Sunday, November 6, 2016

बहस : सफ्टवेयर जन्मेपछि मार्क्सवाद मर्‍यो ! - मोहन तिम्सिना

विज्ञान र सामाजिक अनुभवको बिकाससंगै यसले आकार लिने हो । रहर गर्दैमा नयाँ शक्ति पनि बन्दैन । यसको लागि उपयुक्त परिवेश जरुरी हुन्छ । विज्ञानमा नयाँ नयाँ आविस्कार हुने तर त्यसको दार्शनिकीकरण नहुने हो भने समाजमा बैचारिक संकट देखा पर्दछ । अनि समाजमा नयाँ परिवेश तयार हुने तर नयाँ राजनीतिक शक्ति निर्माणको सचेत प्रयत्न नहुने हो भने समाज यथास्थितिको शिकार हुन्छ । नेपाल मात्र होइन, सायद सिंगो विश्व नै आज यो अन्तरबिरोधमा छट्पटाइरहेको छ ।


दर्शन (दर्शनशास्त्र) मरिसकेको छ । दर्शनले आधुनिक विज्ञानका आधुनिक बिकासहरुसँग कदम मिलाएको छैन, विषेश गरी भौतिक विज्ञानका बिकाससँग । -स्टेफेन हकिन्स/लियोनार्ड म्लोडिनो ।
Stephen-Hawking-2
हकिन्स
मार्क्सवादको पनि जन्म विकास र मृत्यु हुन्छ । मार्क्सवादको मृत्युको अर्थ मार्क्सवाद भन्दा उच्च कुनै चिजले त्यसको प्रतिस्थापना गर्नेछ -माओ त्सेतुङ ।
रहर गर्दैमा दर्शनशास्त्र बन्दैन । विज्ञान र सामाजिक अनुभवको बिकाससंगै यसले आकार लिने हो । रहर गर्दैमा नयाँ शक्ति पनि बन्दैन । यसको लागि उपयुक्त परिवेश जरुरी हुन्छ । विज्ञानमा नयाँ नयाँ आविस्कार हुने तर त्यसको दार्शनिकीकरण नहुने हो भने समाजमा बैचारिक संकट देखा पर्दछ । अनि समाजमा नयाँ परिवेश तयार हुने तर नयाँ राजनीतिक शक्ति निर्माणको सचेत प्रयत्न नहुने हो भने समाज यथास्थितिको शिकार हुन्छ । नेपाल मात्र होइन, सायद सिंगो विश्व नै आज यो अन्तरबिरोधमा छट्पटाइरहेको छ ।
भौतिक विज्ञानको क्षेत्रमा सफ्टवेयर प्रविधिको आविस्कार एक युगान्तकारी घटना रहेछ । यो मानवजातिको लागि असाधारण उपलव्धी पनि रहेछ । यो किनभने, सफ्टवेयर प्रबिधिको आविस्कारसंगै चलन चल्तीमा रहेका दर्शनशास्त्र मात्र होइन अर्थशास्त्रीय एवं समाजशास्त्रीय मान्यताहरु खण्डित भएका रहेछन् ।
सफ्टवेयरको कुनै रुप रंग वा तौल हुँदैन । हाम्रो जीवनको अभिन्न अंग बनेको यो सफ्टवेयर परम्परागत भौतिकवाद वा अध्यात्मवाद दुबैका कल्पना भन्दा बाहिरको बिषय हो
मानव जातिको ज्ञानले नयाँ फड्को हानेको रहेछ । भौतिक विज्ञानका बैज्ञानिकहरुले आफ्नो बिषयमा त काम गरे । तर यो नयाँ ज्ञानलाई दर्शनशास्त्र, समाजसास्त्र अनि अर्थशास्त्रको क्षेत्रमा ‘अपग्रेड’ गर्ने वा कदम मिलाउने काम भने भएको रहेनछ ।
त्यसैले प्रशिद्ध बैज्ञानिक हकिंगसले आफ्नो पुस्तक ‘ग्राइण्ड डिजाइन’को शुरुवातमा नै माथिको पंक्ति लेखेका छन् । नयाँ शक्तिका अभियन्ताहरुले यस विषयमा ध्यान दिन सके मात्र अभियानले सही दिशा लिन सक्ने छ ।
