Wednesday, March 2, 2016

नेपालमा समाजवादी क्रान्ति कस्तो ? - रमेश सुनुवार

समाजवादको सान्दर्भिकताबारे बहस
नेपालमा समाजवादी क्रान्ति कस्तो ?
मूल्याङ्कन सम्वाददाता


पुस २४, काठमाडौं

। नेपालमा समाजवादी क्रान्तिको स्वरुप कस्तो भन्ने विषयमा राजधानीमा बहस भएको छ । ‘नेपालमा समाजवाद : कस्तो र कसरी ?’ शीर्षकमा आइतबार पद्मकन्या क्याम्पसको डेनिस हलमा भएको उक्त बहसमा नेपालका विभिन्न कम्युनिस्ट घटकसँग सम्बद्ध नेता र बुद्धिजीवीहरुले आ–आफ्नो विचार व्यक्त गरे ।
माक्र्सवाद अध्ययन अनुसन्धान प्रतिष्ठानले आयोजना गरेको बहसमा आयोजकका तर्फबाट रमेश सुनुवारले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि नेकपा एमालेका नेता डा. विजय पौडेल, एकीकृत नेकपा माओवादीका नेता आहुति, नयाँ शक्ति अभियानका नेता देवेन्द्र पौडेल, नेकपा माओवादीका नेता धर्मेन्द्र बास्तोला र विश्लेषक केशव दाहालले बोलेका थिए ।
प्रतिष्ठानले समाजवादी क्रान्ति सम्बन्धी यस्ता अन्तक्र्रियात्मक बहसहरु देशभरि गर्ने योजना बनाएको जनाएको छ ।
यस्तो छ रमेश सुनुवारको कार्यपत्र :



नेपाली क्रान्तिको मोडल

नेपाल विश्वको एउटा भाग हो र नेपाली क्रान्ति विश्वक्रान्तिको एउटा अंश हो । त्यसकारण अब नेपाली क्रान्तिको कार्यक्रम वर्तमान विश्वको परिवेश र नेपालको परिवेश दुवैलाई विचार गरेर मात्र बन्नसक्दछ । त्यसका लागि सर्वप्रथम वर्तमान विश्वको परिवेश र नेपालको परिवेशलाई अवगत गर्नु आवश्यक छ ।

१. वर्तमान विश्वको परिवेश

आज हामी एउटा नयाँ संसारमा छौ । माक्र्सवादको उदय भएको करिब १७५ वर्ष पुगिसकेको छ । यसबीचमा दुनियाँमा धेरै परिवर्तन भइसकेका छन् । ती परिवर्तनमध्ये प्रमुख यस प्रकार छन्– क) उत्पादक शक्तिमा परिवर्तन, ख) पुँजीवादको स्वरुपमा परिवर्तन, ग) समाजवादको पुरानो प्रारुपको अन्त्य र घ) संघर्ष वा क्रान्तिका पुराना विधिहरु प्रभावहीन ।

क) उत्पादक शक्तिमा परिवर्तन

उत्पादक शक्तिको रुपमा विज्ञान–प्रविधिको विकास वर्तमान युगको सर्वाधिक महत्वपूर्ण तथा निर्णायक परिवर्तन सिद्ध भएको छ । यसले मानव समाजको आधारभूत संरचनालाई बदलेको छ । उदाहरणका लागि, मानव श्रम–शक्ति उत्पादन क्षेत्रबाट विस्थापित भएको छ, समाजको वर्गीय संरचना बदलिएको छ, अर्थात सर्वहारा वर्ग र पुँजीपति वर्गको संख्या घटेको छ र मध्यम वर्गको संख्या बढेको छ, र मानव समाज अन्तर्सम्बन्धित भएर विश्वग्रामको सृजना भएको छ । यसैगरी यसबाट मानव सभ्यतामा अभूतपूर्व विकास भएको छ, जुन मात्रात्मक, गुणात्मक तथा गत्यात्मक सबै दृष्टिबाट अद्वितीय छ ।

