Sunday, August 21, 2016

माक्र्सवाद अध्ययनबारे– एक चासो - - पुष्प गोपाल श्रेष्ठ

“यदि कुनै कम्युनिष्टले सारा उपलब्ध ज्ञानलाई आफ्नो मस्तिष्कमा मन्थन गर्दैन भने, साम्यवाद एउटा फोस्रो कुरा र केवल साधा सूचनापट मात्र बन्न जानेछ, अनि कम्युनिष्ट केवल पाखण्डी सिवाय अरु केहि रहने छैन । तपाईले त्यस ज्ञानलाई हृदयंगम् मात्रै गरेर पुग्दैन, आलोचनात्मक ढङ्गले यसरी हृदयंगम् गर्नुपर्दछ, जस्ले गर्दा आफ्नो दिमागमा नचाहिंदो कसिंगर थुप्रन जानेछैन, बरु आफ्नो बुद्धिलाई यस्ता सारा तथ्यहरुले सम्पन्न तुल्याउनु पर्दछ, जुन आधुनिक समयका शिक्षित मानिसहरुको लागि अनिवार्य हुन्छ । यदि कुनै कम्युनिष्ट गम्भिर, कठिन र ठूलो परिश्रम नगरिकनै, आलोचनात्मक ढङ्गले जाँची हेर्नुपर्ने तथ्यहरुलाई नबुझिकनै आफूले थाहा पाएका तयार निष्कर्षहरुको आधारमा साम्यवादको गफ हाँक्न थाल्दछ भने त्यो ज्यादै दयनीय कम्युनिष्ट हुनेछ । यस्तो अधकल्चोपना अवश्य घातकशिद्ध हुन्छ । मलाई थोरै ज्ञान छ भन्ने बोध छ भने म धेरै जान्नको निम्ति प्रयास गर्नेछु । तर कोहि मानिस आफू कम्युनिष्ट भएको दावा गर्दछ र उसले अब जान्नुपर्ने कुरा केही पनि छैन भन्ने कुरा गर्दछ भने त्यसमा कम्युनिष्ट भन्न लायकको कुनै पनि कुरा हुँदैन ।”– भ्ला.ई. लेनिन
आजका नवयुवकहरु सहि मानेमा देशका कर्णधार हुन् र हाम्रा भविष्य । हामीले यी युवा समुदायलाई, त्यो पुरानो सामन्तवादी समाजले हाम्रोबीच अत्यन्तै घनिष्ट रुपले घुलमिल गरी राखेको एउटा सबभन्दा ठूलो अनिष्ट र दुर्भाग्य हो – व्यवहारिक जीवन र पुस्तकको बीचको गहिरो खाडल । सर्वप्रथम त्यस खाडलबाट माथि उठाई लेनिनको उपरोक्त भनाइलाई आत्मसात गरी, आमरुपमा ती सबै युवकहरु, जो साम्यवादतर्पm अग्रसर हुन चाहन्छन्, तिनीहरुलाई के सिकाउनु पर्दछ र यदि वास्तवमा कम्युनिष्ट युवकको नाम सार्थक तुल्याउन चाहन्छन् भने उनीहरुले कुन प्रकारले सिक्नुपर्दछ तथा पार्टीले जुन उद्देश्य र लक्ष निर्धारण गरेको छ, त्यसलाई उनीहरुले पुरा गर्न र टुंग्याउन सकून भन्नाको लागि उनीहरुलाई कसरी प्रशिक्षित गर्नुपर्दछ भन्ने प्रश्नमा नेतृत्वपंक्तिले सविस्तार विचार गर्नु जरुरी छ ।
सच्चा कम्युनिष्ट बन्न माक्र्सवाद (साम्यवाद)को शिक्षा हासिल गर्नुपर्दछ भन्ने कुरो सर्वमान्य कुरा हो । माक्र्सवादी ज्ञान प्राप्त गर्न हामीले हाम्रो व्यवहारिक जीवनका सामान्य ज्ञानराशिबाट के कस्ता र कुन कुन विषयवस्तु (कुरा) छानेर लिनु पर्दछ ? यस कुरामा हामी अत्यन्तै चनाखो भई सुक्ष्मदृष्टि अपनाउन जरुरी छ । किनभने, यहाँ हाम्रो सामुन्ने धेरै यस्ता खतराहरु हुन सक्छन्, जुन त्यसबेला प्रत्यक्ष देखा पर्दछन्, जब माक्र्सवादको शिक्षा हासिल गर्ने काम गलत ढङ्गले गरिन्छ अथवा अत्यन्तै एकसुरे भएर त्यसको व्याख्या विश्लेषण गर्न थालिन्छ । 
माक्र्सवादको शिक्षा हासिल गर्नु भनेको व्यवहारिक ज्ञानलाई पृथक राखेर मात्र माक्र्सवादका पाठ्यपुस्तकहरु, पुस्तिकाहरु तथा कृतिहरुमा उल्लेखित सारा ज्ञानराशिलाई हृदयंगम् गर्नु हो भन्ने कुरा नै सर्वप्रथम हाम्रो दिमागमा चढ्छ । यो गलत कुरा हो । माक्र्सवादी शिक्षा हासिल गर्ने यस्तो सोच र परिपाटी ज्यादै भद्दा र अधुरो हुन्छ । यदि हामीले त्यो पुरानो सामन्तवादी समाजले हामीलाई जकडिराखेको एउटा सबभन्दा ठूलो अनिष्ट र दुर्भाग्य हो– व्यवहारिक जीवन र पुस्तकको बीचको गहिरो खाडल ।
आज हामीले यस बारेमा केहि सोच–विचारै नगरी अन्धाधुन्द तरिकाले त्यहि खाडललाई नै पछ्याउदै माक्र्सवादको अध्ययन माक्र्सवादसम्बन्धी कृतिहरु, किताबहरु र पुस्तिकाहरुमा लेखिएका कुराहरु कण्ठाग्रह पार्नमै सीमित भइरहने हो भने, त्यसबाट हामीलाई माक्र्सवादी ज्ञानको लाभ होइन, बरु उल्टो ठूलो क्षति र नोक्सान पुग्न जानेछ । किनभने त्यस्ता घोकन्ते मानिसहरु माक्र्सवादसम्बन्धी पुस्तकहरु र पुस्तिकाहरुमा उल्लेखित कुराहरु घोकी रटिकन पनि त्यस ज्ञानको समूचित प्रयोग गर्न असमर्थ हुनेछन् र यसरी काम गर्न पनि सक्नेछैनन् । जुन वास्तवमा नै माक्र्सवादको माग अनुसार नै हुनुपर्दछ । 