पाठकहरुलाई जिज्ञासा हुन सक्छ सफ्टवेयरको आविस्कारले त्यस्तो के गर्यो ? यहाँ संक्षिप्तमा भन्दा यसले भौतिक संसारबारेको हाम्रो परम्परागत बुझाइलाई खण्डित गरिदियो । अर्थात हाम्रा प्रचलित दार्शनिक मान्यतालाई खण्डित गरिदियो । त्यो कसरी ? यसबारे केही कुरा गरौं ।
आजसम्मको दर्शनशास्त्र मूलतः दुई भागमा विभक्त छ । अध्यात्मवाद र भौतिकवाद । भौतिकवाद भन्छ : मानिसका इन्द्रीयहरुमा प्रतिविम्वन नहुने कुनै पनि कुरा सत्य हुँदैन । त्यो भ्रम हो । अनि अर्कोतिर अध्यात्मवाद भन्छ : मानिसको इन्द्रीयमा प्रतिविम्वन नहुने अदृश्य शक्ति छ । त्यो भनेको ईश्वर हो ।
दर्शनशास्त्रमा यो बिवाद धेरै पुरानो हो । आजसम्म यो विवाद कायम छ । तर क्वान्टम विज्ञानका पछिल्ला आविस्कारले यो विवादलाई नयाँ मोड प्रदान गरेको छ । आज मानिसको इन्द्रीयमा प्रतिविम्वन नहुने नयाँ अदृश्य शक्ति हाम्रो वीचचमा सक्रिय छ । यो अदृश्य शक्ति अध्यात्मवादीले सोचेजस्तो ईश्वर होइन । मानव निर्मित नै हो । अनि भौतिकवादीले सोचेजस्तो विभ्रम मात्र पनि होइन, त्यो हाम्रो इन्द्रीयमा प्रतिविम्वन नभए पनि वास्तविकता भएर हाम्रो जीवनका हरेक पहलुमा काम गरिरहेको छ ।
त्यो अदृश्य शक्ति नै सफ्टवेयर हो । हामीलाई थाहा छ, सफ्टवेयरको कुनै रुप रंग वा तौल हुँदैन । मानिसको आँखाले सफ्टवेयरको वास्तविक रुप देख्न सक्दैन । यो कुनै सिडी मा बस्न सक्छ । पेनड्राइभमा अटाउन सक्छ वा शून्यबाट डाउनलोड भई हाम्रो कम्प्युटरमा स्टोर हुन सक्छ । तर, हाम्रो आँखाले यसको वास्वविकरुप कहिल्यै देख्न सक्दैन । स्क्रिनमा देखिएको त केवल त्यसको प्रतीक चिन्ह मात्र हो । त्यसको वास्तविक रुप होइन ।
हाम्रो आँखामा दृष्टिगोचर नभए पनि सफ्टवेयर प्रविधि विगतका हार्डवेयर प्रविधि भन्दा हजारौं लाखौं गुना गतिवान र शक्तिशाली छ । यसले मानिसको मस्तिस्कले गर्ने काम मानिसको क्षमताभन्दा हजारौं गुना तिब्र गतिमा गर्न सक्छ । हाम्रो जीवनको अभिन्न अंग बनेको यो सफ्टवेयर परम्परागत भौतिकवाद वा अध्यात्मवाद दुबैका कल्पना भन्दा बाहिरको बिषय हो । यसको उपस्थितिले परम्परागत दार्शनिक मान्यतालाई संकटमा पारिदिएको छ ।
आजको मानव समाज यस्ता भौतिक प्रबिधिको उपभोक्ता त भएको छ । तर, यसको आविस्कार कसरी भइरहेको छ ? यसले मानिसकोे चिन्तन वा बिश्व दृष्टिकोणमा कसरी संकट पैदा गर्दैछ ? यसतर्फ भने सोच विचार भइरहेको छैन ।
कार्ल मार्क्सले ईश्वर भन्ने तत्व टेस्ट्युबमा देखा पर्‍यो भने मात्र स्वीकार गर्ने बताएका थिए
