डा. बाबुराम भट्टराईको बैचारिक विचलन सूचना प्रविधिको विकासभन्दा द्रूत गतिमा ओह्रालो लागेको छ । कुनै समय माक्र्सवादको भाष्यमा सैद्धान्तिक सिर्जना थप्नसक्ने वौद्धिकताको अभ्यासमा लागेका भट्टराईको विचार स्खलन यो रुपमा हुनु आफैमा सन्देहात्मक संकेत हो ।
कम्युनिष्ट आन्दोलनमा लागेकाहरुको स्खलन विभिन्न रुप आकारमा प्रस्तुत भएका छन् । केशरमणी पोखरेल, कृष्णराज वर्मा, मोहनचन्द्र अधिकारीको वैचारिक विचलन र भट्टराईको विचलनमा फरक देखिन्छ । पोखरेल, वर्मा र अधिकारीको विचलनले कम्युनिष्ट आन्दोलनलाइ खासै फरक पारेन र पार्दैन पनि ।
तर, भट्टराईको यो विचलनलाइ योजनाबद्ध ढंगमा सञ्चालित २१ औं शताब्दीको साम्राज्यवादी मोडेल भन्न सकिने प्रशस्त आधारहरु छन् । उनी साम्यवादी अवधारणा भन्दा फरक विचार शैली मात्र लिएर आएका छैनन् । सक्रियतापूर्वक साम्यवादी अवधारणालाई यो शताब्दीमा अनुपयुक्त विचार सृङ्खला हो भन्ने मान्यतालाई स्थापित गर्न भगिरथ प्रयत्नमा छन् । यतिको प्रयत्न नयाँ माक्र्सवादी, युरो साम्यवादी वा कथित प्रजातान्त्रिक समाजवादीहरुले पनि सायदै गरेका थिए ।
चुनाव चिन्हदेखि चुनाव चिन्हसम्म
पहिलो जनान्दोलनले बहुदलीय व्यवस्थाको पुनस्र्थापना गरेपछि तत्कालीन नेकपा एकता केन्द्रले विसं २०४८ सालमा आफ्नो वैधानिक मोर्चा संयुक्त जनमोर्चा नेपालले संसदको भण्डाफोर गर्दै निर्वाचनमा भाग लिने निर्णय गरेको थियो ।
निर्वाचन आयोगमा जनमोर्चाले हँसिया हथौडा चिन्ह रोजेको थियो । तर, त्यो निर्वाचनमा सहभागी अन्य कम्युनिष्ट घटकले कम्युनिष्ट पार्टीको झण्डाको चिन्ह भएकोले आपत्ति जनाए । तत्कालीन एमालेलगायतका कम्युनिष्ट पार्टीको चर्को विरोध भए पनि तत्कालीन जनमोर्चाका अध्यक्ष बाबुरामसमेतले आफ्नो पार्टीको विचारसंग जोडिएको चिन्ह कुनै हालतमा नछोड्ने अडान लिएपछि निर्वाचन आयोगले हँसिया हथौडा मुिन तारा चिन्ह राखेर यो समस्याको हल गरेको थियो ।
वास्तवमा चिन्हको महत्व विचारसंग जोडिएको हुन्छ भन्ने यो उदाहरण हो । दुनियाका कम्युनिष्ट पार्टीहरुले हँसियाँ हथौडालाइ आफ्नो आधिकारिक लोगो मान्छन । श्रमजीवी जनताको दैनिकीसंग गाँसिएको अर्थमा कम्युनिष्ट पार्टीहरुको यो अन्तर्राष्ट्रिय चिन्ह हो ।
कम्युनिष्ट पार्टीहरुको एकरुपता चिन्हमा मात्र हुन्न । अन्तर्राष्ट्रिय गीत र विचारमा पनि एकरुपता हुनु कम्युनिष्ट मान्यता हो । विचारधाराकै आधारमा रणनीति र कार्यनीतिको समधुरीकै आधारमा भाइचारा सम्बन्ध कायम गरिने कुरा पनि कम्युनिष्ट पार्टीको मूल्य हो । यस्तो समधुरी कायम गर्न तेस्रो इण्टरनेशनलसम्म अन्तर्राष्ट्रिय सम्मेलनहरु भए । पछिल्लो दशकमा रीम तथा कम्पोसामार्फत यसप्रकारको अन्तराष्ट्रिय विचारधारात्मक काम भएका थिए ।
यहाँ चर्चा चुनाव चिन्हको नै गर्न खोजिएको हो । संसदीय व्यवस्थाको पहिलो मध्यावधि चुनाव ताका नेकपा एकता केन्द्र फुटिसकेको थियो । केन्द्रसंग सम्बद्ध जनमोर्चा पनि दुई फ्याक भइसकेको थियो । त्यतिखेर पनि जनमोर्चाले लिएको चुनाव चिन्ह हँसिया हथौडा र तारा कसले पाउने भन्नेमा विवाद भयो । विवाद कानुनी कठघरामासम्म पुग्यो । बाबुराम नेतृत्वको जनमोर्चाले अन्ततः हँसिया हथौडा र तारा प्राप्त ग¥यो । भलै तत्कालीन नेकपा माओवादीसम्बद्ध जनमोर्चा ०५२ सालमा जनयुद्धमा सहभागी भयो । उसले चुनाव चिन्ह प्रयोग गर्नु परेन ।