क्रान्तिकारी कम्युनिष्ट पार्टीका युवकहरु साचोँ अर्थमा सच्चा क्रान्तिकारी छवि बोकेका अग्रगामी युवा हुनु पर्दछ, जस्ले जनताको हरेक काममा सहायता पु¥याउने छन्, आफ्नो तत्परता र आफ्नो उदाहरणको प्रदर्शन गर्नेछन् । युवा कस्तो हुनु पर्दछ भने हरेक मजदुर, किसान र सर्वसाधरण जनसमुदायले ती युवाहरु यस्ता मानिसहरु हुन भन्ने महसुस गरोस् जसको सिद्धान्त चाहे उनीहरुले बुझ्न नसकून, जसको सिद्धान्तमा चाहे उनीहरुलाई तुरुन्त विश्वास नहोस्, परन्तु ती मानिसहरु वास्तवमा नै यस्ता हुन् जसले उनीहरुलाई सहि बाटो देखाइरहेका छन् भन्ने बारेमा उनीहरुले सजिव व्यवहार तथा क्रियाकलापबाट अनुभव गर्न सकून् । 
नेपाल अहिलेसम्म पुँजीवादी–जनवादी क्रान्तिको चरणमा नै छ भन्ने कुरामा कुनै शंका छैन । नेपालमा पूर्ण जनवादी क्रान्तिको कार्यक्रममा यी कुराहरु समावेश छन् : बाहिरी रुपमा, पूर्ण राष्ट्रिय मुक्ति प्राप्त गर्नका लागि साम्राज्यवाद, विस्तारवादको तख्ता पल्टाउनु, (राजनैतिक हस्तक्षेप पूर्ण नष्ट पार्नु) र आन्तरिक रुपमा, शहरमा दलाल वर्गको शक्ति र प्रभावलाई निर्मुल पार्नु, गाँउ घरमा सामन्ती सम्बन्धहरुलाई खतम पार्नका लागि भूमि–क्रान्तिलाई पूरा गर्नु तथा युद्धपतिहरुको शासनको तख्ता पल्टाउनु । यस्तो जनवादी क्रान्तिबाट गुज्रिसकेपछि नै हामी समाजवादतर्पm संक्रमणका लागि वास्तविक जग बसाल्न सक्नेछौं ।
हामीले नेपाललाई दरिद« र दिनहीन देशबाट सम्पन्न देशमा परिणत गर्न चाहन्छौं । अतः क्रान्तिकारी कम्युनिष्ट युवाले आफ्नो शिक्षा, आफ्नो अध्ययन र आफ्नो अनुशासनलाई मजदुरहरु र किसानहरुको श्रमसित सम्बद्ध तुल्याउनु पर्दछ । यसो गर्नु अत्यावश्यक छ । किनभने, यसो गर्नाले केवल सैद्धान्तिक पुस्तक–पुस्तिकाहरु पढ्नमा मात्र सीमित रहने छैन । मजदुरहरु र किसानहरुसित काँधमा काधँ मिलाएर काम गर्नाले मात्र सच्चा कम्युनिष्ट बन्न सकिन्छ । 
पुरानो समाज अर्थात् उसकै उत्तराधिकारी अनुरुप हुर्की–बढी आएको वर्तमान समाजमा पनि उहि सामाजिक सिद्धान्तमा आधारित रहि, नेपाली समाजको कुनै पनि चाडपर्वमा ठूलावडाले टिका–टालो लगाईदिंदा आर्शिवाद दिने नै बुर्जुबा सोचमा डुबेर ठुला वडाहाकिम भएस् भनि शुभआशीर्वाद दिने चलन अध्यावधि कायमै छ । र, यस मानेमा स्पष्ट छ, यस्तो समाजमा अनुशासित भएका मानिसहरुको नसा–नसामा, वास्तवमा भन्ने हो भने आमाको दुध चुस्दाखेरि नै, यस्तो मनोभावना, बानी र धारणा घुसेका हुन्छन्– कि लुट, कि त अरुलाई लुट्न देऊ । कि अरुको निम्ति मेहनत गर, कि त अरुलाई आफ्नो निमित काम गर्न लगाऊ । कि अरुलाई आफ्नो दास बनाऊ कि त आपैm अरुको दास बन । या त सानोतिनो सम्पत्तिवाला, सानोतिनो कर्मचारी, सानोतिनो अधिकारी अथवा बुद्धिजिवी संक्षेपमा भन्ने हो भने यस्तो मानिस जो केवल आफ्नो स्वार्थको मात्र विचार गर्दछ र अरुको उसलाई कति पनि वास्ता रहँदैन । 
यसै कारण हामी भन्दछौं– हाम्रो निमित्त मानव समाजबाट बाहिर सदाचारको अस्तित्व छैन, यो घोखा मात्र हो । हाम्रो निमित्त सदाचार सर्वहारावर्गको वर्गसंघर्षका हितहरुको अधिनमा छ । यो वर्गसंघर्षको अभिप्राय भन्नु नै दलाल तथा प्रतिक्रियावादी सत्ता ढाल्नु हो, पुँजीपतिहरुलाई सत्ताबाट गलहत्याउनु हो र बुर्जुवावर्गलाई निर्मूल पार्नु हो । 
युवा पुस्ताले अत्यन्तै महत्वकासाथ ग्रहण गर्नुपर्ने कुरा पुरानो शोषणमूलक समाजको विरुद्ध सर्वहाराहरु तथा श्रमजीवीहरुको अनवरत संघर्षसित आफ्नो शिक्षा, अनुशासन र अध्ययनको कार्यको प्रत्येक पाइलालाई सम्बृद्ध तुल्याएर मात्रै युवा पुस्ताले माक्र्सवाद (साम्यवाद) को शिक्षा हासिल गर्न सक्दछ । जब हामीसित सदाचारको कुरा गरिन्छ, हामी भन्छौं, कम्युनिष्टहरुको निम्ति सारा सदाचार यसै सुसंगठित अुनशासन र शोषकहरुको विरुद्ध सचेत जनसंघर्षमा सम्मिलित छ । हामी शाश्वत सदाचारमा विश्वास गर्दैनौ र सदाचारको बारेमा जुनसुकै कपोलकल्पित कुराको धोखाको पनि पोल खोल्दछौं । सदाचार भनेको मानव समाजलाई माथि उठाउने श्रमको शोषणबाट मुक्ति पाउने साधन हो । 