सफ्टवेयरको आविस्कार क्वान्टम विज्ञानको देन हो । त्यसैले यो आविस्कारको वास्वविक रहस्य थाहा पाउन क्वान्टम विज्ञानका बिषेशताको चर्चा गर्नु जरुरी हुन्छ । पदार्थको सुक्ष्म अध्ययन गर्ने क्रममा क्वान्टम विज्ञानले यो भौतिक संसारबारे ४ वटा महत्वपुर्ण निश्कर्ष दिएको छ । पहिलो बिषेशता कण-तरंग द्वैतता (Particle-Wave Dwality)हो । यसको अर्थ पदार्थको हरेक सानो इकाइमा यसको स्थूल (मानिसको आँखाले देख्न सकिने) रुप र तरंग वा सुक्ष्म (मानिसको आँखाले देख्न नसक्ने) रुप हुन्छ । दोश्रो बिषेशतालाई अनिश्चितता सिद्धान्त भनिएको छ ।  पदार्थ दृश्य र अदृश्य दुवै रुपमा हुने भएकाले यसलाई नाप्न वा यसको इतिहास र भविश्यको ठीक अड्कलबाजी गर्न मानिसले कहिल्यै पनि सक्दैन ।
दोश्रो, मानिसले नापेका तथ्यहरु पृथ्वी केन्द्रित स्थूल सत्य हुन्छन् । विशाल ब्रम्हाण्डमा यो लागु हुन सक्दैन ।
तेस्रो, व्यतीकरण (Interference)सम्बन्ध । व्यतीकरण को अर्थ आफ्नो इकाइ वा प्रणालीलाई कायम राख्दै अर्को प्रणालीसँग अन्तरसम्बन्धमा रहने प्रकृया हो । यो बुझ्न पोखरीमा फरक-फरक ठाउँबाट उठेका छालहरु एक आपसमा टकराउँदा कस्तो दृश्य देखिन्छ, यो हेर्न सकिन्छ । पोखरीमा उठ्ने छालहरु एक आपसमा टकराउँदा आफ्नो छालको घेरालाई कायम राख्दै अर्को छालसँग सामञ्जस्यता पनि कायम राख्दछन् । यही परिदृश्यलाई व्यतीकरण भनिएको छ ।
मानिसका लागि स्थूल र सुक्ष्म भई देखा पर्ने पदार्थका एक वा दुई होइन, असंख्य प्रणालीहरु छन् । सुक्ष्म प्रणालीहरुको संख्या अझ ठूलो छ । यिनीहरु यस्तै व्यतीकरण सम्बन्धमा रहेका छन् । जसका कारण पदार्थको सानो कण वा यसको समग्र रुप ब्रम्हाण्डको एकल इतिहास र सुनिश्चित दिशा छैन । अर्थात पदार्थ वा ब्रम्हाण्डको एकल रेखीय इतिहास र विकाशक्रम सम्भव छैन ।
चौथो विषेशता बहु ब्रह्माण्ड : हामी रहेको ब्रह्मााण्ड बाहेक अरु पनि लाखौं ब्रह्माण्ड वा यस्ता प्रणालीहरु हाम्रो ब्रह्माण्डभित्र वा बाहिर अस्तित्वमा छन् । तिनीहरु पनि एक आपसमा व्यतीकरण सम्बन्धमा रहेका छन् । हामी मानिसहरु जुन ब्रह्माण्डको प्रणाली अन्तरगत पैदा भएका छौं, त्यही ब्रह्माण्ड मात्र देख्दछौं । अरु ब्रह्माण्ड वा प्रणालीहरु हामी देख्न सक्दैनौ ।
माथिका यिनै खोजले आजको इलेक्ट्रोनिक वा सफ्टवेयर युगमा हामी आइपुगेका हौं । बैज्ञानिक हकिंग्सको भनाइमा भौतिक विज्ञानका यिनै निश्कर्षका कारण पुरानो दर्शनशास्त्रको मृत्यु भएको हो । पुरानो दर्शनशास्त्र भनेर यहाँ सिधा मार्क्सवादप्रति नै इंगित गरिएको हो । किनकि आजसम्मको सुसंगत र आधुनिक दर्शनशास्त्र मार्क्सवादलाई नै मानिन्थ्यो । अहिले पनि दर्शनको मृत्यु भनेर मूलतः मार्क्सवादप्रति नै लक्षित गरिएको हो । आजका मार्क्सवादीहरुका लागि यो कडा बिरोध लाग्न सक्छ । तर, यो यथार्थ हो ।
Karl_Marx
कार्ल मार्क्स
