मार्क्स र एंगेल्सले १९ औं शताब्दीको मध्यमा यूरोपमा समाजवादी क्रान्तिहरुको संभावनाको घोषणा गरेका थिए । त्यसमा पनि मार्क्सले इंग्ल्याण्ड, हल्याण्ड र बेल्जियम जस्ता पूँजीवादको विकास भएका मुलुकहरुमा समाजवादी क्रान्तिको अपेक्षा राखेका थिए। बिशेषगरी सो शताब्दीको सातौं दशकमा पूँजीवादको प्रचुर विकास भएको र राज्यसत्ता निकै कमजोर भएको इंग्ल्याण्डमा शान्तिपूर्णरुपमा क्रान्तिको विचार गरेका थिए। तर मार्क्सको यो अपेक्षा आफ्नो जीवनकालभर कहिल्यै पुरा हुन सकेन।
मार्क्सको मृत्युपछि लेनिनको नेतृत्वमा सन् १९१७ मा उत्पादनका साधनहरुको कम विकास भएको रुसमा समाजवादी क्रान्ति सम्पन्न भयो। त्यसपछि बिस्तारै पूर्वी यूरोप, चीन, भियतनाम, क्यूवा लगायतका मुलुकहरुमा समाजवादी व्यवस्थाहरु स्थापना भए। संसारको एक तिहाई क्षेत्रफलमा समाजवादी व्यवस्था स्थापना भए । कम्युनिष्ट आन्दोलनको प्रस्तावना अनुसार विश्वबाट पूँजीवाद-साम्राज्यवाद समाप्त हुनेछ र त्यसको स्थान विश्व समाजवादी व्यवस्थाले लिनेछ भन्ने मान्यता राखेको थियो।
समाजवाद सम्बन्धी उपयुक्त बुझाई दोस्रो विश्वयुद्धपछिका केही दशकहरुसम्म सही सावित भईरह्यो। तर कालान्तरमा विश्व पुँजीवादको सट्टा समाजबादको पतन भएको छ। पूँजीवादको बदला समाजवादको संकट बढी गहिरो साबित भएको छ। अधिकांश देशमा समाजवाद असफल भएपछि बचेखुचेका देशहरुमा पनि समाजवाद चिन्न पनि मुश्किल भईरहेको छ।
नेपालमा अहिले समाजवाद सम्बन्धी बहस सुरु भएको छ। समाजवादी क्रान्तिका पक्षधर सामु समाजवाद निर्माण सम्बन्धी केही जटिल मुद्दाहरु देखा परेका छन् त्यसको उत्तर खोज्नु जरुरी भईसकेको छ।
बिसौं शताब्दीको ७० को दशकपछि विश्वमा कुनै पनि देशमा समाजवादी क्रान्ति सम्पन्न भएका छैनन् बरु समाजवादी क्रान्तिका लागि हतियार उठाएका वर्मा, मलेसिया, थाईल्याण्ड, सिंगापूर, पेरु लगायतका मुलुकमा आज कम्युनिष्ट पार्टीको अस्तित्व नै समाप्त भएको छ। यसको उल्टो बिगतमा नै ढल्छ भनेको पूँजीवाद एकपछि ऊर्को संकट पार गर्दै हराभरा भएर आएको छ। हिजो एक आपसमा काटमार गर्ने पूँजीवादीहरु आज एकजुट भएका छन् भने समाजवादको लक्ष्य राखेका कम्युनिष्टहरु आज आफ्नो अस्तित्व रक्षाका लागि संघर्ष गरिरहेका छन्।
यसै सन्दर्भमा नेपालमा अहिले समाजवाद सम्बन्धी बहस सुरु भएको छ। समाजवादी क्रान्तिका पक्षधर सामु समाजवाद निर्माण सम्बन्धी केही जटिल मुद्दाहरु देखा परेका छन् त्यसको उत्तर खोज्नु जरुरी भईसकेको छ।
समाजवाद: पूँजिवादभन्दा उच्च कि समानान्तर सामाजिक व्यवस्था
