठनलाई क्रान्तिको प्रमुख साधन । तर जब उत्पादन क्षेत्रमा विज्ञान–प्रविधिको आगमन भयो र यसले उत्पादन क्षेत्रबाट श्रम–शक्तिलाई विस्थापित गर्यो, तब श्रमिक वर्गको संख्या घट्न थाल्यो । अहिले श्रमिक वर्ग अत्यन्तै सानो, अल्पसंख्यक छ । त्यसकारण अब यसले समाजवादी क्रान्तिको लागि निर्णायक भूमिका निर्वाह गर्नसक्दैन । र, श्रमिक संगठन निर्णायक साधन हुनसक्दैन । समाजवादी क्रान्तिको लागि निर्माण हुने संगठनमा ती सम्पूर्ण पक्षहरु सम्लग्न हुनुपर्दछ, जुन वर्तमान भूमण्डलीकृत पूँजीवादबाट उत्पीडित छन् र जसको मुक्ति समाजवादमा मात्र सम्भव छ । अब श्रमिक संगठनले ती सम्पूर्ण पक्षहरुलाई समेट्न सक्दैन, जुन वर्तमान युगका निर्णायक क्रान्तिकारी शक्ति हुन् । विशेषगरी यसले त्यो पक्षलाई समेट्न सक्दैन, जुन वर्तमान पूँजीवादको अनिवार्य परिणाम हो– अर्थात् उत्पादन क्षेत्रबाट विस्थापित, सीमान्तकृत वर्ग । यही वर्ग वर्तमान युगको वास्तविक क्रान्तिकारी वर्ग (शक्ति) हो । यो वर्ग वर्तमान पूँजीवादी व्यवस्थाको तख्ता नपल्टाई अस्तित्वमा रहन सक्दैन । त्यसकारण नयाँ क्रान्तिकारी संगठन यही वर्गलाई लिएर बन्दछ ।
अब श्रमिक वर्गले समाजवादी क्रान्तिको नेतृत्व गर्नसक्दैन; किनभने एकातिर अहिले यसको आकार सानो भएको छ, र अर्कोतिर वर्तमान समाज श्रम–शक्तिमा आधारित छैन, विज्ञान–प्रविधिमा आधारित छ ।
३) सेना (army)
हरेक शासक वर्गसँग आफ्नो सेना हुन्छ । त्यसले सेनाको बलमा आफ्नो विरोधीलाई दबाउने र आफ्नो सत्ता कायम राख्ने प्रयत्न गर्दछ । त्यसकारण शासक वर्गलाई पराजित गर्नको लागि त्यसको सेनालाई पराजित गर्नु आवश्यक हुन्छ ।
अहिले पूँजीवादीहरुसँग दुई स्तरका सेनाहरु छन्– (१) राष्ट्रिय स्तरको सेना , र (२) अन्तर्राष्ट्रिय स्तरको सेना । राष्ट्रिय स्तरको सेनाको रुपमा उनीहरुको सेना आफ्नो देशको सेना हो । किनभने वर्गीय दृष्टिकोणबाट उनीहरु सत्तारुढ (सत्ताधारी) वर्ग हुन् र पूँजीवादी व्यवस्थाका सम्पूर्ण तत्वहरुले उनीहरुको सेवा गर्दछन् । अन्तर्राष्ट्रिय स्तरको सेनाको रुपमा उनीहरुको सेना नेटो (NATO) सेना र संयुक्त राष्ट्रसंघको सेना हुन् । (अथवा प्रत्यक्ष रुपमा नेटो सेना र अप्रत्यक्ष रुपमा संयुक्त राष्ट्रसंघको सेना हुन् ।) क्रान्तिकारी वर्गले पूँजीवादी वर्गका यी दुवै सेनाहरुको सामना गर्नु आवश्यक छ । त्यसकारण क्रान्तिकारी वर्गसँग पनि अब राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका दुई प्रकारका सेनाहरु हुनुपर्दछ । र, यी सेनाहरु अत्याधुनिक हतियारले सुसज्जित हुनुपर्दछ, परमाणु बम तथा अन्तर–महादेशीय मिसाइलद्वारा सुसज्जित हुनुपर्दछ । क्रान्तिकारी वर्गले अब राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै स्तरबाट युद्ध लड्नु, संघर्ष गर्नु आवश्यक छ ।
पूँजीवादीहरुले औपचारिक र आधिकारिक सेनाबाहेक अन्य सेनाको अस्तित्व मान्य हुँदैन भनेर यो क्रान्तिकारी सेनाको विरोध गर्न सक्दछन् । तर उनीहरुले आफ्नो विरोधको खण्डन आफै गरिरहेका छन् । त्यो हो– नेटो सेनाको अस्तित्व, जुन कुनै आधिकारिक र औपचारिक सेना होइन । यदि उनीहरुले आफ्नो रक्षाको लागि निजी सेना राख्न पाउँछन् भने, अरुले किन नपाउने ?