यसका पछाडि निश्चित तथ्यहरु छन् । मार्क्सवादी दर्शनशास्त्र ‘न्युटनीय विज्ञानको युग’मा निर्माण भएको थियो । त्यसयता भौतिक विज्ञान ‘आइन्स्टाइनको युग’ हुँदै क्वान्टम विज्ञानका पनि अनेकौं संस्करण भएर गुज्रिरहेको छ । क्वान्टम विज्ञानका माथिका निश्कर्ष न्युटनवादी/ मार्क्सवादी नियमको ठीक विपरीत छन् ।
जस्तो कि क्वान्टम विज्ञानको पहिलो विषेशता (कण-तरंग द्वैधता)को विपरीत न्युटनवादी/मार्क्सवादी दर्शनले मानवीय इन्द्रीयमा प्रतिविम्वित नहुने चिजको अस्तित्व स्वीकार गर्दैन । सोही कारण कार्ल मार्क्सले ईश्वर भन्ने तत्व टेस्ट्युबमा देखा पर्‍यो भने मात्र स्वीकार गर्ने बताएका थिए ।
क्वान्टम विज्ञानको दोश्रो विषेशता (अनिश्चितता सिद्धान्त)को विपरीत न्युटनवादी /मार्क्सवादी दर्शनले संसारका हरेक चिजलाई नाप्न र त्यसको गतिको हिसाब गर्न सकिन्छ भन्ने मान्दछ । सोही आधारमा ‘बाद-प्रतिवाद-संबाद’ लाई द्वन्द्ववादको सार भनिएको छ । क्वान्टम विज्ञानको तेश्रो विषेशता (व्यतीकण) को विपरीत यसले पदार्थ वा समाजको गति एकल रेखामा अघि बढछ भन्ने परिकल्पना गरेको छ । यही आधारमा आदिम साम्यवाददेखि वैज्ञानिक साम्यवादसम्मको एकल रेखीय विकासक्रमको परिकल्पना गरिएको हो ।
क्वान्टम विज्ञानको चौथो विषेशता (बहुब्रह्माण्ड र बहुप्रणाली) को विपरीत न्युटनवादी /मार्क्सवादी दर्शनले एकल ब्रह्माण्ड र एकल प्रणालीका आधारमा प्रकृति र समाजलाई हेर्ने स्थूल र एकांगी पद्दति बनाएको छ । केवल वर्गीय प्रवर्गको सहारामा समाज साम्यवादसम्म पुग्न सक्छ भन्ने मान्यता यसको उदाहरण हो ।
मार्क्सवादको प्रादुर्भाव भएको झण्डै दुई शताब्दी भयो । त्यसयता यो दर्शनलाई समाजमा लागू गर्ने प्रयास पनि भए । त्यसैले आज हामी मार्क्सवादी दर्शनलाई तीनवटा कोणबाट समीक्षा गर्न सक्छौं । पहिलो, अति आधुनिक विज्ञानका सिद्धान्तको आलोकमा । दोस्रो, व्यवहारिक अभ्यासका अनुभवका आलोकमा र तेस्रो समकालीन सामाजिक प्रवृत्तिका आलोकमा ।
पहिलो अर्थात विज्ञानका सिद्धान्तसँगको समीक्षा माथि नै गरिसकियो । दोस्रो, व्यवहारिक अभ्यासका अनुभवका आधारमा हेर्दा पनि कुरा झण्डै उस्तै देखिन्छ । अर्थात मार्क्र्सले भनेअनुसार समाज एकल रेखामा हिँडेन । कम्युनिष्ट क्रान्ति भएका देशहरुले साम्यवादतर्फको यात्रालाई निरन्तरता दिन सकेनन् । स्वयं कम्युनिष्ट पार्टी र नेताहरुले नै कम्युनिष्ट आदर्श पछ्याएनन् ।
न्युटनवादी मार्क्सवादी द्वन्द्ववादका नियमहरुका ठाउँमा अब द्वन्द्ववादका क्वान्टम नियम हुनेछन् । पूर्वीय योगशास्त्र, सम्मोहन विज्ञान र गौतम बुद्धले बिकास गरेको विपश्यना विज्ञानसँग क्वान्टम नियमहरु निकट देखिन्छन्
