Thursday, November 19, 2015

हिन्दु, ब्राह्मण र कम्युनिष्ट - गुरुदत्त ज्ञवाली

मानव सृष्टिको सभ्यताक्रम हेर्दा अहिले सम्मको सबभन्दा पुरानो सभ्यता आर्य हो । सृष्टिको कति लाख बर्ष पछि आर्य सभ्यताको उदय भयो यो अनुसन्धानको बिषय बन्ला । आर्य सभ्यताले बिश्व ओगटेको थियो यो कुरा सत्य हो । आर्य भनेको सभ्यता हो र हिन्दु भनेको धर्म हो । हिन्दु धर्म आर्य सभ्यता भन्दा धेरै कान्छो हो र पनि हिन्दु धर्म संसारको सब भन्दा पुरानो धर्म हो । धार्मिक ग्रन्थ वा पुराणादि अध्ययन गर्दा वा इतिहासको पौराणिक पक्ष केलाएर हेर्दा हिन्दु धर्मको संगठित अवस्था करीब ५२ सय बर्ष हो । मिश्र सभ्यता र हिन्दु धर्म समकालीन हुन् । मिश्र सभ्यता पनि आर्य सभ्यता भित्र पर्दछ । भनिन्छ सिन्धु सभ्यताबाट हिन्दु धर्मको उदय भएको हो । हिन्दु, सिन्धु शब्दको अपभ्रंश हो । आर्य चरित्रबाट आर्य सभ्यतामा परिणत भएको करीब १५ हजार बर्ष भयो ।
आर्य सभ्यता आफैमा कठोर अनुशासन भएको सभ्यता हो । यो सभ्यताको बिकास क्रममा बिश्व मानचित्रमा अनार्यको समेत बिस्तारै बृद्धि भैरहेको र भौतिक बिकास तर्फ उनीहरुले उछिन्ने अवस्था आएकोले अनार्यसंग लसपस नहोवस् भन्ने उद्येश्यले पनि आर्यहरु बढी कठोर भएको बुझिन्छ । कठोर अनुशासनको नाममा यति धेरै कठोर भए कि अरु कुनै सभ्ताको मान्छे आर्यमा प्रवेश पाउने नियम निषेध भयो । उता अनार्यहरु यति धेरै उदार भए कि जुनसुकै सभ्यताका मान्छे उनीहरुको सभ्यतामा प्रवेश गर्न चाहेमा खुला गरियो । यो यस कारणले पनि कि उनीहरु आर्य जति चेतनशील थिएनन्, संख्या थोरै थियो । सबै मानव सभ्यतालाई एकै ठान्दथे । फलस्वरुप आर्यको संख्या घट्दै गयो र अनार्यको बढ्दै गयो ।
बिश्वमा हिन्दु धर्मको उदय हुँदा अरु कुनै धर्मको संगठित अवस्था थिएन । आर्य प्रकृतिको हिन्दु धर्मले झण्डै बिश्व बजार पिटेको थियो । पछि गैह्र हिन्दु चरित्र वा हिन्दुहरुबाट पिडितहरुको चलखेल एवं घुसपैठ बढ्ने खतरा देखेपछि यो धर्मले आफ्नो अनुशासन कडा बनायो । आर्य जस्तै हिन्दुहरुले पनि अरु धर्म उपसमुहबाट आफुमा प्रवेश निषेध गरे तर गैह्र हिन्दुले आफुमा प्रवेश खुला गरे । परिणाम यस्तो आयो कि सन्सारमै हिन्दुहरुको संख्या घट्दो भयो र अरु सबैको संख्या बढ्दो भयो ।
