Saturday, June 18, 2016

संस्कारका तहमा नेपालका कम्युनिस्ट र कमल थापा उस्तै हुन् - खगेन्द्र संग्रौला



नेपालमा वामपन्थ र सनातन धर्मको सम्बन्ध के हो भन्ने प्रश्न फेरि उठेको छ।

म अलिकति इतिहासबाट कुरा गर्छु। नेपालमा कम्युनिस्ट पार्टी २००६ सालमा स्थापना भयो। कम्युनिस्ट पार्टीको स्थापनासँगै यसमा तीनवटा तत्व गाँसिएर आए। माक्र्सवाद, लेनिनवाद, माओ त्से तुङ विचारधारा, पछि माओवादी जोडिएर आयो– एउटा तत्व यो थियो। एउटा तत्व राष्ट्रवाद थियो, जसलाई हामी शाही राष्ट्रवाद, पहाडे राष्ट्रवाद या महेन्द्रीय राष्ट्रवाद भनेर चिन्छौं। तेस्रो हिन्दुत्वको शुद्धता। 
 
नेपालको कम्युनिस्ट चिन्तनमा यी तीनवटा तत्व गाँसिए। अलिकति माक्र्सवाद लेनिनवाद, अलिकति महेन्द्रीय राष्ट्रवाद र अलिकति हिन्दुत्वको शुद्धता। आज हामी जे ब्यहोरिरहेका छौं यी सब त्यसैको परिणाम हो। यो परिणाम अहिले अत्यन्त गजबसँग देखिएको छ। निवस्त्र्र ढंगले कम्युनिस्टहरू आफू के हौं भन्ने कुरा देखाउँदै आएका छन्।
 
कम्युनिस्ट पार्टीको स्थापना भएपछि चिन्तनको दुईवटा धार थियो। पुष्पलालजीको मत फरक थियो। पुष्पलाल पहाडे राष्ट्रवादी, महेन्द्र राष्ट्रवादी वा शाही राष्ट्रवादी कहिल्यै हुनुभएन। खासगरी नेपालमा पहिलोपटक जनताले रोजेको सरकारलाई महेन्द्रले कू गरेर फालेपछि पुष्पलालको मत यही पुरानो संसद पुनस्र्थापना हुनुपर्छ भन्ने थियो। उहाँले स्पष्ट भाषामा ‘संसद पुनस्र्थापना’ भन्नुभएको थियो। बाँकी कम्युनिस्टहरूको मत भने सर्वथा फरक थियो। कम्युनिस्टहरू संसदीय परिपाटीको पक्षमा थिएनन्। संसदीय परिपाटी, यो परिपाटीका प्रजातान्त्रिक अलंकारप्रति लामो समयसम्म, ०४६ सालसम्मै कम्युनिस्टहरूको कहिल्यै रस बसेन।
 
सात सालमा दिल्ली सम्झौता भयो। कम्युनिस्टहरूको राष्ट्रवाद, सनातनी चिन्तन त्यहीँबाट पहिलोपटक मूर्त भएको हो। कम्युनिस्टहरूले दिल्ली सम्झौता धोका हो भने। त्यो धोका गर्ने कर्म बिपी कोइरालासँग जोडियो। नेपाली कांग्रेस भारतमा पढेको, भारतमा हुर्केकोरसंस्कारित भएको, संसदवादी भनेर कम्युनिस्टले चिनेको ‘दलाल’ हो। 
 
नेपाली कांग्रेसको सापेक्षमा राजा देशभक्त ठहरिए। त्यो किनभने राजा हुन देश चाहिन्छ। गद्दी राख्न माटो चाहिने भएकाले कमसे कम त्यो एउटा बुँदामा राजा देशभक्त हो र कांग्रेस भनेको ‘विदेशीको दलाल’ हो भन्ने सोचाइ रह्यो। चिन्तनको प्रारम्भ त्यहाँबाट सुरु भएको छ।
 
लामो समयसम्म, खासगरी ०४६ सालसम्म नेपालका कांग्रेस र कम्युनिस्टका बीचमा जुन पानी बाराबार थियो, त्यो गणेशमानको उदार चिन्तनले केही कम भयो। तैपनि त्यो परम्परागत चिन्तन कम्युनिस्ट र कांग्रेसबीच अझै कायम छ जस्तो मलाई लाग्छ।
 