तेस्रो, सामाजिक प्रवृत्तिको कुरा । सफ्टवेयर आविस्कारपछिको उत्पादन प्रणाली र सामाजिक प्रवृत्ति कार्ल मार्क्र्सदेखि माओसम्मका नेताको परिकल्पनाभन्दा धेरै पर गइसकेको छ । कार्लमार्क्सको एउटै अनुमान अर्थात पुँजिवाद आफ्नै कारणले पटक-पटक संकटमा पर्छ भन्ने कुरा सही देखिन्छ । तर, सफ्टवेयरको क्षमताका अगाडि एडम स्मिथको मूल्यको श्रम सिद्धान्त र कार्ल मार्क्सको अतिरिक्त मूल्यको सिद्धान्त दुवै करिब असान्दर्भिक भइसके । आज सफ्टवेयर आफैं उत्पादक शक्ति भएको छ । उत्पादन उद्योगमा कामदारको संख्या घटेर सेवा उद्योगहरुतिर थुपि्रन थालेको छ । सफ्टवेयर उत्पादन प्रणालीका कारण विश्वको राजनीति, अर्थशास्त्र, संस्कृति सबै नयाँ ठाउँमा छन् । यी सारा कारण अब परम्परागत दर्शनशास्त्र, अर्थशास्त्र राजनीतिशास्त्र वा समाजशास्त्रले काम गर्ने वाला छैनन् ।
त्यसोभए वैकल्पिक दर्शनशास्त्र चाहिँ कस्तो हुन्छ ? अब पाठकहरुलाई यो जिज्ञासा हुन सक्छ । यसबारे चर्चा गरौं । पहिलो, नयाँ दर्शनशास्त्र क्वान्टम भौतिकवादमा आधारित हुन्छ । यसको अर्थ मानव इन्द्रीयमा प्रतिविम्वित नहुने चिजलाई पनि अब भौतिक वस्तु नै मानिन्छ । हिजो पदार्थको प्रतिविम्वन मस्तिस्कमा हुन्छ र त्यसबाट चेतना पैदा हुन्छ भनिन्थ्यो । आज मानव चेतना, इन्द्रीयमा प्रतिविम्वन हुने संसारभन्दा परका सूक्ष्म यथार्थसम्म पुगिसकेको छ । यसले भौतिकवादसम्बन्धी चलनचल्तीको परिभाषा र चेतना सम्बन्धी ‘प्रतिबिम्बन सिद्धान्त’ दुबैलाई असान्दर्भिक बनाइदिएको छ । त्यसैले अब भौतिकवादसम्बन्धी परम्परागत मान्यताको ठाउँमा क्वान्टम भौतिकवादमा आधारित नियमहरु हुनेछन् ।
सफ्टवेयरजस्तै चेतना वा आत्मा पनि अब भौतिक चिज नै हो । आत्माका पनि गतिका निश्चित नियमहरु हुन्छन् । चेतनाको पनि स्थूल र सूक्ष्म अस्तित्व हुन्छ । अब चेतनालाई जीव-रासायनिक (स्थूल) आयाममा मात्र होइन, विद्युत-चुम्बकीय (सुक्ष्म) आयाममा पनि हेर्न सकिन्छ । इन्द्रीय ज्ञान र बुद्धिसम्मत ज्ञान मस्तिस्कसँग सम्बन्धित छन् । अर्थात यो आत्माको स्थूल तह हो । मानिसको संस्कार योभन्दा माथि हुन्छ । यो आत्माको सुक्ष्म वा उच्च तह हो । यो तह चेतनाको विद्युत-चुम्बकीय आयामसँग सम्बन्धित छ । यसरी आत्मा वा चेतनाबारे पनि नयाँ मान्यताहरु स्थापित हुने छन् ।
यसबारे पूर्वीय योगशास्त्र, सम्मोहन विज्ञान र गौतम बुद्धले बिकास गरेको विपश्यना विज्ञानसँग क्वान्टम नियमहरु निकट देखिन्छन् । फरक यति हो, क्वान्टम विज्ञानसँग यसको भौतिक नियम र प्रमाण छ । पूर्वीय दर्शनसँग भने आत्मिक साधना र अनुसन्धानका निश्कर्ष वा मान्यताहरु छन् । क्वान्टम विज्ञानका नियमहरुलाई दार्शनिकीकरण गर्न अब पूर्वीय दर्शनको सही एवं बैज्ञानिक बुझाइ अत्यन्तै उपयोगी हुनेछ ।
