२०४९ सालसम्म नेपालको कम्युनिस्ट आन्दोलन चिनियाँ, रुसी र पेरुको आन्दोलनबाट बढी प्रभावित थियो। विशेषगरी चिनियाँ स्वरूपको नयाँ जनवादी क्रान्तिको नक्कल गर्ने, माओ विचारधारालाई मार्क्सवाद, लेनिनवादसँगै मार्गदर्शक सिद्धान्त मान्ने गरिन्थ्यो।
अझ नेपालका गाउ“बस्तीमा 'ओ याङ्की गो होम, डटी याङ्की गो होम, हाम्रो रातो झन्डा पेरुमा फरफराइरहेछ' भन्ने जस्ता गीत गाउने तथा चीनमा १९६६–७६ को दशकमा 'ग्याङ अफ फोर' ले गरेको कथित सर्वहारा क्रान्तिलाई आदर्शका रूपमा प्रस्तुत गर्ने समस्या विद्यमान थियो। २०५१ मा आइपुग्दा माओका योगदानलाई माओवादका रूपमा बढाइचढाई गर्ने प्रवृत्तिसमेत देखापर्यो, जसले आफूलाई सशस्त्र जनयुद्धको दिशातर्फ उन्मुख गरायो। 'दुश्मनको रगतले हात नरंगिएको एउटा सच्चा क्रान्तिकारी हुँदैन' र 'सहिदको पंक्तिमा लामबद्ध होऔं' आदि यस प्रवृत्तिका आदर्श थिए। जबकि सन् १९७० को दशकयता दुनिया“का कुनै देशमा सशस्त्र क्रान्ति सफल भएको एउटा मात्रै दृष्टान्तसमेत पाउन सकिँदैन। अर्कातिर २०४६ भदौमा आयोजित नेकपा (माले) को चौथो राष्ट्रिय महाविधेशनले माओत्सेतुङलाई मार्गदर्शक सिद्धान्तबाट हटाउने फैसला गर्नु एउटा यस्तो प्रारम्भ थियो, जसले नेपाली क्रान्तिको मौलिक सैद्धान्तिक मान्यता विकसित गर्ने प्रक्रियाको आरम्भ गर्योो। चीन र रुसको अनुभवलाई मध्यनजर गर्दै नेपाली क्रान्तिको मौलिक विचार, सिद्धान्त र कार्यदिशा विकसित गर्न उक्त महाधिवेशनले बहुदलीय प्रतिस्पर्धासहितको नयाँ जनवादको मान्यता अंगिकार गरेको थियो।
२०४९ साल माघमा सम्पन्न नेकपा (एमाले)को पा“चौं राष्ट्रिय महाधिवेशन नेपाली क्रान्तिको आफ्नै मौलिक बाटो निर्धारण गर्ने क्रममा एउटा कोसेढुंगा थियो। जननेता मदन भण्डारीको नेतृत्व र अगुवाईमा उक्त महाधिवेशनले सिंगो पार्टी पंक्तिलाई परम्परागत चिन्तन प्रक्रियाबाट मुक्त गरी सिर्जनशील बन्न अभिपे्ररित गर्यो । र, अत्याधिक बहुमतले नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद(जबज) पारित गर्योई। सोभियत संघ र पूर्वी युरोपमा एकदलीय कम्युनिस्ट सत्ताहरु धमाधम ढलिरहेको परिपे्रक्ष्यमा एकातिर विश्वव्यापीरूपमा विसर्जनवादको हौवा बढ्दै थियो भने अर्कोतिर विदेशी अनुभवको अन्धानुकरण र ठाडो नक्कल गर्दै जडसूत्रवादको दुश्चक्रमा दुनियाँ भरिका कतिपय कम्युनिस्ट आन्दोलन रुमल्लिरहेका थिए। त्यसखाले अन्योल र संकटको बेला जननेता मदन भण्डारीले उद्घोष गर्नुभयो– जडसूत्रवाद र विसर्जनवादको विरोध गरौं, मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकास गरौं।
यो यस्तो कालखण्ड थियो, जतिबेला मदन भण्डारीले राजधानी काठमाडौंको क्षेत्र नं. १ बाट नेपाली कांगे्रसका काबा सभापति तथा प्रधान मन्त्री कृष्णप्रसाद भट्टराईलाई ७५१ मतको अन्तरले पराजित गरेर राष्ट्रिय/अन्तर्राष्ट्रिय चर्चाको केन्द्रमा हुनुहुन्थ्यो। र, विश्व प्रसिद्ध अमेरिकी म्यागेजिन 'न्युजविक' ले उहा“को अन्तर्वार्ता लिई 'नेपाल : जहा“ कार्ल मार्क्स जीवित छन्' शीर्षकमा छापेको थियो। यसरी प्रतिपादित