ख) पुँजीवादको स्वरुपमा परिवर्तन

आफ्नो उदयदेखि सन १९४५ सम्म पुँजीवादले तीन चरण पार गरिसकेको थियो । ती चरण थिए– १) संरक्षणवादी पुँजीवादको चरण, जसलाई व्यापारिक पुँजीवाद भनिन्थ्यो, २) प्रतिस्पर्धी पुँजीवादको चरण, जसलाई औद्योगिक पुँजीवाद भनिन्थ्यो, र ३) एकाधिकारी पुँजीवादको चरण, जसलाई वित्तीय पुँजीवाद भनिन्थ्यो । लेनिनले एकाधिकारी पुँजीवादलाई, जुन साम्राज्यवादको रुपमा प्रकट भएको थियो, पुँजीवादको अन्तिम चरण भनेका थिए । तर त्यसमा पुँजीवादको अन्त्य भएन । सन १९४५ मा दोस्रो विश्वयुद्धको अन्त्य भएपछि पुँजीवादले नयाँ चरणमा, जुन यसको चौथो चरण हो, प्रवेश गरेको छ । यो चरणमा पुँजीवाद एकीकृत पुँजीवाद बनेको छ, जुन अहिले भूमण्डलीकृत पुँजीवादको रुपमा विश्वमा व्याप्त छ । यसको आधार विज्ञान–प्रविधि हो, त्यसकारण यसलाई वैज्ञानिक–प्राविधिक पुँजीवाद भन्नसकिन्छ । बहुराष्ट्रिय तथा पराराष्ट्रिय कम्पनी र निगमको माध्यमबाट एकीकृत पुँजीवादको आगमनपछि सम्पूर्ण पुँजीपति वर्गहरु एकाकार भएका छन् । फलस्वरुप राष्ट्रिय पुँजीपति वर्गको अस्तित्व समाप्त भएको छ । किनभने त्यसले अब भूूमण्डलीकृत पुँजीवादसँग प्रतिस्पर्धा गरेर आफ्नो अस्तित्व कायम राख्नसक्दैन । त्यसकारण ऊ त्यसैमा समाहित भएको छ । एकाधिकारी पुँजीवादको चरणमा राष्ट्रिय पुँजीपति वर्ग साम्राज्यवादबाट उत्पीडित हुन्थ्यो, त्यसकारण ऊ केही हदसम्म क्रान्तिकारी हुन्थ्यो । तर अब ऊ भूमण्डलीकृत पुँजीवादकै अंग भएको हुँदा क्रान्तिकारी छैन, बरु क्रान्तिविरोधी छ । अहिले सम्पूर्ण देशहरुका पुँजीपतिको बहुराष्ट्रिय तथा पराराष्ट्रिय कम्पनीहरु तथा निगमहरुमा शेयर छ, जुन भूमण्डलीकृत अन्तर्राष्ट्रिय पुँजीवादका संस्थाहरु हुन् ।

ग) समाजवादको पुरानो प्रारुपको अन्त्य

सन १९१७ मा सम्पन्न समाजवादी क्रान्तिबाट स्थापित सोभियत संघको समाजवाद सन १९९१ मा पतन भएपछि समाजवादको एउटा प्रारुपको अन्त्य भएको छ । त्यो समाजवादको प्रारुप मानव श्रम–शक्तिमा आधारित, राज्यनियन्त्रित र राज्यको स्वामित्वमा आधारित थियो । त्यो अब अनुभवबाट असान्दर्भिक भइसकेको छ ।

घ) संघर्ष र क्रान्तिका पुराना विधिहरु प्रभावहीन

त्यसैगरी सामाजिक परिवर्तनका लागि प्रयोग गरिएका विद्यमान पुराना विधिहरु पनि अहिले प्रभावहीन सिद्ध भएका छन् । ती विधि हुन– १) सशस्त्र संघर्ष, २) जनआन्दोलन र ३) निर्वाचन ।

विगतमा एकमात्र अचूक साधनको रुपमा मानिएको सशस्त्र संघर्ष अहिले प्रभावहीन भएको छ र कहीँ पनि यसबाट लक्ष्य प्राप्त हुनसकेको छैन । उदाहरणका लागि, भारतको नक्सलबाडी सशस्त्र संघर्ष, पेरुको साइनिङपाथको सशस्त्र संघर्ष र नेपालको माओवादी जनयुद्ध आफ्नो लक्ष्य प्राप्त गर्न सफल भएनन् ।