यहाँ चिन्हको महत्वले राजनीतिमा के अर्थ राख्छ र यसको महत्व बुझ्न सहज हुन्छ । चिन्ह सामान्यतया पहिचानको लागिमात्र राखिने चीज,वस्तु होइन । यसले विचारधारालाई अर्थपूर्ण रुपमा लिएको हुन्छ । विगतमा बाबुरामको विचलन नदेखिँदासम्म उनले वैचारिक अडान नै लिएका थिए ।
बाबुरामले कम्युनिष्ट पार्टीमा नेतृत्वको देवत्वकरण र मुख्य पदको निरन्तरताको पनि खुवै विरोध गर्दथे । १३ बुँदे असहमतिलगायत पार्टीमा राखेका उनका विचारहरुले बहसको सृङ्खला नै माग गरेको थियो । तर, जव उनले यी सब विचारहरु राख्दाराख्दै बाह्रबुँदे समझ्दारीमार्फत शान्ति प्रक्रियामा आइपुगे, उनले साम्यावादी विचार सृङ्लालाइ खुइल्याउने उपयुक्त वातावरण पाए । बाबुरामको यो अवतरण यतिखेर निर्वाचन चिन्हमार्फत सतहमा आउने क्रममा छ । चिन्हको कुरा यतिमामात्र सीमित हुँदैन भन्ने कुरा परम्परागत शक्तिसम्बद्ध पार्टीहरुको पनि उदाहरण दिन सकिन्छ । राप्रपा नेपाल र राप्रपाको एकीकरणमा निर्वाचन चिन्ह राप्रपाको हलो राख्ने सहमति भए पनि अन्ततः राप्रपा नेपालकै चिन्ह गाईलाई निरन्तरता दिइयो । राप्रपाको फुटलाई स्वीकारेर भए पनि उनीहरुले यो चिन्ह राख्नु अर्थपूर्ण छ । राप्रपा नेपालका कमल थापाहरुलाई थाहा थियो कि गाई कुनै निर्वाचन चिन्हमात्र होइन । राप्रपाले बोकेको हिन्दु धर्मको कार्यसूचीसँग गाई चिन्ह अन्तरसम्बन्धित छ । यसैले लोहनीहरुको फुट भन्दा गाई छोड्नु चामलसंग पिठो साटे बराबर हुन्थ्यो । यस अर्थमा चुनाव चिन्हको अर्थ हुन्छ ।
फोरमसंगको विलय चिन्हमार्फत
यतिखेर नयाँ शक्ति पार्टीले संघीय समाजवादी फोरमको निर्वाचन चिन्ह प्रयोग गर्ने निर्णय गरेको छ । यसको अर्थ प्राविधिक कारणबाट निर्वाचन चिन्ह लिएको अर्थमामात्र बुझ्नु हुन्न । यो विचारधारात्मक विचलनको कडी हो । यो क्रियाले गौर घटनामा भएको नरसंहारलाइ पनि न्यायिक ठान्छ । गौर घटनाको कुनै न्यायिक छानवीन र दोषीमाथि कार्वाही गर्नुको साटो त्यो घटनाको कारक पार्टीलाई सुनपानी छर्किने बाबुराम प्रवृत्ति देशी विदेशी प्रतिक्रियावादीहरुको गुरुयोजनाअन्तर्गत आएको हो भन्ने विषय खुल्दै जानेछ ।
यसको बाछिटा भने हिजोदेखि नै देखिएको हो । जनयुद्धकै क्रममा बाबुरामको सुरक्षामा देखिएको चिन्ता । सँगै गिरफ्तारीमा परेका सुरेश आले मगर र मातृका यादवलाई भारतले गरेको नेपाल सुपुर्दगी र उपेन्द्र यादवको उन्मुक्तिदेखिकै लहरो बाबुरामसंग गाँसिएको प्रतित हुन्छ ।
अन्त्यमा ः बाबुरामको यो विचलन आजको युगको नौलो प्रयोग हो । माक्र्सवादलाई माक्र्सवादी बनाएर प्रयोग गरिने हिजो कम्युनिष्ट पार्टीमा देखिएको संशोधनवाद मात्र होइन । यो त कम्युनिष्टहरुलाइ विकृत रुपमा प्रस्तुत गर्ने र विश्व कम्युनिष्ट आन्दोलनलाई धारासायी बनाउने नौलो नौतुन योजना हो । यो योजना सफल भए विश्व कम्युनिष्ट आन्दोलनमा हिन्दचीनमा प्रयोग भएको भन्दा नित्तान्त विकसित योजना हुनेछ । यहाँ बाबुरामले उपेन्द्र यादवको चिन्ह लिएको कुरामात्र होइन । जतिबेला मधेसी मोर्चा स्थानीय तहको निर्वाचनमा आउने पक्कापक्की भएको थिएन, त्यत्तिन्जेल बाबुराम निर्वाचन कुनै पनि हालतमा भाँडिदिने डिङ हाँकी रहेका थिए । तर मधेसी मोर्चा निर्वाचनमा आउने कुरासंगै फोरमको चिन्ह प्रयोग गर्ने कुरामा रातारात आउनु अर्थपूर्ण छ ।
http://www.jhilko.com बाट साभार
No comments:
Post a Comment