आर्यको उपज हिन्दु हो र हिन्दुको उपज ब्राह्मण हो । ब्रम्ह ज्ञान जानेको मान्छे ब्राह्मण हो । हुँदा हुँदा यो शिक्षाआर्जनको पद्धति कर्मकाण्डी हुन थाल्यो । उता गैह्र बह्मणले समेत यो शिक्षा सिक्ने तर्फ रुची राख्न थाले । क्रमशः यसलाई जातिय रुप दिइयो र अरु जात ब्राह्मणमा आउन नमिल्ने कडा नियम बनाइयो । परिणाम कस्तो भयो भने ब्राह्मणहरु घटुवा भएर बिभिन्न कारणले अरु जातमा जान सक्ने वा जानु पर्ने भए । यसर्थ ब्राह्मण घट्दो छ, गैह्र ब्रह्मणको संख्या बढ्दो छ ।
जसरी आर्य, हिन्दु र ब्राह्मण संगठित हुनुपुर्ब स्वतन्त्र थिए र घट्ने वा बढ्नेको सवाल थिएन । जब संगठित भएर अनावस्यक रुपमा कडा तथा स्वार्थपूर्ण तरिकाले नियम बनाए । त्यस्तै कुनै मान्छे सच्चिएर पनि कम्युनिष्ट हुन नसक्ने अवस्था बन्यो । कम्युनिष्ट बिग्रेपछि जीवनै सखाप हुने जस्तो भयो । यदाकदा एक पटक बिग्रेको कम्युनिष्ट पुनः पार्टी प्रवेश ग¥यो भने पार्टी नै समाप्त प्रायः हुने अवस्था आउन थाल्यो, कम्युनिष्ट टुक्रा टुक्रा हुनु पर्ने भयो । अहिले सम्म भएको यही नै हो । हुन त कम्युनिष्ट एउटा दर्शन हो । कार्लमाक्र्सले प्रतिपादन गरेको माक्र्सबाद वा साम्यबाद भन्दा पहिले पनि समाजमा त्यस प्रकारको बाद थियो तर संगठित थिएन । संगठित नहुँदा सम्म जो सुकै त्यस बाद वा चरित्रलाई समर्थन गर्दथ्यो अघोषित रुपमै भए पनि उ साम्यबादी हुन्थ्यो ।संगठनको बिधिले होइन चरित्रको हिसाबले । आदिम साम्यबाद त्यसैको नाम हो । आदिम साम्यबादको बिरुद्धमा सामन्तबाद त थियो त्यो पनि संगठनको बिधिले होइन चरित्रको बिधिले थियो । अहिलेको कम्युनिष्ट पनि चरित्रले भन्दा संगठनले कम्युनिष्ट हुने गरेको छ । जो सुकै मान्छे कुनै कम्युनिष्टको सदस्य भएकै आधारमा कम्युनिष्ट हुने गर्दछ । कांग्रेस वा अरु कुनै पार्टीको सदस्य भएको मान्छेको चरित्र कम्युनिष्ट छ भने पनि उ कांग्रेस नै बन्दछ ।

नेपाली कांग्रेसमा धेरै कम्युनिष्ट छन् र कम्युनिष्ट नामका पार्टीमा धेरै गैह्र कम्युनिष्ट छन् । कम्युनिष्टमा गैह्र कम्युनिष्ट जब प्रवेश गर्छन् पार्टी वा कम्युनिष्ट चरित्र छिन्न भिन्न हुन्छ । एमाले गैह्र कम्युनिष्ट भएको कारण पनि यही हो र माओबादी भित्रको गञ्जागोलको कारण पनि यही नै हो । कम्युनिष्ट भनेको जग्गा दलाल, तस्कर, भुमाफिया, फटाहा, सामन्त वा हाकिमी तन्त्र त होइन नि ! हेर्नुस् त भएको यस्तै छ । आज यदि सब भन्दा डर छ भने कम्युनिष्ट भएका मान्छेसंग बढी डर छ । उनीहरुको चरित्र आर्य, हिन्दु वा