४) राजनीतिक सत्ता (political power)
नयाँ राजनीतिक सत्ताको निर्माण समाजका नयाँ संघटकहरुको रुपमा उत्पन्न भएका समूहहरु र संगठनहरुबाट हुन्छ । उदाहरणको लागि, रुसमा मजदूरहरु, किसानहरु र सैनिकहरुका सोभियतहरु समाजका नयाँ संघटकहरुको रुपमा उत्पन्न भएका थिए र तिनीहरुबाटै नयाँ राजनीतिक सत्ताको निर्माण भएको थियो । 
वर्ग–संघर्ष तबसम्म क्रान्तिमा रुपान्तरित हुँदैन, जबसम्म द्वैतसत्ताको अवस्था सृजना हुँदैन र द्वैतसत्ताको अवस्था तबसम्म सृजना हुँदैन, जबसम्म पुरानो राजनीतिक सत्ताको विरुद्ध समानान्तरमा नयाँ राजनीतिक सत्ताको उदय हुँदैन । नयाँ राजनीतिकसत्ताले पुरानो राजनीतिक सत्तालाई विस्थापित गर्दछ ।
वर्तमान पूँजीवादी राजनीतिक सत्तालाई विस्थापित गर्नको लागि क्रान्तिकारी वर्गसँग यसको विपरित नयाँ राजनीतिक सत्ता हुनु आवश्यक छ । यो राजनीतिक सत्ता संसदिय, प्रतिनिधिमूलक होइन, जुन बुर्जुवा व्यवस्थाको विशेषता हो, त्यसको विपरित यो जनताको प्रत्यक्ष शासना आधारित हुन्छ । पूँजीवादी व्यवस्थामा व्यक्तिको आधिकारिकको आधार योग्तालाई मानिन्छ, त्यसकारण अधिकार स्थापित गर्ने, अधिकार सिद्ध गर्ने विधि प्रतिस्पर्धा हुन्छ । तर समाजवाद हरेक व्यक्तिको अधिकार नैसर्गिक, जन्मसिद्ध हुन्छ । यो एक अर्थमा आदिम साम्यवादको नैसर्गिक अधिकारको पुनरावृत्ति हो, तर उही रुपमा होइन । आदिम साम्यवादको नैसर्गिक अधिकार योग्यतारहित थियो, तर यो समाजवादको नैसर्गिक अधिकार योग्तासहितको छ, किनभने आज कुनै पनि व्यक्ति अयोग्य छैन र कुनै पनि व्यक्ति विशेष योग्यताले सम्पन्न छैन । यो अधिकारको उच्चस्तरमा विकास हो ।
त्यसकारण अब मानिसहरु, जनता, समाजको प्रत्यक्ष शासनमा सहभागी हुन सक्दछन् । यही प्रत्यक्ष शासन नयाँ राजनीतिक सत्ताको रुप हो ।
एउटै देशमा दुई राजनीतिक सत्ताहरु कसरी मान्य हुन्छन् भन्ने प्रश्न पुँजीवादीहरुले उठाउन सक्दछन् । तर यसको बलियो उत्तर ताइवानको अस्तित्व हो, जसलाई चीनको विरोधको बावजुद तिनै पूँजीवादीहरुले मान्यता दिइरहेका छन् ।
५) अर्थतन्त्र(economy)