राष्ट्रवादले जहिले पनि शत्रु खोज्छ। यो संसारैभरि चलेको नियम हो। कम्युनिस्ट चीनले जापानलाई शत्रु देखेको थियो। मोदीले मुस्लिमलाई शत्रु देख्छ। अमेरिकामा ट्रम्पले मुस्लिम र आप्रवासीलाई शत्रु देख्छ। हाम्रा कम्युनिस्ट राष्ट्रवादी र अन्य राष्ट्रवादीहरूले आफ्नै घरभित्र शत्रु खोज्छन्। विडम्बना के छ भने, मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ भनेर कम्युनिस्टहरू अझै पनि गीत गाइरहेकै छन्। त्यसले सनातनी चिन्तनको नाममा, राष्ट्रवादको नाममा के गर्छन् त भने आफ्नै घरभित्र शत्रुको खोजी गर्छन्। त्यसको व्याख्या मैले यहाँ गरिरहनु पर्दैन। मैले भन्दै नभने पनि तपाईंहरू सबै ज्ञानी हुनुहुन्छ। बुझिसक्नुभएको छ।
 
खासगरी पछिल्लो १६ बुँदेपछि मैले पहिले उल्लेख गरेको नेपाली कम्युनिस्टले वरण गरेको चिन्तनका तीनवटा तत्व अत्यन्त खुलस्त रूपमा उजागर भएका छन्। अहिलेको सत्तामा आफूलाई कम्युनिस्ट भन्ने सप्पै एकमुष्ट भएका छन्। संघीयताको पक्षधर–संघीयताको विरोधी, धर्मनिरपेक्षताको पक्षधर–धर्मनिरपेक्षताको विरोधी, संसदवादी–बन्दुकवादी, भएभरका सप्पै कम्युनिस्ट एकमुष्ट भएका छन्। यो एक के ले बनायो? राष्ट्रवादले बनायो। राष्ट्रवाद कसको? यो त महेन्द्रीय राष्ट्रवाद हो।
 
त्यसले नेपाली कम्युनिस्टको चिन्तन सदैव द्वैध रहेको छ।
 
एउटा सामान्य कुरा म तपाइँलाई सुनाउछु। मेरी आमा बित्नुभयो। दाइहरू झापामा हुनुहुन्थ्यो। म झापा गएँ। विधिवत् रूपमा म काजकिरियामा, कोरामा बसिनँ। किनभने यो मृत्युपछि गरिने जुन धर्म संस्कार छ, त्यसमा मेरा विमति छन्। त्यो अन्धविश्वाससँग जोडिएको छ। शोकाकूल जनको पीडासँग जोडिएको छ। त्यो ठगीसँग जोडिएको छ। 
 
मान्छे यसै पनि आफ्नो प्रियजनको मृत्युमा आहत भएको हुन्छ। त्यसमा यो संस्कारले थप पीडा थप्ने काम गर्छ। त्यसैले, मैले विमति जनाएँ, मेरा दाइहरू कोरामा बसे।
 
झापा त एमालेको जगजगी भएको ठाउँ। त्यो एमालेले झन्डै मारेन मलाई। एमालेको तर्क थियो, ‘खगेन्द्रको नाम छ। काठमाडौंमा बस्छ। काजकिरिया गरेन। त्यो गयो। अब त्यसको सारा अपजस जति हाम्रो टाउकामा आउँछ। किनभने खगेन्द्र कम्युनिस्ट, हामी पनि कम्युनिस्ट। कम्युनिस्टले आमाको किरिया गरेन–पापी हो भन्ने हुन्छ। ऊ पापी भएपछि हामी सबै पापी हुने भयौं।’
 
यस्ता धेरै घटना छन्। 
 
कम्युनिस्टको धारणागत रूपमा नेपालका कम्युनिस्ट सही नभएका होइनन्। सामाजिक परिवर्तनका निम्ति तिनीहरूले धेरै संघर्ष गरेका छन्। बलिदान गरेका छन्। तर, संस्कारको तहमा भन्ने हो भने शाही राष्ट्रवादी कमल थापा र पुष्पकमल दाहाल, खड्गप्रसाद ओली, चित्रबहादुर केसी, मोहनविक्रम र रोहितमा धेरै फरक छैन। अहिले हामीले जे जस्ता समस्या बेहोरिरहेका छौं, यी समस्याको जरा त्यहाँबाट आएको छ। नेपालको साम्यवादमा सामन्तवाद मिसिएको छ। यद्यपि सामन्तवादविरुद्ध यसले ध्वजा उठाएकै हो। 
 