दोस्रो, न्युटनवादी/मार्क्सवादी द्वन्द्ववादका नियमहरुका ठाउँमा अब द्वन्द्ववादका क्वान्टम नियम हुनेछन् । पुरानो नियममा वाद-प्रतिवाद-संबादको एकल रेखीय विकास द्वन्द्ववादको सार थियो । क्वान्टम नियममा ‘व्यतीकरण सिद्धान्त’ द्वन्द्ववादको सार हुने छ । यसको अर्थ हाम्रो मात्र ब्रह्माण्ड वा प्रणाली छैन, अनेकौं प्रणालीहरु एक आपसमा व्यतीकरण भएर बसेका छन् । जसका कारण द्वन्द्वका प्रकार नै अनेकौं छन्, पदार्थ वा ब्रम्हाण्डको इतिहास र विकासको बाटाहरु पनि अनेकौं छन् । तर, यी सारा प्रणालीहरु एक आपसमा द्वन्द्व-सन्तुलन (व्यतीकरण) सम्बन्धमा बसेका हुन्छन्, निषेधको निषेधमा होइन । यही द्वन्द्व सन्तुलन सम्बन्धका कारण वस्तु निरन्तर गतिवान भइरहेको छ ।
मोहन तिम्सिना
मोहन तिम्सिना
प्रकृतिमा बहुप्रणाली भएजस्तै मानव समाजमा पनि बहुप्रणाली कृयाशील भइरहेको छ । मानिसभित्र आधारभूत रुपमा जम्मा चारवटा प्रणालीले काम गरेको हुन्छ । ती चार प्रणालीहरुमा संस्कार, निजत्व, वर्ग र पहिचान पर्दछन् । यी मूल प्रणालीका अनेकौं उपप्रणालीहरु छन् । यिनै प्रणालीहरुबाट बिभिन्न सामाजिक प्रवृत्तिको जन्म हुन्छ । तर, मूलरुपमा यी चारवटा प्रणालीको व्यतीकरण सम्बन्धको परिणाम एउटा मानिसको अस्तित्व रहेको हुन्छ ।
समाजमा मूलभूतरुपमा यिनै चार प्रणालीहरु कृयाशील हुन्छन् । सामान्यतया संस्कार र निजत्वले मानिसको सुक्ष्म चेतनाको प्रतिनिधित्व गर्दछ अनि वर्ग र पहिचानले मानिसको स्थूल चेतनाको प्रतिनिधित्व गर्दछ भन्न सकिन्छ । तर, व्यतीकरण सिद्धान्तले संसारका कुनै पनि प्रणालीहरु आपसमा अन्योन्याश्रति सम्बन्धमा रहेको मान्दछ । त्यसैले यिनीहरुलाई अलग-थलग प्रणालीका रुपमा हेर्नु गलत हुन्छ । यी चारै प्रणालीहरुको आ-आफ्नो अस्तित्व त छ । तर, यी आपसमा अविभाज्य छन् । यिनीहरुको आपसी द्वन्द्व-सन्तुलन सम्बन्धले नै समाजमा गति पैदा हुन्छ ।
तेस्रो, समाजको विकासमा माथि उल्लेखित चारै वटा प्रणाली र प्रवर्गहरुको उत्तिकै भूमिका हुन्छ । यी चारै बिषयसँग सम्बन्धित सामाजिक मुद्दाहरु समाजमा देखा परिरहन्छन् । एक समय एउटा अगाडि आउने र अरु पृष्ठभागमा रहने त हुन सक्छ । तर, सदाकाल एउटा मुद्दा अगाडि आइरहने र अरु पृष्ठभागमा रहिरहने चाँहि हुन सक्दैन । व्यतीकरण सम्बन्धको अर्थ अन्तरविरोधका पक्षहरु अगाडि पछाडि भइरहन्छन् । जसका कारण सामाजिक मुद्दाहरु पनि फेरिइरहन्छन् ।
पुँजीवाद, साम्यवाद र प्रजातान्त्रिक समाजवादभन्दा फरक छ, चौथो वैकल्पिक बिचारको वरिपरि नयाँ शक्ति निर्माण गर्न सकिन्छ