सर्वहारा वर्गको आन्दोलन सम्पूर्ण मानवजातिको मुक्ति–आन्दोलन हो । सर्वहारा वर्ग त्यो अन्तिम उत्पीडित वर्ग हो, जसको स्वतन्त्रता प्राप्तिसँगै वर्गीय समाज अन्त्य हुनेछ । सर्वहारा क्रान्तिबाट पुरानो शोषणमूलक सामाजिक व्यवस्थाको अन्त्य र नयाँ शोषणरहित सामाजिक व्यवस्थाको उदय हुनेछ । तर अहिले सर्वहारा वर्गको आन्दोलन अत्यन्त जटिल र दीर्घकालीन बनेको छ । आफ्नो विकासको क्रममा पूँजीवादले अनेकौँ संकटहरुलाई पार गरेर पुनर्जीवन प्राप्त गरेको छ र अझ शक्तिशाली बन्नगएको छ । उन्नाइसौँ शताब्दीको प्रथम संकटबाट बचेर पूँजीवाद साम्राज्यवादमा विकसित भएको थियो । बीसौँ शताब्दीको दोस्रो संकटबाट बचेर यो अहिले भूमण्डलीकृत पूँजीवाद बनेको छ । यसका आधारहरु बहुराष्ट्रिय कम्पनी, विश्व व्यापार संगठन, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, आदि विश्वव्यापी संगठनहरु हुन् । यी विश्वस्तरीय संगठनहरुको सञ्जालद्वारा वर्तमान पूँजीवाद एकीकृत र सशक्त भएको छ । अर्कोतिर, सर्वहारा वर्ग विखण्डित र कमजोर भएको छ । उसको प्रतिरोध शक्ति प्रभावहीन भएको छ । फलस्वरुप उसको आन्दोलन शिथिल बन्नपुगेको छ ।
यो अवस्था सिर्जना हुनुको कारण विज्ञान–प्रविधिको उच्चतम विकास हुनगएको छ । पूँजीवादले पहिलो संकटलाई साम्राज्यवादको सहायताबाट पार गरेको थियो र यसले दोस्रो संकटलाई विज्ञान–प्रविधिको सहायताबाट पार गरेको छ । विज्ञान–प्रविधिको उपयोग गरेर अन्तर्राष्ट्रिय स्तरका आर्थिक संगठनहरुको माध्यमबाट भूमण्डलीकृत पूँजीवादले सम्पूर्ण विश्वको अर्थतन्त्रलाई आफ्नो नियन्त्रणमा लिएको छ । यसबाट पूँजीपतिहरुको आपसी संघर्ष तथा पूँजीपति वर्ग र सर्वहारा वर्गको बीचको संघर्ष दुवै शिथिल हुनगएका छन् । फलस्वरुप पूँजीवाद एक हदसम्म संकटमुक्त भएको छ ।यसबाट अनिवार्य रुपमा एउटा निष्कर्ष निस्कन्छ– सर्वहारा वर्गको लागि आफ्नो स्वायत्त अर्थतन्त्रको आवश्यकता छ ।
यो अर्थतन्त्र निर्माणको लागि अहिले तीन अवस्थाहरु विद्यमान छन् । पहिलो, सर्वहारा वर्ग उत्पादन क्षेत्रबाट विस्थापित भएको छ । उत्पादन प्रक्रियामा भएको आमूल परिवर्तनले मानव श्रमलाई विस्थापित गरेको छ । मानव श्रमको स्थान यन्त्रले लिएको छ । फलस्वरुप सर्वहार वर्ग (श्रमिक वर्ग) उत्पादन क्षेत्रबाट विस्थापित भएको छ । त्यसकारण अब उसले आफ्नो अस्तित्वको लागि आफ्नो स्वायत्त अर्थतन्त्रको निर्माण गर्नु आवश्यक छ । दोस्रो, विज्ञान–प्रविधिको उच्च विकास भएको छ । वर्तमान युगमा विज्ञान–प्रविधिको विकास अत्यन्त उच्च स्तरमा भएको छ । फलस्वरुप विज्ञान–प्रविधि एउटा स्वायत्त उत्पादक शक्तिमा रुपान्तरण