अहिले विश्वमा जनआन्दोलन पनि सफल भएका छैनन् । उदाहरणका लागि, थाइल्याण्डमा रातोसर्टधारी आन्दोलन, नेपालमा माओवादीद्वारा आह्वान गरिएको आमहड्ताल, आदि ठूलो जनसहभागिताको बाबजुद असफलतामा टुंगिए ।
त्यसैगरी निर्वाचनबाट पनि अहिले विश्वमा सामाजिक परिवर्तनका लागि सफलता प्राप्त भइरहेको छैन । युरोपेली कम्युनिस्टहरु, भारतीय कम्युनिस्टहरु र नेपाली कम्युनिस्टहरु तथा ल्याटिन अमेरिकी वामपन्थीहरुले निर्वाचनको माध्यमबाट केही अांशिक सफलता मात्र प्र्राप्त गरेका छन्, तर मूल लक्ष्य प्राप्त हुनसकेको छैन ।

यसप्रकार आज हामी उपर्युक्त विश्व–परिवेशको सामु उभिएका छौं ।

२. वर्तमान नेपालको परिवेश

नेपाली समाज २००७ सालको परिर्वतनदेखि निरन्तर क्रान्तिको प्रक्रियामा छ । तर त्यसको बाबजुद यहाँ आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्थामा आमूल परिवर्तन हुनसकेको छैन । करिब उही समयमा स्वाधीन बनेका दुई छिमेकी देश चीन र भारत आज विश्वमा शक्तिशाली देशको रुपमा स्थापित भइसकेका छन् । तर नेपाल अहिलेसम्म पिछडिएको अवस्थामा रहिरहेको छ । त्यसकारण यहाँ क्रान्ति तथा प्रतिक्रान्तिको क्रम रोकिएको छैन । र, जनताको क्रान्ति जारी छ ।

नेपालको वर्तमान परिवेशलाई यसरी चित्रण गर्न सकिन्छ– क) पुँजीवादी क्रान्तिका लागि भएका प्रयत्न असफल, ख) नयाँ जनवादी क्रान्तिका लागि भएका प्रयत्न असफल, ग) नेपाली समाजको स्वरुप अर्ध–सामन्ती र अर्ध–उपनिवेशी र घ) बाह्य अवस्थामा परिवर्तन ।

क) पुँजीवादी क्रान्तिका लागि भएका प्रयत्न असफल

नेपालमा पुँजीवादी क्रान्तिका लागि तीनवटा प्रयत्न भएका थिए । ती प्रयत्न २००७ सालमा, २०४६ सालमा र २०६२–६३ सालमा भएका थिए । तर केही आंशिक उपलब्धिका बाबजुद तिनीहरु असफल भए । पहिलो प्रयत्नबाट निरंकुश राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापना भयो, दोस्रो प्रयत्नबाट निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्थाको स्थापना भयो र तेस्रो प्रयत्नबाट राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना भयो । यी आंशिक सफलता थिए । तर ती सबै प्रयत्नबाट मूल लक्ष्य प्राप्त हुनसकेनन् । त्यो हो– पुँजीवादी व्यवस्थाको स्थापना र विकास ।

ख) नयाँ जनवादी क्रान्तिका लागि भएका प्रयत्न असफल

नेपालमा नयाँ जनवादी क्रान्तिका लागि पनि तीन वटा प्रयत्न भएका थिए । ती प्रयत्नमध्ये पहिलोे नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा नयाँ जनवादी कार्यक्रम अगाडि सारेर भएको थियो, दोस्रो नेपाल कम्युनिस्ट पार्टी एमालेको नेतृत्वमा बहुदलीय जनवादको कार्यक्रम लगाडि सारेर भएको थियो र तेस्रो नेपाल कम्युनिस्ट पार्टी माओवादीको नेतृत्वमा जनयुद्धको कार्यक्रम अगाडि सारेर भएको थियो । तिनीहरुबाट केही आंशिक उपलब्धि भए, तर मूल लक्ष्य प्राप्त भएन । त्यो हो– नयाँ जनवादी व्यवस्थाको स्थापना र विकास ।