ब्राह्मणको छ । कम्युनिष्ट हुँ भन्छन् ब्राह्मणको संगठन गर्दै हिँड्छन् । जातको राजनीति गछनर्् । बर्गको पो राजनीति गर्नु पर्ने हो । कम्युनिष्टको राजनीति गर्छन् तर कामीहरु ब्राह्मण बन्न खोज्छन् र ब्राह्मण क्षेत्रीले दलितको नाममा हिस्सा छुट्टयाइदिन्छन् । जब कम्युनिष्ट नै बन्नु छ भने किन दलितको कोटा चाहिन्छ ? किन आदिबासीको आन्दोलन गर्नु पर्छ ? कम्युनिष्ट त आफै दलित हो र आफै जनजाति हो । यदि त्यसो होइन भने त उ कम्युनिष्टै होइन । कम्युनिष्ट भनेकै जात बिहीन, बर्ग बिहीन सर्बहारा बर्ग हो पानी जस्तै । उसको त यो परम्परागत धर्म पनि हुदैन, जनबाद, समाजबाद र साम्यबाद उसको धर्म हो जीवन नै दर्शन हो । हेर्नुस् न भगवान पनि मानेकै छ, पूजा आजा पनि गरेकै छ, सप्ताह पनि लगाएकै छ, ग्रहदशा कटाएकै छ । कम्युनिष्ट पनि भएकै छ ।
कम्युनिष्ट भनेको बिज्ञान पो हो त । बिज्ञानले कुनै संस्कृति, सभ्यता वा परम्परा मान्दै मान्दैन भनेको होइन । बरु हरेक सभ्यताको बिश्लेषण गर्छ र सभ्यताकै कारणले जनतामा बिद्रोह वा अवरोध उत्पन्न हुन्छ भने उक्त सभ्यता परिबर्तन गर्नु पर्ने पनि हुन्छ । आज त के भयो भने हिन्दुजन्य र अझ ब्राह्मण क्षेत्रीजन्य चाड पर्बहरु यसै पनि धेरै थिए , चाड त भए भए सोही आधारमा सरकारी बिदा समेत अत्याधिक भए । बिदा नियन्त्रण गर्नु पर्नेमा झनै जात धर्मको आधारमा अरु बिदा थपिएका छन् । र कार्यालयमा काम गर्ने दिन भन्दा सरकारी बिदाका दिन बढी भएका छन् । यस्तो न साम्राज्यबाद भनिने ठाउँमा हुन्छ न त बिस्तारबाद भनिने ठाउँमा हुन्छ न त कुनै सामन्तबादमा लागु हुन्छ ।

चोखो पानी, चोखो लुगा, चोखो जात, चोखो बंश, चोखो बिद्या ; सबै चोखै चोखो चाहिने परम्पराले कम्युनिष्ट पनि चोखै हुनु परेको हो । सैद्धान्तिक रुपमा फरक चरित्रको मान्छेको घुसपैठ हुदा संगठनमा बिग्रह उत्पन्न हुने कारणले पनि चोखो नीति गर्नु एउटा पक्ष भयो । यहाँ त प्रवेश गरेको नराम्रो मान्छे भन्दा माउ लिडर झनै नराम्रो परेर पो बर्बाद भयो । आफै बिटुलो छ सबैलाई चोखो चोखो भन्दै परपर सर्छन् । यसो हुँदै गर्दा त्यो छुवाछुतको राजनीति भन्दा छुवाछुत मुक्त स्थानमा जनता जान चाहने हुँदा कम्युनिष्टहरु सकिन्छन् र अरु पार्टी बढ्छन् । उपाध्याय बाहुन बिग्रेर जैसी भए । जैसी उपाध्याय त बन्दैन । जैसीबाट क्षेत्री होलान् क्षेत्री सुध्रेर जैसी बाहुन त