भएको छ । यसले प्राकृतिक शक्तिहरुजस्तै निःशुल्क सेवा प्रदान गर्दछ । तर यसलाई पूँजीपति वर्गले एकाधिकारी रुपमा प्रयोग गरेको छ र श्रमिक वर्गको विरुद्ध संघर्षको साधन बनाएको छ । त्यसकारण यो नयाँ उत्पादक शक्तिको रुपमा आएको विज्ञान–प्रविधिलाई उपयोग गर्नको लागि सर्वहारा वर्गले आफ्नो अर्थतन्त्र निर्माण गर्नुपर्दछ । र तेस्रो, भूमण्डलीकृत पूँजीवादले आर्थिक हस्तक्षेप गर्दछ । पुरानो साम्राज्यवादले प्रत्यक्ष रुपमा राजनीतिक हस्तक्षेप गर्दथ्यो । त्यसलाई उपनिवेशहरुको मुक्ति–आन्दोलनले अन्त्य गरिदियो । भूमण्डलीकृत पूँजीवादको रुपमा उदाएको नयाँ साम्राज्यवादले आर्थिक हस्तक्षेप गर्दछ । त्यसकारण यसलाई अन्त्य गर्न सर्वहारा वर्गले आफ्नो अर्थतन्त्रको निर्माण गर्नु आवश्यक छ ।
सर्वहारा वर्गले क्रान्ति सम्पन्न हुनुभन्दा अगाडि, क्रान्ति सम्पन्न गर्नकै लागि, पूँजीवादी अर्थतन्त्रको समानान्तरमा आफ्नो स्वायत्त अर्थतन्त्रको निर्माण गर्नुपर्दछ र त्यसलाई स्थानीय स्तरबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा विस्तार तथा विकास गर्नुपर्दछ । यो अर्थतन्त्रको उपस्थितिमा एकातिर, पूँजीवादी अर्थतन्त्रको आकार घट्नेछ र त्यो कमजोर हुनेछ । अर्कोतिर, सर्वहारा वर्गले आफ्नो विकास र विस्तारको आधार भेट्टाउनेछ । त्यसैगरी विज्ञान–प्रविधिमाथि पूँजीपति वर्गको एकाधिकार पनि समाप्त हुनेछ । यो अर्थतन्त्र नै सम्पूर्ण सर्वहारा वर्गहरुको एकताको माध्यम, सशक्तिकरणको आधार र विश्वव्यापी पूँजीवादको विरुद्ध संघर्षको साधन हुनेछ ।
त्यसकारण विश्वव्यापी पूँजीवादी अर्थतन्त्रको विरुद्ध भूमण्डलीकृत पूँजीवादबाट उत्पीडित सम्पूर्ण पक्षहरु सम्मिलित समानान्तर स्वायत्त अर्थतन्त्रको निर्माण गर्नु आजको आवश्यकता हो । र, यो अर्थतन्त्रको निर्माणमा सर्वहारा वर्गलाई मार्गदर्शन गर्नु र नेतृत्व गर्नु सर्वहारा वर्गको अग्रदस्ता, कम्युनिस्टहरुको वर्तमान कार्यभार हो ।
वर्तमान भूमण्डलीकृत पूँजीवादको विरुद्ध बन्ने समाजवादी अर्थतन्त्र (क्रान्तिकारी अर्थतन्त्र) विज्ञान–प्रविधिमा आधारित, एकीकृत र भूमण्डलीकृत हुनुपर्दछ ।