ग) नेपाली समाजको स्वरुप अर्ध–सामन्ती र अर्ध–उपनिवेशी

नेपाली समाजको स्वरुप अहिले पनि अर्ध–सामन्ती र अर्ध–उपनिवेशी नै छ । नेपाली समाजको आरम्भ गोत्र तथा कबिला अवस्थाबाट भएको थियो र सामन्तवादसम्म विकसित भएको थियो । तर आफ्नो विकासको क्रममा यो सामन्तवादबाट पुँजीवादमा नपुगी अर्ध–सामन्ती र अर्ध–उपनिवेशी अवस्थामा रोकिएको छ । नेपाल–अंग्रेज युद्धको परिणामस्वरुप सुगौली सन्धि भएपछि नेपालले अर्ध–सामन्ती र अर्ध–उपनिवेश अवस्थामा प्रवेश गरेको हो ।
नेपाल अर्ध–सामन्ती र अर्ध–उपनिवेशी हुनुको कारण के हो भने यहाँ उत्पादक शक्ति अहिले पनि मूलतः जमिन नै रहेको छ र निर्वाहमुखी अर्थतन्त्रको प्रधानता छ, जुन सामन्तवादको आधार हो । केही मात्रामा पुँजीको विकास त भएको छ, तर त्यो प्रमुख उत्पादक शक्ति बनिसकेको छैन । त्यसैगरी यहाँ विदेशी साम्राज्यवादी–विस्तारवादी शक्तिहरुको हस्तक्षेप कायमै छ । आयात तथा पारवहन सुविधा नपाउनु यसको ज्वलन्त उदाहरण हो ।
केही मानिसले नेपाली समाज अब अर्ध–सामन्ती र अर्ध–उपनिवेशी रहेन, पुँजीवादी भइसकेको छ भन्ने दावी गर्दछन् । तर उनीहरुको यो दाबीमा कुनै सत्यता छैन । किनभने तिनै मानिसहरु, जसले यस्तो दावी गर्दछन्, जब सरकारमा पुग्दछन् र कुनै जनपक्षीय काम गर्न सक्दैनन्, तब जनतासामु आएर अलाप–विलाप, हार–गुहार र रोई–कराई गर्दछन्– “ताला–चाबी त अन्तै पो रहेछ, हाम्रो हातमा त केही पनि रहेनछ !”

घ) बाह्य अवस्थामा परिर्वतन

नेपाली समाजको स्वरुप अर्ध–सामन्ती र अर्ध–उपनिवेशी नै रहेको भएता पनि यसको बाह्य अवस्था बदलिएको छ । अन्तर्राष्ट्रिय पुँजीवाद अहिले एकीकृत पुँजीवाद अथवा भूमण्डलीकृत पुँजीवादमा रुपान्तरित भएको छ, जसमा विश्वका सम्पूर्ण पुँजीपति वर्गहरु एकाकार भएका छन् । अब राष्ट्रिय पुँजीपति वर्गको अस्तित्व समाप्त भएको छ ।

३. नेपाली क्रान्तिको कार्यक्रम

यसरी वर्तमान विश्वको परिवेश र नेपालको परिवेश दुुवैैलाई विचार गरिसकेपछि नेपाली क्रान्तिको कार्यक्रमलाई यसप्रकार सूत्रबद्ध गर्न सकिन्छ : क) नेपाली क्रान्तिको लक्ष्य समाजवादलाई बनाउने, ख) उत्पादक शक्तिको रुपमा विज्ञान–प्रविधिलाई मान्ने, ग) संघर्ष वा क्रान्तिको विधि समाजवादको निमार्णलाई बनाउने र, घ) समाजवादको नयाँ प्रारुप प्रस्तुत गर्ने ।