पछिल्लो चरणमा चुनवाङ बैठकपछि माओवादीहरूले औपचारिक राजनीतिमा प्रवेश गर्ने निर्णय गरे। त्यसको पृष्ठभूमिमा माओवादीभित्र दुइएवटा मत थियो। बाबुरामजीको मत नेपाली क्रान्तिको मूल शत्रु भनेको सामन्तवाद हो, त्यसैले सामन्तवादविरुद्धमा लड्नुपर्छ भन्ने थियो। आवश्यक भयो वा प्राप्त भयो भने बरु दिल्लीको सहयोग लिए हुन्छ भन्ने बाबुरामको मत थियो। पुष्पकमलको मत फरक थियो। यता ज्ञानेन्द्रको फौजी शासनको पृष्ठभूमि तयार भइरहेको थियो। र, पुष्पकमल र ज्ञानेन्द्रबीच संवादको घनिभूत परिवेश निर्माण भएको थियो। संयोगले त्यो भएन। त्यो नेपाली कांग्रेसविरुद्ध लक्षित थियो।
 
बाबुरामको मत फरक थियो। बाबुरामको मत इतिहासभरि नै पुष्पलालको अलिकति नजिक भएजस्तो लाग्छ। त्यसले बाबुरामलाई ‘दिल्लीको दलाल’, ‘भारु खाने’ भनिँदै आएको छ।
 
संविधानमा धर्मनिरपेक्षता भनेको ‘सनातन धर्मको संरक्षण गर्ने कर्मकाण्ड’ भनेर प्रस्तुत गरिएको छ। प्रस्तुत गर्ने को छन्? पुष्पकमल दाहाल पनि छन्। खड्गप्रसादसँग त धेरै आशा गर्नु हुँदैन जस्तो लाग्छ। खड्गप्रसादजीको सबैभन्दा ठूलो सम्पत्ति के हो भने झापामा खुकुरी उठाउनुभयो, तेह्र वर्ष जेल बस्नुभयो। मलाई त सन्देह के छ भने जेलमा बस्नुहुँदा पनि उहाँले धेरै पढ्नुभयो जस्तो लागेन।
 
मान्छे चाहिँ बडो तीक्ष्ण। बडो तिखो बुद्धि भएको। टुच्च टुच्च केही केही दिइरहने। त्यो बेला पनि दिनुहुन्थ्यो। जेलबाट निस्केपछि नेपाली जनताको परिवर्तनको संघर्षमा उहाँ कहिल्यै उभिनुभएन। एमाले जब राजतन्त्रको विरुद्धमा उभियो आफ्नै पार्टीका युवाहरूलाई उहाँले गिज्याउनुभयो। ‘तँलाई गोरु... यो राजतन्त्रको विरोध गरेर फाल्ने भनेको गोरुगाढा चढेर अमेरिका जाने हो।’ उहाँ सडकमा कहिल्यै आउनुभएन। त्यसैले एमालेसँग वा एमालेको नेतासँग हाम्रो धेरै ठूलो अपेक्षा थियो जस्तो लाग्दैन। 
 
एमाले त सनातन परम्परामा ढलि नै सकेको थियो। तर, माओवादी जसले समाजका उत्पीडितलाई मुक्त गर्न अन्धविश्वासबाट, रुढीबाट, विभेदबाट मुक्त गर्न भनेर जो आँधिबेहरी उठायो र जुन आँधिबेहरीमा १५–१६ हजार मान्छे मरे, धेरै मान्छे विस्थापित भए, विकलांग भए, धेरै मान्छेका परम्परागत भविष्य नष्ट भए– त्यो माओवादी पनि खड्गप्रसाद ओलीलाई प्रधानमन्त्रीमा प्रस्तावित गरेर खड्गप्रसादमै रुपान्तरित हुन पुगेको छ।
 
त्यसैले, नेपालमा वामपन्थी कम्युनिस्टहरुको इतिहास बढो विचित्रको छ। एकातिर तिनीहरू संघर्षशिल छन्। समाजमा परिवर्तनका जे जति मुद्दा उठेका छन् त्यसमा मूलतः कम्युनिस्टको योगदान छ। यद्यपि अन्यको योगदान छैन भनेर मैले उपेक्षा गर्न खोजेको होइन। तर, सँगसँगै सनातनी रुढीको रक्षा गर्न पनि तिनको उल्लेख्य योगदान छ।
 
(गत बिहीबार मार्टिन चौतारीमा आयोजित ‘नेपाली वामपन्थ र सनातन धर्म र संस्कृतिको संरक्षण’ विषयक कार्यक्रममा संग्रौलाले अभिव्यक्त गरेका विचार) 

http://setopati.com बाट साभार 

प्रकाशित मिति: शनिबार, जेठ ८, २०७३ १६:१४:३०