एकीकरणका तीन चरणहरु र स्वरुपहरु छन् । प्रथम चरणमा समान प्रकारका उद्यमहरुको संघबद्धता हुन्छ; दोस्रो चरणमा भिन्न प्रकारका तर परिपूरक उद्यमहरुको संघबद्धता हुन्छ; र तेस्रो चरणमा सम्पूर्ण उद्यमहरुको संघबद्धता हुन्छ । जुन प्रक्रिया र चरणबाट एकीकृत पूँजीवादीमा एकीकरण भएको छ, त्यही प्रक्रिया र चरणबाटसमाजवादमा एकीकरण हुनसक्दछ– (१) सिण्डिकेट, (२) कार्टेल र (३) कर्पोरेशन । तर सिण्डिकेट, कार्टेल र कर्पोरेशन पूँजीवादका संयन्त्रहरु हुन्, त्यसकारण यिनीहरु समाजवादमा प्रकट हुँदैनन् । समाजवादमा यिनीहरु एकीकरणका चरण र प्रक्रियाको रुपमा परिणत हुन्छन् ।
त्यसैगरी यो अर्थतन्त्र विज्ञान–प्रविधिमा आधारित हुनुपर्दछ, किनभने वर्तमान युगको (समाजको) प्रमुख उत्पादक शक्ति विज्ञान–प्रविधि हो । र, यो भूमण्डलीकृत हुनुपर्दछ ।
३. क्रान्तिको विधि
विश्वमा अहिलेसम्म क्रान्तिका तीन विधिहरुको विकास भएको छ– १) जनआन्दोलन (mass movement) सशस्त्र संघर्ष(armed struggle) र ३) निर्वाचन (election) । तर यी विधिहरु निरपेक्ष होइनन, बरु सापेक्ष हुन् । यिनीहरुमध्ये कुन उपयुक्त हुन्छ भन्ने कुरा समय र परिस्थितिमा निर्भर हुन्छ । सामान्य रुपमा यति मात्र भन्न सकिन्छ– जनताको अल्पसंख्यक भाग मात्र सचेत भएको अवस्थामा सशस्त्र संघर्ष, बहुसंख्यक भाग सचेत तर सत्ताको अप्रत्यक्ष विरोधी भएको अवस्थामा जनआन्दोलन र जनताको बहुसंख्यक भाग सचेत र सत्ताको प्रत्यक्ष विरोधी भएको अवस्थामा निर्वाचन उपयुक्त हुनसक्दछ । क्रान्तिका यी तीन विधिहरुको प्रयोग परिस्थितिअनुसार अलग–अलग, र एकल वा संयुक्त रुपमा हुनसक्दछ । उदाहरणको लागि, नेपालमा २००७ सालको क्रान्ति सशस्त्र संघर्षको माध्यमबाट भएको थियो भने २०४६ सालको क्रान्ति जनआन्दोलनको माध्यमबाट भएको थियो र २०६२–६३ को क्रान्ति सशस्त्र संघर्ष र जनआन्दोलनको संयोजनबाट भएको थियो । क्युबाको क्रान्ति सशस्त्र संघर्षको माध्यमबाट भएको थियो, चिली र भेनेज्वेलामा निर्वाचनबाट क्रान्ति सम्पन्न भएका थिए । चीनको क्रान्ति सशस्त्र संघर्षको माध्यमबाट र भारतको क्रान्ति जनआन्दोलनको माध्यमबाट सम्पन्न भयो । त्यसैगरी दक्षिण अफ्रिकामा निर्वाचनको माध्यमबाट र इण्डोनेसियामा जनआन्दोलनको माध्यमबाट क्रान्ति सम्पन्न भयो ।
तर एउटा सामाजिक शक्तिबिना यिनीहरुमध्ये कुनै पनि विधिद्वारा सफलता प्राप्त हुन सक्दैन । त्यो सामाजिक शक्ति सामाजिक व्यवस्थाबाट निर्माण हुन्छ । त्यसकारण क्रान्ति सम्पन्न गर्नको लागि क्रान्तिकारी शक्तिहरुले सर्वप्रथम पुरानो सामाजिक व्यवस्थाको विरुद्ध नयाँ सामाजिक व्यवस्थाको निर्माणमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्दछ । यही नयाँ सामाजिक व्यवस्थामा उभिएर आवश्यकताअनुसार क्रान्तिका तीन विधिहरुमध्ये कुनै पनि विधिको प्रयोग गर्न सकिन्छ ।