बन्दैनन् । कम्युनिष्टमा पनि यस्तै भएको छ । प्रचण्ड कांग्रेस बन्न सजिलो छ बन्न सक्छन् तर सुशिल कोइराला कम्युनिष्ट बन्न सक्दैनन् । उनी कम्युनिष्ट बने भने नेपालमा कम्युनिष्ट समाप्त हुन्छ । यहीँ नेर कम्युनिष्ट फसेको छ र यही चरित्रले यो फसानबाट उम्कने अवस्था छैन । तसर्थ नामका कम्युनिष्ट तमाम होलान् । नाम त कमल थापाले आफ्नो पार्टीको नाम, नेपाल अति क्रान्तिकारी कम्युनिष्ट पार्टी राख्न सक्लान् । नाम राख्दैमा कम्युनिष्ट हुँदैन ।
कम्युनिज्म धेरै टाढा छ । हामी कम्युनिज्म तर्फ उन्मुख छौं । उन्मुख हुनु र भै हाल्नु फरक कुरा हो । हुन सक्ने कुरामा हामी भैसकेको अनुभव गर्दैछौं । हामी कम्युनिज्म पढ्दै छौं, पढ्दै गर्नु र पढी सक्नुको भिन्नता बुझाउन सकिएको छैन । एकातर्फ सशस्त्र जनयुद्ध गरेपछि जनबादको अपेक्षा गरेका छौं भने अर्को तिर राजतन्त्रको अन्त्य पछिको सामान्य लोकतान्त्रिक पद्धतिको अभ्यासमा पनि छौं । हामी सामान्य लोकतान्त्रिक अभ्यासमै दह्रो गरी खुट्टा टेक्न सकेका छैनौं । यो अभ्यासमा हामी ज्ञानेन्द्र भन्दा फरक नै हुन सकेका छैनौं । यसै चरित्रका कारणले हामी असफल बन्दै आएका छौं । जनयुद्ध भन्दा पहिलेका जति पनि कम्युनिष्ट आन्दोलनका झट्का हामीले दियौं, कम्युनिष्ट आन्दोलनको संकेत मात्र देखायौं । माओबादीको १० बर्षे जनयुद्धले कम्युनिष्टको आगमनको संकेत मात्र गरेको छ । नेपालमा कम्युनिष्ट आन्दोलनको संभावना र आवस्यकता छ भन्ने मात्र देखाएको छ । जसरी एउटा ब्राह्मणको परिभाषा जात होइन ज्ञान हो र चरित्र हो । भनिन्छ जातले ब्राह्मण भइन्न कर्मले भइन्छ । खोइ त कर्मले ब्राह्मण भएको ? चरित्रको हिसाबले त ब्राह्मण र अरु जात एकै देखिन्छौं । सबै पढेलेखेका ब्राह्मण भएका त छैनन् । छालाको काम गर्ने ब्राह्मणहरु सार्की बनेको भए पो कर्मले भए भनेर मान्नु । संस्कृत वा बैदिक शिक्षा हासिल गरेको दमाई ब्राह्मण भएको पनि पाइन्न । कम्युनिष्टमा पनि यस्तै भएको छ ।
एउटा गरीब, सर्बहारा सुकुम्बासी राजाबादीमा छ, कांग्रेस पार्टीमा छ । अर्को सामन्त दलाल, तस्कर पण्डित , कर्मकाण्डी कडा कम्युनिष्ट पार्टीमा छ । यो चरित्रमा सुधार नआउदा सम्म कम्युनिष्ट आयो भनेर भन्ने अवस्था छैन । सदस्यता लिएको र नलिएको वा भोट हालेको र नहालेको आधारमा कम्युनिष्ट हुनु तथा जनै लगाएकै वा जात बर्गिकरणमा परेकै आधारमा ब्राह्मण हुनु एकै भएन र ?