क) नेपाली क्रान्तिको लक्ष्य समाजवादलाई बनाउने

नेपाली क्रान्तिको सिंहावलोकनबाट के स्पष्ट हुन्छ भने नेपालमा पुँजीवादी क्रान्ति हुनसक्दैन । त्यसैगरी नेपाली कम्युनिस्ट आन्दोलनको सिंहावलोकनबाट के स्पष्ट हुन्छ भने यहाँ नयाँ जनवादी क्रान्ति पनि हुनसक्दैन ।
नेपालको आन्तरिक पक्षको आधारमा नेपाली क्रान्तिको लक्ष्य नयाँ जनवाद नै हुन्थ्यो तर यसको बाह्य पक्षमा आएको परिवर्तनले नयाँ जनवादी क्रान्ति सम्भव छैन । कुनै पनि क्रान्तिका लागि आन्तरिक पक्ष मात्र निर्णायक हुँदैन, बाह्य पक्ष पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ । अन्तर्राष्ट्रिय पुँजीवाद अहिले एकीकृत पुँजीवाद वा भूमण्डलीकृत पुँजीवादमा रुपान्तरित भएको छ, जसमा विश्वका सम्पूर्ण पुँजीपति वर्ग एकाकार भएका छन् । फलस्वरुप राष्ट्रिय पुँजीपति वर्गको अस्तित्व समाप्त भएको छ । त्यसकारण अब राष्ट्रिय पुँजीपति वर्गसँग संयुक्तमोर्चा बनाएर राष्ट्रिय पुँजीपति वर्गलाई मुक्त गर्ने क्रान्ति हुनसक्दैन, जुन नयाँ जनवादी क्रान्ति हो ।

एकाधिकारी पुँजीवादले पुँजीवावादी क्रान्ति हुन दिँदैनथ्यो, त्यसकारण चीनमा पुँजीवादी क्रान्ति हुन सकेन । अब एकीकृत पुँजीवादले नयाँ जनवादी क्रान्ति हुन दिँदैन, त्यसकारण नेपालमा नयाँ जनवादी क्रान्ति हुनसक्दैन । अब नेपाली क्रान्तिको लक्ष्य समाजवाद नै हुन्छ । किनभने वर्तमान भूमण्डलीकृत पुँजीवादको विकल्प भूमण्डलीकृत समाजवाद मात्र हुनसक्दछ । समाजवादभन्दा तलको कार्यक्रमले वर्तमान पुँजीवादको मुकाबिला गर्न सक्दैन । त्यसैगरी वर्तमान नेपाली समाजको पिछडिएको उत्पादक शक्तिलाई समाजवादी कार्यक्रमद्वारा मात्र विकसित गर्न सकिन्छ । अर्थात् सामूहिक, अन्तर्सम्बन्धित र योजनाबद्ध प्रयत्नबाट मात्र पिछडिएको नेपाली अर्थतन्त्र र समाजको प्रगति हुनसक्दछ ।

ख) उत्पादक शक्तिको रुपमा विज्ञान–प्रविधिलाई मान्ने

वर्तमान युगको प्रमुख उत्पादक शक्ति विज्ञान–प्रविधि हो । यसैको आधारमा वर्तमान पुँजीवादले आफूलाई शक्तिशाली बनाएको छ र आफ्नो मृत्युलाई केही पर सार्न सफल भएको छ । त्यसकारण अब विज्ञान–प्रविधिलाई उत्पादक शक्ति नबनाई वर्तमान एकीकृत पुँजीवादलाई पराजित गर्न सम्भव हुँदैन र समाजवादी व्यवस्था पनि सफल हुँदैन । मानव श्रम–शक्तिमा आधारित समाजवादले न पुँजीवादलाई उछिन्न सक्छ न त समाजको आवश्यकता नै पूरा गर्नसक्छ । अब विज्ञान–प्रविधिको वर्तमान उपलब्धिबाट समाजवाद सम्भव देखिएको छ ।