४. समाजवादको स्वरुप
वर्तमान पूँजीवादी व्यवस्थाबाट उत्पन्न संकटबाट मुक्त हुन समाजवादबिना संभव छैन । तर त्यो समाजवाद पुरानो समाजवाद होइन, नयाँ समाजवाद हो । भूमण्डलीकृत भयानक पूँजीवादबाट आक्रान्त जनता समाजवादको लागि बलिदान गर्न तयार हुन्छन्, तर विगतको जस्तो समाजवादको लागि होइन । त्यसकारण अब समाजवादी क्रान्तिको पहिलो प्रश्न समाजवादको स्वरुपको सम्बन्धमा उठ्दछ– कस्तो समाजवाद ल्याउने ? विगतको जस्तो समाजवाद ल्याउनको लागि कोही पनि तयार हुँदैनन् । त्यो असफल भइसकेको समाजवाद फेरि किन ल्याउने ? यदि जनतालाई समाजवादको लागि उत्प्रेरित गर्ने हो भने, त्यसको उपयुक्त स्वरुप, जुन विगतको भन्दा भिन्न हुन्छ, प्रस्तुत गर्नु आवश्यक छ ।
नयाँ समाजवादको स्वरुप यसप्रकार हुनेछ– १) विज्ञान–प्रविधिमा आधारित समाजवाद, २) सामाजिक नियन्त्रनमा आधारित समाजवाद, र ३) सामाजिक स्वामित्वमा आधारित समाजवाद ।
१) विज्ञान–प्रविधिमा आधारित समाजवाद
हरेक सामाजिक व्यवस्थाको स्वरुपको आधार उत्पादक शक्तिको स्वरुप हो । उत्पादक शक्तिको अनुरुप उत्पादन सम्बन्ध (सामाजिक व्यवस्था) हुनुपर्दछ । वर्तमान युगको उत्पादक शक्ति विज्ञान–प्रविधि हो । त्यसकारण अब बन्ने समाजवाद विज्ञान–प्रविधिमा आधारित हुनेछ ।
दोस्रो कुरा, समाजवादमा जीवनको लागि आवश्यक साधनहरुको जुन प्रचुरताको अपेक्षा गरिएको छ, त्यो विज्ञान–प्रविधिबाट मात्र संभव छ । आज विज्ञान–प्रविधिले उत्पादन क्षेत्रमा जुन आमूल परिवर्तन ल्याएको छ, जुन क्रान्ति ल्याएको छ, त्यसबाट अब समाजमा जीवनको लागि आवश्यक साधनहरुको अभावको कारण उत्पन्न सम्पूर्ण समस्याहरु, द्वन्द्वहरुको अन्त्य हुने संभावना देखिएको छ ।
१) सामाजिक नियन्त्रणमा आधारित समाजवाद
समाजवाद सामाजिक नियन्त्रणमा आधारित हुन्छ, राज्यको नियन्त्रणमा होइन । राज्यको नियन्त्रण त ती सामाजिक व्यवस्थाहरुमा हुन्छ, जसमा बहुसंख्यकमाथि अल्पसंख्यकको शासन हुन्छ । अल्पसंख्यकले राज्ययन्त्रको बलमा बहुसंख्यकमाथि नियन्त्रण गर्दछ । तर समाजवादमा सामाजिक नियन्त्रण हुन्छ । सामाजिक नियन्त्रण समाजका संघटकहरुको (सोभियतहरुको) सन्तुलनमा आधारित हुन्छ । र, सन्तुलन तिनीहरुकासम्बन्ध र अन्तर्निर्भरतामा आधारित हुन्छ । समाजका संघटकहरु सामाजिक समूहहरु हुन्; उदाहरणको लागि कृषक समूह, मजदूर समूह, व्यापारिक समूह, आदि । यी समूहहरुमा शक्तिको विभाजन तथा हस्तान्तरण गर्नुपर्दछ । 