बुर्जुवा समाजबाट सर्वहारावर्गको राजनीतीतर्पm संक्रमण– एक अत्यन्त कठिन संक्रमण हो, अरु त्यसमाथि बुर्जुवावर्गले प्रचार–प्रसारको आफ्नो सम्पूर्ण व्यवस्थाद्वारा हामीलाई बदनाम गरिरहेको हुन्छ । उसले सर्वहारा अधिनायकवादको अझ बढी महत्वपूर्ण कार्यको, यसको प्रशिक्षात्मक कार्यको, जसको नेपालमा विशेष महत्व छ, जहाँ जनसंख्याको अल्पभाग मात्र सर्वहारावर्गमा पर्छ, जसरी भएपनि महत्व घटाउने प्रयत्न गरिरहेको हुन्छ, फेरि नेपालमा नै यस कार्यलाई प्राथमिक महत्व दिनुपरेको छ, किनभने हामीले जनसमुदायलाई नयाँ जनवादी क्रान्तिको निमित्त जागरुक गर्नु परेको छ र यसै क्रान्ति मार्फत जनगणतान्त्रिक राज्य निर्माणको लागि तयार पनि गर्नु परेको छ । यस कार्यको लागि युवा–सर्वहारावर्गले बुर्जुवावर्गको विरुद्ध संघर्ष गर्नको लागि आफूमा तीब्र वर्गचेतना, कठोर अनुशासन र गहन निष्ठाको विकास हुनु र गर्नु अत्यावश्यक हुन आउँछ, जुन सर्वहारावर्गको पुरानो शत्रुमाथि पूर्ण विजयको लागि अत्यावश्यक हुन्छ ।
हामी हजारौं वर्षदेखि जरो गाडेर बसेको सामन्ती राजतन्त्रीय व्यवस्थालाई फालेर ब्युँझेका छौं । तर, हामीले स्वमित्वमा आधारित व्यवस्था फेर्न सकेका छैनौं र फेर्न बाँकि नै छ । पार्टीभित्र र बाहिर दक्षिणपन्थी नवसंशोधनवादी (अवसरवादी) हरुसंगको लडाईंमा बढि समय व्यतित हुनगइरहेको कारणले गर्दा, पार्टीभित्र सांगठनिक संरचनामा शुद्धिकरण अभियानले पूर्णता पाउन सकिरहेको थिएन । र हालै मात्र पार्टीभित्र चलेको दुइलाइन संघर्षमा ती दक्षिणपन्थी नवशंसोधनवादीहरु, क्रान्तिकारीहरुको सैद्धान्तिक अडान सामु टिक्न नसकी पुरै अराजक ढङ्ग अपनाई बहिर्गमन भइसकेको वर्तमान स्थितिमा सिंगो पार्टीको स्थिति देख्नमा यद्यपि पार्टीको सांगठनिक संरचना भताभुंग भई संख्याको हिसावले न्यून देखिएता पनि वैचारिक (सैद्धान्तिक)रुपले स्पातभैंm मजबुत भई सहि अर्थमा नेपाली राजनीतिमा स्वतन्त्र हैसियत राख्ने बैकल्पिक शक्तिका रुपमा विकसित हुन गइरहेको छ । राजनैतिक रुपले क्रान्तिकारीहरुको निमित्त यो एक प्रकारको चुनौति हो र सँगसँगै यो शुभअवसर पनि । 
क्रान्तिकारीहरुको काम केवल दुनियाँलाई बुझनु मात्र होइन, आजको आवश्यकक्ता अुनरुप दुनियाँलाई बदल्नु पनि हो । वर्तमान स्थितिको यो चुनौती र शुभअवसरलाई विश्वका तमाम् शोषित पीडित जनसमुदाय तथा सर्वहारावादीहरुको ज्यानी दुश्मन साम्राज्यवाद, विस्तारवाद, प्रतिक्रियावाद तथा घरेलु सामन्तवाद र दलाल प्रतिक्रियावादी सत्ता विरुद्ध देशको आवश्यकता र जन–चाहना अनुरुप अधुरो रहेको नयाँ जनवादी क्रान्तिलाई पूर्णतामा पु¥याउन पार्टीको आत्मगत स्थिति सुदृढ र सुसंगठित पारी क्रान्तिको ज्वाला दन्काई जनगणतान्त्रिक राज्यव्यवस्था स्थापना गर्नु आजको राजनीतिक दायित्व हुन आएको छ ।

http://moolbato.com बाट साभार 

साम्राज्यवादी प्रयोगशाला र माओवादी कामरेडहरू - - डा. ऋषिराज बराल

डा. ऋषिराज बराल
Rishiraj-Baral-moolbatoअहिले प्रचण्डले नेतृत्व गरेको नेपाल सरकारलाई माओवादीको सरकार पनि भन्ने गरिएको छ । जुन परिवेश र पृष्ठभूमिमा प्रचण्डको नेतृत्वमा सरकार बन्यो, त्यसको थप विवरण आवश्यक छैन । प्रचण्ड–बाबुरामले आर्जन गरेका काला दागहरूसित सबै माओवादीलाई जोडेर निष्कर्ष निकालिन्छ र सही र इमानदार माओवादीहरू विकृति र विसङ्गतिका विरुद्ध लडिरहेका छन् भन्ने कुरा ओझेलमा पर्छ । माओवादका विरोधीहरू संसद्वादी ‘माओवादीहरू’ लाई मोडरेट भनेर फुर्क्याइरहेका हुन्छन्, र उता क्रान्तिकारी तप्काभित्र पनि अनेक किसिमले चलखेल गरिरहेका हुन्छन्  । अनि सुरु हुन्छ लाल झन्डाको विरुद्ध लाल झन्डाको प्रयोग । अन्ततः बदनाम हुने भनेको चाहिँ माओवादी पदावली र माओवादी आन्दोलन नै हो ।
नैतिक बलको अभाव र आत्मग्लानीले भरिएको प्रचण्डको कान्तिहीन अनुहारले  सबै  कुरा खुलस्त पार्छ । तर उनमा बाबुरामको जति पनि इमानदारी देखिएन । अब यो माओवादी पदावलीको थप बदनाम नगर्न प्रधानमन्त्री श्री पुष्पकमल दाहालज्यूसित मेरो विनम्र अनुरोध छ ।  प्रचण्डलाई बधाइ दिन कमरेड किरण प्रधानमन्त्री कार्यालय जानु भएको भन्ने समाचार सुनियो । कमरेड किरणले माओवादी नाम परित्याग गर्न प्रचण्डलाई अनुरोध गर्नुभएको भए, त्यो भेटघाट साँच्चिकै सार्थक हुन्थ्यो ।
प्रचण्ड–बाबुरामले आर्जन गरेका काला दागहरूसित सबै माओवादीलाई जोडेर निष्कर्ष निकालिन्छ र सही र इमानदार माओवादीहरू विकृति र विसङ्गतिका विरुद्ध लडिरहेका छन् भन्ने कुरा ओझेलमा पर्छ ।