जबजको त्यसपछिको व्यावहारिक अनुभव र राष्ट्रिय/अन्तर्राष्ट्रिय व्यवहारको आलोकमा मदन भण्डारी स्वयम्ले व्याख्या, विश्लेषण र संश्लेषण गरी समृद्ध तुल्याउन पाउनुभएन। उहा“को २०५० जेठ ३ गते दासढुंगामा षड्यन्त्रपूर्वक हत्या भयो। तर २०५४ र २०५९ मा आयोजित पार्टीका छैटौं र सातौं राष्ट्रिय महाधिवेशनले जबजलाई नेपाली क्रान्तिको कार्यक्रमबाट सिद्धान्तको उचाइ प्रदान गरे। र, सिद्धान्तकै रूपमा निरन्तरता दिए। २०६५ को आठौं राष्ट्रिय महाधिवेशनले जबजलाई नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्तका रूपमा आत्मसात् गरेको छ। यतिबेला जारी नवौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा 'जबजको रक्षा, प्रयोग र विकासका २२ वर्ष' शीर्षकमा व्यवस्थितरूपमा उल्लेख र चर्चा/परिचर्चा गरिएको छ।
यसरी जबज नेपाली समाजको मौलिक धरातल र अभ्यासमा विकसित र व्यावहारिक अनुभवमा आधारित सही सिद्धान्त र राष्ट्रको नेतृत्वकारी विचार बनेको छ। तर पार्टीपंक्तिभित्र नै यसलाई अनेकरूपमा बुझ्ने र प्रस्तुत गर्ने समस्यासमेत विद्यमान छन्। जसलाई मूलतः तीनखाले प्रवृत्तिका रूपमा चर्चा गर्न सकिन्छ :
जबज : यो पार्टीको यस्तो पंक्ति हो, जसले जबजको प्रतिपादन, विकास र समृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। खासगरी जननेता मदन भण्डारीलाई यसको प्रतिपादनमा खास मद्दत गरेको नेतृत्वदायी पंक्ति र त्यसक्रमका समर्थक/शुभेच्छुकहरु यस पंक्तिमा देखिन्छन्। २०४९ मा असहमत रही आलोचना गरेको भए पनि पछि सहमत भएको एउटा महत्वपूर्ण नेतृत्वदायी हिस्सासमेत यसै पंक्तिअन्तर्गत पर्छ। अध्यक्ष झलनाथ खनालले आठौं राष्ट्रिय महाधिवेशनमा 'जबज : नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त' र नवौं महाधिवेशनमा 'जबजको रक्षा, प्रयोग र विकासका २२ वर्ष' शीर्षकमा प्रस्तुत गर्नुभएका त्यसका विश्लेषण र संश्लेषण यसका उदाहरण हुन्। यसरी जबज पार्टीको सर्वसम्मत र राष्ट्रको नेतृत्वकारी विचारका रूपमा स्थापित भएको तथ्य बुझ्न सकिन्छ।
गजब : पार्टीभित्र जबजलाई गजबको कुरा मात्रै भन्न रुचाउने, जान्ने र बुझ्ने पंक्ति छ, यो पंक्ति मूलतः २०५० पछि पार्टीमा आबद्ध भएको, सिद्धान्तको तहमा जबजको विकासको क्रम र औचित्यलाई शृंखलाबद्धरूपमा बुझ्न नसकेको र अध्ययन गर्न खासै रुचि नराख्ने हिस्सा हो। विभिन्न अवसर, लाभ र प्रतिष्ठाका लागि पार्टीमा आबद्ध भएको तर आफ्नो चिन्तन प्रवृत्ति, अध्ययनको स्तर र चरित्रसमेतलाई जबजको मान्यताअनुरूप परिवर्तन र रूपान्तरण गर्न अनिच्छुक यो पंक्ति पार्टीभित्रको एउटा ठूलो समस्या हो। यसलाई अध्ययन/प्रशिक्षणद्वारा रूपान्तरण गरी जबजको मान्यताले दीक्षित गर्नु अत्यावश्यक छ।