समाजका संघटकहरुमा शक्ति–पृथकीकरणबाट सामाजिक नियन्त्रण स्थापित हुन्छ ।
३) सामाजिक स्वामित्वमा आधारित समाजवाद
समाजवादको लक्ष्य उत्पादनका साधनहरुमाथि समाजको स्वामित्व स्थापित गर्नु हो । अथवा यसको लक्ष्य उत्पादनका साधनहरुमाथि व्यक्तिगत स्वामित्वलाई अन्त्य गरी सम्पूर्ण समाजको स्वामित्व स्थापित गर्नु हो । तर यो लक्ष्य उत्पादनका साधनहरुको राष्ट्रियकरण गरेर पूरा हुनसक्दैन, जुन विगतको अनुभवबाट स्पष्ट हुन्छ । त्यसैगरी यो लक्ष्य उत्पादनका साधनहरुमाथि सम्पूर्ण समाजको स्वामित्व घोषणा गरेर पनि पूरा हुनसक्दैन, किनभने त्यो अमूर्त हुन्छ । यसको लागि सर्वप्रथम समाजका समूहहरुको स्वामित्व स्थापित गर्नुपर्दछ । यसको विधि राष्ट्रियकरण गरेर उत्पादनका साधनहरुलाई राज्यको स्वामित्वमा ल्याउनु होइन, समाजका समुदायहरुको स्वामित्वमा ल्याउनु हो । समाजका विभिन्न समूहहरु, संघटकहरु उत्पादन प्रक्रियाका अंगहरु हुन् । तिनीहरुको स्वामित्वमा सम्पूर्ण उत्पादन साधनहरु र सम्पदा ल्याउनु आवश्यक छ ।
समाजका संघटकहरुको रुपमा विभिन्न समूहहरु हुन्छन् । ती समूहहरुले समाजका अलग–अलग कार्यहरु सम्पन्न गर्दछन् । अलग–अलग भूमिकाहरु निर्वाह गर्दछन् । समाजीकरणको प्रक्रिया ती समूहहरुलाई तिनीहरुको आफ्नो क्षेत्रको स्वामित्व प्रदान गरेर सम्पन्न गर्नसकिन्छ । उदाहरणको लागि, किसानहरुको समूहहरुलाई कृषिको स्वामित्व, मजदूरहरुको समूहहरुलाई उद्योगको स्वामित्व प्रदान गरेर कृषि तथा उद्योगको समाजीकरण गर्नसकिन्छ । कारण कृषिको वास्तविक स्वामी किसानहरु र उद्योगका वास्तविक स्वामी मजदूरहरु हुन्छन् । समाजको प्रत्येक क्षेत्र त्यसमा संलग्न मानिसहरुको समूहलाई सुम्पिनु वास्तविक स्वामित्व स्थापनाको वास्तविक प्रक्रिया वा विधि हो । तर समाजवादको लागि वास्तविक स्वामित्व स्थापना मात्र पर्याप्त हुँदैन । यो त्यसको एउटा पक्ष मात्र हो । त्यसको अर्को पक्ष समाजीकरण हो । समाजीकरणको लागि हरेक उद्यमलाई समाजको एउटा अंग बनाउनु पर्दछ । यसरी हरेक उद्यम सम्पूर्ण सामाजिक व्यवस्थाको एउटा अंगमा परिणत भएपछि त्यसको स्वतन्त्र अस्तित्व समाप्त हुन्छ र त्यसले समाजमाथि शासन गर्न पाउँदैन । कारण त्यसलाई अन्य अंगहरुले (उद्यमहरुले) नियन्त्रण गर्दछन् ।