ग) संघर्ष वा क्रान्तिको विधि समाजवादको निर्माणलाई बनाउने

यो विषयका तीन अर्थ छन् : अ) संघर्षका पुुराना विधिहरु : सशस्त्र संघर्ष, जनआन्दोलन र निर्वाचनको स्थानमा समाजवादको निर्माणलाई प्रयोग गर्ने, आ) समाजवादको निर्माण क्रान्तिपूर्व गर्ने र इ) विद्यमान पुरानो व्यवस्थाभित्र रहेर त्यसको विरुद्ध संघर्ष गर्नुको सट्टा त्यसभन्दा बाहिर रहेर संघर्ष गर्ने ।

अ) संघर्षको पुराना विधि : सशस्त्र संघर्ष, जनआन्दोलन र निर्वाचनको स्थानमा समाजवादको निर्माणलाई प्रयोग गर्ने

संघर्ष वा क्रन्तिका पुराना विधिहरु– सशस्त्र संघर्ष, जनआन्दोलन र निर्वाचन– अहिले प्रभावकारी हुनसकेका छैनन् । त्यसकारण अब यी विधिलाई निर्णायक क्षणमा मात्र प्रयोग गर्नुपर्दछ र त्यसभन्दा पहिले पुरानो व्यवस्थाको विरुद्ध नयाँ व्यवस्थाको निर्माण समानान्तर रुपमा गर्नुपर्दछ । फलस्वरुप पुरानो व्यवस्था विस्थापित हुने अवस्था सृजना हुन्छ र क्रान्तिकारी शक्तिहरुलाई सशक्त तथा सुदृढ हुने आधार बन्दछ ।

आ) समाजवादको निर्माण क्रान्तिपूर्व गर्ने

अहिलेसम्म समाजवादको निर्माण कार्य क्रान्ति सम्पन्न भएपछि मात्र गर्ने नीति अवलम्बन गरिएको थियो । तर यसलाई अब क्रान्ति सम्पन्न हुनुभन्दा पहिले नै आरम्भ गर्नुपर्दछ, जसबाट क्रान्तिका लागि सहज अवस्था सृजना हुन्छ । पुरानो व्यवस्थाको समानान्तरमा नयाँ व्यवस्था निर्माण भएपछि पुरानो व्यवस्था कमजोर बन्दै जान्छ र नयाँ व्यवस्था समृद्ध र बलियो बन्दै जान्छ । फलस्वरुप सामाजिक क्रान्तिको माध्यमबाट पुरानो व्यवस्थाको अन्त्य र नयाँ व्यवस्थाको प्रतिष्ठापन हुन्छ ।

इ) विद्यमान पुरानो व्यवस्थाभित्र रहेर त्यसको विरुद्ध संघर्ष गर्नुको सट्टा त्यसभन्दा बाहिर रहेर संघर्ष गर्ने

पहिले पुरानो व्यवस्थाको विरुद्ध संघर्ष गर्दा त्यसभित्र रहेर गर्ने गरिन्थ्यो । किनभने क्रान्तिकारी शक्ति पुरानो व्यवस्थाभित्र हुन्थ्यो । तर अहिले उत्पादक शक्तिको रुपमा विज्ञान–प्रविधिको विकास भएपछि श्रमिकहरु उत्पादन क्षेत्रबाट विस्थापित भएका छन् । त्यसकारण अब पुँजीवादी व्यवस्थाभित्र रहेर त्यसको विरुद्ध संघर्ष गर्न सम्भव छैन । त्यसभन्दा बाहिर रहेर त्यसलाई प्रहार गर्नुपर्दछ ।

यसरी समानान्तर व्यवस्थाको रुपमा समाजवादको निमार्ण गर्न ५ तत्वको आवश्यकता पर्दछ : १) विचारधारा, २) संगठन, ३) अर्थतन्त्र, ४) सेना र ५) राजनीतिक सत्ता । यी साधन निमार्ण गरेर यिनीहरुको आधारमा समाजवादको निर्माण गर्नसकिन्छ ।