लवज : यो समस्या मूलतः पार्टीको नेतृत्वपंक्तिमा विद्यमान छ। जबजको प्रतिपादनमा खरो ढंगले योगदान गरेका नेताबीच गलत ढंगको विवाद र विभाजन हुनु, दासढुंगा हत्याकाण्डको दुई दशक बितिसक्दा पनि जबजको विकास र समृद्धिमा खासै वैचारिक बहस–विमर्शको परिवेश निर्माण नगर्नु, हरेक वर्ष दिवसका अवसरमा मात्रै 'मदन भण्डारी र जबज' को चर्चा गरिटोपल्नु आदि यस प्रवृत्तिका मुख्य समस्या हुन्। कमसेकम मदनका मौलिक र दुर्लभ रचनाहरुको पार्टीव्यापी अध्ययन, प्रशिक्षण र तद्नुकूल पार्टीको नेतृत्व तथा कार्यकर्ता पंक्तिलाई प्रशिक्षित गरेर जबजलाई लवज (बोली) मा सीमित गर्ने प्रवृत्तिबाट मुक्त गर्दै वास्तविक व्यवहारमा मार्गदर्शन गर्ने सिद्धान्तका रूपमा स्थापित र कार्यान्वयन गर्न सकिन्छ।
उल्लिखित प्रवृत्तिहरुलाई दृष्टिगत गरी नवौं राष्ट्रिय महाधिवेशनले 'जबजको मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गर्न' आह्वान गरेको छ। यसनिम्ति जबजको सिद्धान्तअनुरूप 'समृद्धिको नेपाली सपना' को व्यावहारिक खाका तय गर्न ढिलो गर्नुहुँदैन। तबमात्रै कतिपय नेताले भनेजस्तो जबज देखिने र सुनिने भएन तथा जबजलाई सिद्धान्त बन्न सक्छ, अझै सिद्धान्त बनेको छैन, हामीले बनाउनुपर्छ' भन्नेजस्ता धारणाको सम्बोधन गर्न सकिनेछ।
वास्तवमा जबज नेपाली क्रान्तिको मौलिक सिद्धान्त, नेतृत्वकारी विचार र मार्गदर्शक सिद्धान्त बनेको छ। यसको कार्यान्वयनमा पार्टीभित्र सुदृढ एकता र बाहिर अनुकूल वातावरण कायम गर्दै खरोरूपमा उत्रनु जरुरी छ। हिजो 'सेना नभएको पार्टी कम्युनिस्ट पार्टी हुन सक्दैन', 'संसदको उपयोग भण्डाफोर गर्न मात्रै हो', 'क्रान्तिपूर्व सरकार बनाउनु संशोधनवाद हो', 'एमालेले जबज मान्ने हु“दा यो संशोधनवादी र प्रतिक्रियावादी पार्टी भयो' भन्ने मुख्यतः चौथो महाधिवेशन (२०३१) को धारका पार्टी र नेताहरु घुमाइफिराइ रुम्जाटार भनेझैं संविधान सभा–व्यवस्थापिका संसदमा आई सरकार बनाउने, मन्त्री र प्रधान मन्त्री बन्ने आदि उपक्रममा लागिसकेका छन्। बरु तिनले सरकारमा पुग्दा जनताको हितमा नेकपा(एमाले)ले 'आफ्नो गाउ“ आफैं बनाऔं', 'सामाजिक सुरक्षा भत्ता (वृद्ध, अपाङ्ग, एकल महिला र दलितसमेतका लागि) दिने जस्ता कुनै उल्लेख्य काम गर्न नसकी स्वयम्ले जनताको विश्वास गुमाउन पुगेको स्पष्टै देखिन्छ। यस्तो अवस्थामा नेकपा (एमाले) ले जबजलाई सा“चो अर्थमा नेपाली क्रान्तिको सिद्धान्तका रूपमा इमानदारीपूर्वक कार्यान्वयनमा लैजाने दृढता र अग्रसरता लिन तयार हुनुपर्छ। कम्युनिस्ट पार्टी केवल यसका नेता/कार्यकर्ताका निम्तिमात्र होइन, जनताको मुक्ति, सुख र समृद्धिका लागि हो। जननेता मदन भण्डारीले 'जनताका लागि' बहुदलीय जनवादको प्रतिपादन गर्नुभएको थियो। तर बितेका २२ वर्षमा यसलाई पार्टीभित्र 'नेताका लागि' बहुदलीय जनवाद बनाउने काम गरिएको छ। यस स्थितिको अन्त्य गर्दै जारी नवौं महाधिवेशनले जबजलाई शोषित, उत्पीडित र गरिखाने जनताको जीवन बदल्ने सिद्धान्तका रूपमा व्याख्या/पुनःव्याख्या गरेर अघि बढाउन सक्नुपर्छ। यसलाई एकदलीय कम्युनिस्ट सत्ताहरुको अभ्यासका आ“खाले हेर्दा अनेकथरि आरोप लगाउनेहरु आज स्वयम् बदलिइरहेका छन्। यस सच्चाइलाई आत्मसात गरेर नेपाली क्रान्तिको यस बलिरहेको दियोलाई निरन्तर बाल्दै सारा नेपालीलाई उज्यालो दिने काम गर्न सक्नुपर्छ।
सचिव, एमाले प्रचार विभाग
No comments:
Post a Comment