निष्कर्ष
समाजवादको यात्रा निरन्तर अगाडि बढिरहेको छ । कल्पनावादीहरुको कल्पनामा मात्र अस्तित्ववान समाजवाद माक्र्सवादको रुपमा सिद्धान्तमा प्रकट भयो । मार्क्सवादको रुपमा सिद्धान्तमा मात्र अस्तित्ववान समाजवाद पेरिस कम्युनको रुपमा सन् १८७१ मा व्यवहारमा साकार भयो । पेरिस कम्युनमा ७२ दिनसम्म मात्र अस्तित्व रहेको समाजवाद १९१७ मा बोल्शेभिक क्रान्तिको रुपमा पृथ्वीको ६ खण्डको १ खण्ड सोभियत संघमा स्थापित भयो । र, सोभियत संघमा ७०बर्षसम्म मात्र अस्तित्वमा रहेको समाजवाद अब सम्पूर्ण विश्वमा ७० शताब्दीसम्म अस्तित्वमा रहने गरी स्थापित हुने अवस्था तयार भइरहेको छ ।
यसको लागि हामीलाई आज तीन कुराहरुको (तीन जादूमय साधनहरुको) आवश्यकता छ । तिनीहरु हुन्– नयाँ मार्गदर्शन, दृढ प्रतिज्ञा र अदम्य साहस ।
भी.आई. लेनिन पहिलो पटक पक्राउ पर्दा उनलाई लिएर जाने प्रहरी अधिकृतले यसरी उनीसँग सोधेका थिए रे– 
“तिमीले यस्तो दुस्साहस किन गरेको ? तिमीलाई थाहा छैन, तिम्रो अगाडि ठूलो पर्खाल उभिएको छ भन्ने कुरा ?” 
त्यसको प्रतिउत्तरमा लेनिनले यसो भनेका थिए रे–
“मलाईं राम्रोसँग थाहा छ, मेरो अगाडि ठूलो पर्खाल उभिएको छ भन्ने कुरा । र, मलाईं यो कुरा पनि राम्रोसँग थाहा छ कि यो पर्खाल यति पुरानो र मक्किएको छ, यदि यसलाई एक मुक्का प्रहार गर्ने हो भने, यो गल्र्यामगुर्लुम ढल्छ । त्यसकारण मैले यस्ते साहस गरेको ।”
तर आजको पूँजीवाद लेनिनले भनेजस्तो कमजोर छैन । यसको विरुद्ध सफलतापूर्वक संघर्ष गर्नको लागि र यसमाथि निर्णायक प्रहार गर्नको लागि नयाँ मार्गदर्शनको आवश्यकता छ ।
आज यस्तो दृढ प्रतिज्ञाको आवश्यकता छ, जुन हो चि मिन्हले देखाएका थिए– “हामी सयवर्षदेखि लड्दै आएका छौँ । अब फेरि आवश्यक पर्दछ भने हामी अरु हजारवर्ष लड्न तयार छौँ ।”
त्यसैगरी आज चे ग्वेभाराको जस्तो साहसको आवश्यकता छ, जसले सिंगो ल्याटिन अमेरिकी महादेशमा क्रान्ति ल्याउने साहस गरेका थिए । अर्थात्, सिंगो भू–मण्डलमा क्रान्ति ल्याउने साहसको आवश्यकता छ । तब विजय सुनिश्चित हुन्छ ।

No comments:

Post a Comment