माओवादी आन्दोलन भनेको भारतीय र पश्चिमा शक्तिहरूले चलाएको आन्दोलन हो भनेर सूचना भूमण्डलीकरणमार्फत जनतामाझ निरन्तर भ्रम फिँजाइएको छ ।
 यतिखेर नेपालको माओवादी आन्दोलन लाल झन्डाको विरुद्ध लाल झन्डाको प्रयोगशाला बनेको छ एकातिर प्रचण्डले लिएको बाटो नै सही बाटो हो, त्यही नै सब थोक हो र त्यहाँ सबै कुरा पाइन्छको वातारण तयार पारी माओवादी आन्दोलनमा विद्यमान क्रान्तिकारी धारलाई सिध्याउन भित्र र बाहिरबाट  परिपञ्च मिलाउन खोजिएको छ , अनि अर्कोतिर माओवादी आन्दोलन भनेको भारतीय र पश्चिमा शक्तिहरूले चलाएको आन्दोलन हो भनेर सूचना भूमण्डलीकरणमार्फत जनतामाझ निरन्तर भ्रम फिँजाइएको छ । पात्रहरूमा रहेका कमजोरी तथा खास घटनासन्दर्भलाई समातेर सिङ्गो माओवादी आन्दोलन विरुद्ध जनमत तयार पार्न लागिएको छ । वर्गसङ्घर्ष र जनताको मोर्चाबाट माओवादी आन्दोलनलाई पर धकेल्ने तारतम्य मिलाइँदैछ भन्ने कुरा प्रस्ट छ ।
जुनसुकै धर्म होस्, धर्म अफिम नै हो भन्ने कुरामा विवाद छैन । कम्युनिस्टहरू धर्मनिरपेक्षताको पक्षमा हुन्छन्, तर, जनतामाथि यसका नाममा बलजफ्ती गर्नु उचित ठान्दैनन् । एकातिर धर्मले आवेग उत्पन्न गर्छ/गराउँछ, अर्कोतिर जे छ सबै ठीक छ भनेर मान्छेलाई जीवन र जगत्बाट  निस्पृह पारेर सामाजिक सरोकारबाट विमुख तुल्याउँछ । कम्युनिस्टले  विरोध  गर्ने भनेको धर्मका नाममा गरिने शोषण, विग्रह, वितण्डा, विद्वेश, विखण्डन हो ।  यतिखेर आफूलाई राजावादी, हिन्दूवादी अझ राष्ट्रवादी भन्ने एकथरीहरू, नरेन्द्र मोदीले ज्ञानेन्द्रलाई सिंहासनमा राखिदिऊन र हिन्दूवादी मुलुकको घोषणा गरिदिऊँन् भनेर चोविसै घन्टा माध्यमहरूमार्फत ‘पूजापाठ’ गरिरहेका छन् । यस कामका लागि उनीहरूले सबैभन्दा बढी माओवादीहरूलाई बाधक देखेका छन् । यसका लागि उनीहरू एकसूत्रीय नारासहित सिङ्गो माओवादी आन्दोलन, दस बर्से जनयुद्ध क्रिस्चियन मिसिनरीको योजनामा चलेको, यसका लागि माओवादीले यति करोड र उति करोड लिएको जस्ता कुतर्क गर्दै योजनाबद्ध किसिमले माओवादीहरूका विरुद्ध जनतामा भ्रम फिँजाइरहेका छन् । अर्थात् उनीहरू भारतीय उत्पीडित जनतामाथि आतङ्क मच्चाइरहेको संस्था आरयसयसको नेपाली भूमिका खेलिरहेका छन् ।
लाल झन्डाको विरुद्ध लाल झन्डाको प्रयोग साम्राज्यवादको पछिल्लो योजना हो । खासगरेर भियतनाम युद्धमा अमेरिकी पराजयपछि उनीहरूले यसलाई व्यवहारमा प्रयोग गरे । स्टालिनको मृत्यु, युरो–कम्युनिज्मको नारा र माओको मृत्युपछि उत्पन्न सङ्कटले यस परियोजनालाई  सहयोग पुर्यायो ।
सत्य हो, पछिल्ला दिनमा नेपालमा क्रिस्चियन धर्म र यसका अवाञ्छित गतिविधिहरूको विस्तार  भएको छ, अनेक प्रलोभनमार्फत क्रिस्चियन धर्मको विस्तार गरिन थालिएको छ । आफूलाई मन परेको धर्म र संस्कृति अवलम्बन गर्ने कुरामा विवाद नभए पनि यसका नाममा गरिने अवाञ्च्छित गतिविधि मान्य छैन र हुँदैन ।  यसलाई त राज्यले नीतिनियम बनाएर व्यवस्थित गर्ने हो । साम्राज्यवादी योजनाबद्धतालाई एकातिर पन्छाएर एक थरी मान्छेहरू निरन्तर माओवादी आन्दोलाई जसरी बदनाम  गरिरहेका छन्, यसले थुप्रै प्रश्न उठ्नु/उठाउनु स्वाभाविक छ । नेपाली जनयुद्धप्रति प्रचण्ड–बाबुरामले गद्दारी गरेकै हुन् र बादलहरूले आन्दोलनलाई धोका दिएकै हुन् । यसको वैचारिक चिरफार गर्ने कुरामा विवाद छैन । तर जसरी सिङ्गो जनयुद्ध र माओवादी आन्दोलनलाई बदनाम गर्न क्रिस्चियन अभियानसित जोडेर कथाकुथुङ्ग्री बुनिएको छ, यो भ्रत्सनायोग्य छ । विडम्बनाको विषय के छ भने आफूलाई विश्वकै सबैभन्दा खाँटी क्रान्तिकारी भन्ने विप्लव माओवादी समूहसित सम्बद्ध एउटा अनलाइन नै प्रचण्डको विरोध गर्ने नाममा सिङ्गो जनयुद्ध र माओवादी आन्दोलनविरुद्ध कथिएका यस्ता कथाकुथुङ्ग्रीलाई, जागिर नै खाएझैँ गरी गौरवका साथ प्रचारित गरिरहेको छ । यसैलाई भन्छन् लाल झन्डाको विरुद्ध लाल झन्डाको प्रयोग । जानीनजानी उनीहरू साम्राज्यवादी योजनाको अङ्ग बनेका छन् ।