यसो भन्दै गर्दा नेपालमा जम्मा दुई वटा पार्टी देखापरेका छन् यो कुरा सत्य हो । एउटा कम्युनिष्ट र अर्को सामान्य भीडको संगठन । कम्युनिष्टको त दर्शन छ बाद छ मार्ग दर्शन छ । लक्क्ष छ दृष्टिकोण छ भलै त्यसले गति पक्डन सकेको छैन । अरु पार्टीको के छ ? खोइ कांग्रेसको बाद वा दर्शन ? बाहुनको त बेद छ पुराण छ कर्मकाण्ड छ खोइ अरुको ? भलै ती पुराणादि समयानुकुल नहोलान् । सबले त्यही पुराण पढेरै दार्शनिक बन्ने हो भने त ब्राह्मणबादको आलोचनाको त कुनै तुक रहेन । राजनीति पनि त्यस्तै हो । राजाबादी भने पनि कांग्रेस भने पनि आखिर श्रकिृष्ण रहेछ एक भने झैं माक्र्सबादमा न गइ सुखै छैन । कमल थापा असल राजनीतिज्ञ बन्ने हो भने नाम जे राखे ता पनि मान्ने त माक्र्सबाद नै हो । कांगैस असल पार्टी बन्ने हो भने पनि जाने त उही माक्र्सबादमै हो । यहीं नेर कुरो बुझ्न जरुरी छ । माक्र्सबाद राजनीतिको बेद हो । जसरी ब्राह्मणले बेद पढ्नु पर्नेले बेदको अपब्याख्या गरेर कर्मकाण्डी भए र बेदको नाममा तथानाम बतुराउन थाले । आखिर सबैले बेदै पढ्नु पर्ने रहेछ । भलै पौराणिक बेदलाई परिमार्जन गर्नु पर्ला । त्यस्तै भलै पुरानो माक्र्सबादलाई परिमार्जन गर्नु पर्ला । माक्र्सबाद भनेकै कुशल राजनीति हो । नेपाली भाषा पढ्ने बोल्ने भन्दैमा तेह्रौं सताब्दीको भाषा प्रयोग गर्ने भनेको त होइन नि । हामीले बोल्दा बोल्दै भाषा कहाँ पुग्यो ? आखिर यो पनि त नेपाली भाषा हो । कांग्रेसले नेपाली भाषा बोल्छु भनेर हिन्दी वा बंगाली भाषा बोलेर त नेपाली बोलेको हंदैन । बेद पनि त्यस्तै हो । आजको युगको मन्त्र नै बेद हो । अक्षर वा कुरा पुराना आउलान् । पुरानो अक्षर,कुरा वा दर्शन आए भने वा मान्न हुन्न भन्ने हो भने त देबनागरी अक्षरै पढ्नु भएन । इतिहासै मान्नु भएन । इतिहास पढने भनेको पृथ्बीनारायण शाहको शासन सत्ता चाहियो भनेको पनि त होइन ।
हामी हरेक कुरामा संक्रमणकालमा छौं र यो संक्रमणकाल निरन्तर भइ रहन्छ । यो क्रम कहिल्यै पुरा हुँदैन । पुरानोबाट नयाँमा सर्ने कुरा संक्रमणकाल हो । पुरानो कुरा च्वाट्टै छोडेर र नयाँ कुरा छुँदै नछोइकन कसरी प्रगति हुन्छ ? त्यो त स्थीर भयो । स्थीर हुनु भनेको मृत्यु हो । हो यदाकदा संत्रलमणकालको असर ठूलो र सानो हुन्छ । अहिले नेपालमा यो संक्रमणकालको असर अलि ठुलो परेको मात्र हो ।
हामी कम्युनिष्ट आन्दोलनको प्रकृयामा पनि संक्रमण कालमा छौं र यो संक्रमणकालको असर अलि ठूलो परेको छ । यसलाई एक झट्का दिन सक्यौं भने धेरै बिकृति समाप्त भएर जान्छ । यो बिकृति समाप्त हुँदा आजका कांग्रेसहरु कम्युनिष्ट बन्न सक्दछ र आजका कम्युनिष्ट भित्र भएका खराबी कि त सुध्रेर जान्छन् वा सखाप हुन्छन् । यसो हुन हाम्रो कर्मकाण्डी रगत भने सफा हुनै पर्छ । हजारौं बर्ष देखिको पुरानो राजतन्त्रात्मक दासताको रगत सफा नभएकोले हामीले यो कचिङ्गल ब्यहार्नु परेको हो जो अत्यन्तै स्वभाविक हो । यसको हिस्सेदार हामी स्वम् पनि छौं, यही कुरो नबुझेर अरुलाई मात्र दोष थोपर्दछौं । र मात्र कम्युनिष्ट बढ्छन् घट्दैनन् । यही यथार्थ हो ।


२०६८।१० १७

No comments:

Post a Comment