मार्क्सले पूँजीवादको पूर्णता र परिपक्वता हासिल गरेपछि मात्र सामाजिक विकासको क्रममा समाजवादी व्यवस्थाको आवस्यकता पर्ने कुराको बोध गरेका थिए। पछि लेनिनले पिछडिएका देशहरुलाई समाजवादको प्रारम्भ बिन्दु माने। उनले यस्ता देशहरुलाई क्रान्तिको अगुवा माने कि जहाँ सामाजिक विकासका उच्च चरण छँदैछैनन् वा विकासका चरणका अर्थमा पूँजीवादभन्दा पछाडि छन्। प्रयोगका हिसावले पनि रुस लगायत कथित समाजवादी मुलुकहरुमा समाजवादलाई पूँजीवादको समानान्तर व्यवस्थाको रुपमा लागू गरे। समाजवादलाई पूँजीवादभन्दा अगाडि लानु त कता हो कता पूँजीवादको बराबरी गर्नु पनि मुश्किल पर्न गयो। यदि समाजवाद पूँजीवादभन्दा राम्रो र उच्च सामाजिक आर्थिक व्यवस्था र पूँजीवादपछिको चरण थियो भने त्यो संकटग्रस्त भएर किन पतनशिल हुन गयो? मेरो विचारमा समाजवाद पूँजीवादको समानान्तर व्यवस्था होईन कि मार्क्सले भने जस्तै पूँजीवादभन्दा उच्च सामाजिक व्यवस्था हो।
के अतिरिक्त मूल्यको सिद्धान्त सान्दर्भिक छ?
पूँजीपति वर्गले मजदुर वर्गलाई प्रत्यक्ष रुपमा शोषण गर्दैन। उसले प्रत्यक्ष रुपमा श्रमको उचित मूल्य दिन्छ। तर उसले अप्रत्यक्ष रुपमा मजदुरलाई दिएको मूल्यभन्दा बढी काम गराउँदछ, जसबाट उसले नाफा कमाउँछ। यही अतिरिक्त श्रमबाट पूँजीपति वर्गको नाफा र पूँजी बन्दछ। मजदुर वर्गको यही अतिरिक्त श्रमबाट पूँजीपति वर्गले प्राप्त गर्ने नाफा र पूँजी नै अतिरिक्त मूल्य हो भन्ने नै मार्क्सको मान्यता थियो। मार्क्सकालीन समाज औधोगिक समाज थियो।
पूँजीपति वर्गको नाफा र पूँजी सञ्चयको प्रमुख स्रोत श्रमिक नभएर उपभोक्ता हुन गएका छन्। त्यसैले वर्तमान सन्दर्भमा अतिरिक्त मूल्यको सान्दर्भिकता कमजोर बन्दै गएको छ र समाजवादी क्रान्तिमा मजदुर वर्गको भूमिका पनि कमजोर बन्दै गएको छ।
औधोगिक समाजमा मार्क्सले भने जस्तै पूँजीपति वर्गले मजदुर वर्गलाई श्रमको तुलना ज्याला कम दिएर शोषण गर्दथे। त्यो समयमा औधोगिक वस्तुको उत्पादनमा श्रमको लगानी उच्च हुन्थ्यो। बर्तमान सन्दर्भमा औधोगिक वस्तुको उत्पादनमा सबैभन्दा बढी विज्ञान र प्रबिधि, त्यसपछि पूँजी र अनि मात्र श्रमको सीमित मात्रामा मात्र प्रयोग हुन्छ। त्यसैले पूँजीपति वर्गको नाफा र पूँजी सञ्चयको प्रमुख स्रोत श्रमिक नभएर उपभोक्ता हुन गएका छन्। त्यसैले वर्तमान सन्दर्भमा अतिरिक्त मूल्यको सान्दर्भिकता कमजोर बन्दै गएको छ र समाजवादी क्रान्तिमा मजदुर वर्गको भूमिका पनि कमजोर बन्दै गएको छ।
के मूल्यको श्रम- सिद्धान्त सान्दर्भिक छ ?