लाल झन्डाको विरुद्ध लाल झन्डाको प्रयोग साम्राज्यवादको पछिल्लो योजना हो । खासगरेर भियतनाम युद्धमा अमेरिकी पराजयपछि उनीहरूले यसलाई व्यवहारमा प्रयोग गरे । स्टालिनको मृत्यु, युरो–कम्युनिज्मको नारा र माओको मृत्युपछि उत्पन्न सङ्कटले यस परियोजनालाई  सहयोग पुर्यायो । नव–उदारवादी योजनाबद्धताका साथै सूचनाविभ्रम,  वित्तीय पुँजीको भूमण्डलीकरण, सैन्य फासिवाद र लाल झन्डाको विरुद्ध लाल झन्डाको प्रयोगमार्फत कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्न  र साम्राज्यवादलाई ऊर्जा दिने योजनाको थालनी  गरियो  । आइएनजिओको भूमिकालाई पनि नयाँ किसिमले सक्रिय बनाइयो । यसैक्रममा आयो “उत्तर” अवधारणा । सन् असीको दशकमा “कम्युनिस्ट आन्दोलन भनेको प्रगतिको महाख्यान हो र यसको अन्त्य भयो भनेर ल्योतार्डले यस किसिमको धारणा अघि सारे । कम्युनिस्ट आन्दोलनका विरुद्ध सशक्तता लड्नुमा नै हाम्रो विजय निश्चित छ भनियो  । “उत्तरवाद” लाई समामाजिक जीवनको हरेक क्षेत्रमा लागू गरियो ।   अनि उत्तरआधुनिकतावाद, उत्तरसंरचनावाद, उत्तरमार्क्सवाद, उत्तरओपनिवेशिकतावाद र उत्तरसाम्राज्यवादजस्ता थरीथरीका “उत्तरवादी” धारणाहरू देखापरे । ”उत्तर” सिद्धान्तको आधार नित्सेको शून्यवादी दर्शन हो र यसको सारतत्व,   “सबै कुराको अन्त्य” भयो भन्ने हो ।  अर्थात् हिजो थियो, अब छैन भन्ने हो ।  ज्ञानप्रशारण कालदेखिका सबै मूल्यहरू काम नलाग्ने भनेर वर्गसङ्घर्षद्वारा मानव समाजले आर्जन गरेको प्राप्तिलाई खारेज गरियो । मार्क्सवादको मात्र अन्त्यको कुरा नगरेर आफ्नो स्वार्थअनुरूप उपनिवेशवाद र साम्राज्यवादको  पनि अन्त्य भयो, यो उत्तर भयो र यसका विरुद्ध आन्दोलन गर्नुको आवश्यकता र औचित्य छैन भन्ने विचारलाई भूमण्डलीकरण गरियो । जतिबेर उत्तरउपनिवेशवाद र उत्तरसाम्राज्यवादलाई सही साबित गर्न पेन्टागनका थिङ्कट्याङ्कहरू लागेका थिए, इराक, अफगानिस्तान लगायत लिबियामाथि अमेरिकी हमला  जारी थियो  ।  उत्तरमार्क्सवादी नाम पाएका हार्ड र नेग्रीहरू अब अमेरिका साम्राज्यवादी छैन भनेर उत्तरसाम्राज्यवादको वकालत गर्नथाले ।  ध्यान दिनुपर्ने कुरा के छ भने यस काममा एक कालखण्डमा मार्क्सवादसित जोडिएका बुद्धिजीवीहरू नै अग्र पङ्क्तिमा थिए, जो पछि अमेरिकी सरकार र पेन्टागनका सल्लाहकार बनेका थिए । यो पनि लाल झन्डाका विरुद्ध लाल झन्डाको प्रयोग थियो ।
सिके राउतहरू पेन्टागन छाडेर त्यसै तराई पसेका छैनन् र मोहन बैद्यलाई वैचारिक र सङ्गठनात्मक दृष्टिले सिध्याउने प्रयास पनि त्यसै भएको छैन । हिजो विप्लवको रहस्यमय वहिर्गमन र अहिले बादलको ”एकता नौटङ्की” लाई सामान्य परिघटनाका रूपमा लिन मिल्दैन । किन अशोक मेहताहरू कमरेड किरणविरुद्ध जाइलाग्छन् र माओवादीको वीउ पनि राख्दिन भन्ने राकेश सुद र भारतीय संस्थापन पक्षका प्रगतिशील प्रतिनिधि भनिने आनन्दस्वरूप बर्मा बाबुराम र विप्लवको प्रशंसामा आकाशपातल जोड्छन् भन्ने कुरालाई पनि गम्भीरताका साथ लिनु आवश्यक छ ।
प्रचण्डको कुरा छाडौँ, लाल झन्डाको विरुद्ध लाल झन्डाको विरोधको माध्यम आफूलाई ‘क्रान्तिकारी’  भन्नेहरूसमेत बन्नथालेका आधारहरू प्रकाशमा आउन थालेका छन् । भर्खरै नेकपा, माओवादीका नेता विप्लवले आफ्नो पार्टीको  दस्ताबेजमा “उत्तरवादी” धारणाको वकालत गर्दै “अबको समय उत्तरसाम्राज्यवादी” भनेर  ठोकुवा गरेका छन् । उनले जानेर भने कि नजानी भने, प्रचण्ड किरणले क्रान्ति गरेनन् भनेर क्रान्तिमा हिँडेका त्यत्रो नेतालाई “जाबो मार्क्सवाद” र “उत्तर” अवधारणाबारे सामान्य ज्ञान रहेनछ भन्नु ‘दुस्साहस’  नै हुनेछ । सामान्य टिप्पणी गर्दा मात्र पनि ‘क्रान्तिकारी जङ्क र पङ्कहरू’ बाट भर्खरै पनि मैले गोली खानुपर्ने धम्की पाइसकेको छु । एक थरीलाई संसद्वाद अर्थात् “उत्तर–मार्क्सवाद” मा फसाएर र अर्काथरीलाई क्रान्तिकारी आवरणमा “चल्तापुर्जा” बनाएर साम्राज्यवादले नेपालको माओवादी आन्दोलनलाई  कतै नयाँ प्रयोगशाला बनाउन त लागेको छैन ? भनेर प्रश्न उठ्नु स्वाभाविक छ । नत्र भने विप्लव समूहका दस्ताबेजहरू ह्वाइट हाउसका सल्लाहकार, “इतिहासको अन्त्य” पुस्तकका लेखक फ्रान्सिस फुकोयामाको प्रशंसाले भरिने थिएनन् होलान् । कति कुशलताका साथ साम्राज्यवादले लाल झन्डाको विरुद्ध लाल झन्डाको प्रयोग गर्छ !