४) समाजवादको नयाँ प्रारुप प्रस्तुत गर्ने

नेपाली क्रान्तिको लक्ष्य समाजवाद हो । तर यो समाजवाद पुरानो समाजवाद होइन, नयाँ हुनुपर्दछ । यो नयाँ समाजवादका तीन विशेषता हुनेछन् : क) विज्ञान–प्रविधिमा आधारित समाजवाद, ख) समाजनियन्त्रित समाजवाद र (ग) समाजिक स्वामित्वमा आधारित समाजवाद ।
क) विज्ञान–प्रविधिमा आधारित समाजवाद

विगतमा समाजवाद मानव श्रम–शक्तिमा आधारित थियो, किनभने त्यसबेला मानव श्रम–शक्ति नै प्रमुख उत्पादक शक्ति थियो । तर अहिले त्यसको स्थान विज्ञान–प्रविधिले लिएको छ । त्यसकारण अब समाजवाद पनि विज्ञान–प्रविधिमै आधारित हुनुपर्दछ । मानव श्रम–शक्तिमा आधारित समाजवादले विज्ञान–प्रविधिमा आधारित वर्तमान भूमण्डलीकृत पुँजीवादलाई पराजित गर्नसक्दैन ।

ख) समाजनियन्त्रित समाजवाद

नयाँ समाजवादको अर्को विशेषता समाजनियन्त्रित हुनु हो । विगतको पुरानो समाजवाद राज्यनियन्त्रित थियो र पुँजीवाद पुँजीपति वर्गद्वारा नियन्त्रित हुन्छ । यसको विपरीत, नयाँ समाजवाद समाजको नियन्त्रणमा हुनेछ । जसरी प्रकृतिमा इकोसिस्टमको रुपमा प्राकृतिक तत्वहरुको सम्बन्ध तथा अन्तनिर्भरताबाट सन्तुलन स्थापित भएको हुन्छ, त्यसैगरी समाजमा पनि सामाजिक समूहहरुको सम्बन्ध तथा अन्तर्निभरताबाट सामाजिक नियन्त्रण र सन्तुलन स्थापित हुन्छ ।

नयाँ समाजवादमा समाजका संघटकको रुपमा संगठित सामाजिक समूहहरुको परस्पर सम्बन्ध र निर्भरताबाट सामाजिक नियन्त्रण स्थापित हुन्छ । यसको राजनीतिक व्यवस्था संसदीय व्यवस्था हुँदैन, जुन प्रतिनिधिमूलक व्यवस्था हो । यो प्रत्यक्ष जनसहभागितामूलक व्यवस्था हुन्छ । यसमा प्रतिनिधिमूलक निकाय संयोजक वा समन्वयकर्ता मात्र हुन्छ र प्रत्यक्ष जनसहभागितामूलक निकाय कार्यकारी हुन्छ ।

ग) सामाजिक स्वामित्वमा आधारित समाजवाद

विगतको समाजवाद राज्यको स्वामित्वमा आधारित थियो र पुँजीवाद निजी स्वामित्वमा आधारित हुन्छ । तर नयाँ समाजवाद समाजको स्वामित्वमा आधारित हुनेछ । समाजको आवश्यकताको आधारमा विभिन्न सामाजिक समूहको निर्माण भएको हुन्छ । उदाहरणका लागि, किसान समूह, मजदुर समूह, व्यापारी समूह आदि । तिनै सामाजिक समूह वास्तविक स्वामित्वका पात्रहरु हुन् । तिनीहरुलाई सम्बन्धित सम्पदा वा विषयको स्वामित्व प्रदान गरेर सामाजिक स्वामित्व स्थापित गर्न सकिन्छ । उदाहरणका लागि, किसान समूहलाई कृषि क्षेत्रको स्वामित्व प्रदान गरेर कृषिमा सामाजिक स्वामित्व स्थापित गर्न सकिन्छ र मजदुर समूहलाई उद्योगको स्वामित्व प्रदान गरेर उद्योगमा सामाजिक स्वामित्व स्थापित गर्नसकिन्छ ।

समाजवादी क्रान्तिद्वारा स्थापित समाजवादबाट निर्माण हुने नयाँ नेपालको तस्बिर हाम्रो अगाडि छ । त्यसलाई हामी मन, वचन र कर्मले स्वागत गरौं !

http://emulyankan.com बाट साभार 

No comments:

Post a Comment