मार्क्स लगायत पुराना अर्थशास्त्रीहरुले वस्तुको मूल्य निर्धारण सामाजिक श्रम र श्रमकालद्वारा निर्धारित हुन्छ भन्ने मान्यता राख्दथे। औधोगिक युगमा वस्तु उत्पादनमा लगानीको मूख्य स्रोत श्रम भएकाले मूल्यको श्रम सिध्दान्त सही थियो। बर्तमान युग औधोगिक युग होईन, वैज्ञानिक-प्राविधिक युग हो।
वैज्ञानिक-प्राविधिक युगमा वस्तु उत्पादनमा इलोक्ट्रोनिक शक्ति र इलेक्ट्रोनिक प्रक्रियाको मूख्य भूमिका हुन्छ, श्रमशक्तिको कम मात्र प्रयोग भएको हुन्छ र कतिपय अवस्थामा श्रमशक्तिको प्रयोग नै भएको हुँदैन। श्रम प्रक्रिया उत्पादन प्रक्रियाबाट बिस्तारै अलग भइरहेको छ।
यस्तो अवस्थामा वस्तुको मूल्य श्रमशक्ति र श्रमकालको वदला इलेक्ट्रोनिक प्रक्रियाहरुमा निहित शक्तिबाट निर्धारित हुन्छ। इलेक्ट्रोनिक शक्तिले वस्तुमा अत्यन्तै न्यून मूल्य समाबेश गर्दछ। त्यसकारण वस्तुको मूल्य निर्धारणमा श्रमको भूमिका गौण बनेर गएको छ र श्रमको मूल्य सिध्दान्त सन्दर्भहीन हँदै गएको छ।
के क्रान्तिकारी शक्तिको रुपमा सर्वहारावर्ग कायमै छ?
औद्धोगिक युगमा एउटै स्थानमा ठूला ठूला कारखानाहरु स्थापना गरिन्थ्यो। कारखानाहरुमा ठूला ठूला यन्त्रहरु लगाईन्थ्यो। कारखानाहरुमा ठूलो मात्रामा श्रमिकहरु एकत्रित हुन्थे। पूँजीपति वर्गले उनीहरुको श्रमशक्ति खरिद गरेर उत्पादन चलाउँथ्यो र अतिरिक्त मूल्य र अतिरिक्त उत्पादन उत्पन्न हुन्थ्यो। यसरी श्रमिकहरु वर्गमा रुपान्तरित हुन्थे भने पूँजीपति वर्ग थप विकसित हुन्थ्यो। आज कारखाना तथा यन्त्रहरु सानातिर विकास भईरहेका छन्।
श्रमिकहरु केन्द्रीकृत हुनुको सट्टा बिकेन्द्रीत भइका छन्। उत्पादनमा मजदुरको सट्टा इलेक्ट्रोनिक र क्वान्टम साधनहरुबाट काम गर्ने वैज्ञानिक(श्रमिक) ले लिइरहेका छन्। मजदुरहरुको संख्या घटिरहेको छ भने साना यन्त्रका मालिकहरुको संख्या बढीरहेको छ। श्रमिकहरु साना मालिकमा रुपान्तरित भईरेका छन्, जसका कारण वर्ग बिखण्डित भईरहेका छन् र कतिपय अवस्थामा लुप्त हुने अवस्थामा छन्।
साना र सस्ता यन्त्रहरु साना मालिक (श्रमिक) हरुका लागि अनुकूल र केन्द्रीकृत वर्गका लागि प्रतिकूल हुँदै गएको छ। सर्वहारा वर्ग बिस्तारै साना मालिकमा रुपान्तरित भइरहेको छ। त्यसैले सर्वहारा वर्ग समाजवादी क्रान्तिका लागि क्रान्तिकारी शक्तिका रुपमा अव रहेन्।
समाजवादमा वर्ग
वर्गीय समाज रहेसम्म हरेक सामाजिक व्यवस्थामा वर्गहरु रहीरहन्छन्। मानव समाजको विकासक्रमलाई हेर्ने हो भने दासयुगदेखि पूँजिवादीयुगसम्म हरेक सामाजिक व्यवस्थामा दुईओटा मूख्य वर्गहरु बिध्यमान थिए र हरेक सामाजिक व्यवस्था भित्र उक्त व्यवस्थालाई अन्त गर्ने परस्पर बिरोधी वर्गहरुको भ्रुण समेतको विकास भएको हुन्थ्यो। जस्तो कि दास व्यवस्थामा दास र दासमालिक गरी दुईओटा मुख्य वर्गहरु थिए। दास ब्यवस्था भित्र नै उदारवादी दासमालिक (सामन्त) र सीमित भूमि भएका दास (किसान) हरु सामन्तीयुगको भ्रुणको रुपमा जन्म भएको थियो। सामन्त र किसान वर्गको सहयोग र दासहरुको बिद्रोहबाट नै दास व्यवस्थाको अन्त भएको थियो।