नेपालको माओवादी आन्दोलन यतिबेर नेताहरूमा आएको वैचारिक विचलन र विग्रहको सिकार भएको छ  । साथै प्रचण्ड, बाबुराम र अहिले विप्वलवको स्थिति हेर्दा साम्राज्यवाद विभिन्न कोणबाट टुक्राटुक्रामा माओवादी आन्दोलनलाई प्रयोगशाला  बनाइरहेको  त छैन ? एकैचोटि ‘उत्तर–मार्क्सवाद’ र ‘उत्तर–साम्राज्यवाद’ को प्रयोग गरिरहेको त छैन ? भनेर आशङ्का गर्नुपर्ने अवस्था  पनि देखापरेको छ । सिके राउतहरू पेन्टागन छाडेर त्यसै तराई पसेका छैनन् र मोहन बैद्यलाई वैचारिक र सङ्गठनात्मक दृष्टिले सिध्याउने प्रयास पनि त्यसै भएको छैन । हिजो विप्लवको रहस्यमय वहिर्गमन र अहिले बादलको ”एकता नौटङ्की” लाई सामान्य परिघटनाका रूपमा लिन मिल्दैन । किन अशोक मेहताहरू कमरेड किरणविरुद्ध जाइलाग्छन् र माओवादीको वीउ पनि राख्दिन भन्ने राकेश सुद र भारतीय संस्थापन पक्षका प्रगतिशील प्रतिनिधि भनिने आनन्दस्वरूप बर्मा बाबुराम र विप्लवको प्रशंसामा आकाशपातल जोड्छन् भन्ने कुरालाई पनि गम्भीरताका साथ लिनु आवश्यक छ । 
यस्तो बेला सबैको ध्यान कमरेड किरणतिर जानु स्वाभाविक छ । नेकपा (क्रान्तिकारी माओवादी) का पछिल्ला निर्णयले केही आशा पनि जगाएको छ । माओवादी आन्दोलन  कमजोर भएको छ, तर यो समाप्त भएको  छैन l यसमा कसैले पनि खुसी नमनाए हुन्छ । प्रश्न माओवादी आन्दोलनको मात्र होइन, प्रश्न मुलुकलाई साम्राज्यवादी–विस्तारवादी प्रयोगशाला हुनबाट कसरी जोगाउने भन्ने हो । यो सबैको साझा चिन्ता र चिन्तनको विषय हुनुपर्छ ।
http://moolbato.com बाट साभार 

कम्युनिस्टका नाममा - डा. विजय सुब्बा


आजभोलि कम्युनिस्ट नामधारी कम्युनिस्टहरूको अनुहार देख्दा पनि वाक्क लाग्छ । भर्खरै नेकपा माओवादी केन्द्रले आफैँ संलग्न नेपालको सरकार भारतीय शासकको योजनामुताबिक आफैँ ढाल्यो र आफूलाई उत्कृष्ट भारतीय दलाल प्रमाणित ग¥यो । त्यो देख्दा आफैँलाई कम्युनिस्ट हुँ भन्न झनै बढी लाज लाग्छ । प्रचण्ड जस्तो कम्युनिस्ट त होला नि ? भनेर कसैले प्याच्चै भनिदिन्छन् कि भन्ने डर भइरहन्छ । किनकि प्रचण्डले आफ्नो कम्युनिस्ट जात र धर्म छाडेर प्रधान मन्त्री पदका लागि आफ्नो र पार्टीको भविष्यलाई समेत धरापमा पार्ने काम गरेका छन् । त्यतिमात्र होइन, नेपालमा स्थापित वामपन्थीहरूको प्रभाव रोक्दै भारतीय विस्तारवादी राजनीतिको मूल खम्बा नेपाली कांग्रेसलाई फेरि उठाउने अधर्मी काम गरेका छन् । मुलुकका लागि वामपन्थीहरू मिल्ने हो भने अरु कसैको उपाय नलाग्ने रहेछ भन्ने सामान्य ज्ञानलाई उनले जानी÷बुझिकन पदका लागि सम्पूर्ण कुरा त्यागेर कम्युनिस्ट विरोधी शक्तिलाई नेतृत्वमा ल्याइदिएका छन् । उपप्रधान मन्त्री र मन्त्री हुनका लागि जता पनि समर्थन गर्दै ढोका चहार्ने विजय गच्छदार र सिपी मैनालीलगायतका दर्जनभन्दा बढी साना पार्टीका नेताहरू र प्रचण्डमा पद लालची प्रवृत्तिका हिसाबले अब केही भिन्नता रहेन ।
मुलुकप्रति कुनै जिम्मेवारी नभएका साना पार्टी र तिनका नेताका कुरा चर्चालायक विषय होइनन् । तर प्रचण्ड र उनको पार्टीको भने आजसम्म चर्चा गर्नैपर्छ भविष्यमा यस्तो दिन नआउन पनि सक्छ । किनभने प्रचण्डका व्यवहारले त्यही संकेत गरिरहेका छन् । हुन त आफैँले नेतृत्व गरेको १० वर्षे ‘जनयुद्ध’ मा मारिएका हजारौँ सहिदका सपना र युद्ध लड्दा भएका हजारौँ अन्ध, अपाङ्ग, घाइते, विधवा, विधुर, बेघरबार आदिका सुनौलो सपनालाई तहसनहस र निमिट््यान्न पार्न सक्ने प्रचण्डले आफ्नै सरकार ढाल्नु के अचम्मको कुरा भो र ? जे होस्, अब प्रचण्डको नेतृत्वमा सरकार बन्छ तर उनको सरकार सानेपाबाट हैन, सोझै दिल्लीबाट चल्नेछ । उनको पार्टीका लागि अन्तरपार्टी निर्देशन दिल्लीमा तयार हुनेछ। प्रधान मन्त्री प्रचण्ड भए पनि नेतृत्व देउवाको रहनेछ । प्रचण्डको यो क्रियाकलाप र हाउभाउले उनी शक्तिमा पुग्न जहाँ, जे, जति र जस्तोसुकै हदमा पनि गिर्न सक्छन् भन्ने कुरा पुष्टि गरेको छ । यी सबै घटना प्रवृत्ति हेर्दा उनको जनयुद्ध वास्तविक सर्वहारा श्रमजीवी वर्गका लागि थिएन र देशको स्वाधीनता र सार्वभौमसत्ताका निम्ति पनि थिएन भन्ने कुरा छर्लङ्ग भएको छ ।