समाजको चरित्र बहुल प्रकारको भइरहन्छ । समाज कहिल्यै एकल रेखामा हिँड्दैन । परिवर्तनको चरित्र ‘मात्रा बाट गुणमा फड्को’ को रुपमा नहुन पनि सक्छ । किनकि ‘मात्रा र गुण’को कुरा हाम्रो स्थूल दृष्टि मात्र हो । सुक्ष्म तहमा मानिसलाई पदार्थ वा समाजको मात्रा र गुणको परिवर्तनको मापन गर्न सम्भव हुन्न ।
यसको अर्को अर्थ व्यक्ति र राज्य, श्रम र पुँजी, निजी धन र सामुहिक धन, बिद्रोह र शान्ति आदि जस्ता सामाजिक प्रवृत्तिहरु आपसमा निषेध हुँदैनन् । साथै समाजमा यिनीहरुको बिजतत्व कहिल्यै मर्दैन ।  यिनीहरु आपसमा द्वन्द्व-सन्तुलन (व्यतीकरण) सम्बन्धमा रहन सक्छन् । उन्नत समाजको असली राज सामाजिक प्रणालीहरुको सन्तुलनमा निहित हुन्छ ।
निजी धन र राज्यलाई निषेध गर्नुपर्छ भन्ने साम्यवादबाट यो सन्तुलन सम्भव छैन । कथित पुँजीको स्वतन्त्रतामा लोकतन्त्र देख्ने नवउदारवादबाट पनि यो सन्तुलन सम्भव छैन । पुँजीवादको राजनीति र साम्यवादको अर्थनीति मिसाउनुपर्छ भन्ने लोकतान्त्रिक समाजवादी बिचारबाट पनि यो सम्भव छैन ।
त्यसो भए नयाँ सामाजिक प्रणाली कस्तो हुनु पर्दछ ? यसको सिधा उत्तर राजनीतिक एवं आर्थिक प्रणालीमा पनि व्यतीकरण सिद्धान्तको प्रयोग हुनु पर्दछ । राजनीतिक प्रणालीमा ‘प्रतिनिधिमूलक लोकतन्त्र’ का मान्यताका साथसाथै समावेशीकरण, सहभागिता, समानुपातिक प्रतिनिधित्व, विषेशाधिकार, पहिचान, संघीयता, स्वायत्तता, आत्मनिर्णयको अधिकार जस्ता विधिहरुको उपयोग गर्नुपर्दछ । यसले सामाजिक विविधताभित्र सन्तुलनको काम गर्दछ ।
त्यसैगरी आर्थिक क्षेत्रमा श्रमसिद्ध निजी सम्पतिमा व्यक्तिको अधिकार स्थापित गर्ने, सामाजिक न्यायको क्षेत्रमा राज्यलाई जिम्मेवार बनाउने, श्रमसिद्ध नभएका सम्पतिहरुलाई राष्ट्रियकरण गर्ने मोडेलको अभ्यास गर्न सकिन्छ । व्यक्ति र राज्य दुबैका अधिकार र कर्तव्यवीच सन्तुलन कायम गर्ने नीति अपनाउन सकिन्छ ।
व्यक्तिलाई आम्दानी वापत कर तिर्न प्रोत्साहन गर्ने र राज्यमार्फत प्रगतिशील कर प्रणाली, सामाजिक सुरक्षा जस्ता कार्यक्रम सञ्चालन गर्ने दिशामा काम गर्नु पर्दछ ।
यसबाट प्रष्ट हुन्छ, नयाँ राजनीतिक शक्तिको कार्यदिशा अमूक सामाजिक प्रणालीलाई निषेध गर्ने होइन, सामाजिक प्रणालीहरुवीच सन्तुलन कायम गर्ने हुन्छ वा हुनु पर्दछ । यो दर्शन परम्परागत एकत्ववाद वा बहुलवादभन्दा अलग छ । परम्परागत द्धैतवाद वा अद्धैतवाद भन्दा पनि अलग छ ।
पुँजीवाद, साम्यवाद र प्रजातान्त्रिक समाजवादभन्दा फरक छ । त्यसैले यसलाई हामीले चौथो विचार भनेका छौं । यस्तै चौथो वैकल्पिक बिचारको वरिपरि नयाँ शक्ति निर्माण गर्न सकिन्छ ।
http://www.onlinekhabar.com बाट साभार 

No comments:

Post a Comment