सामन्ती व्यवस्थामा सामन्त र किसान परस्पर बिरोधी दुई मूख्य वर्गहरुको थिए। सामन्ती व्यवस्थाको विकासको अन्तिम चरणमा सामन्ती व्यवस्था भित्रै सीमित मात्रामा साना कारखाना र सो कारखानामामा काम गर्ने कारीगढ (मजदुर) हरुको जन्म भएको थियो। सामन्ती व्यवस्थाले पूँजीपतिहरुको पूँजीको विकास र मजदुरहरुको विकासमा अवरोध गरेको थियो। त्यसैले पूँजीवादी व्यवस्थाको भ्रुणको रुपमा जन्मेका पूँजीपति र मजदुरको सहयोगमा किसानहरुको बिद्रोहबाट नै सामन्ती व्यवस्थाको अन्त भएको थियो। अहिले विश्वमा पूँजीवादी व्यवस्था बिध्यमान छ ।
उत्पादन प्रक्रिया, उत्पादन संबन्ध, वर्ग, वर्ग संघर्ष, वस्तुको मूल्य सिद्धान्त, अतिरिक्त मूल्यको सिद्धान्त आदिमा ठूलो फेरबदल भएको छ। हामीले हाम्रा विचारहरुलाई बदलिंदो युग अनुरुप ढाल्नु पर्दछ र नयाँ आधारमा नयाँ विचार निर्माण गर्नु पर्दछ, जसले वर्तमान समाजको सही ब्याख्या गर्न सकोस्।
पूँजीवादी व्यवस्थामा मूख्य वर्ग भनेको पूँजीपति र मजदुरहरु हुन्। मेरो विचारमा पूँजीवादी व्यवस्था पनि अहिले अन्तिम चरणमा आईपुगेको छ। दासयुग र सामन्ती युगमा जस्तै पूँजीवादी यस युगमा पनि नया वर्गको रुपमा भ्रुणहरुको जन्म भईसकेको छ। यस युगको मूख्य वर्ग भनेको ज्ञान र प्रबिधिसहितको मानव (वैज्ञानिक) र ज्ञान र प्रबिधिलाई संचिति गरेर राख्ने मानव नै हुन। यदि हामीले समाजवादलाई पूँजीवादपछिको उच्च सामाजिक व्यवस्था मान्ने हो भने पूँजीवादी व्यवस्थाको अन्तिम चरणमा देखा परेका भ्रुण नै समाजवादी व्यवस्थाका नया वर्गहरु हुनेछन्। यीनै नया वर्गले नै पूँजीवादको अन्त गर्न र समाजवादी क्रान्तिको नेतृत्व गर्छन् भन्ने मेरो मान्यता रहेको छ।
आज विश्वमा सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा ठूला ठूला परिवर्तनहरु भएका छन कि आज नयाँ लागेका कुराहरु भोलि पुराना भईसकेका हुन्छन्। घटनाहरु यति छिटो छिटो बदलिरहेका छन कि हामीलाई हाम्रा विचारहरुसमेत बदल्न विवस बनाईरहेका छन्। समाजवाद सम्बन्धी हाम्रा पुराना धारणाहरु आज अप्रयाप्त मात्र होईन कतिपय पक्षमा हाम्रा धारणा नै बदल्नुपर्ने भएको छ। आहिले विश्व समाज मार्क्सले ब्याख्या गरे जस्तो औद्याेगिक कालको जस्तो छैन्। उत्पादन प्रक्रिया, उत्पादन संबन्ध, वर्ग, वर्ग संघर्ष, वस्तुको मूल्य सिद्धान्त, अतिरिक्त मूल्यको सिद्धान्त आदिमा ठूलो फेरबदल भएको छ। हामीले हाम्रा विचारहरुलाई बदलिंदो युग अनुरुप ढाल्नु पर्दछ र नयाँ आधारमा नयाँ विचार निर्माण गर्नु पर्दछ, जसले वर्तमान समाजको सही ब्याख्या गर्न सकोस्। मानव विचारमा गुणात्मक परिवर्तन नै आजको युगको माग हो।
http://www.khabardabali.com बाट साभार
No comments:
Post a Comment