प्रचण्डको यो जनघात र राष्ट्रघातको हिसाब आगामी निर्वाचनहरूमा नेपाली जनताले गर्नेछन् । २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा बम र बन्दुकको आतङ्क, डर, धाकका कारण र उनलाई जङ्गलबाट गाउँमा ल्याउन नेपाली जनताले माओवादीलाई पहिलो दर्जा दिएका थिए । तर २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा प्रचण्डलाई ६ वर्षमै तेस्रो दर्जामा झारेर उनको सही स्थान देखाएका थिए । भविष्यमा पनि उनको स्थान त तेस्रो नै हुनसक्ला तर एमालेको उमेरसम्म आइपुग्दा माओवादीको आकारमा सोची नसक्नुको संकुचन आउनेछ । शान्ति प्रक्रियापछिको उनको देश, जनता र उनको जनयुद्धकालीन योद्धाहरूमाथिको विश्वासघातका कारण उनको वास्तविक सानो आकार अझै देख्न बाँकी नै छ। त्यसका लागि टाढा जानुपर्दैन, अब आउने चुनावसम्ममात्र पर्खिए हुन्छ ।
प्रचण्डपथका नाममा नेपाली समाजको आमूल परिवर्तनका लागि जनयुद्धमा अन्धाधुन्ध बन्दुक बोक्नेहरूले वास्तवमा प्रचण्ड र बाबुरामको भित्री आशय बुझेका थिएनन् । मलाई त जनयुद्ध सुरु गरिएको बेला नै ‘प्रचण्ड र बाबुरामलाई नेपाली राजनीतिमा आफ्नो उपस्थिति गतिलो भएको जब लाग्न थाल्छ तब जनयुद्ध बिसाउँछन्’ भन्ने लागेको थियो र भयो पनि त्यस्तै । मैले तेह«थुमको धेरै ठाउँमा नेकपा माओवादीको वैचारिक प्रतिरोध गर्ने नेकपा एमालेको अभियानमा यस्तो भाषण गरेको थिएँ । नेकपा एमालेबाट जनयुद्धमा लागेका नेता र कार्यकर्ता जनयुद्धको त्यही भ्रममा धमाधम मारिएको देखेपछि मलाई असाध्य दुःख लागिरहेको थियो । किनकि माओवादीको पूर्व जग जनमोर्चाको नाममात्र रहेको पूर्वाञ्चलमा एमालेबाहेक अरु कम्युनिस्ट पार्टी नै थिएन । माओवादीमा लागेका प्रायः सबै मान्छे एमालेबाट गएकाहरू नै थिए । जोसँग मेरो निकटता थियो नै । त्यसैले उनीहरूको मृत्युमा दुःख लाग्नु स्वाभाविक थियो । फेरि म तत्कालीन माओवादीका असल र इमानदार प्रयत्नको समर्थनमै थिएँ । तर जब एक माउ भैँसी वा गाई पालेर दूध बेचेर गुजारा गर्ने गरिब किसानहरूलाई समेत अत्यन्त दुःख र यातना दिएर माओवादीले हत्या, हिंसा, आतङ्क सिर्जना गर्दै जबरजस्त रकम असुली गर्दै सम्पत्ति आर्जन गर्न थाल्यो, वास्तवमा त्यही बेला नै उनीहरूको पतनको सुरुवात भएको थियो । सामन्तवाद र साम्राज्यवाद अन्त्यका लागि युद्ध लडिरहेको भूमिगत कम्युनिस्ट पार्टीले जनतासँग त्यस्तो व्यवहार गर्नु माओत्से तुङ्गको शिक्षाको बिलकुल विपरित थिए । यी सबै कार्यको सूत्रधार प्रचण्ड नै थिए ।
माओवादीको जनयुद्धकालीन कुरालाई मात्र विश्वास गर्ने हो भने पनि जनयुद्धको पृष्ठभूमिबाट आएका यस्ता नेताहरू भारतीय शासकको कार्यकर्ता बन्न पुग्नु अचम्मको घटना हो । त्योभन्दा पनि अचम्मको घटना त उसले आफूलाई नेपाली कांगे्रसबाट सुरक्षित हुन्छु भनी ठान्नु हो । जे होस्, आज प्रचण्डका कारण हाम्रो देशको राजनीतिको बागडोर भारतको हातमा फेरि पुगेको छ । प्रचण्डलाई त केही नहोला किनकि उनी जानिबुझी नै भारत भक्त बनेका छन् । उनका कारण मुलुक र जनताचाहिँ डुब्ने भए भए । उनकै पार्टीका इमानदार, देशभक्त र सही अर्थका कम्युनिस्टहरूको मानमर्दन भएको छ र उनीहरू अब एक्लो प्रचण्ड र उनका केही मतियारका कारण नेपालको राजनीतिक इतिहासमा कहिल्यै नमेटिने गरी ‘भारतीय दलाल’ भएका छन् । कम्युनिस्टहरू देशभक्त हुनु प्रथम र अनिवार्य सर्त हो तर त्यसको ठीक उल्टो हुन पुगेको छ। प्रचण्डले एक अंशमा कम्युनिस्ट जात र धर्म त्यागिसके । अब उनी देशभक्तिविहीन प्रधान मन्त्री हुन्छन्, उनकै विश्वासिला केही नेता (भारतीय कार्यकर्ता ?)हरू उपप्रधान मन्त्री, मन्त्री र राज्य मन्त्री हुन्छन् तर उनका पार्टीमा रहेका हजारौँ पूर्व योद्धा, जो विधवा, विधुर, अन्ध, अपाङ्ग, घाइते, बेघरबार र सहिद परिवारका मान्छे भएका छन्, उनीहरू केही हुँदैनन् । किनकि यी सबै घटना उनीहरूका लागि भइरहेका होइनन् । अब सरकार नजिकका माओवादी केन्द्रका नेताहरूमात्र लखपति करोडपति, करोडपति महाकरोडपति, महाकरोडपति अरबपति र अरबपति प्रचण्डहरू महाअरबपति हुनेछन् । उनीहरूका लागि त्यसो हुनु नेपाली क्रान्तिको उपलब्धिको उत्कर्ष हुनेछ । अब नेताहरूका लोकल ठर्राबाट ब्लु लेबल ह्विस्कीसम्मको स्तर वृद्धिलाई स्वाभाविक मान्नुपर्ने भएको छ । किनकि सम्पत्तिमा महाअरबपति हुनु र रक्सीमा ब्लु लेबलसम्म पुग्नु भनेको समानान्तर विकास हो र त्यो एकार्कामा हैसियतमा सन्तुलनका लागि आवश्यक पनि थियो ।  
ओली सरकारले नेपालीलाई वर्षौंवर्षपछि बल्लबल्ल भारतको दबदबाबाट मुक्त भयौँ जस्तो महसुस गराएको थियो, आशा जगाएको पनि थियो । तर प्रगतिशील, देशभक्त र जनवादी शब्दले पनि नपुगेर आफ्नो पार्टीको नाममा माओवादी नै लेखाएका महाक्रान्तिकारीकै हातबाट त्यो स्वाभिमानी दिनको अन्त्य भएको छ । हाम्रो सार्वभौमसत्ता सम्पन्नतालाई प्रधान मन्त्री पदसँग सट्टापट्टा गरिएको छ । नेपाल र नेपाली जातिको राष्ट्रिय स्वार्थ, स्वाभिमान र राष्ट्रियताको प्रचण्डले हत्या गरेका छन् यो कम्युनिस्ट मात्र हैन नेपाली जातिका लागि शिर निहुराउने ऐतिहासिक घटना हो । प्रष्ट थियो, केपी शर्मा ओलीको हातबाट सिधै देउवाको हातमा सत्ताको बागडोर पु¥याउन भारतका लागि असम्भव थियो । त्यसलाई नेपालीले सिधै भाषामा बुझ्थे र त्यसको प्रतिवाद भारतले नाकाबन्दीका बेला जस्तो सहनुपथ्र्याे । त्यसैले प्रचण्डको शिरमा टेकेर फुत्त उफ्रेर हिलो नटेकी देउवाको छेउमा पुग्नु अनिवार्य थियो भारतलाई । त्यसको अभियानमा लागेको भारतलाई सत्ता लालची र अस्थिर प्रचण्ड पाउनु सजिलै भयो ।
अब हाम्रा लागि राष्ट्रवादलाई कसरी उँचो उठाउने भन्ने सवाल प्रमुख भएको छ । अब विस्तारै भारतीय निर्भरता बढाइनेछ वा जगाइनेछ । दुई ठूला छिमेकी राष्ट्रबीचको सन्तुलित व्यवहारको तयारीस्वरूप भएका चीनसँगको व्यापार तथा पारवहन सम्झौतालगायतका सबै नयाँ कदम बन्द गरिनेछ वा अघि बढाइने छैनन् वा अघि बढाउन दिइने छैन । किनकि त्यसकै रोकथामका लागि यी सारा भारतीय चलखेल भइरहेको हो । अर्को कुरा, अब भारतीय एजेन्डा बन्दै आएको मधेसवादी आन्दोलनको एजेन्डा अगाडि सारिनेछ । मधेसवादी एजेन्डाका लागि अब भारतले विदेशमा बोलिरहनुपर्दैन । भारतले अब नेपालको सरकारमार्फत नै बोलिरहनेछ । त्यसका लागि प्रचण्डले बाटो प्रशस्त गरिदिइसकेका छन् । त्यतिमात्र हैन, भारतका लागि प्रचण्डले नेपालमै फुटबलको मैदान खनिदिएका छन् । भारतले अब नेपालमै आफू र आफ्ना नेपाली खेलाडीमार्फत् फुटबल खेल्छ मात्र हैन, गोल गरिरहन्छ, जस्तो विगतमा गर्दै आएको थियो ।  विगतको हाम्रो दास मानसिकताका कारण नेपाली नागरिकता लिएका लाखौँ भारतीयको नेपाली नागरिकता अब खारेज गरिने छैनन् । जनसंख्यालाई मात्र आधार मानेर निर्वाचन क्षेत्र निर्धारण गरिन बेर छैन । सबैभन्दा डरलाग्दो कुरो त वर्तमान संविधानको पुनर्लेखन गर्नुपर्छ भन्ने मधेसवादी एजेन्डा (जुन केही समयअघिदेखि मधेसवादी दलहरूबाटै पुनर्लेखन र संशोधन उस्तै हो भन्न थालिएको छ) लाई स्वीकारियो भने देश अन्ततः सिक्किमीकरणतर्फ जाने सम्भावना रहन्छ ।
यस्तो बेला माओवादी केन्द्रभित्रका असल, राष्ट्रभक्त, स्वाभिमानी र उनीहरुकै भाषामा महान् जनयुद्धका महान् योद्धाहरूलाई दूरगामी महत्वका एक दुई प्रश्न सोध्न मन लाग्छ ः 
      के अहिलेको सरकार परिवर्तनलाई प्रचण्ड प्रधान मन्त्री हुँदैछन् भन्नेमात्र बुझिरहनुभएको छ ?
      के गैरकम्युनिस्टहरूबाट सुरक्षित हुन्छु भन्ने लागेको छ ?
      के नेपालको राजनीति फेरि भारतको हातमा सुम्पनु प्रचण्डको राष्ट्रिय अपराध होइन ?
      के एमालेजस्तै हुनका लागि नलड्दा पनि हुने तर कथित जनयुद्धको रचना गरेर हजारौँको जीवन तहसनहस गराउने प्रचण्ड जस्तो अस्थिर, सत्ता (सरकार) लालची, विलासी, सम्भ्रान्त, सिद्धान्त र व्यवहारको भेटै नगराउने नेताको अझै पनि विश्वास छ ?
यस्ता धेरै प्रश्न प्रचण्डका कारण उब्जिएका छन् । यिनको उत्तर प्रचण्ड प्रधान मन्त्री हुँदैमा समाधान हुँदैनन् । र, समाधान हुन्छ भनेर प्रचण्ड प्रधान मन्त्री हुन तम्सेका पनि हैनन् । उनलाई जुनसुकै मूल्यमा पनि प्रधान मन्त्री हुनु थियो र हुन्छन् । धेरै भए उनी प्रधान मन्त्री रहेको दिनसम्म उनी र माओवादी केन्द्रविरुद्धका जनयुद्धकालीन मुद्दाहरू पन्छाइएलान् तर सानो भविष्य भएको प्रचण्डको पार्टी सधँै सरकारमा त रहन्न । त्यसबेला के हुन्छ ? ती मुद्दा नब्युँझिएलान् ? वि.सं. २०४६ सालभन्दा अगाडिका पञ्चायती शासकले लगाएका मुद्दाहरू आन्दोलनको सफलतापछि खारेज गरिएजस्तो जनयुद्धकालीन मुद्दा खारेज गर्न नमान्ने र एक हातमा टाउको लिएर आऊ र अर्को हातमा पैसा लिएर जाउ भनी घोषणा गर्ने नेपाली कांग्रेस जस्ता पार्टीहरूबाट यसको उत्तर आउँछ कि आउँदैन ? नेकपा माओवादी केन्द्रले बुझेकै होला।
http://www.nagariknews.com बाट साभार